सहरमा दलित

सहरमा दलित

'अनि नानीको जातचाहिँ के पर्‍यो ? ' घरबेटी सोध्छन्।

'दमाई', निर्धक्कसाथ दिएँ जवाफ।

'ए, नानी त उसो भए दलित पो पर्नुभएछ, अब के गर्नु ! मेरा घरमा बूढा बाआमा हुनुहुन्छ। उहाँहरू अलि पुरानो सोचवाला हुनुहुन्छ। हामीलाई त केही थिएन, जे जातै भए नि ! तर बुढेसकालमा बाआमाको चित्त पनि त दुखाउनु भएन। त्यसैले घरमा दलितलाई आजसम्म भाडामा राखिएको छैन, नानी नराम्रो नमान्नुहोला।'

निकै सभ्य भाषामा उनले दिएको व्याख्यात्मक प्रतिक्रियाले मेरो मथिंगल हल्लायो। सोचमग्न भएँ, यिनले मेरो जातीय पहिचानलाई सम्मान गरे कि विभेद गरे ?

सात वर्षअगाडि मास्टर्स डिग्री पढ्ने लहडमा काठमाडौं छिर्ने बित्तिकैको घटना हो यो। 'राम्रो करिअर'को सपना बोकेर रहरले नै सहर छिरेकी थिएँ। पहिलो गाँसमा ढुंगा हालिदिए ती घरबेटीले। सहरमा मेरो जातीय पहिचानले स्वीकार्य पाउँछ भन्ने मेरो विश्वासले त्यही दिन धोका खायो। अनि थप कोठा खोज्ने हिम्मत गरिनँ। बरु, उल्टै जात ढाँटेर 'क्षेत्री' भनी नयाँ ठिमीमा बसेका दाइभाउजूसँग बस्न थालेँ।

हिजोको भोगाइको सहरी परिदृश्य आज पनि उस्तै छ। विभेद र अपमानको विकार उही वृत्तमा घुमिरहेको देखेकी छु, भोगेकी पनि छु। धेरै सहरिया घरबेटी आफ्नो विभेदकारी सोचलाई 'हिडन' गराउन प्रयासरत छन्। र, शिक्षितपन तथा सहरीपनले लेपिएको व्यक्तित्वलाई 'सो अप' गरिरहेछन् आज पनि। विभेद नगरेझैं गरी विभेदमा पारिराख्नु सहरी जातीय विभेदको विशेषता हो।

सहरमा जातीय विभेदको स्वरूप 'आइसबर्ग'को संरचनामा छ, हेर्दा विभेद नदेखिने तर अन्तरमा ठूलै पहाड लुकाएर राख्ने ! सहरले पाखण्ड र जटिलता बाँचेको सहजै महसुस गर्न सकिन्छ। आइसबर्गले सहरको शिष्टता र सभ्यताको यात्रामा कस्तो दुर्घटना निम्त्याउँदै आएको छ, त्यसले कति क्षति गर्दै आएको छ, अनुमान गर्न कठिन छ। सहरलाई सुसंस्कृत नगरको अस्तित्व कायम गर्न यस्तो प्रवृत्तिको अन्त हुनुपर्दैन र ?

झुटको बलमा आत्मसम्मानको खोजी

'नेपाली' थरका एक वकिल 'केसी' पहिचानसहित काठमाडौंमा बस्न थाले। राजधानीमै बस्नुपर्ने बाध्यताले बोलिएको झुट यत्तिमै सकिएन। झुट पर्दाफास हुने डरले छोरीको स्कुल भर्नासमेत केसी थरबाटै गर्नुपर्‍यो। झुटले वैधता र व्यापकता पायो। छोरीको शैक्षिक प्रमाणपत्रसमेत यसै थरबाट आयो। बुझ्ने भएपछि छोरीलाई पनि वास्तविक थरका कारण स्कुलमा विभेद हुने डरले गाँज्न थाल्यो। त्यसैले केसी थरमा छोरीको पनि स्वीकारोक्ति र चाहना मिसियो। सानो देखिने समस्या र त्यसको झुटो समाधानसँगै बाँचिरहे उनी र उनको परिवार।

एक जमानामा साँझ भएपछि 'अछूत'हरूलाई सहर पस्न बन्देज थियो किनभने 'अछूत'ले 'अशुद्ध' र 'अपवित्र' तुल्याएको सहरलाई शुद्ध पार्ने घाम डुबिसकेको हुन्थ्यो रे। आजको जमानामा भूपू अछूतहरूलाई सहर पस्नमा कुनै कानुनी बाधा छैन। तर मानिसलाई जन्मजात अछूत बनाउनेहरूको दिलमा अझै घाम लागेको छैन।

