कथाको कहानी, मनु ब्राजाकी

कथाको कहानी, मनु ब्राजाकी

सन्दर्भ : मनु ब्राजाकीको ७६ औं जयन्ती


ब्राजाकी थोरै कमाइवाला मजदुरले पिउने काठमाडौंका अँध्यारा र साना गल्लीका भट्टीहरूमा दारु पिउँथे। तिनै भट्टीमा हप्तौं बिताउँथे। र, मजदुर, गरिब, तल्लो तहका सरकारी कर्मचारी, पुलिस, सेनाका जीवनका विभिन्न आयामका कथा–खजना बोकी निक्लन्थे।

नवीन विभास

प्रिय कथाकार मनु बाज्राकीलाई मैले कहिल्यै भेटिनँ।

‘गल्ती त गरिनँ ? ’

मनको अन्तरकुन्तरबाट यो तर्कनाले रातबिरात बाटो छेक्छ जब ‘ब्राजाकीकृत कथा’ र तिनका पात्रसित भेटघाट हुन्छ।

‘यो तर्कनामुक्त कहिले हुन्छु ? ’

रामजाने।

०००

छापामार युद्ध थाल्न (शोषण–उत्पीडनमुक्त वर्गविहीन नेपाली समाज बनाउन) तीन युवा रातुखोलाको किनारै किनार भएर सिन्धुली जाँदै थिए। साथमा माक्र्स र माओका छापामार युद्ध र जनवादी सत्ताबारे बहस पनि गर्दै थिए। हिँड्दाहिँड्दै ती तीन युवा भिमान पुगे।

त्यस बेला राजा महेन्द्रको ‘पञ्चायत’ पाँच वर्षको थियो।

त्यस बेला गठन गरेका थिए, कम्युनिस्ट समाज। र, नेपालमा छापामार युद्ध थाल्ने आधारभूमि सिन्धुली र रामेछापलाई रोजेको थियो, समाजले।

त्यो समाज ठ्याक्कै कम्युनिस्ट पार्टी भने थिएन। उसो त ती युवाले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलगायत केही थान नेतालाई भारत पुगेरै भेटेका थिए।

भिमान त्यही ठाउँ थियो जहाँ सय वर्षअघि नेपाल हान्न आउँदा एक ब्रिटिस क्याप्टेन बास बसेका थिए। र, भिमानकै पुलिसचौकीलाई ‘जनयुद्ध’ताका माओवादीले आक्रमण गरेको थियो।

ती युवा भिमान पुग्दा एक ठाउँमा खसी काटेर बिला (भाग लाउनु) लगाउँदै थिए। तिनले एउटा बिला किने। र, त्यस रात खसीको मासुसहित ठर्रालाई सहिद बनाए।

‘घिमिरे (जगदीश) कुरामा मात्र आदर्शवादी थिए। तर, व्यवहारमा आफ्नो झोला पनि नबोक्ने खाले। लामा (चन्द्रमान) पूरै व्यवहारवादी थिए। मचाहिँ केही नि थिइनँ’, एकै रातमा ‘नेपालमा छापामार युद्ध थाल्ने योजना युद्ध नै नथाली कसरी भिमानमै सकियो’ भन्ने कुरा उप्काउँदै मनु ब्राजाकीले कुनै अन्तर्वार्तामा भनेका छन्, सायद पत्रकार राजकुमार बानियाँसित। रातुखोला किनारैकिनार हिँडेर बसेको भिमान बासबारे जगदीश घिमिरेले ‘अन्तर्मनको यात्रा’मा वर्णन गरेका छन्।

१९९९ साउन १९ गते महोत्तरीस्थित औरहीमा जन्मेका ब्राजाकी रातुखोला किनारमा हिँड्दा २२ टेकेका पोते तन्नेरी थिए। पोखराबाट मधेस झरेको ब्राजाकी परिवार ठूलो जमिनदार थियो। तिनको खेतमात्रै पनि पाँच सय बिघा। जमिनदार परिवार ‘धार्मिक’ पनि थियो।

