काठमाडौं : मेरो लेखनको सुरुआत यसैबाट भएको हो। साथीहरू किन शत्रुजस्ता भइरहेका छन् ? शत्रु ठानेकाहरू किन साथीजस्ता भइरहेका छन् ?
लेखक नयनराज पाण्डेको गैरआख्यान पुस्तक ‘यार’को विमोचन कार्यक्रममा सञ्चारकर्मी शिवानीसिंह थारू र लेखक पाण्डेबीच भएको संवादका अंश हुन् यी। शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा खचाखच भरिएको पाठकमाझ लेखकले ‘यार’ लेखिनुको भेद खुलाए।
कार्यक्रममा बोल्दै लेखक पाण्डेले संस्मरणमार्फत समाजका समस्याहरू उधिन्ने कोसिस गरेको बताए। उनले भने, ‘सत्यको नजिक रहेर सत्यलाई इमानदारीपूर्वक जस्ताको तस्तै पस्किने कोसिस गरेको छु।’ अहिलेसम्म संगत गरेका साथीहरूबारे हिम्मतका साथ संस्मरण लेखिएको बताउँदै उनले कतिपय संस्मरण लेख्न निकै गाह्रो भएकोसमेत सुनाए।
शनिबार सार्वजनिक गरिएको संस्मरणलाई फाइन प्रिन्टले बजारमा ल्याएको हो। पुस्तक उनका ‘यारहरू’ श्यामल, शार्दुल भट्टराई, बुद्धिसागर लगायतले संयुक्त रूपमा विमोचन गरेका थिए। पुस्तकमा २५ थान संस्मरण समावेश छन्।