भविष्यमा आउने समस्यालाई त्यत्ति ध्यानै नदिई बोलिएको सानो झुटले कति भयानक स्वरूप लिन सक्छ, उनको जीवनमा देख्न सकिन्छ। सानो झुटको 'जिन्न' बोटलबाट त्यति बेला निस्कियो, जति बेला उनकी छोरीको नागरिकता बनाउनुपर्ने भयो। जिल्ला प्रशासन कार्यालयको प्रमुख (सीडीओ)ले बाबुको नागरिकताको थर र छोरीको जन्मदर्ताको थर अलगअलग भएकाले नागरिकता दिन नमिल्ने बतायो।

नागरिकता बनाउन धेरै नै अप्ठ्यारो भएपछि उनले दलित आयोगको दलित जातीय अनुसूचीमा पर्ने थरको संक्षिप्त रूपको तिन्काको सहारा लिए। त्यही सूची देखाएर केसी लेख्न सकिने कारण बताउँदै उनले सीडीओलाई सहमत गराए। पेसाले वकिल भएकाले उनको तार्किक कुराले सीडीओ सहमत भए। तर, के उनको आफ्नै मन सहमत हुन सक्यो त ?

उनको तत्कालको समस्या त टर्‍यो तर समस्या पूरै टरेको छैन। थाहा छैन, आत्मसम्मानको खोजीका लागि उनले बोलेको झुटले उनको परिवारलाई कति समयसम्म पछ्याउने हो !

दलित जातीय पहिचान भएका विद्यार्थीदेखि शिक्षकसम्म, पत्रकारदेखि सभासद्सम्म र वकिलदेखि उच्चपदस्थ कर्मचारीसम्मले आवासको आधारभूत आवश्यकता पूर्तिका लागि सहरमा जात ढाँटेर बसेका छन्। आत्मसम्मानसहितको सुरक्षित जीवनयापन हरेक व्यक्तिको चाहना हो, अधिकार पनि। तर, कुनै वर्णले सहरमा आत्मसम्मान पाउन पनि झुटको सहारा लिनु परेको कुरा आफैंमा गम्भीर मुद्दा हो। आवासीय सुरक्षाका लागि बोलिएको झुटले उनीहरूका मानसिकतालाई कति असुरक्षित बनाएको होला ? यस्तो असुरक्षाको चिन्ता र निरन्तर अभ्यासले कति पुस्तासम्मलाई गाँज्छ होला ?

दलित घरबेटी, गैरदलित डेरावाला

धेरै तलुवा फटाएपछि काठमाडौंमा पहिलोपटक जात खुलाएरै डेरा पाइयो। डेरामा बस्न लागिएको घरको एउटा तलाबाहेक पूरै खाली थियो। बाँकी एक परिवार पनि म आएकै दिन डेरा छोडेर निस्कँदै थियो। म बस्ने कोठाभन्दा माथिल्लो तलाकी दिदी कोठा सर्दै थिइन्। काठमाडौंमा सेवासुविधा भएको ठाउँ हत्तपत्त छाड्दैनन् डेरावालाहरू। त्यसैले उत्सुकता पोखिहालेँ उनीसँग, 'के कारण कोठा सर्न लाग्नुभएको दिदी ? '

मेरो प्रश्नको उत्तरमा उनले ठूलै सामाजिक राज खोलिन्, 'बैनी, यो घर दमाईले किनेको छ। अब ऊ बस्न आउँदै छ नि। त्यसैले सबै सरिसके, हामीलाई नि त्यति सहज लागेन। त्यही भएर सर्दै छौं।'

उनको कुरा सुनेर म तीनछक परेँ। बाहुन घरबेटीले दमाईलाई घर बेचेपछि तीनवटा तलामा बस्ने तीनवटै बाहुन परिवार सरेका रहेछन्।मलाई ती दमाई दाइको घरमा जातीय आत्मसम्मानसहित बस्न पाइएकोमा जति हर्ष र खुसी थियो, ती दिदीलाई दमाई घरबेटी स्वीकार्न उत्ति नै पीडा र दुःख भएको रहेछ। सहरमा दलितहरूले कोठा भाडामा नपाएको समस्या त भोगेकै थिएँ तर दलित नै घरमालिक हुँदा भाडामा समेत बस्न नचाहने प्रवृत्ति पहिलोपटक देख्दै थिएँ।