बालापनका सुरुआती कालका केही वर्ष ब्राजाकीले हजुरबासित जनकपुरमा बिताए। त्यसपछि उनको बाल्य र युवाकाल हजुरबासित नै बनारसमा बित्यो। हजुरबा बितेपछि मात्र ब्राजाकी नेपाल फर्के।

आमा मधेसमा थिइन्। ब्राजाकी बनारसमा। ‘आमा माया’ मेट्न उनले बनारसे पुस्तकालयका किताबको सहारा लिए। र, किताबमा आमाको माया यसरी सर्‍यो कि, किताबमा उल्लिखित ठाउँ, गाउँ र सहर नभेटी उनको मन नअडिने भयो।

त्यसपछि ?

किताब पढ्ने र विभिन्न ठाउँ घुम्ने उनको जीवनशैली बन्यो।

वनारसमा एक दिन घटना भयो। त्यो थियो, दुईजना व्यक्तिका झगडा र हात हालाहाल। उनले पछि थाहा पाए, ती दुई फरकफरक धर्मावलम्बी थिए। र, लडाइँको बीउ थियो, धर्म र जात।

त्यस घटनाले उनलाई हल्लाउनु हल्लायो। उनलाई यसरी हल्लायो कि समाज र संसारलाई हेर्ने मन र विचार बदलियो। त्यो घटनापछि उनी मानवतावादी भए। र, उनको मनमा कर्मकाण्ड र जातिपातिप्रति असीम घृणा जन्मियो।

ब्राजाकीको नाउँको बीचमा थियो, ‘सिंह’। एक दिन उनले त्यो सिंह मिल्काए। र, साथमा ‘भण्डारी’ पनि। मानवतावादी चेतमानसिंह भण्डारी भए, मनु ब्राजाकी।

संस्कृतमा मनुको अर्थ मान्छे हो। र, ब्राजाकको अर्थ त्याग। तर, ‘ब्राजाकी’ले भने कुनै अर्थ बोकेको थिएन।

‘ब्राजाकी’को अर्थ सोध्ने धेरैलाई उनले अन्तर्वार्ताहरूमा आफूलाई नै ‘ब्राजाकी अर्थ्याउन’ भनेका छन्।

परिवार र नातेदारचाहिँ जमिनदार, पञ्च, मन्त्रीजस्ता शक्तिशाली थिए। चाहेको भए, उनको लागि (नेपाली समाजले ठान्ने ‘तरक्की’ गर्ने बाटो) धन र शक्ति आर्जनको बाटो उनको गोडा छेउमै थियो। तर, उनले त्यो बाटो रोजेनन्।

उनलाई त सामन्ती भाषा र व्यवहारप्रति नै घृणा थियो। र, आफूले पनि कहिल्यै त्यसलाई अवलम्बन गरेनन्।

ब्राजाकी–मित्र कवि श्यामलले ‘आफूभन्दा साना (उमेर वा अन्य कारणले)लाई पनि नम्र भावमा ‘जी’ र ‘तपाईं’ भन्थे’ भनेर उल्लेख गरेका छन्।

गज्जब कथा र गजल लेख्न माहिर ब्राजाकी खस नेपाली साहित्यिक दुनियाँमा फिरन्ते र दारुको पर्यायको नाउँमा ‘परिचित’ थिए। उनी त यति घुम्थे कि आफूले पढेका किताबमा चित्रित ठाउँ र आफ्नो लेखन खजना खोज्न देशदेशावर नपुगी उनका गोडा ‘सायदै’ थामिन्थे।

अनेकौं किस्सा थिए, उनको दारु प्रेमका। र, उसैगरी ‘गज्जब कथाकार’को पनि।

हो, उनी दारु पिउँथे। उनले थोरै कमाइवाला मजदुरले पिउने काठमाडौंका अँध्यारा र साना गल्लीका भट्टीहरूमा पिउँथे। र, उनी तिनै भट्टीमा हप्तौं बिताउँथे। र, मजदुर, गरिब, तल्लो तहका सरकारी कर्मचारी, पुलिस, सेनाका जीवनका विभिन्न आयामका कथा–खजना बोकी निक्लन्थे।

