प्रदेश राजधानीको असर : महँगियो जनकपुर

प्रदेश राजधानीको असर : महँगियो जनकपुर

जनकपुर : प्रदेश २ को अस्थायी मुकाम घोषणा भएपछि जनकपुर निरन्तर महँगिँदै गएको छ। जनकपुरमा खाद्यान्नदेखि लत्ताकपडाको मूल्य पनि महँगिएको छ। पछिल्लो ६ महिनामा जनकपुर पहिलाभन्दा महँगिएको स्थानीय बासिन्दाको पनि आंकलन छ। उनीहरूका अनुसार जनकपुर जहिलेदेखि प्रदेश राजधानी भयो तबदेखि महँगो हुँदै गएको हो। घरभाडा, होटल, तरकारी, जग्गाजमिन, यातायातसहित अधिकांशको मूल्य वृद्धि भएको पाइन्छ।

वीरगन्जका केसी लामिछानेले जनकपुरको एउटा होटलमा एक छाक सादा खाना खाँदा करिब सात सय रुपैयाँ तिर्नुप¥यो। त्यो होटल हो–जनकपुरको सीताशरण। उक्त होटलमा खाना खाँदा उनले ६ सय ८० रुपैयाँ तिर्नुपरेको थियो। तर त्यही खाना सिमराको फोर स्टार होटेलमा साढे चार सयदेखि पाँच सयबीच रहेको उनी बताउँछन्। तर होटलका म्यानेजर कमल सिंहले धेरै महँगो नभएको दाबी गरे। उनका अनुसार त्यो एकदम सस्तो छ। उनी भन्छन्, ‘यहाँको खाना गुणस्तरीय छ। हरेक कुरा फरक छ। त्यही भएर अरुभन्दा अलि बढी पैसा लिने गरेका छौं।’ यो क्वालिटीको पैसा हो’,उनले भने। ‘जहाँ क्वालिटी हुन्छ, त्यहाँ स्वतः बढी पैसा लाग्छ’, उनले थपे।

वीरगन्जकै श्याम पटेलले गएको बिहीबार एक होटलमा भुजा (मुरी) र पकौडा खाँदा साढे एघार सय तिर्नु परेको सुनाए। उनी भन्छन्, ‘त्यो होटल एकदम सामान्य थियो। हामी पाँच जनाले यहाँ भुजा÷पकौडा खाजा खायौ। तर पैसा यति तिर्नुप¥यो।’ सामान्य खाजा खाँदा पनि त्यति पैसा लिनु ठगिए सरह भएको उनले सुनाए। वीरगन्जमा अढाइ सयदेखि तीन सय रुपैयाँमा मासुसहित खाना खान पाइने उनको भनाइ थियो। यी दुईजना त प्रतिनिधि पात्र मात्र हुन्।

प्रदेश २ कै मुख्यमन्त्री कार्यालयका एक जना कर्मचारीले कपाल र दाह्री काट्दा आठ सय रुपैयाँ तिर्नु परेको गुनासो गरे। त्यसैगरी शिव पौडेलका अनुसार एयरपोर्टबाट एक किलोमिटर दूरीमा जाँदा ई–रिक्सालाई दुई सय रुपैयाँ भाडा तिरेका थिए। घर भाडादेखि रिक्सा भाडा, जग्गाजमिन, सैलुन, खाजा पसलसहित हरेक ठाउँमा महँगीले छोएको छ। सबै ठाउँमा मनपरी भएको छ। जानकी मन्दिर नजिकै रहेको शिव चोकमा एउटा अन्डाको तीस रुपैयाँ लिइन्छ। यति महँगो किन भनेर अन्डावालासँग सोध्दा एउटै जवाफ आउँछ ‘जनकपुर राजधानी भगले न’ अर्थात् राजधानी भइसक्यो नि। जबकि, त्यो अन्डा अधिकतम १२ रुपैयाँमा पाइन्थ्यो। त्यसैगरी सामान्य मिनिरल वाटर बोतलको मूल्य तीस रुपैयाँ तिर्नुपर्छ। यद्यपि, काठमाडौं देशकै राजधानी हुँदा पनि सामान्य खाले मिनरल वाटरको बोतल २० रुपैयाँमै पाइन्छ।

जनकपुर प्रदेशको अस्थाई मुकाम भएपछि महँगीले आकास छोएको सर्वसाधारण बताउँछन्। उनीहरूका अनुसार राजधानी भएपछि त पुराना डेरावालालाई अहिले घरै खाली गराउन थालिएको छ। ताकी नयाँ भाडा लगाउँदा बढी भाडा आउँछ। स्थानीय दीपक यादवका अनुसार अहिले जनकपुरमा हरेक सामानको मूल्य आकासिएको छ। पहिलाभन्दा अहिले खानेकुरादेखि हरेक ठाउँमा पैसा बढी लाग्ने गरेको उनको भनाइ छ।

