MENU

टुल्के अर्थात् एउटा खुल्ला साँढे

घिमिरे युवराज शनिवार, साउन २८, २०७४ 1384 पटक पढिएको

Share This

मैले अहिलेलाई अन्तिम भनेर उनलाई सोधेको प्रश्न अन्तिम हुन पाएन।
‘कुसुमे रुमाल- २ मा किन त्यत्ति छाडा भूमिका गरेको?'

उनले पूर्ण आत्मविश्वासका साथ भने, 'कलाकारले पाएको चरित्र निर्वाह गर्ने हो।छाडा वा असल भन्ने कुरै आएन नि ।'
यो चाहिँ अन्तिम प्रश्न थियो- ‘तर छनोट त गर्नुहुन्छ होला नि कस्तो स्क्रिप्टमा काम गर्ने वा कस्तोमा नगर्ने भनेर ? '

आत्मस्वीकृतिमा उनले भने, ‘त्यतिखेर छनोट र रुचि बनिसकेको थिएन।अब बन्न थालेको छ।तर, मलाई थाहा थिएन मेरा ‘को क्यारेक्टरहरू‘ त्यति उच्छृंखल छन् भनेर।फिल्म हेरेपछि पो थाहा भयो।उनले आफ्नो वास्तविकता यसरी खोले।'

मेरो बुझाइमा आशान्त शर्मा आलोचना सुन्न सक्ने कलाकार हुन्।उनी ‘मेरो गोरुको बाह्रै टक्का' भन्दैनन्।मैले निर्देशन गरेको नाटक ‘दीक्षान्त' हेरेर उनले भने, ‘मलाई यो नाटक मन पर्‍यो।किनभने मैले काम गर्ने शैली पनि यही हो।'

उनको नाटक ‘दरौंदीको पानी' हेरेर मैले भने, ‘मलाई यो नाटक मन पर्‍यो किनभने मलाई काम गर्न मनपर्ने शैली यही हो।' हामी दुबै मज्जाले हाँस्यौं।

खैर रंगमञ्चको शैली कसैको पेवा होइन क्यारे, मेरो भनेर पक्डेर बसौं।तर, काम गर्दै जाँदा सबैखाले शैलीमा काम गर्छु भनेर धक्कु लगाए पनि हरेक कलाकार वा निर्देशकको एकखाले तरिका बन्दोरहेछ काम गर्ने।साहित्य, संगीत वा चित्रकलामा पनि यस्तो हुन्छ सायद।

खैर, आशान्त आलोचना सुन्छन्।मेरा समकालीनहरू रंगकर्मीमध्येका निक्कै सक्रिय रंगकर्मी हुन् उनी।नाटकमा अभिनय र निर्देशन पनि नियमित गरिरहेकै छन्।नेपाली र अंग्रेजी नाटक बराबर खेलिरहेका छन्।चलचित्र अभिनयमा पनि उत्तिकै सक्रिय छन्।भर्खरै बजारमा आएको फिल्म ‘धनप्रसाद'मा उनको अभिनयको निक्कै तारिफ भयो।

उनी लिखित र निर्देशित नाटक ‘दरौंदीको पानी' पनि राजधानीमा मञ्चन भइरहेको छ।आगामी पुस-माघको लागि अर्को नाटक मञ्चनको योजना बनाउँदैछन्।हालसालै उनले दुईवटा चलचित्रमा अभिनयको लागि सम्झौता पनि गरिसके, आकाश अधिकारीको ‘कान्छी' र छेतेन गुरुङको ‘डन्डीबियो।'

मैले आशान्त शर्मालाई पहिलोपटक ‘टुल्के'को रूपमा चिनेको हुँ।लुसुनको कथा ‘अ ट्र्यु स्टोरी अफ आह क्यु'को नेपाली अनुवाद (अनुवाद तथा नाट्य रूपान्तरणः खगेन्द्र लामिछाने) ‘टलकजंग भर्सेस टुल्के'को मुख्य भूमिका अर्थात् ‘टुल्के'मा उनको अभिनय सशक्त थियो।अनुप बरालको निर्देशनमा गुरुकुलको रिमाल नाटकघरमा वि.सं २०६४ साउन ११ देखि १९ सम्म मञ्चित यो नाटकले धेरैको मन जितेको हो।