एक दिन उनका काकाले बिहे गर्न भने। उनीचाहिँ काकाको कुरा काट्न नसक्ने मात्र होइन, काकादेखि डराउँथे पनि। त्यस बेला उनी २४ वर्षका थिए। र, त्यो जमानामा २४ वर्ष बिहेका लागि ‘बेला घर्किसकेको’ मानिन्थ्यो।

परिवार र नातेदारलाई लागेको थियो कि, बिहेपछि ब्राजाकीको ‘घुमन्ते चाला’मा ब्रेक लाग्नेछ।

परिवारले सिन्धुली थापा चेलीको हात माग्यो। र, बिहेको कुरा पनि छिनियो। उनी भने मागेको भोलिपल्ट नै गुहाटी लागे। संयोग ! बिहे हुने केही दिनअघि मात्र उनी घर फिरे।

बिहेपछि घुमन्ते जीवनशैलीमा तलमाथि भएन। ‘यसरी डुल्ने नै भए किन बिहे गरेको’ भन्ने ‘पत्नी गुनासो’ले काम गरेन।

उनी त ११ वर्षको उमेरदेखि नै डुल्न थालेका थिए।

ब्राजाकीले १९ बर्षको उमेरमा ‘भर्‍याङ’मार्फत खस नेपाली भाषाको कथा साहित्यमा साइत गरेका थिए।

पोखरेली पहाडी मूलका ब्राजाकी मधेस जीवनशैलीसँग यसरी घुले कि मधेस लोकजीवन नै उनका कथा भएर उनिए। मधेससँगै ‘आकाशको फल’, ‘अवमूल्यन’, ‘अन्नपूर्णाको भोज’, ‘तिम्री स्वास्नी र म’ लगायतका कथासंग्रहका कथाले समकालीन नेपाली समाजका उकाली ओरालीलाई बोेके।

ब्राजाकी न कुनै त्यस्तो साहित्यिक गुटमा संलग्न थिए न त कुनै शक्ति र सत्ता नजिक नै। भलै उनका पारिवारिक सदस्य र नातेदार उच्च ओहोदामा थिए।

आफ्नो जीवनशैलीप्रति गुनासो थिएन। उनलाई खट्केको एउटै मात्र कुरा थियो— पैसा कमाएको भए छोराछोरीलाई अझ राम्रो शिक्षादीक्षा दिन सकिन्थ्यो।

यो कुरा उनले एउटा अन्तर्वार्तामा बताएका छन्।

सायद उनीमात्र थिए, जसलाई कुनै सञ्चारमाध्यमले रचना सार्वजनिक गर्नुअघि नै पारि श्रमिक भुक्तानी दिनुपथ्र्यो।

गत माघको चिसो दिउँसोपख। थोरथोरै बादल घरि पर गर्थे त घरि वर। खडेरी लागेको तिनै बादल भेट्न आर्यघाटबाट एउटा चिता जलेको धुवाँ मास्तिर उकालिँदै थियो। त्यो चिता थियो— ब्राजाकीको।

ब्राजाकीले एक अन्तर्वार्तामा ‘वातावरणलाई कुनै असर नगर्ने गरी अन्त्येष्टि होस्’ भन्ने चाह व्यक्त गरेका थिए। र, कुनै धार्मिक कर्मकाण्ड पनि नगरियोस् भनेका थिए।

त्यो थियो, २०७४ माघ १९ गते दिउँसो। औंलामा गन्न सकिने आफन्त, प्रियजन र फ्यानले ब्राजाकीलाई आर्यघाटबाट हात हल्लाए। र, ब्राजाकी बिदा भए ५६ वर्ष लामो कथायात्रामा दर्जनौं ‘महसुर’ कथा दिएर। मलामबाट फर्केको भोलिपल्ट कथाकार अभय श्रेष्ठ सुनाउँदै थिए, ‘सञ्चारमाध्यमले ब्राजाकी समाचार राम्ररी नै कभर गरे। तर, कथाकारलाई बिदा गर्न आर्यघाट पुगेका मलामी भने एकदम थोरै थिए।’

