MENU

आठ किलो सुनसहित दुई पक्राउ

अन्नपूर्ण आइतवार, साउन २९, २०७४ 1061 पटक पढिएको

Share This

 विदुर : प्रहरीले रसुवागढी नाकाबाट नेपाल भित्रिएको आठ किलोग्राम सुनसहित नुवाकोटको विदुरमा दुई युवकलाई पक्राउ गरेको छ । नुवाकोट प्रहरीले शनिबार ठूलो मात्रामा अवैध सुन र मोटरसाइकलसहित दुई युवालाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा प्रहरीले पासाङ ल्हामु मार्गको त्रिशूली-धुन्चे सडकखण्डको बीचमा पर्ने विदुर नगरपालिका सिमुटारमा बा.५५ प ८०६७ नम्बरको रातो पल्सर मोटरसाइकलको पछाडिको चक्कामाथि लुकाइराखेको आठ किलोग्राम सुनसहित दुई युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरी निरीक्षक कैलाश भट्टराईले रसुवाको पार्वतीकुण्ड गाउँपालिका-५ का २५ बर्से फुर्बु तामाङ र उत्तरगया गाउँपालिका-५ का ३७ बर्से दीपक घलेलाई पक्राउ गरेको जानकारी दिए ।

बरामद गरिएको ८७ तोला सुनको बजारमूल्य अनुसार तीन करोड ८० लाख रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको तातोपानी नाका भूकम्पपछि बन्द भएकाले रसुवागढी नाकाबाट सुनलगायत सामग्रीको तस्करी बढिरहेको छ ।

रसुवागढी नाकाबाट अवैध सुनसहित तस्कर पक्राउ परेको यो चौथो घटना हो । प्रहरीले यसअघि पनि गत जेठमा चीनको केरुङ हुँदै भोटेकोसीको टिमुरे पुलबाट भित्रिएको अवैध सात किलो सुन, सुन तस्करीमा प्रयुक्त गाडीसहित स्याङ्जा वालिङका ३५ बर्से प्रकाश गैरेलाई पक्राउ गरेको थियो । रसुवागढी नाकास्थित टिमुरे-१ मा हुने नियमित चेकजाँचमा बा.१७ च २२७५ नम्बरको सेतो स्कोर्पियोको गेयरबक्समा लुकाइराखेको सात किलो सुनसहित गैरे पक्राउ परेका थिए ।

६ पुसमा पाँच किलोग्राम सुनसहित रसुवाकै गत्लाङ गाविसका २५ वर्षीय वीरेन लामा पक्राउ परेका थिए । ३० जेठ ०७३ सालमा पनि रसुवागढी नाकाबाटै भित्रिएको ६ किलोग्राम सुनसहित रसुवाको टिमुरेका २४ बर्से कुन्साङ तामाङलाई प्रहरीले पक्राउ गरेको थियो । भूकम्प र पहिरोले तातोपानी नाका बन्द भएपछि काठमाडौंदेखि एक सय ५१ किलोमिटर दूरीमा रहेको रसुवागढी नाकाबाट तस्करको चलखेल बढेको छ ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100