अवसरको पैतालाका पखेटा

अवसरको पैतालाका पखेटा

प्रधानमन्त्री केपी ओलीलाई ०७२ मा पहिलोपटक प्रधानमन्त्री हुँदा मुलुकमा संकट थियो । तर जोन एफ केनेडीले भनेझैं संकट चिनियाँ भाषमा दुइटा शब्द- मिलेर बनेको हुन्छ—एउटा खतरा र अर्को अवसर । विनाशकारी भूकम्पले थिलोथिलो भएका जनता, त्यसमाथि भारतले गरेको अमानवीय नाकाबन्दी । सहर र बजारहरूमा चुलो बल्ने ग्याँस पाँच हजार, दस हजार रुपैयाँसम्म बिक्री भइरहेको थियो । 

पेट्रोल र डिजेल किन्ने कार, बस र ट्रकको लाम पाँचदेखि सात किलोमिटर लामा देखिन्थे । अति जान्ने—बुझ्नेले भारतसँग आत्मसमर्पणको भाका बोल्न र लेख्न थालिसकेको थियो । मुलुक स्वाभिमानका पक्षमा डटिरहनुपर्ने नेपाली जनताको ठूलो पंक्ति थियो अर्कोतिर । प्रधानमन्त्री ओलीले त्यस समय आँट र साहस गर्दै भारतलाई चुनौती दिँदै भने, ‘म नाकाबन्दी नखुलेसम्म भारत जान्न’ राष्ट्रिय स्वाभिमानका पक्षमा रहेका नेपाली जनताको विशाल पंक्तिलाई लाग्यो, ‘हो, यो रैछ हाम्रो नेता ।’

 विगतमा ओलीका कट्टर आलोचक रहँदै आएका हामीजस्ताले पनि त्यसपछि ओलीका पक्षमा लेख्न थाल्यौं । नाकाबन्दी नखुलेसम्म भारत जन्न भनेर चट्टानी अडान लिएर बसेका ओली, नाकाबन्दी खुलेपछि भारत गए । तर संयुक्त विज्ञप्तिमा नेपाललाई होच्याउने शब्द प्रयोग भएको पढेर थाहा पाएपछि उक्त विज्ञप्तिमा सही नगरी ओली नेपाल फर्किए ।

त्यसपछि ओली चीन भ्रमणमा गए । त्यहाँ जेजे विषयमा सन्धि, समझदारी गरे, त्यसले नेपाली जनसाधारण, मध्यम वर्ग र उच्च वर्गीयहरू सबै प्रसन्न भए । त्यसअगावै केही वर्षदेखि ओलीले भारतीय दबाब अस्वीकार गरेर मधेस एक प्रदेशको कट्टरविरोधी प्रान्त नं १ लाई पहाड र तराईमा विभाजित गर्ने तत्कालीन भारतीय राजदूत रञ्जित रेको ठूलो र पटकपटकको दबाब स्वीकार गरेको चर्चा काठमाडौं चलेको थियो ।

 त्यस्तै पश्चिम नेपालमा पनि तराई र पहाड विभाजित गर्ने भारतीय चालको एमालेले प्रतिरोध गरेकोमा पनि हामी नेपाली प्रशंसक हुन थाल्यौं । तर कैयौंलाई सात प्रदेशमध्ये ६ प्रदेश एउटै चरित्रको र प्रदेश २ अर्कै प्रकृतिको देखिएकाले कताकता भारतको आशिंक तुष्टीकरणको अनुभव भयो ।

वास्तविकता यो हो कि लहान काण्डमा निर्दोष १६ वर्षका कलिला रमेश महतोको हत्याको विषयलाई निकै ठूलो बनाइयो । महतोको हत्या नेपाली प्रहरीको गोलीले नभई तथाकथित माओवादी सीआरएन ठाकुरद्वारा गरिएको सुनियोजित षड्यन्त्रबाट प्रारम्भ गरिएको थियो । सी आरएन ठाकुर त्यही दिन माओवादी नेता राम कार्कीको सुरक्षा गार्डका रूपमा भारतको सिक्किम-सिलगुढी हँदै नेपाल आएका थिए।

