यौन हिंसाबाट बच्न बालिकालाई तालिम
बर्दिबास : ग्रामीण भेगका स्कुले बालिकालाई सूचना प्रविधिको पहुँचसम्म पुर्याउन सरोकारवला जुटेका छन्। समाजिक सञ्जालबाट हुने यौन हिंसा बचाउन र बढ्दो सूचना संचार तथा प्रविधिको उपभोग गर्न बुधबार बर्दिबासका २० जना बालिकालाई जानकारी दिइएको छ।
बर्दिबासको जनता मावि गौरीबास, देउराली मावि, जनजागृति मावि पाटु र सरस्वति मावि पाटुका बालिकालाई नेपाल दूर संचार प्राधिकरण काठमाडौंले सूचना तथा प्रविधिको बारेमा जानकारी दिइरहेका छन्।
संचार प्रविधिको प्रयोगबाट कसरी अध्ययन सामग्री खोज्न सकिने, आफूलाई परेको समस्याको बारेमा सम्बन्धित निकायमा जानकारी गराउनेबारे जानकारी गराएको छ।सामाजिक सञ्जाल फेसबुक, टुइटर, भाइबर, स्काइपलगायतका माध्यबारे छात्रलाई अडियो, भिजुअलबाट विभिन्न जानकारी गराइँदैछ।
संचारका सञ्जाल प्रयोग गर्न नजान्दा र यसको बारेमा जानकारी नहुँदा सहरभन्दा ग्रामीण भेगका बालिका बढी यौनहिंसाको सिकार भइरहेका छन्।बालिकालाई हिंसाबाट बचाउन सूचना प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजन गरिएको हो।
सूचना र प्रविधिको प्रयोग र जानकारीले समाजिक कुरुति बालबालिका तथा महिलाविरुद्धको हिंसा, जातीय भेदभाव, बालबिबाह, मावन अधिकार हनन जस्ता घटनाको विरुद्ध जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको जनता मावि गौरीडाँडाका शिक्षक नेत्रबहादुर रमतेलले जनाए।
महोत्तरी दलित जनजाति उत्थान संघले संयोजक गरेको पाँच दिने तालिमको उद्घाटन बर्दिबास नगरपालिका मेयर विदुर कार्कीले गरेका थिए। 'सीमान्तकृत समुदायका किशोरी सूचना संचार तथा प्रविधिबाट टाढा छन्।'मेयर काकीले भने, 'अहिले संसार सूचना प्रविधिमा टिकेको छ।अब प्रतिस्पर्धा गर्न पनि प्रविधिको ज्ञान राख्नु जरुरी छ।'
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार १ करोड २२ लाख नागरिक इन्टरनेटको पहुँचमा छन्। मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या १ करोड १७ लाख छ भने नेपालमा ५८ लाखले फेसबुक चलाउँछन् ।