MENU

इटहरीमा अहिलेसम्मकै ठूलो बाढी

हिमाल दाहाल शनिवार, साउन २८, २०७४ 70084 पटक पढिएको

Share This

इटहरी :  मध्यरातमा बाढीका कारण इटहरी डुबेको छ । टेङ्ग्रा खोलामा आएको बाढीका कारण इटहरीका विभिन्न वडाहरु डुबेका हुन् । अघिल्ला वर्षमा पनि खोलामा बाढी आउने गरेपनि यो पटक भने अहिलेसम्मकै ठूलो बाढी आएको हो । बाढीबाट इटहरी वडा नं. ४, ५, ६, ७ लगायत अधिकांश वडा डुबेका छन् । पक्की घरहरु समेत ठूलो संख्यामा डुबेका छन् । राती टेंग्रा खोलासमेत थुनिएपछि पानीको सहज निकास हुन नसकेको हो । त्यससँगै रातभर अविरल परेको पानीका कारण इटहरीका नाला, पोखरीमा पानी भरिएर वस्ती पसेको हो ।

बाढीका कारण इटहरीका विभिन्न ठाउँका घर, पसल तथा कारखानामा ठूलो आर्थिक क्षती पुगेको छ । मानवीय क्षतीको समेत अनुमान गरिएको छ । मध्य रातमा एक्कासी बढेको पानीका कारण बुढी खोला किनारमा बस्ने केही मानिसलाई बगाएको हुन सक्ने अनुमान गरिएको छ । सुनसरी र मोरंगको सिमानामा पर्ने बुढी खोला किनारमा बसेका केही सुकुम्बासी वस्ती बाढीले बगाएको हो ।

बुढी खोलाको बाढीले महेन्द्र राजमार्ग उत्तरको गैरीगाउँका ३० बढी घर बगाएको छ । यस्तै दक्षिणको मल्लिक वस्तीका घरहरुसमेत बगाएको छ । अचानक बाढी पसेपछि राती नै मानिसहरु आत्तिदै गुहार मागिरहेका थिए ।

बिहान भने पानी केही घटेको छ । तर पनि अविरल वर्षा भइरहेकोले बाढी आउने त्रास अझै छ । बिहान भने सशस्त्र तथा जनपथ गरी ठूलो संख्यामा सुरक्षाकर्मीहरु उद्धार र राहतको लागि परिचालित गरिएका छन् ।

यसैगरी अन्नपूर्ण पोस्टको इटहरीस्थित छापाखानसमेत डुबानमा परेको छ । अत्याधिक पानीका कारण इटहरी र नेपालगञ्ज क्षेत्रमा पत्रिकाको वितरणसमेत रोकिएको छ । 

मोबाइल नेटवर्क अवरुद्ध

बाढीले डुबेको इटहरीमा मोबाइलको नेटवर्क समेत अवरुद्ध भएको छ । नेपाल टेलिकमको सबै सेवा अवरुद्ध हुँदा सञ्चारमा समस्या उत्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस

थप सामग्री

Annapurna Post1140X100