MENU

पिता: पहिलो गुरु

कृष्णराज सर्वहारी शनिवार, साउन २८, २०७४ 823 पटक पढिएको

Share This

पिता-स्मृत

म कल्पना पनि गर्न सक्तिनँ, जो गर्भे टुहुरो छ उसलाई अरूले पिताको माया पाएको देख्दा कस्तो अनुभूति हुँदो हो ! ४५ वर्षसम्म पिताजीको छत्रछायाको ओत यही २ असारमा अचानक गुमाउनुपर्दा अहिले मेरो मन भक्कानिएको छ, दिमाग अहिले पनि छैन स्थिर।

मित्र शाश्वत पराजुली र सुरेश किरणले आआफ्ना पिताबारे केही साताअघिका अन्नपूर्ण पोस्ट् 'फुर्सद'मा सम्झनाका गाँठो फुकाउँदा मलाई पनि कुटुरो खोल्न मन लाग्यो।

त्यसो त बाल्यकालमा पिताजीबाट जति सानिध्यता पाइनुपर्ने हो, त्यति पाइएन। पिताजी थिए सल्यानमा फरेस्टरको जागिरे, वर्षमा दसैं अनि बेलाबेला एकाधपटक मात्रै घर झुल्किने।

घर छोड्दा पिताजीले बाँसका थुप्रै कलम बनाइदिएका हुन्थे। जति दिन घरमा रहन्थे, बिहानै एक पृष्ठ बाँसको कलमले लेखेको अक्षर लेखेर देखाउनुपथ्र्यो उहाँलाई।

चेल्पार्क मसीको नाउँ त्यसै बखत याद भएको हो मलाई। कुनै अक्षरको गोलाइ, लम्बाइ, चौडाइ नमिल्दा पिताजी अर्को पानामा आफैं लेखेर देखाउनुहुन्थ्यो। त्यसलाई पुनर्लेखनमा सुधार्ने प्रयास गर्थ्यो। पिताजी वर्ष दिनपछि आउँदा ३६५ पृष्ठ हाते लेखन तयार हुन्थ्यो।

म दाइभन्दा पहिला हतारिन्थेँ त्यो कापी देखाउन। अहिले पनि हामी तीन भाइका अक्षर राम्रा छन्। यद्यपि ठूल्दाइको लेखन अझ अब्बल छ, छापाभन्दा कम नाइँ। मेरो दाइ ऋषिराज र भाइ देवराज दाङ देउखुरीको बाल जनता उच्च माविमा शिक्षक छन्।

कालोपाटीमा जब तिनले केही लेख्छन्, विद्यार्थी तिनका अक्षर देखेर चकित पर्छन्– ओहो सरका कति राम्रा अक्षर ! त्यस्तो हामी किन लेख्न सक्तैनौ ? यो सुन्दर अक्षरको उपहार हामीले पिताजीबाट पाएका थियौं।
यसरी पिताजी हाम्रो पहिलो गुरु हुनुहुन्थ्यो। गुरु भनेको गुरु नै हो।

पिताजीले लेख्नेजस्तो सुन्दर अक्षर हामीले बनाउनै सकेनौं। मैले उहाँको हस्तलिखितबाट थारू बालकविता प्रकाशन गर्ने सोच बनाएको थिएँ। नमुनाका रूपमा उहाँले केही पृष्ठ लेखेर पढाउनु पनि भएको हो। यद्यपि प्रकाशकले नमान्दा त्यो प्रयोग मैले गर्न सकिनँ। अहिले पिताजीको त्यो उपहार सँगाल्न नपाउँदा साह्रै थकथक लाग्छ।

मेरा ठूल्दाजु ६ कक्षा र म ४ कक्षामा पढ्दा दुई विषयमा ब्याक लाग्यो हामीलाई। एसएलसीमा मात्रै सुनिएको ब्याक पेपर प्रणाली प्रावि तहमै लागू भएको थियो, अमेरिकाबाट पढेर आएका हेडसर राजेन्द्रप्रसाद चौधरीको निर्देशनमा। संयोगवश पिताजी त्यस बेला घर आउनुभएको थियो।