पछि यही कथामाथि फिल्म पनि बन्यो तर फिल्ममा भने टुल्के बने अनुवादक तथा नाट्य रूपान्तरणकर्ता खगेन्द्र लामिछाने आफैं।त्यसपछि आशान्तका दर्जनौं नाटक हेरेर म फ्यान बनेको छु।२०६४ सालमै उनको नाटक हेरेको रहेछु ‘प्रेतका पिताहरू ।' नाटक याद छ, तर आशान्त शर्मा याद छैन।

त्यसपछिका उनका प्रायः नाटक मैले छुटाइनँ।तर, मैले चिनेका आशान्त शर्मा जीवनका अनेकौं मोड र घुम्ती पार गरेर अनुभवले पाकिसकेको एउटा कुसल रंगकर्मी हुन्।मैले भेट्नुअघिका आशान्त शर्मा उर्फ कृष्णप्रसाद शर्मा पंगेनीको जीवनको कथा जति रोचक छ, उति नै संघर्षपूर्ण पनि।उनी भौगोलिक हिसाबले धेरै लामो यात्रामा थिएनन्।तर, नेपाल र भारतभित्र उनलाई नियतिले यता र उता घुमाइरह्यो।

कहिले यिनी विराटनगर पुगे, कहिले काठमाडौं त कहिले नवलपरासी।भारतमा यिनी दिल्लीबाट सुरु गरेर पञ्जाब, पटियाला, मध्यप्रदेश, ग्यालियरदेखि बम्बैसम्म भौंतारिए।जीविकोपार्जनको लागि भेटे र भ्याएजतिको काम गरे।त्यही घुमाइबाट उनले सिके- जीवनका अनगिन्ती पाठ।

एउटा कुशल रंगकर्मी तयार हुन कति अनुभव सँगाल्नु पर्छ ? कति जंघार तर्नुपर्छ ? ‘हाउ मेनी रोड्स ए म्यान मस्ट वाक, विफोर हि कल्स् ए म्यान ? ' उनी भन्छन् ‘भारतमा अपराधबाहेक लगभग अरू सबै काम गरेँ- गाडीको ब्यारिङ बनाउने-बेच्ने, बिग्रेको गाडी तोडेर पाटपुर्जा निकाल्ने, क्याटरिङ मेनेजरको काम...।' उनले पार्टीहरूमा सलाद सजाउने काम पनि गरे।आशान्त ग्रिन सलाद बनाउन ओस्ताद नै मानिन्छन्।बाटिस्टाको काम पनि गर्छन्।

नवलपरासीको माकर गाविस (हाल बर्दघाट नगरपालिका) मा वि.सं. २०३० मा जन्मेका शर्माको बुबाको पुख्र्यौली गाउँ हो- स्याङ्जाको महापुर।बाबा रामलाल शर्माको दुई श्रीमतीबाट भएका सात छोरा र तीन छोरीमध्येका साहिँलो सन्तान हुन् आशान्त।उनकी आमाको नाम हो- भद्रकुमारी।आशान्तको जीवनको पूर्वसन्ध्या निक्कै संघर्षपूर्ण रह्यो।

उनी आठ वर्षकै छँदा आमा-बुबा अलग भए।बुबा भारतको नयाँदिल्लीमा बस्थे, अर्की आमासँग।आमा भद्रकुमारीसँगै आशान्त विराटनगर सरे।कहिले आमासँग बसे, कहिले बुबासँग।कक्षा ८ पास गरी १२ वर्षे आशान्त ठूलो सहरमा राम्रो पढ्ने सपना बोकेर २०४१ सालमा दिल्ली हान्निए।त्यहाँ सुरु भयो- संघर्षको अर्को कथा।

पारिवारिक विघटन र उथलपुथलकै बीच उनले आफ्नो रुचि पहिल्याए।सानैदेखि उनी रंगमञ्चतिर आकर्षित भए।उनी जन्मे-हुर्केको ठाउँमा नाट्य गतिविधिको चहलपहल निकै हुन्थ्यो।गाउँमा दसैं-तिहारको अवसरमा मात्र नभई अरू बेलामा पनि नाटकहरू भइरहन्थे।गाउँगाउँमा नाच समिति हुन्थे।विभिन्न नामका थिएटर कम्पनी हुन्थे।गाउँको नामअनुसार नाच समितिको नामकरण गरिन्थे।गाउँका अग्रज दाजुहरू पनि नाटकमा भाग लिन्थे।आफ्ना अग्रज पुस्तालाई उनले पछ्याएमात्रै तर नाटक खेल्न पाएनन्।