अहिले दलितको घरमा बाहुन पनि बस्छन्। तर, तिनको आर्थिक हैसियत सामान्य छ। वर्गीय रूपले तल पारिएका गैरदलित र सामाजिक रूपले तल पारिएका दलित एकै ठाउँमा बसेका छन्। दुवै तल परेकै कारण मिलेर बसेका यस्ता उदाहरण पनि यहीँ छन्। आफूलाई जात र वर्गमा माथि ठान्ने ती दिदीलाई भने यस्तो बसाइ स्वीकार्य भएन। हेक्का रहोस्, ती दिदी पेसाले शिक्षिका थिइन्। बाहुन शिक्षिकाले परिवार र स्कुलमा के पढाउँछिन् होला ?


सहरमै पढाइन्छ जातको पाठ

आफ्नै सन्तानले जातकै कारण तपाईंलाई घृणा गर्दा कस्तो लाग्छ ? दलित अधिकारकर्मी बिन्दु परियार र छोरीबीच 'लभ एन्ड हेट'को सम्बन्धसमेत भयो, जन्मसँग जोडिएको थरकै कारण। छोरीले ९–१० वर्षकी हुँदा विद्यालयमा साथीसँगको अन्तरक्रियाबाट 'हिडन करिकुलम'बाट नयाँ पाठ सिकिन्। हो, आफ्नै आमाको 'परियार' थरलाई घृणा गर्न सिकिन्।

बाबुको थर थापामगर र आमाको परियार भए पनि स्कुलमा छोरीको थर थापा राखिएको थियो। एक दिन दिदीकी छोरीसँग खेल्ने क्रममा वादविवाद हुँदा उनकी छोरीले भनिन्, 'मेरो शरीरमा बग्ने ९५ प्रतिशत रगत बाबाको हो, पाँच प्रतिशत मात्रै परियारको। त्यति पाँच प्रतिशत रगत त म आफ्नो नसा काटेर पनि बगाइदिन्छु र शतप्रतिशत रगत थापाको बनाउँछु !' यो कुरा बिन्दु 'अन्तर्जातीय विवाहको बकपत्र'मा लेखेकी छन्।

सम्झाउन खोज्दा छोरीको उग्र रूप देखेर आजित भएपछि उनी प्रिन्सिपललाई यस्ता सिकाइबारे गुनासो गर्न पुगिन्। प्रिन्सिपलको काउन्सिलिङसँगै आमाको सामाजिक कार्यको चर्चा बढ्न थालेपछि बिस्तारै छोरीमा परिवर्तन आएको उनको अनुभूति छ।

धेरैजसो दलित अधिकारकर्मीका सहरमा पढ्ने छोराछोरी बाबुआमाको काममा गर्व गर्नुको साटो उल्टै आफ्ना साथीसामु अभिभावक चिनाउनसमेत चाहँदैनन्। गाउँमा बच्चाहरूले जसरी दलित हुनुको अनुभव र अनुभूति सानैमा समाजबाट थाहा पाउँछ, त्यो स्थिति सहरमा देखिँदैन। सहरमा व्यक्तिवादी जीवनशैलीले सामाजिक अन्तरक्रियाको दायरालाई खुम्च्याएको छ।

सामाजिक अन्तरक्रिया सहरमा विद्यालयबाटै सुरु हुन्छ। त्यहाँ दलितको परिभाषा पाठ्यपुस्तकमार्फत पढाइन्छ। सामाजिक अध्ययन पढाउने शिक्षकले दलितलाई छूत–अछूत र साना–ठूला जातको सन्दर्भमा सिकाउँछ। यही शिक्षण प्रक्रियाका कारण शिक्षकले जति नै 'विभेदचाहिँ गर्नहुन्न है' भनी सिकाए पनि बच्चाको मानसिकतामा बिस्तारै विभेदको जरो गड्न जान्छ। बालबालिकाले विद्यालयको वातावरणबाट 'हिडन करिकुलम'मार्फत सिकेका छूतअछूत र सानाठूला जातका नकारात्मक ज्ञानको प्रभाव समाज पर्छ नै।

परिवर्तनका संवाहक नै जिम्मेवारीबाट पन्छेपछि

पत्रकार महासंघका एक पूर्व केन्द्रीय सदस्यले फेसबुक स्टाटसमा लेखेका छन्, 'साना जातलाई साना भनेर नहेप्नू भन्ने उपदेश छोरीबाट थाहा पाउनु मेरै लागि पनि गर्वको विषय हो।'

जातीय विभेद नमान्ने पत्रकारमा 'साना जातलाई हेप्नु हुँदैन' भन्ने छोरीको सिकाइमा गर्व रहेछ। सहरको निजी विद्यालयमा पढ्ने ९–१० वर्षकी छोरीले 'सानो जात' वा 'ठूलो जात'को पाठ सिकेकोमा पनि उनलाई गर्वलाई लागेको होला त ?

