MENU

चर्चित लेखक 'कोहेलो' साहरुखका फ्यान

नितु घले शुक्रवार, साउन २७, २०७४ 1754 पटक पढिएको

Share This

'हलिउडले पक्षपात गर्दैन भने ओस्कार अवार्ड तपाईंले पाउनुपर्छ', एक विश्वप्रसिद्ध लेखकले बलिउड अभिनेता शाहरुख खानलाई भनिरहेका थिए । उनले खानलाई ओस्कार, ऐकेडेमी अवार्डजस्ता सम्मान पाउनका लागि अब्बल नायकका रूपमा चित्रण गरे ।

ठूला वा साना सबैको एक प्रकारको रोजाइ, सोच र विचार हुन्छ । उनको पनि यस्तै थियो । सामान्य मान्छेको जस्तै ठूला मान्छेहरूको पनि चाहना र सपना हुन्छ । भलै त्यो सपनाले आकार लिने वा नलिने कुरा फरक हो । ३५ मिलियनभन्दा बढी प्रकाशित भइसकेको उपन्यास 'द अल्केमिस्ट'का ब्राजिलियन लेखक पाउलो कोहेलो शाहरुख खानको फ्यान बनिरहँदा यस्तै प्रतीत हुन्थ्यो । 'एउटा चर्चित लेखकले नायकलाई प्रशंसै प्रशंसा गरेर सामाजिक सञ्जालमा पोस्ट गरिरहँदा निकै पठनीय बन्ने रहेछ', केहीले कमेन्ट गरे ।

कोहेलो वास्तवमा 'माई नेम इज खान' फिल्म हेरेपछि साहरुखका ठूलै फ्यान बनेको उनैले गौरव गर्दै ट्विटरमा लेखेका छन् । उनले भनेका छन्, 'यो फिल्म विद्यालयहरूमा अनिवार्य देखाउनुपर्छ ।' कोहेलोले शाहरुखको प्रत्येक फिल्मको प्रशंसा गरेका छन् । उनले आफूमा पनि एकताका चलचित्र निर्माण र नायक बन्ने भूत सवार भएको उल्लेख गर्दै काम पनि गरेको बताएका छन् । उनले शाहरुखको अभिनयले ओस्कार अवार्ड पाउनुपर्ने दाबी गरेका छन् । कोहेलोले आफू साहरुखको चलचित्रबाट प्रेरित भएको र सफल बन्न सहयोग गरेको पनि भन्न भ्याएका छन् ।

बलिउडका बादशाहका रूपमा चिनिएका खानका फ्यानहरू उनको स्टारडम असीमित रहेको बताउने गर्छन् । खानले दशकौंदेखि बलिउडमा राज गरिरहेको महसुस गराएका छन् । उनका फ्यान एक सेल्फीका लागि मरिहत्ते गर्छन् । भनिन्छ, खानको नामैले पनि चलचित्र चल्छन् । खानले आफ्नो चार्म कायम राख्नुलाई ठूलै उपलब्धि मान्नेहरू कम छैनन् । कोहेलोले पनि त्यसलाई ठूलो उपलब्धि मानेका छन् ।

'इलेभेन मिनेट्स', 'विन्नर स्टान्डस एलोन'लगायत पुस्तकका लेखक कोहेलो भन्छन्, 'हलिउड म्यानिपुलेट नहुँदो हो, पक्षपात नहुँदो हो त शाहरुखको दमदार अभिनयले स्थान पाउनुपर्छ ।' ६९ वर्षीय लेखकलाई खानले पनि निकै सम्मान प्रकट गरेका छन्, सामाजिक सञ्जालमार्फत ।

प्रशंसाको राजनीति निकै चाखलाग्दो छ, उनीहरूको । फरकफरक यात्राका उनीहरूबीच एकअर्काका प्रशंसाले सबैको ध्यान आकर्षित गरेको छ । कोहेलो अचम्मको स्वभाव भएका लेखक मानिन्छन् । बच्चादेखि नै उनी फरक विचार राख्थे । परम्परागत बाटो हिँड्नुभन्दा फरक विचार राख्न र लेखक बन्ने सपना बुन्न थालेकाले १६ वर्षको उमेरमा कोहेलोलाई उनकी आमाले 'मेन्टल इन्टिच्युट'मा पुर्‍याएकी थिइन् । उनी त्यहाँबाट तीनपटक भाग्न खाजे तर चार वर्षपछि मात्र बाहिर निस्कन सफल भए । त्यसपछि उनले लेखक बन्ने सपना त्यागेका थिए ।

एकदमै घुम्न मन पराउने बानीका कारण उनी दक्षिण अमेरिका, युरोप, उत्तर अफ्रिकामा उनी हिप्पीका रूपमा पुगेका थिए । त्यसपछि पुन* उनको लेखनयात्रा सुरु भयो । आज उनको उत्कृष्ट लेखनले लाखौं पाठक कमाएको छ । उनका लाखौं फ्यान छन् तर आफू साहरुखको फ्यान बनेको कुरा व्यक्त गर्छन् ।

उनको बेस्ट सेलिङ उपन्यास ३५ मिलियन कपीभन्दा धेरै प्रकाशित भइसकेको छ । उनका कृति संसारका धेरैभन्दा धेरै भाषामा उल्था भएका छन् । 'इलेभेन मिनेट्स' नेपालीमा पनि पढ्न पाइन्छ । खान भने उनको नयाँ फिल्म 'जब ह्यारी मेट्स सेजल'को प्रवद्र्धनमा छन् ।
-एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100