उनी बाबा-आमालाई छक्याएर नाच÷नाटक हेर्न जान्थे, साथीहरूसँग।उमेर बढ्दै गएपछि अग्रजकै सिकोमा आयो, आशान्तको पुस्ता पनि।भन्छन् ‘हाम्रो पुस्तामा आउँदा चाहिँ हामी मज्जाले सहभागी भयौं नाटकमा।हाम्रो पालामा फिल्मको त्यति प्रभाव परेको थिएन ।' मनोरञ्जनको साधनको रूपमा नाटक नै हुन्थे।पञ्चेबाजामा नाच्ने।बेतानी, लेवडा आदि गाउँहरू रामलीला मञ्चन गर्थे।

वि.सं. २०४८ मा विराटनगरबाट एउटा नाट्य टोली नवलपरासी आइपुग्यो।टोली ‘मेरो चाहना उसको प्रतीक्षा' भन्ने नाटक लिएर बुटवलमा मञ्चन गर्ने उद्देश्यले आएको थियो।नाटक देखाउनको लागि स्थानीय आयोजकको रूपमा आशान्तका साथीहरूले चाँजोपाँजो मिलाए।‘संयोगवश म २०३८ देखि २०४२ सम्म विराटनगर बस्न पुगेँ।बुबा र आमाको सम्बन्ध बिग्रिएपछि आमासहितको परिवार नै त्यहाँ गएको थियो।'

विराटनगरमा झन् नाटकको माहोल राम्रो देखे उनले।बच्चा, युवा र वयस्क सबै नाटकप्रति आकर्षित रहेछन्।त्यहाँका मान्छे रमाइला लागे आशान्तलाई।खुलेर कुरा गर्ने र स्पेस दिने चलन राम्रो लाग्यो।हरेक टोलमा संस्कृतिसँग जोडिएका कार्यक्रम हुन्थे।सुनील पोखरेल, रमेश बुढाथोकी त्यहीँ काम गर्छन् भन्ने उनले सुनेका थिए तर देख्न भने पाएनन्।छठ पर्वमा पनि विभिन्न स्थानीय सांस्कृतिक नाटक हुन्थे।

२०४२ सालमा फेरि जन्मथलो फर्किएपछि बर्दघाट बजारमा पनि स्वतन्त्र रूपमा नाट्य क्रियाकलापमा हिँड्न पाए।उतिखेर परिवार सम्पन्न नै थियो।बजार र गाउँमा दुईतिर घर थियो उनको।कहिले गाउँ त कहिले बजारमा सोरठी, बिर्जाभारजस्ता नाटक मञ्चन हुन्थे।बेतानीमा लोककथा÷ मिथकलाई आधार बनाई नाटकमा काम हुन्थे।

आशान्तका अनुसार, ‘बिस्तारै भारतीय फिल्मको प्रभाव युवाहरूमा पर्न थाल्यो र तिनै फिल्मीशैलीका कथा र अभिनयमा परेका नयाँ केटाहरूले फिल्मका मसला प्रयोग गरी नाटक देखाउन थाले।व्यावसायिक रूपमा नाटक नै गर्छु भन्ने हुन्थेन।साथीहरूको लहैलहैमा गरिन्थ्यो।'

स्कुल सकेपछि पढाइको सिलसिलामा आशान्त काठमाडौं आए।आई.ए सकेपछि उनलाई गाउँ नै फर्किन्छु भन्ने थियो।तर, उनी नाटकको अर्को तानाबानामा अल्झिए।२०५० सालमा विराटनगरबाट काठमाडौंमा नाटक गर्ने सिलसिलामा त्यहाँको टोली आयो।त्यहाँ पनि व्यवस्थापन गर्र्ने जिम्मा यिनैले लिए।तर, हल नपाएको कारणले नाटकको मञ्चन हुन सकेन।