जब नेपालका कुनै शासक भारत भ्रमणमा जान लाग्छ नेपाली जनता संशकित भएर बसेका हुन्छन् । जब चीन भ्रमणमा जान लाग्छन् त्यसबेला नेपाली जनता आशाका साथ बस्छन् । यसको कारणबारे सोच्दा हामी के पाउँछौं भने हाम्रो पुरानो पुर्खाहरूको पालाको ब्रिटिसको कब्जामा थियो भारत । त्यसपछि ब्रिटिस नीतिहरूकै ढाकर बोकेको भारतीय नोकरशाही मौका पायो कि नेपाल र नेपाली जनतालाई छलेर आफ्नो एकतर्फी स्वार्थ पूरा गर्ने नीति लिन्छ । 

अर्कोतिर नेपालसँग चीनको सम्बन्ध, सम्पर्क र सहकार्य निरन्तर रहँदै आयो । राजा महेन्द्रले जब भारतसँग सयौं बाटा, हजारौं गोरेटा रहेको नेपालका लागि एउटा मोटरबाटो चीनतर्फ खोले नेपाल साधारण जनताले राजा महेन्द्रको संसदीय प्रजातन्त्र समाप्त गरेको र तानाशाही शासन खडा गरेको कार्यलाई निकैबेर बिर्से । राजा महेन्द्रले मात्र साँचो राष्ट्रवादी र दलहरूलाई अर्राष्ट्रिय तत्व संज्ञा दिएका थिए । त्यसपछि ठूलो भूमिसुधार गरेर नेपालको वाम र किसान आन्दोलनलाई पनि पन्छाई आफ्नो तानाशाहीलाई बलियो बनाए ।

प्रधानमन्त्री ओली असार ५ गते चीन भ्रमणमा जाँदैछन् । हामीले सर्वप्रथम हाम्रो पहिलो प्राथमिकता केके हुन्, त्यसको परिपूर्तिमा लाग्नुपर्छ । चीनबाट हामीले के चाहेको हो स्पष्ट हुनुपर्छ । चीनबाट हामीले केके आयात गर्नुपर्ने हो, जे चिज हामीसँग छैन वा अन्यत्रबाट पनि उपलब्ध हुन सक्दैन, त्यसबारे हामी खुलस्त हुन सक्नुपर्छ ।

 अरू धेरै देशले पनि आयात गर्दछन् । जस्तै पेट्रोलिय पदार्थ, उच्च टेक्नोलोजी, उद्योगधन्दालाई आवश्यक यन्त्र तथा उपकरण इत्यादि । हामीलाई ऊर्जा, लगानी, उद्योगधन्दाको ठूलो आवश्यकता छ । नेपाल ऊर्जाका स्रोत र मुहानहरूले भरिएको देश आज चार ५० मेघावाट भारतबाट बिजुली आयात गर्दैछौं । विद्युत् नआउँदा पनि कयौं करोड प्रसारण लाइनबाट भारतलाई बुझाउँछौं ।

यो सजिलै र चाँडै हामीले आपूर्ति गर्न सक्छौं । तर स्रोत र मुहानसमेतको स्वामित्व विदेशी कम्पनीलाई दिन छोड्यौं भने त्यो परनिर्भरता समाप्त हुने छैन । अरुण ३ को जस्तो गल्ती दोहोरिनु हुँदैन । हाम्रो देशको श्रम साह्रै सस्तो छ । काम गर्नसक्ने तीस-चालीस लाख व्यक्ति खाडीका मरुभूमि, मलेसिया र अन्यत्र पनि दिनहुँ गरिरहेका छन् । बंगलादेश सस्तो श्रमको कारण विदेशी उद्योगधन्दा बढिरहेका छन् । संयुक्त लगानी र विदेशी कम्पनीका उद्योगको थलो बनाउन आवश्यक छ नेपाललाई । 

अमेरिकी कम्पनीमा पनि नामीनामी ब्रान्डका कपडाहरू हेर्नुस् ‘मेड इन चाइना’ लेखिएको पाइन्छ । सोफा, काउच, बिछ्यौना, ओढ्ने अमेरिकी कम्पनीका छन् । तर उही मेड इन चाइनाको ट्गागभित्र छ । देङ स्यायो पिङले चीनको विशाल भूमिमा अमेरिकी उद्योगधन्दा तथा कलकारखानाका लागि रातो तुल बिछ्याइदिएका थिए । पानीजहाज बनाउने विशाल उद्योग दक्षिणी कोरियालीका लागि खोलिदिएका थिए । त्यस्तै अन्य पश्चिमा र अन्य विदेशीका लागि पनि अन्य सहज बाटो बनाइदिएका थिए ।