भानुचोक निवासी यज्ञ श्रेष्ठ एउटा खाना खुवाउने होटलका एक साहु व्यवसायी हुन्। उनी भन्छन्, ‘पहिले यहाँ हामीलाई चाहिने तरकारीसहित अन्य सामान सस्तो थियो। त्यही भएर हामी पनि सस्तोमा खुवाउथ्यौं। तर अहिले महँगो भइसकेको छ, त्ययसकारण हामी पनि त्यही अनुसार पैसा लिन्छौं।’ उनका अनुसार पहिलेभन्दा महँगिएको र आकास जमिको फरक भइसकेको छ।

अहिले जनकपुरमा फ्ल्याट भाडा १५ हजारदेखि माथि छ। तर, वीरगन्जमा भने अहिले पनि १० हजारभित्र नै पाइन्छ। तर, जनकपुर मानकी होटलका प्रमुख निरञ्जन साहले महँगी कतै नभएको बताउँछन्। उनका अनुसार आफ्नो होटलमा भेज खाना तीन सय र ननभेज साढे चार सयमा पाइन्छ। ‘कहाँ यो महँगो हो र ? ’ उनले प्रश्न गरे।

खानेकुरामा मात्र नभई जग्गा खरिदबिक्रीमा अहिले दररेट फरक भइसकेको जग्गा कारोबारीहरू बताउँछन्। धनुषामा जग्गाको कारोबार गर्ने श्याम यादवका अनुसार जनकपुर प्रदेश राजधानी भएपछि जग्गा खरिदबिक्री बढेको र मूल्य वृद्धि पनि १५ प्रतिशतमाथि छ। यो अस्थायी राजधानी भएपछि मात्र बढेको उनी बताउँछन्।

जनकपुर प्रदेश राजधानी भएपछि खाद्यान्न, लत्ताकपडा, घरभाडा, होटल, तरकारी, जग्गाजमिन, यातायातसहित अधिकांश क्षेत्रको मूल्य वृद्धि भएको छ।

उनी भन्छन्, ‘पहिला धुरको २÷४ लाख पर्ने जग्गा अहिले सवा २÷४ लाख पर्छ।’ केवल प्रदेश राजधानी भएकै कारणले हरेक कुरा महँगिएको उनको भनाइ छ। जनकपुर प्रदेश राजधानी भएपछि सबैको मानसिकता महँगो हुनुपर्छ भन्ने छाप परेको छ’, उनले भने। त्यसैले पहिलाभन्दा महँगी अहिले आएर बढेको पाइएको उनी बताउँछन्। जग्गा कारोबारीहरू भन्छन्, ‘अहिले सबैमा राजधानीको भूत सवार भएको पाइन्छ। त्यही भएर जग्गाको रेट पनि बढाएका छन्। जसले गर्दा पहिला जस्तो अहिले बिक्री पनि भइरहेको छैन।’

जनकपुर उपमहानगरपालिकामा २५ वडा छन्। उपमहानगरपालिकाका अनुसार यसको एक सय दुई किलोमटिर क्षेत्रफल छ। जसमा झन्डै डेढ लाखभन्दा बढी जनसंख्या बसोबास रहेको उपमहानगरपालिकाले जनाएको छ। पछिल्लो समय जनकपुर आवतजावत गर्नेको संख्या बढेकाले महँगी बढेको जानकारहरू बताउँछन्।

उनीहरूका अनुसार पहिले भन्दा यहाँ आवतजावत गर्ने संख्या बढेको छ। अस्थायी राजधानी भएपछि राजनीतिककर्मीदेखि लिएर विभिन्न पेसामा आबद्धहरू जनकपुरमा बेग्लाबेग्लै डेरा लिएर बस्न थालेका छन्। जसले गर्दा जनघनत्व बढेको छ। भाडामा दिने घर थोरै हुनु पनि महँगीको कारण बनेको छ।

ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार अहिले जनकपुरमा पहिलेभन्दा करिब १०÷१५ प्रतिशत बढी सवारीसाधन भित्रिने गरेका छन्। पथलैया ट्राफिक प्रहरी प्रमुख एसपी किरण बज्राचार्यका अनुसार अहिले दैनिक जनकपुरमा करिब डेढ हजार सवारीसाधन आवतजावत गर्छन्। ‘प्रदेश राजधानी बन्नुअघि एक हजार हाराहारी सवारीसाधन आवतजावत गर्थे’, उनले भनिन्। उनका अनुसार अहिले दैनिक पाँच सय ५० बस, ६ सय ५० जिप कार र दुई सय ५० भन्दा बढी भारतीय विभिन्न खाले सावरीसाधन आवतजावत गर्ने गरेका छन्।

एक घर मालिक वसन्त वाग्ले भन्छन्, ‘घर कम छ, मान्छेको संख्या थपिएको छ। त्यही भएर जसले बढी पैसा दिन्छ, उसलाई घर भाडामा दिने चलन छ।’ घर अभावले गर्दा पनि महँगी बढेको उनको तर्क छ। उनका अनुसार अहिले यहाँ सस्तोमा घर खोज्नेले डेरा नै पाइरहेका छैनन्। एक प्रदेश सांसदको अवस्था पनि त्यस्तै छ।