साथीहरू निराश भए।काठमाडौंमा देखाउन नपाएपछि त्यही झोंकमा मनबहादुर मुखिया र चतुर्भुज आशावादीले जस्तै नाटक लिएर ठाउँठाउँ जाने सल्लाह साथीहरूबीच भयो।उनी सम्झन्छन्, ‘मलाई पनि उनीहरूले साथै लैजाने कुरा गरे।म पनि उनीहरूको टोलीमा मिसिएँ।हामीले वीरगन्जबाट नाटकयात्रा सुरु गर्‍र्यौं।‘माईराम' नामको नाटक थियो।२०५० साल चैत ६ गते त्यहाँको सिटी हलमा नाटक देखाइयो।नाटक कमेडी थियो।'

सुरुमा आशान्तले छोटो भूमिका पाएका रहेछन्।अभ्यास क्रममा मुख्य पात्रले नाटक छोडिदिएछ।त्यसपछि उक्त भूमिका आइलाग्यो आशान्तको जिम्मामा।उनी उत्साहित हुँदै घटना सुनाउँछन्, ‘रातभरि संवाद कण्ठ गर्दै अभ्यास गरेँ।हिम्मत गरेर नाटक देखाएँ।छाती ढक्क फुलेर आउने, सक्दिनँ कि जस्तो हुने।तर, राम्रैसँग निर्वाह गरेछु।त्यो मेरो पहिलो व्यावसायिक नाटकयात्राको सुरुवाती पाइला थियो।'

उनको जीवनको एउटा अविस्मरणीय पाटो थियो- नाटकयात्रा।वीरगन्जपछि हेटौंडा, बुटवल, भैरहवा अनि विराटनगरमा नाटक मञ्चन गर्दै हिँडे।यात्रा र व्यवस्थापन खर्चको लागि टिकट नै एउटा सहारा थियो।तर, टिकट बेच्न त्यति सजिलो थिएन।‘अनुभवले सिकायो व्यावसायिक रूपमा काम गर्न सोचेजस्तो सजिलो रहेनछ।नाटक यात्रा बीचमै रोक्यौँ ।'

यही समूहबाट २०५१ सालमा भुटानी शरणार्थी समस्यामाथि नाटक गरे उनले।पूर्वतिरका विभिन्न स्थानमा मञ्चन भएको यो नाटकबाट आर्थिक रूपमा पनि केही फलिफाप भयो।यही नाटक देखाएर जम्मा भएको पैसाको राहतमा निकै ठूलो योजना बन्यो साथीबीच।५२ भागको सिरियल बनाउने निर्णय भयो।तर, सपना पूरा हुन सकेन।

त्यसपछि आशान्त दुई वर्षसम्म विराटनगरका साथीहरूसँगै नाटकमा काम गरेर उतै बसे।काठमाडौ सधैं चुम्बकजस्तो भयो उनको लागि।बाहिर जान्थे तर फेरि तानीहाल्थ्यो।‘बाहिर काम गर्न खोजको पनि हो तर त्यति धेरै सम्भावना नदेखिने।२०५३ सालमा फेरि काठमाडौं फर्किएँ ।' त्यसका लागि उनले ज्ञानेश्वरमा केही युवा साथीहरूको सहयोगमा ‘कलाप्रेमी युवा समूह' खोले।त्यहाँ उनी डान्स र अभिनयको प्रशिक्षण कक्षा चलाउँथे।स्विकार्छन् ‘तर, त्यो मेरो युवा जोश थियो।

मैले औपचारिक नाट्य ज्ञान त्यति बेलासम्म लिएको थिइनँ।आफूले काम गरेको अनुभवको आधारमा सिकाउन सक्छु भन्ने सोच बनाएको थिएँ।' जीविकोपार्जनको कुरो थियो त्यो।पाए जति र जाने जति सबै काम गरिभ्याए उनले।त्यही बेला सांस्कृतिक कार्यक्रम पनि गरे।अलि-अलि आम्दानी हुन थालेपछि चेतनामूलक सडकनाटक गर्न थाले।तर, यस किसिमको नाटकका लागि आर्थिक सहयोग कसैबाट थिएन।आफैंले चाहेर गरेको काम भएकोले गुनासो थिएन।सांस्कृतिक कार्यक्रममा भने चिनेजानेकोलाई टिकट बेच्ने कोसिस गर्थे।यही ढंग र दुःखले चार वर्षसम्म काम गरे- आशान्त एन्ड कम्पनीले।