एक अन्तरक्रियामा राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकले आफ्नो सानो बच्चाले 'दलित भनेको के हो बाबा' भनी सोध्दा विद्यालयमा टिचरसँग सोध भनी टारिदिएको कुरा बताएका छन्।

समाज परिवर्तनका संवाहकहरू नै बच्चाहरूले के सिकिरहेका छन् भनी जान्नेबुझ्ने तथा गलत सिकाइलाई सच्याइदिने सामाजिक कर्तव्यबाट भागेका छन्। अधिकांश सहरिया आफ्ना बच्चाको भविष्य विद्यालयकै ठेक्कामा छाडी सचेत हस्तक्षेपबाट पन्छिँदै बसेका छन्। विद्यालयहरूचाहिँ 'सानो जात' वा 'ठूलो जात'को पाठ पढाउँदै जातव्यवस्था पुनः उत्पादन गर्ने सामाजिक उद्यममा व्यस्त छन्। त्यसैको सिकार हुँदै छन्, बिन्दु परियार र अन्य दलितका बालबालिकासँगै परिवार र समाज।


सहरको सम्भावित अनुहार
डा. भीमराव अम्बेडकरको शैलीमा समाजशास्त्री चैतन्य मि श्र भन्ने गर्छन्, छुवाछूत र 'दलितपना' हटाउन राजनीति र कानुन मात्रै यथेष्ट छैन। बरु अर्थतन्त्रको विस्तार र विविधीकरणसँगै व्यापक सहरीकरण पनि चाहिन्छ। गाउँलाई सहरसँग जोड्ने अर्थतन्त्र चाहिन्छ।

हो, नेपालमा राजनीति र अर्थतन्त्रमा त अनेक क्रान्ति नै भइसक्यो; सहरी क्रान्ति त झनै तीव्र छ। तर, किन सहरको सार र सहरियाको मनमस्तिष्क र आचरणमा क्रान्तिकारी फेरबदल देखिएको छैन होला ? हामीले देखेको सपनाको सुन्दर, सभ्य र शिष्ट सहर यस्तै हो र ?

कुनै शंका छैन, विकसित स्थान र परिकल्पना हो सहर, जहाँ प्रगतिका सम्भाव्यता प्रशस्त हुन्छन्। चाहने हो भने भएका थोरै सांस्कृतिक फोहोरमैलोलाई छिट्टै धोएर सुसंस्कृत समाज निर्माणको अभियान सहरबाटै सम्भव हुन्छ। तर आज पनि सहरमा समेत हामीले जातीय विभेदको फोहोरमैलो जानी–नजानी पालिरहेकै छौं। देखिने वा नदेखिने भेदभाव गदै हाम्रा भविष्यहरूलाई समेत विभेद सिकाइरहेकै छौं। यसरी हामीले सबैको सुनौलो भविष्य, सुन्दर सहर र सभ्य समाजलाई पनि सानाठूला जातमा बाँड्दै त छैनौं ? छूत–अछूतको विभेद मनभरि बोक्दै कसरी हामी सभ्य र सुसंस्कृत सहरिया बन्न सक्छौं ?

एक जमानामा साँझ भएपछि 'अछूत'हरूलाई सहर पस्न बन्देज थियो, किनभने 'अछूत'ले 'अशुद्ध' र 'अपवित्र' तुल्याएको सहरलाई शुद्ध पार्ने घाम डुबिसकेको हुन्थ्यो रे। आजको जमानामा भूपू अछूतहरूलाई सहर पस्नमा कुनै कानुनी बाधा छैन। तर मानिसलाई जन्मजात अछूत बनाउनेहरूको दिलमा अझै घाम लागेको छैन।

सहरको सन्ध्याकालीन मधुरोबीच कामना गर्दै छु : यो सहरमा साना नानीहरूले सानाठूला वा उँचनीचको कुसंस्कृति होइन, मानवता सिकेको हेर्न चाहन्छु। अरूबाट सम्मान पाउन आत्मसम्मानलाई कुल्चेर बोलिने झुटको अँध्यारो संसारबाट निस्किएर सबै मानिसले स्वतन्त्रता, समता र सम्मानको खुला श्वास लिएको देख्न चाहन्छु।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.