प्रथम नायिका भुवन चन्द 'साइनो' लिएर फर्किँदै
काठमाडौँ : नेपालकी प्रथम नायिका भुवन चन्दले प्रेम कथामा आधारित चलचित्र निर्माणको घोषणा गरेकी छन् । उनले आइतवार राजधानीमा एक कार्यक्रम गरेर ‘साइनो’ चलचित्र निर्माण गर्ने घोषणा गरेकी हुन् ।
'चलचित्रको छायाङ्कन सोमबारदेखि शुरु गरिनेछ,' उनले भनिन् । ‘चन्द्रविनायक फिल्म प्रोडक्सन’को प्रस्तुतिमा बन्न लागेको यस चलचित्रको अभिनेत्रीमा नीता ढुङ्गाना र मिरुना मगर तथा नायकमा राजकुमार अनुबन्ध भएका छन् ।
चलचित्रका कार्यकारी निर्माता शरण थापा र निर्देशक रमेश थापा छन् । चलचित्रमा वसन्त सापकोटाको सङ्गीत तथा अभिमन्यू ‘निरवी’को कथा र संवाद रहनेछ ।
अभिनेत्री मिरुनाले नेपालकी प्रथम अभिनेत्री चन्दको चलचित्रमा आफू आबद्ध हुन पाउनु ठूलो अवसर भएको बताउँदै यस भूमिकालाई न्याय दिने बताइन् । नवनायक राजकुमारले भूमिका राम्रो लागेकाले सो चलचित्रमा अभिनय गर्न लागेको बताए ।
‘साइनो’ मा भुवन चन्द, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, शिखा मल्ल, राजा राजेन्द्र पोखरेल, रोय दीप श्रेष्ठ, धर्मेन्द्र आचार्य, विशाल पहाडी, रामेश्वर बुर्लाकोटी, रेगन क्षेत्री, वसुकला मैनाली, भीमसेन लामा, सविक सुर्खेतीलगायतको अभिनय रहनेछ ।
चलचित्रको छायाङ्कन काठमाडौँ, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक लगायतका विभिन्न ठाउँमा गरिनेछ ।