२०५७ सालमा यो ‘कम्पनी' बन्द भएपछि आशान्तको कामले अर्को बाटो समात्यो।उनले फिल्ममा सहायक कोरियोग्राफरको रूपमा काम थाले।केही फिल्ममा पसिना बगाए।नाम र दाम अर्कैले पायो।२०५८ सालमा मोहन निरौलाको ‘परिवर्तन नेपाल'मा कल्चरल डान्स सिकाउन पुगे।त्यहीँ काम गर्दागर्दै रंगकर्मी विजय विस्फोटसँग चिनजान भयो।विस्फोटको लेखन तथा निर्देशनको नाटक ‘दूरी'मा अभिनय गर्न पाए।

‘दूरी' राष्ट्रिय नाटक महोत्सवमा पनि मञ्चन भयो।परिवर्तन नेपालमै छँदा नेपाली चलचित्र ‘फिरन्ते'मा सहायक निर्देशक भएर काम गर्न पनि भ्याए उनले।यति धेरै बाटा खोज्दै गर्दा फेरि पनि काठमाडौंमा समस्या पैसाकै थियो।त्यही समयमा ‘द कलेक्सन' भन्ने कम्पनीमा मार्केटिङ काम पनि गर्न भ्याए।फिल्मसम्बन्धी कार्यक्रम चलाउँथ्यो त्यस कम्पनीले।जीविकोपार्जन र मन परेको कामबीचको तालमेल नहुँदा आफ्नो सिर्जना पनि हराएर गएजस्तो लाग्थ्यो उनलाई।कोरियोग्राफी, नृत्य वा यस्तै कामको वरिपरि घुमिरहे पनि उनले ठ्याक्क आफ्नो मनलाई ठेगान लगाउने खालको काम पाएनन्।

त्यहीताका नवलपरासीकै सुवास अगम नामका अर्का रंगकर्मी भेट्टिए।उनले गुरुकुलको राष्ट्रिय नाटक महोत्सवमा नाटक गर्ने प्रस्ताव राखे।‘अन्धविश्वाससम्बन्धी नाटक गर्ने कुरा भयो।हामीले तराईको वास्तविक कथामा आधारित प्रेतका पिताहरू शीर्षकको नाटक गर्‍र्यौं, मेरै लेखन र निर्देशनमा ।' त्यसपछि उनले विजय विस्फोटको नाटक ‘बुर्की'मा अभिनय गरे।‘बुर्की'मा उनको अभिनयको सबैले प्रशंसा गरे।यसरी आशान्तको भौंतारिएको समय बिस्तारै आफ्नो मनले खाएको कामतिर सम्हालिँदै आयो।

उनको जीवनको अर्को महत्वपूर्ण टर्निङ प्वाइन्ट हो- रंगकर्मी अनुप बरालसँगको भेट।विजय विस्फोटसँग काम गर्दैगर्दा अर्का रंगकर्मी राजन उप्रेतीले अनुप बरालसँग नाटकमा काम गर्ने प्रस्ताव राखे।त्यो प्रस्ताव उनको लागि ठूलै खुसीको पोको थियो।भन्छन्, ‘हामीले सुनील पोखरेल र अनुप बराल नाटकका राम्रा शिक्षक हुन् भन्ने सुनेका थियौं।बराल सरको बरै नाटक पर्यटन बोर्डमा हेरेको थिएँ।त्यो नाटकले मलाई निकै छोएको थियो ।' अनुप बरालसँग अभिनय सिक्ने इच्छा त थियो उनको तर एक्टर्स् स्टुडियोमा अभिनय कक्षाको १५ हजार उनलाई तिर्न सजिलो थिएन।

‘बराल सरले चिन्ता नलेऊ केही गरौंला भनेर आश्वस्त पार्नुभयो ।' त्यही बखत बरालकै निर्देशनमा टलकजंग भर्सेस् टुल्केमा आशान्तले टुल्केको भूमिका पाएका हुन्।उनी भन्छन्, ‘सकेसम्म सानो भूमिकामा काम गर्छु भन्ने सोच थियो।मुख्य भूमिकामा खगेन्द्र लामिछाने थिए।रिहर्सल दौरानमा उनी बीबीसीमा जागिरे भएपछि मलाई दोहोरो भूमिका भयो।खगेन्द्रले खेलेको भूमिका पनि मैमाथि थपियो ।' तीन महिना रिहर्सल गरेर तयार पारिएको यही नाटकले आशान्तलाई कुशल कलाकारको रूपमा रंगमञ्चको दुनियाँमा परिचित गरायो।त्यसपछि बरालको एक्टर्स् स्टुडियो अभिनय कक्षामा निःशुल्क प्रवेश पाए उनले।बरालका नजिकमध्येका एक चेला आशान्तले विस्तारै पछिल्ला कक्षामा प्रशिक्षणमा बराललाई सघाउन थाले।

