विद्यालय हातामै सशस्त्रको क्याम्प

विद्यालय हातामै सशस्त्रको क्याम्प

वीरगन्ज  : पर्साको एक सामुदायिक विद्यालयमा वर्षौंदेखि प्रहरीले बेस क्याम्पम राखेको पाइएको छ । पर्साको पकहाँ मैनपुरमा रहेको श्री रामचरित्र भगत उच्च माध्यमिक विद्यालयमा करिब १० वर्षदेखि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टको क्याम्प राखिएको छ ।

सरकारले २०६८ जेठ ११ देखि विद्यालय शान्ति क्षेत्र घोषणा गरे पनि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट पकाहाँ मैनपुरले ०६६ सालदेखि विद्यालयको हातामै क्याम्प खडा गरेको छ ।

घोषणा कार्यान्वयनका लागि ‘विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८’ पनि जारी गरेको छ । निर्देशिकाले विद्यालयलाई सशस्त्र गतिविधि र अन्य हिंसाबाट मुक्त राख्ने, दलगत तथा अन्य हस्तक्षेपबाट मुक्त राख्ने, विद्यालयलाई भेदभाव, दुव्र्यवहार, बेवास्ता र शोषणबाट मुक्त गर्ने उद्देश्य लिएको छ । विद्यालयको नजिकमा फौजको ब्यारेक हुनु वा चौकी हुनुले विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीको मनोविज्ञानमा प्रतिकूल असर पर्ने शिक्षा क्षेत्रमा लागेका अभियान्ताहरू बताउँछन् ।

विश्वव्यापी रूपमा पनि हतियार र फौज विद्यालय र विद्यार्थीको नजिक हुन नहुने मान्यता स्थापित छ । द्वन्द्वकालमा विद्यालय तथा स्वास्थ्य चौकीहरूमा राखिएका सुरक्षा अंगका बेसहरू शान्ति निर्माणको समयमा सबै स्थानबाट सुरक्षा अंगलाई अन्यत्र व्यवस्थापन गरिएको थियो । विद्यालयमा बालबालिकाहरू जाने, अध्ययन गर्ने र खेल्ने स्थान भएकोले भय सिर्जना हुने कुनै पनि गतिविधि हुन उचित नहुने भन्दै विद्यालय र स्वास्थ्यचौकीहरूलाई सुरक्षा फौजबाट टाढा राख्नुपर्ने मान्यता स्थापित भएको हो । ‘हतियारको प्रर्दशनले विद्यार्थीमा नराम्रो असर पर्छ । लामो समय शिक्षा क्षेत्रमा काम गरेका सामाजिक अभियन्ता बृजकिशोर पटेलले भने, ‘बाल मनोविज्ञानमा हतियारप्रतिको चासो बढ्ने वा त्यसबाट डरसमेत पैदा हुने भएकोले विद्यालय क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा विकास गर्ने अवधारणा आएको हो ।

विद्यालय निरीक्षक महन्थ यादवले विद्यालय हातामै राखिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट नियमविपरीत रहेको जनाए । उनले यसरी विद्यालय हातामै सशस्त्र प्रहरीको कार्यालय राख्नु एकदमै गलत भएको बताए । यसलाई हटाउन बारम्बार विद्यालय व्यवस्थापन समिति तथा गाउँपालिका प्रमुखलाई भन्दा पनि कसैले वास्ता नगरेको उनी बताउँछन् । विद्यालयका प्रधानाध्यापक धुपनाथ प्रसादले यो पहिलादेखि नै राखेको जनाए । ‘तीन वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएको छु’, उनले भने, ‘तर यो कसरी र कुन प्रक्रियाले राखिएको हो मलाई पनि थाहा छैन ।’ तर अब सबैसँग छलफल गरेर यसबारे निचोड निकाल्ने उनले जनाए ।

पर्सा जिल्लामा १८ वटा युनिट रहेको सीमा सुरक्षा बल कार्यालयले जनाएको छ । अधिकांश युनिटसँग आफ्नो भवन नरहेको पर्साका सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज शाहले जनाए । आउट पोस्ट ८, बेस क्याम्प ८, राजस्व १ र एउटा सीमा सुरक्षा बलको कार्यालय गरी कुल १८ सशस्त्र प्रहरीको युनिट रहेको एसपी शाहले बताए ।

उनका अनुसार पकहाँ मैनपुरसहितका अधिकांश युनिटसँग आफ्नो छुट्टै भवन छैन । तर अब विस्तारै सरकारले भवन बनाउने कार्य गरिरहेकोले सबैसँग चाँडै निजी भवन हुने उनले जनाए । प्रसाद भन्छन्, ‘पकहाँ मैनपुर म आउनुभन्दा पहिलादेखि नै विद्यालयमा बसिरहेको छ । तर अब चाँडै सार्न लगाउछु ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.