पहिलोपटक प्रधानमन्त्री हुँदा सन् २०१६ मा भएको ओलीको चीन भ्रमण संकटपूर्ण र विषम परिस्थितिमा भए पनि सफल नै रह्यो । आसन्न भ्रमणबाट पनि नेपालका सबै वर्गका जनता, ठूला व्यापारी, उद्योगपतिदेखि सबै श्रेणीका जनतामा ठूलो आशा छ । प्रधानमन्त्री ओलीको दोस्रो भ्रमणका एजेन्डाबारे पूर्वजानकारी दिइएको छैन । तर अखबारमा चर्चा भएका एजेन्डा राम्रा मात्र होइन, धेरै राम्रा लागिरहेका छन् । तर राम्रा विचार र सोचाइलाई कार्यरूप वा मूर्तरूप दिइएनन् भने ती कोरा कल्पना र गफमै सीमित हुनेछन् ।

हाल चर्चामा ऊर्जा सहयोगको समझदारी पुँजी संरक्षण प्रत्याभूति, निजी क्षेत्रका लागि ४० अर्बको संयुक्त लगानीका कुरा, व्यापार पारवहन सम्झौताका साथै प्रधानमन्त्री नहुँदै हेलिकोप्टरमा केरुङ पुगेर ओलीले रेल यहीबाट आउँछ भन्ने उद्घोष गरेका थिए । भ्रमणअघि नै चीन काठमाडौं केदारी राजमार्ग र केरुङबाट आउने बाटोमा आधुनिक पुल निर्माण गर्ने चर्चा प्रकाशित भइसकेको छ ।

अघिल्लोपटक चीन भ्रमणमा जाँदा त्यहाँका राष्ट्रपति सी जिनपिङले ओलीसँग हात मिलाउँदै भनेका थिए, ‘नेपाल चीन र भारतमाझको पुल हुन सक्छ ।’ हामी पनि मनैदेखि चाहन्छौं, भारतीय रेल र चिनियाँ रेलका सडकको नेपाल मिलनबिन्दु बनोस् । राजा महेन्द्रले हिमालपारि चीनबाट पहिलोपटक मोटरबाटो बनाउने सन्धि गर्दा नेपालका सहर र गाउँका जनता प्रसन्न भएका थिए । त्यसबेला महेन्द्रका लागि यो काम ठूलो संकट र जोखिमपूर्ण थियो । तर उनले आँट गरेर नेपाली जनतालाई खुसी बनाउने काम गरे । 

भारतीय भूमिको एकलौटी घेराबाट पहिलो सास फेर्ने झ्यालढोका हुन पुगे । ठूलो विदेशी विरोधको त्यत्तिकै ठूलो साहस र कूटनीतिका साथ महेन्द्रले प्रतिरोध गर्न सकेका थिए । किनभने नेपाली जनताले ठूलो मात्रामा यस काममा साथ दिएका थिए । त्यत्तिकै ठूलो काम व्यापक भूमिसुधार र पूर्वपश्चिम राजमार्ग निर्माण गर्न प्रारम्भ गरेर महेन्द्रले आफ्नो शासनलाई धेरै बलियो बनाएका थिए ।

नेपाली जनता अब राम्रा शब्दजालका पछाडि दौडिने खालका छैनन् । उनीहरू पनि सोच्छन्, ‘हामीले के पायौं र देशले के पायो ? ’ यसपालि दोस्रोपटक प्रधानमन्त्री भएपछि प्रारम्भका दिनहरूमा ओलीको त्यो पुरानो उच्च छविमा थोरै भए पनि दाग लागेजस्तो भयो । तर फेरि समयले ओलीलार्ई एउटा ठूलो अवसर दिएको छ । तर यो उखान नबिर्सौं अवसरका पैतालामा पखेटा हुन्छन्, मौकामै समाउन सकिएन भने त्यो उडेर जान्छ । 

हाइलाइट
नेपाली जनता अब राम्रा शब्दजालका पछाडि दौडिने खालका छैनन् । उनीहरू पनि सोच्छन्, ‘हामीले के पायौं र देशले के पायो ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.