MENU

रातु खोलाको बितण्डा, ४० हजार घर डुवानमा, एकको मृत्यु

635x90

राजकरण महतो आइतवार, साउन २९, २०७४ 2169 पटक पढिएको

Share This

बर्दिबास: अविरल बर्षासंगै गाउँ पसेको बाढीको भेलमा बगेर महोत्तरीमा एक जनाको मृत्यु भएको छ। जलेश्वर नगरपालिका—२ खैरा चोकका १५ बर्षीय विक्की ठाकुरको आइतबार ज्यान गएको महोत्तरीका एसपी कुवेर कठायतले बताए। सदरमुकाम जलेश्वरमा रातु खोलाको बाढीको भेलले ठाकुरलाई बगाएर पोखरीमा पुर्याउँदा उनको ज्यान गएको हो।

महोत्तरीको ७० प्रतिशत क्षेत्र डुबानमा परेको छ। ४० हजार घर प्रभावित भएका छन्। पूर्व—पश्चिम रागमार्ग अन्तर्गत महोत्तरीको माइस्थान स्थित जंघा पुलको पश्चिम तिरको पुलको भागा भत्किएको जनकपुर अञ्चल प्रहरी कार्यायाल महोत्तरीका एसएसपी सुभाषचन्द्र चौधरीले बताए।

निरन्तरको वर्षाले बर्दिवास देखि सिन्धुलीतिर जाने विपी राजमार्गमा पर्ने महोत्तरीकै पाटु कालापानीमा तीन स्थानमा पहिरो जाँदा बाटो अवरुद्ध छ। पहिरो पन्छाउन प्रहरीलाई खटाइएको छ।

महोत्तरीको मुख्य बर्दिबास-औरही-जलेश्वर, सम्सी-गौशाल, जलेश्वर-जनकपुर लगायत महोत्तरीको झन्डै ५० भन्दा बढी सडक अवरुद्ध छन्। सडक अवरुद्ध भएपछि उद्धार कार्य प्रभावित भएको छ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत लगायतका जलेश्वरका अधिकांश कार्यालय डुवानमा परेका छन्। महोत्तरीको ९ वटा ग्रामिण भेगका प्रहरी युटिन डुवानमा परेका छन्। जलेश्वर कारागार समेत पुर्णरुपमा जलमग्न भएको छ। कारागारमा पाँच पिट पानी पसेको छ । कारागारमा ४ सय २ जना कैदी थुनुवा रहेका छन्।

भुईतल्लामा रहेका कैदीहरुलाई खचाखच भरिने गरी माथिल्लो तलामा राखिएको कारगार प्रमुख शोभेन्द्र ठाकुरले बताए। कारागारको अभिलेख भिजेर नष्ट भएको छ।

सदरमुकाम जलेश्वरलाई रातु खोलाको बाढीको पानीले चौतर्फी रुपमा घेरेको प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले बताए। महोत्तरीको झन्डै ३७ वटा गाउँ डुवानमा परेका छन्।

किसाननगरका स्थानीय बलराम कार्कीका अनुसार रातु खोलाको बाढीले बर्दिबास नगरपालिका—६ किसानगर स्थित रातु खोलाको बाढीले ३ सय मिटर बाँध भत्काएको छ । बालीनाली लगाएको जग्गा खोलाले कटान गर्न थालेको स्थानीय टेकबहादुर श्रेष्ठले बताए।

यस्तै जलेश्वर स्थित रातु खोलाको बाँध फुटेर रतवार क्षेत्र पनि प्रभावित भएको सञ्चारकर्मी महेश कुमार दासले बताएका छन्। धनुषाको लालगढस्थित रातु खोला पूर्वी बाँध भत्काएको छ।

जिल्लामा शनिबार रातिदेखि नै विद्युत अवरुद्ध भएको छ। ठाउँ–ठाउँमा विद्युतको पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको हो। जिल्ला अस्पताल जलेश्वर सहित महोत्तरीको १५ भन्दाबढी स्वास्थ्य संस्था डुवानमा परेका छन्। जिल्ला स्वास्थ्य कार्यालयको औषधी भण्डारण कक्षमा पानी पस्दा ४० लाख भन्दा बढीको औषधी डुवानमा परेको जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले बताए। महोत्तरीका सबै विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले जनाए।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100