अब आशान्तले कहिल्यै कामको चिन्ता गर्नु परेन।उनले निरन्तर एकपछि अर्को राम्रा नाटकमा अभिनय गरे।एक्टर्स् स्टुडियोबाट आँसु रचनामा आधारित नाटक ‘द ग्रेट सर्कस' (२००९) नामक क्लाउन सो गुरुकुल र मार्टिन चौतारीमा मञ्चन भयो।त्यसपछि उनले ‘मलामी'मा नाटक खेले र अनुप बराललाई पनि निर्देशनमा सघाउँदै गए।‘ओ स्टार दुनियाँ' नाटकमा पनि सघाए अनुपलाई।

राजन खतिवडाको निर्देशनमा मञ्चित नाटक ‘चरनदास चोर'मा पनि आशान्तले प्रशंसा बटुले।हालसम्म उनले दर्जनौं अंग्रेजी नाटकमा पनि अभिनय गरिसकेका छन्।जर्मन निर्देशक सविने लेहमनको दिर्नेशनमा वज्र होटल स्वयम्भूमा मञ्चित स्यामुअल बेकेटको विश्वप्रसिद्ध नाटक ‘वेटिङ फर गोडोड'मा उनले गरेको अभिनय दर्शकको मनमा अझै बसिरहेको छ।नाटकमा लक्कीको भूमिकामा थिए उनी।लेहमनसँगै उनले ‘थ्री पेनी अपेरा' (बर्तोल्त बे्रख्त) गरे।अमेरिकी निर्देशक डेभोरा मेरोलासँग ‘मास्टर ह्यारोल्ड एन्ड द बोइज', डकु ड्रामा ‘लभिङ काठमान्डु', ‘इन द रेड एन्ड ब्राउन वाटर'जस्ता नाटकमा अभिनय गरे।स्टेभ क्लोरिफिनको निर्देशनमा फरिद उद्दिन अत्तरको ‘चराहरूको महासम्मेलन'मा अभिनय गरे ।

मैले हेर्न पाएको ‘...ब्राउन वाटन'मा उनले निक्कै मन छुने अभिनय गरेका थिए।पछिल्लोपटक अनुप बरालकै निर्देशनमा, निर्मल बर्माको नाटक ‘तीन एकान्त'मा साँच्चै सशक्त अभियन थियो उनको।एकल अभिनयमा उनले निर्माण गरेको चरित्र निक्कै जीवन्त थियो।उनी अनुवाद र निर्देशनमा पनि सक्रिय छन्।हविव तनविरको ‘चरनदास चोर', निर्मल बर्माको ‘तीन एकान्त', विजय तेन्दुलकरको ‘उम्बुक ल्यान्डको मुडभेड' आदि नाटक र पाठ उनले अनुवाद गरेका छन्।‘कथादेश एक्सप्रेस', ‘...मुडभेड', ‘दरौंदीको पानी' उनले निर्देशन गरेका गतिला नाटक हुन्।अंग्रेजी भाषामै मञ्चित, ग्रेटा राणा निर्देशित सेक्सपियरको नाटक ‘मिड समर नाइट ड्रिम' कामचलाउ भए पनि आशान्तले आफ्नो भूमिकामा न्याय गरेर प्रशंसा बटुले।

होचा कदका मानिस कस्ता हुन्छन् भनेर सामान्यीकरण गर्न त मिल्दैन।संसारमा छोटो कदका (शारीरिक रूपमा) धेरै कलाकारले आफ्नो विधामा चमत्कार गरेर देखाएका छन्।चार्ली च्याप्लिनकै कुरा गर्नुस् वा अहिले निक्कै चर्चित अमेरिकल फिल्म सिरिज ‘गेम अफ थ्रोन'का चर्चित कलाकार पिटर ह्याडेन।आशान्तको र अमेरिकी चर्चित कलाकार थोमस ज्याकब्ल्याकको उचाइ उत्रै होला।वा चर्चित कलाकार अल्पा चिनो (५ः७ इन्च) वा ब्राड पिट पनि धेरै अग्ला होइनन्।बलिउडका कुशल अभिनेता कमल हसन (५ः५ इन्च) वा आमिर खान पनि होचामै गनिन्छन्।

