MENU

जिप बगाउँदा एक परिवारका ६ को मृत्यु

फणि महत आइतवार, साउन २९, २०७४ 9834 पटक पढिएको

Share This

रौतहटमा बाढीले लियो नौ जनाको ज्यान

गौर : सुत्केरी बेथा लागेकी महिलालाई स्वास्थ्य संस्था लैजाने क्रममा उनीहरू चढेको जिप बाढीले बगाउँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ। राजपुर फरहदवा गाउँपालिका-३ स्थित दमार चोकनजिक बाढीले बमनहरको बाँध कटान गरेपछि आएको बाढीमा उनीहरू चढेको जिप परेको थियो।

ज्यान गुमाउनेमा परोहा गाउँपालिका-३ का ३५ वर्षीय चन्दनकिशोर यादवसहित उनका श्रीमती २७ वर्षीया शर्मिला यादव, आमा ५४ वर्षीया सुमित्रादेवी, भाउजू ३८ वर्षीया ललितादेवी, भतिजा २५ वर्षीय सरोज र छोरी ५ वर्षीया छोटुकुमारी छन्।

राजपुर स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन आएका यादव परिवारका सदस्यको ज्यान गएको हो। उनीहरूको घटनास्थलमै ज्यान गएको थियो। भारतीय नम्बरको जिप चढेर उनीहरू स्वास्थ्य संस्था आएका थिए। चालक र अर्का एक व्यक्तिले भने गाडीबाट हामफालेर ज्यान जोगाएका थिए।

त्यसैगरी, आइतबार दिउँसो इसनाथ गाउँपालिका-९ का १४ वर्षीय सकिल देवान, देवाही गोनाही-२ की ६५ वर्षीया जोगिया देवी, दुर्गाभगवती-६ की ४० वर्षीया कोसिला देवीको बाढीले बगाएर मृत्यु भएको छ। पाँचजना हराइरहेको रौतहटका डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए।

वर्षाका कारण रौतहटमा विद्युत्, टेलिफोन, मोबाइल तथा इन्टरनेट सेवा प्रभावित बनेका छन्। जिल्लाका करिब ८० प्रतिशत भूभाग डुबानमा छन्। सदरमुकाम गौरको मुख्य बजार डुबेको छ। जिल्ला प्रहरी, अदालत, कारागार, जिल्ला प्रशासन, मालपोत, भन्सारलगायत तीन दर्जनभन्दा बढी सरकारी कार्यालय डुबानमा परेका छन्। कार्यालयको तल्लो तलामा पाँच फिटसम्म पानी जमेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

माधवनारायण, देवाही गोनाही, कटहरिया, दुर्गाभगवती, गुजरा, वृन्दावन, गढीमाई, फतुवा विजयपुर, मौलापुर, बौधीमाई, परोहा, इसानाथ, राजपुर गाउँपालिकाका अधिकांश बस्ती डुबानमा छन्। चाँदी, लमाहा, गुजरा, झान्झ, अडुवा, लालबकैया नदीमा आएको बाढी बस्तीमा पसेको हो।
जिल्ला कारागारका एक सयभन्दा बढी कैदीलाई माथिल्लो तलामा सारिएको छ। गौरका मुख्य बजारका सडकमा १० देखि १५ फिटसम्म पानी जमेको छ।

बाढी र डुबानका कारण जिल्लामा १० हजारभन्दा बढी घर पूर्णरूपमा क्षति भएको तथा ३० हजारभन्दा बढी घरमा असर गरेको स्थानीय प्रशासनको अनुमान छ। स्थानीय प्रशासनसँग उद्धारका साधन-स्रोत नहुँदा हजारौँ स्थानीय डुबान क्षेत्रमै बस्न बाध्य छन्। दुई दिनदेखि खान र बस्न नपाएको पीडितको गुनासो छ। जमार्गछेउका पीडित सडकमा आएर बसेका छन्। गौर-चन्द्रपुर सडकखण्ड बगाउँदा सदरमुकाम जाने बाटो बन्द भएको छ।

कटहरिया, धरहरी, जिगडिया, जगलसैया, मत्सरी सडक तथा वसन्तपुरको पुल बाढीले कटान गरेका कारण आवतजावत बन्द छ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100