उनी हुन् संघीय समाजवादी पार्टी फोरमका सांसद प्रह्लाद गिरी। करिब ५÷६ महिनादेखि १० हजार पर्ने फ्ल्याट खोज्दा अहिलेसम्म नपाएको उनले दुखेसो पोखे। अहिले पनि उनी होटल तथा साथीभाइको डेरामा बस्दै आएका छन्। तर त्यही अर्का सांसद मन्जुर अंसारीले करिब २० हजार रुपैयाँ महिनाको डेरा भाडा तिर्छन्। अधिकांश प्रदेशसभा सदस्यको अवस्था उस्तै छ। कि त महँगोका डेरा पाएका छन् कि होटल वा साथीभाइकोमा बस्ने गरेका छन्। महँगीका कारण र कृत्रिम अभावले अझै पनि कतिपय सांसद नै डेराबिहीन बनेका छन्। कतिपय सांसदले जनकपुरमा महँगी भयो भनेर प्रदेश सरकारलाई सांसदका लागि क्वाटरको व्यवस्था गर्न आग्रह गरिसकेको बताए।

पछिल्लो समय जनकपुर महँगीले आकास छोए पनि कुनै निकायले यसको नियमन ÷अनुगमन गरेका छैनन्। न जिल्ला प्रशासन कार्यालयले त्यसतर्फ ध्यान दिएको छ भने न प्रदेश सरकारले। सम्बन्धित सबै निकाय मौन रहेको स्थानीयहरू बताउँछन्। त्यही भएर मनपरी तरिकाले महँगी बढिरहेको उनीहरूको गुनासो छ।

विद्यार्थी मर्कामा

पछिल्लो समय बढेको महँगीले विद्यार्थी बढी मर्कामा छन्। स्थानीय विद्यार्थी कुलदीप साहले महँगीका कारण आफू झन समस्यामा परेको सुनाए। उनी भन्छन्, ‘कामधाम केही गरिँदैन। विद्यार्थी भएकाले घरबाटै पैसा मागिन्छ। तर यहाँ त्यसले गुजारा चलाउन धौधौ भइरहेको छ।’ बढेको महँगीका कारण त्यो पैसाबाट म्यानेज हुन सकिरहेको छैन’, उनले भने।

उनी भन्छन्, ‘सबै समान किनेर खानुपर्छ, त्यसका लागि एकमुष्ट पैसा आउँछ घरबाट। तर बढेको महँगीले घर भाडा बढ्दा त्यति पैसा दिन पनि अब झन्झट मानिरहेका छन्।’ उनका अनुसार पहिले सामान्य कोठाको घर भाडा एक हजार थियो भने अहिले डेढ हजार भन्दा माथि पुगेको छ। जसका कारण विद्यार्थीहरू मर्कामा परेको उनी बताउँछन्।

कुलदीप साह मधेशीका अनुसार जनकपुरमा कानुन राज्य रहेको भन्ने आवास नै भइरहेको छैन। ‘त्यही भएर चारैतिर लुटतन्त्रको प्रवृत्ति हाबी भएको छ। तर यसो हुनुको मुख्य कारण कानुनको उपस्थिति नहुनु हो। जसका कारण चारैतिर मनोमानी भएको छ’, उनले भने।

अर्थमन्त्री यादवको स्वीकारोक्ति

अधिकार नभएका कारण अहिलेसम्म प्रदेश सरकारले केही गर्न नसकेको प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री विजय यादवले स्विकारे। उनी भन्छन्, ‘अब अधिकार प्राप्त भइसकेको छ, कारबाही प्रक्रियाको अब थालनी हुन्छ।’ उनका अनुसार राजधानीको नाममा पछिल्लो समय कालोबजारी मौलाएको छ। त्यो कुरा प्रदेश सरकारको पनि नोटिसमा रहेको उनी बताउँछन्। तर त्यसलाई कारबाही गर्न प्रदेश सरकारसँग अधिकार थिएन’, उनले भने। अब सबै नियमहरू बनिसकेकाले चाँडै त्यसको रोकथाममा प्रदेश सरकार उत्रिने उनले जनाए। ‘प्रहरी प्रशासन पनि प्रदेश सरकार मातहत थिएन’, उनले भने, ‘त्यही भएर कसैलाई केही भनिदैन्थ्यो। तर अहिले त्यो सबै समस्या समाधान भइसकेको छ।’ अब सबै ऐन कानुनभित्र आउने उनको दाबी छ।

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले भने खासै महँगी नबढेको बताए। उनका अनुसार राजधानी भएपछि जग्गाको भाउ अलिकति बढेको छ। खासै त्यस्तो महँगी नबढेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.