‘नाममा के छ ? ' उहिल्यै शेक्सपियरले भनेका हुन्।उचाइमा भने निक्कै कुरा रहेछ।यस्तै छरितो ज्यानका कलाकारले संसारमा तहल्का मच्चाएका छन्।नेपालमै हेर्नुहोस् बालकृष्ण सम वा प्रचण्ड मल्ललाई।आशान्त शर्मा त्यस्तै छरितो ज्यानका निक्कै प्रतिभाशाली रंगकर्मी हुन्।उनी कामको स्तरीयतामा विश्वास गर्छन्।अहिले पनि रंगमञ्चलाई टिकाइराख्न स्तरीय नाटक भए मात्रै सम्भव छ भन्छन् उनी।उनका अनुसार, ‘रंगमञ्च भनेको रथजस्तै हो।सबैको प्रयासमा गुडाउन मिल्ने र श्रद्धा गर्ने सामूहिक काम ।' उनको गुनासो छ।‘समृद्ध रूपमा कलात्मक भाव लिएर आउने साथीहरूको अभाव छ।उचित ज्ञान नपाउनु पनि एउटा कमजोरी नै हो।'

पन्ध्र र तेह्रवर्षे दुई छोराका पिता यी प्रतिभाशाली रंगकर्मी आशान्त शर्माका केही गोप्य र रमाइला कुरा छन्।२०४९ सालमा गाउँकै युवतीसँग प्रेम थियो उनको।उनी त्यसलाई आत्मीक र चोखो प्रेम मान्छन्।तर, त्यो प्रेम विवाहमा परिणत भएन।हालकी प्रेमिकाउर्फ श्रीमती मीरासँग उनको सुरुमा मागी र पछि भागी विवाह भएछ।परिवारले मागेपछि बिहेको मिति नकुर्दै दुवैजना गाउँबाट काठमाडौं हान्निए।

केही महिना काठमाडौं बसेपछि गाउँमै परिवारले औपचारिक विवाह फत्ते गरिदिए।भन्छन्, ‘विवाहअघि ख्यालख्यालका प्रेम त धेरै भए तर साँचो प्रेम चाहिँ मीरासँगै भयो।त्यसपछि सोझो पारिवारिक जीवनमा छु ।' आमा, श्रीमती र दुई छोरासहितको परिवार अहिले पनि नवलपरासीमै छ।

उनी महिना दिन पुग्न नपाउँदै घर पुगिहाल्छन्।एक-दुई दिन घर बस्छन्।परिवारलाई उनको बानी र कामको बारेमा थाहा छ, त्यसैले केही निश्चित जिम्मेवारीबाहेक परिवारको झमेला उनले बेहोर्नु पर्दैन।भन्छन्, ‘मलाई गाउँकाले पनि खुल्ला साँढे भन्छन्।यसलाई गलत अर्थ नलाउनु होला।कामको हिसाबले मलाई घरबाट कुनै बन्देज छैन।मैले चाहेको काम गर्न पाएको छु।'

आफूलाई निक्कै भावुक ठान्छन्।निराशा उनको जीवनमा बारम्बार आइरहन्छ।एकैछिनमा निराश हुन्छन् र फेरि एकैछिनमा उत्साह आइहाल्छ जीवनमा।आफ्नो रुचिको काम गर्न पाउनु नै जिन्दगीको असली मजा ठान्ने उनी प्रायः आफूले गरिरहेको कामप्रति अरूको सम्मान नदेख्दा दुःखी हुन्छन्।

क्षमतावान् कलाकार सधैँ एउटा कल्पनाशील निर्देशकको प्रतीक्षामा हुन्छ।देहभाषा र पाठ दुवैमा कुशल दक्खल भएका आशान्त शर्माले नेपाली रंगमञ्च र चलचित्रमा अझै धेरै काम गर्नु छ।आशान्तलाई शुभकामना।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100