जागिरमा जानुअघि उहाँले भनेका दुई शब्दले हामी दुई भाइको जिन्दगी नै मोडियो। उहाँले भन्नुभएको थियो, ‘छोराहरू, तिमीहरू आफ्नो लागि पढ्दैछौ, अरू कसैका लागि होइन। यो गाउँमा पढेर जागिरका लागि गाउँ छोड्ने म मात्रै हुँ। तिमीहरू पनि भोलि पढेर असल मान्छे बन्नु छ। मजस्तै देशदुनियाँ घुम्नु छ। त्यसैले पढाइमा ध्यान देऊ।'

यसरी हामी दुई भाइको दिलदिमागमा आफ्नो लागि पढ्दै छौं, अरू कसैका लागि होइन भन्ने उहाँको उक्ति सुपरग्लुझैं टाँसियो। त्योभन्दा अघि बाआमाका लागि, समाजलाई देखाउनका लागि पढ्दै छौं भन्ने भ्रम पालेका थियौं हामीले।


एक दिन डेराबाट आफ्नो लुगाफाटो मिलाउँदै पिताजीले हामी दुई भाइलाई भन्नुभयो, ‘छोराहरू, म तिमीहरूको उत्साह बढाउन सँगै एक वर्ष पढेँ।क्याम्पसको अथाह ज्ञान मैले लिइसकेँ। अब विद्याको गहिराइ नाप्ने जिम्मा तिमीहरूको।'

त्यो भ्रम टुटेपछि ब्याकपेपर दिएर पास हुने हामीहरू कक्षामा अब्बल ठहरियौं। दाइ त अर्को सालबाट फस्र्टको फस्र्ट भयो। म भने दोस्रो नम्बरबाट पहिलोमा उक्लिन सातौं कक्षा कुर्नुपर्‍यो। सात कक्षामा फस्र्ट भएपछि हाफ पाइन्टबाट बढुवा भई मेरो जीउमा फुल पाइन्ट सजियो। फ्लेम कलम चलाइरहेकोमा चाइनिज कलम उपहार पाइयो, पिताजीको करकमलबाट।

‘यिनका अभिभावक पहाडमा जागिरे छन् कसले गर्दिन्छ गाइड र, यिनीहरू तेजिला छन् ?' सबैको मनमा यही प्रश्न खेल्थ्यो। तिनीहरू त बाघका दूध खाएर तेजिला भएका रे ! यस्तो हल्ला पनि चल्यो गाउँघरमा।

तीन दशकअघि नै हजारको बिटो बोकेर देउखुरी गंगदी गाउँकी एक महिला कक्षामा सधैं फेल हुने आफ्नो छोराको लागि बाघको दूध किन्न मेरो आमाकहाँ आइपुगेकी थिइन्।

आमा कहिलेकाहीँ यो प्रसंग अहिले पनि सुनाउनुहुन्छ। पढाइको नशा यसरी बसेको थियो कि हामी बिदा मनाउन मामाघर जाँदा पनि कापी, किताब बोकेरै जान्थ्यौं। यसरी हाइस्कुलबाट पढाइमा लगाएको तनमन क्याम्पस पुग्दासमेत जारी रह्यो।

'नो नलेज, विडाउथ कलेज'
२०४२ मा हुनुपर्छ, एसएलसीमा मेरो दाजु राप्ती अञ्चल टप भएका थिए। तर, राजधानीमा धेरै कलजेमा साइन्समा एप्लाइ गर्दा नाम निक्लिएन। अमृत साइन्स कलेजमा नाम निस्किएको धेरै ढिलो खबर पाइयो। त्यसैले राप्तीको एकमात्र क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस, भरतपुर दाङमा दाजु मानविकीमा भर्ना भए।

यहीबीच पहाडमा जागिरे पिताजीलाई गाउँले मित्र देवमणि चौधरीले पत्र पठाए। पढाइको महत्व बुझाउँदै पत्रको एक कुनामा अंग्रेजीमा एक टुक्का उल्लेख थियो, ‘नो लाइफ विडाउथ वाइफ, नो नलेज विडाउथ कलेज।'

