एमालेका प्रदेश प्रमुख मण्डल विजयी

राजविराज : प्रत्यक्षतर्फ सबैभन्दा पछिल्लो परिणाम वामगठबन्धनले आफ्नो पक्षमा पारेको छ। सप्तरीको प्रदेश सभा १ (१) मा एमालेका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल आठ जनालाई पछि पार्दै प्रदेश सभा सदस्य भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी राजपाका महासचिव राजकुमार लेखीभन्दा दुई हजार ५० मत बढी ल्याएर मण्डल प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। अल्पसंख्यक राजधोब जातीका मण्डलले ११ हजार तीन सय दुई मत ल्याए।
पूर्व खेलकुद मन्त्री समेत रहेका प्रदेश प्रमुख मण्डलविरुद्ध पार्टी निर्णयविपरित उम्मेदवार बनेका एमालेका तत्कालिन जिल्ला सदस्य प्रकाश खतिवडाले एक सय ५१ मत ल्याए।
निकटतम प्रतिद्वन्द्वी लेखीले नौ हजार दुई सय ५२ मत ल्याउँदा कांग्रेसका डा. सुबोधकुमार पोखरेल आठ हजार सात सय पाँच मत ल्याई तेस्रो स्थानमा रहे। विजय गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट गत संविधानसभामा मनोनित सदस्य भएका पोखरेल गच्छेदारको प्रवेशसँगै काँग्रेस भएका थिए।
उनकी श्रीमनी निरु पोखरेल कञ्चनपुर नगरपालिकाकी उपप्रमुख हुन्। डा. पोखरेल फोरम लोकतान्त्रिकमा रहदाँ उनकी श्रीमति निरु कांग्रेसमा सक्रिय थिइन्। चारवटा निर्वाचन क्षेत्र भएको सप्तरीमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना सकिएको छ। अब समानपातिकतर्फको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले जानकारी दिए।
मत परिणामअनुसार प्रतिनिधिसभामा फोरमले दुई, राजपाले एक र कांग्रेसले एक सिट हात पारेको छ। प्रदेशसभामा राजपाले तीन, फोरमले दुई, एमालेले दुई र कांग्रेसले एक सिटमा जित हासिल गरेको छ।
प्रतिक्रिया दिनुहोस !
