MENU

सेलिब्रेटीको पहिरन

विनीता मरहट्टा शुक्रवार, साउन २७, २०७४ 1385 पटक पढिएको

Share This

 

हलिउड र बलिउडमा सेलिब्रेटीको पहिरनको चर्चा हुने गरेको धेरै अगाडिदेखि हो । नेपाली चलचित्र उद्योगको अवस्था सुध्रिँदै जाँदा कलाकारको पहिरन सचेतना पनि बढ्दै गएको छ । अभिनेत्री केकी अधिकारी केही दिनअघि तीजको अवसरमा आयोजित माइती मेला कार्यक्रममा हरियो चोली र रातो लेहँेगामा पुगिन् । रातो र हरियोको संयोजन उनमा निकै सुन्दर देखिएको थियो । सुहाउँदो पहिरनले होला उनी कार्यक्रमको आकर्षण बनिन् । सोही कार्यक्रमकी उद्घोषक गायिका जुनु रिजाल सुन्तला रङको पहिरनमा खुलेकी थिइन् ।

 ललितपुरका ब्युटिसियनहरूको जमघट भएको सो कार्यक्रमका सहभागी प्रायः सबैको पहिरन डिजाइनर देखिए । कसैको पहिरन कसैसँग मिल्दोजुल्दो थिएन । हरेक विशेष देखिएका थिए ।अभिनेत्री अधिकारी प्रायः औपचारिक कार्यक्रममा जाँदा डिजाइनर पहिरन नै लगाउँछिन् ।

 कहिलेकाहीँ राम्रो पहिरन संकलन भएको ठाउँबाट पनि लिन्छिन् । अन्तर्वार्ताको लागि जाँदा भने सामान्य आफ्नै संकलनबाट पहिरन रोज्छिन् । कार्यक्रमको प्रकृतिअनुसारको पहिरन रोज्ने गर्छिन् । नेपाली कलाकारमा बलिउड फेसन शैलीको प्रभाव देखिन्छ । अभिनेत्री अधिकारी सामाजिक सञ्जालबाट कलाकारले धेरै सिक्ने मौका पाएको बताउँछिन् ।

 पहिरनले व्यक्तित्वमा प्रभाव पार्छ । सार्वजनिक कार्यक्रममा जाँदा धेरैको आँखा अभिनेत्रीहरूमा पर्छ । उनीहरू फेसन शैलीका संवाहक हुन् । अभिनेत्रीहरूलाई हेरेर अरूले फेसन पछ्याउने गर्छन् । केकी भन्छिन्, ‘ड्रेस कन्फिडेन्सको कुरा हो, यसमा कन्सियस हुनैपर्छ ।’

 आइतबार सम्पन्न म्युजिक खबर म्युजिक अवार्डमा कलाकारहरू आफूलाई अरूभन्दा फरक देखाउने प्रतिस्पर्धामा थिए । गायिका कल्पना सुनुवारले परम्परागत पहिरनबाट दर्शकको ध्यान आफूतिर तान्न सफल भइन् । कार्यक्रमकी उद्घोषिका मञ्जु पौडेल हरियो गाउन, कानमा ठूलो झुम्का र हेयर एसेसोरिजमा अरूभन्दा भिन्न देखिइन् । अवार्ड आयोजकले पुरुष कलाकारलाई दौरासुरुवालमा आउन आग्रह गरेको थियो । सोही अनुरूप पुरुष कलाकारहरू नेपाली पहिरनमा ठाँटिएका थिए ।

 अभिनेत्री वर्षा शिवाकोटी औपचारिक कार्यक्रममा कमै हिँड्छिन् । जानै पर्ने कार्यक्रममा डिजाइनर पहिरन नै लगाउँछिन् । कुनै एउटै डिजाइनरको पहिरन लगाउने भन्ने छैन । जुन डिजाइन राम्रो लाग्छ त्यही लगाउँछिन् । कहिलेकाहीँ कार्यक्रमको जानकारी ढिलो पाइन्छ । त्यतिबेला डिजाइन गर्ने समय मिल्दैन । डिजाइनरकहाँ बनिरहेको पहिरन लगाउनुपर्ने हुन्छ ।

 कस्तो पहिरन सुहाउँछ भनेर डिजाइनरले सल्लाह दिने हुँदा डिजाइनर पहिरनले सुन्दर देखिन मद्दत गर्छ । अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने नेपाली कलाकारको फेसनशैली अलि पछाडि नै रहको उनी बताउँछिन् । विकसित चलचित्र उद्योगतिर एउटै कार्यक्रमको लागि धेरै समय लगाएर पहिरन तयार गरिएको हुन्छ ।

 नेपालमा अझै त्यो सम्भव भएको छैन । व्यक्तिगत डिजाइनर राख्ने हैसियत नेपाली कलाकारको अझै बनिसकेको छैन । भन्छिन्, ‘कार्यक्रमहरूमा जाँदा पहिरन आफैं म्यानेज गर्नुपर्छ, लिमिटेड बजेटले सधैं विशेष ड्रेस सम्भव हुँदैन ।’ तै पनि पहिलेको तुलनामा नेपाली कलाकारमा पहिरन सचेतना धेरै माथि उठेको उनको अनुभव छ । कार्यक्रमहरूमा आफूहरूमै अरूको ध्यान रहने भएकाले विशेष बन्नै पर्ने बताउँछिन् । अरुले फेसन ट्रेन्ड फलो गर्ने माध्यम आफैं भएकाले वर्षा ‘प्रेजेन्टेबल’ भएर हिँड्ने गर्छिन् ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100