यही टुक्काले पिताजीलाई क्याम्पस ज्वाइन हुन हुटहुटी जाग्यो। उहाँ छँदाखँदाको जागिरबाट राजीनामा दिएर पढ्न आउनुभयो। पाँच वर्ष ब्याक पेपर दिएर आईए पास हुनुभयो। संयोगवश सोही वर्ष दाइले रेगुलर आईए कटाउनुभयो। अनि बाउछोरा सँगै स्नातक तह भर्ना भए।

म त्यस बेला आईए दोस्रो वर्ष पढ्थेँ। हाम्रो गाउँ छुट्की घुमना हुँदै लमही बजारबाट २५ किलोमिटर पहाडको उकालो बाटो साइकलबाट क्याम्पस जान सम्भवै थिएन। त्यसैले क्याम्पसको दक्षिणको गाउँ पनौरामा हाम्रो डेरा थियो।

तीनै बाउछोरा सँगै कलेज जान्थ्यौं। दाइ र बुवा एउटै बेन्चमा बस्थे। अंग्रेजीका लेक्चरर नारायणसिंह गुरुङले कक्षाको टुंग्याउनीमा बुवालाई इंगित गर्दै भन्ने गर्थे, ‘बुझ्यो टीकाराम ? नबुझे छोरासँग सोध्ने।'

स्नातक पहिलो वर्षमा बुवाले नियमित कक्षा लिनुभयो। उहाँसँगको त्यो एकवर्षे सँगै बसाइ मेरो लागि उत्कृष्ट विश्वविद्यालयको पढाइभन्दा कम थिएन। बुवा, दाजु र म सँगै क्याम्पसको वातावरणमा रमाउँदा साथीहरू छक्क पर्थे। गाउँको खेतखलिहानदेखि बजारको चोकचौराहामा हाम्रैबारे चर्चा हुन्थ्यो।

मेरा आफ्ना सहकर्मीबाहेक बुवा र दाजुका सहकर्मी पनि मेरा असल साथी थिए। त्यसैले मेरो साथी सर्कलको दायरा बहुत फराक थियो। स्नातक पहिलो वर्षमा नेपाली विषयमात्रै कटाउन सक्नु भयो उहाँले। हजुरबुवाले बीचबीचमा तानो कस्नुहुन्थ्यो, ‘बुद्धि बिग्रियो यसको। छोरा नातिहरूलाई पढाउने बेला, आफू पढेर बस्छ।'

एक दिन डेराबाट आफ्नो लुगाफाटो मिलाउँदै पिताजीले हामी दुई भाइलाई भन्नुभयो, ‘छोराहरू, म तिमीहरूको उत्साह बढाउन सँगै एक वर्ष पढेँ। क्याम्पसको अथाह ज्ञान मैले लिइसकेँ। अब विद्याको गहिराइ नाप्ने जिम्मा तिमीहरूको।'

२०५३ सालमा एमए पढ्न काठमाडौं आउने बेला पिताले आशीर्वाद दिए, 'माइला, पढाइको नियमित खर्च तिम्रो लागि पठाउन सकूँला या नसकूँला मलाई थाहा छैन। तर, तिम्रो भाग्य रहेछ भने चाँडै काम पाउनेछौ।

काम गर्दै पढाइलाई निरन्तरता दिनेछौ।' पिताको आशीर्वचनले काम गर्‍यो। पत्रकारितामा रुचि राख्ने मैले काठमाडौं टेकेको भोलिपल्टै काम पाएँ। पढाइलाई निरन्तरता दिएँ। अहिले पनि पढाइको पिछा छुटेको छैन। पीएचडीको पढाइ टुंग्याउनीमा छु।

बुवासँग जोकोहीलाई उत्साहित बनाइदिने गज्जबको क्षमता थियो। गीत, संगीतमा उत्तिकै रुचि राख्ने उहाँको थोरै अंशमात्र लिन सकियो। शिक्षामा हरदम अभिप्रेरणा दिने उहाँजस्तो फराकिलो सोच राख्ने अभिभावक मैले पाएँ, त्यस्ता तमाम अभिभावकहरू भइदिने हो भने पिता र पुत्रहरूको दूरी घटेर मित्रतामा बदलिन कत्ति बेर पनि लाग्नेछैन। शतप्रतिशत साक्षरतामा यो देश पनि चाँडै दरिनेछ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100