फ्ल्यासब्याक  :  ब्राजाकी घर, औरही

मेरो प्रिय कथाकार मनु ब्राजाकीलाई नभेटे पनि एकपालि औरहीस्थित उनको घरमा भने पुगेको छु।

त्यस बेला सायद ब्राजाकी काठमाडौंस्थित आफ्नै बासस्थानमा थिए वा अस्पतालमा ?

याद छैन।

स्थानीय चुनावताका उनको घर र गाउँलाई एक नजर लगाएँ। र, फरक्क फर्केर बर्दीबास बास बसेथेँ।

ब्राजाकीलाई किन नभेटेको ? त्यस्तो किस्सा छैन जो तपाईंलाई सुनाउनलायक होस्।

रोल्पाबाट पढ्नलाई दाङ झरेपछि पहिलो पालि ब्राजाकी कथासित भेट भएथ्यो। ‘आकाशको फल’ (कथासंग्रह)का कथाले मलाई मोहनी लगाए। पहिलो प्रेम भन्छन् नि, ‘आकाशको फल’का कथा जति मलाई उनका कथा सायदै प्रिय लाग्छन्।

काठमाडौं पसेँ। ब्राजाकीका बाँकी कथासित भेट भयो। र, साथमा सुनेँ, भाँतीभाँतीका ब्राजाकी ‘किस्सा’ पनि। ती किस्सा दारुका थिए, कथाका थिए र थिए उनको डुलुवा जीवनशैलीका।

र, धेरैले भनेका थिए, ‘आदर्श मानेकोलाई नभेट्नू।’ सायद यसले काम गर्‍यो, क्यार। भेटे ‘आदर्श कथाकार’को अनुहार फेरिएला कि भन्ने डर लाग्यो। ब्राजाकी कथाप्रतिको श्रद्धामा तलमाथि होला कि भन्ने त्रास छायो। कसैले यो पनि भनेका थिए कि शब्द र कर्म मेल भएका कृष्ण सेन ‘इच्छुक’हरू औंलामा गन्नलाई नि काफी छैनन्।

०००

असोजे धुपमा औरही गाउँ पग्लेलाजस्तो थियो। प्रिय कथाकारको घर र गाउँ हेर्ने अनन्त चाहले होला, मलाई भने त्यो धुपले हल्लाएको थिएन।

‘ब्राजाकी काठमाडौंमा थिए। किन गएँ हँ, उनको घर र गाउँ ? ’

यसको सही उत्तर मसित थिएन।

ब्राजाकी–घर र गाउँ पुग्न राजपा नेता शरत्सिंह भण्डारीको ठेगाना लिएर बर्दीबासबाट हान्निएको थिएँ। सुनेथेँ, भण्डारी र ब्राजाकीबीच काका–भतिजा साइनो छ। घर पनि सँगसँगै छ।

०००

झुम्म रूख। रूखहरूको बीचमा हल्का हरियो अनुहारको अग्लो घर। त्यही थियो, भण्डारीको घर। ती भण्डारीको घर नपुग्दै पूर्व लाग्ने बाटोको दायाँबायाँ पर्खालवाला दुई घर थिए। र, तिनका फोटो खिचेँ।

मनले यसै भन्यो— बायाँ साइडतिरको घर ब्राजाकीको हो। दुईचार पोज खिचेँ। दायाँतिर अलि कम।

सरासर भण्डारीको घरको गेटभित्र छिरेँ। किनकि परबाट नै भण्डारीको हरियो घर चिनाएका थिए।

भण्डारीको घर मधेसी मूलका कार्यकर्ताले भरिएको थियो।

‘घरको मान्छे कोही हुनुहुन्न ? ’

‘हुनुहुन्छ।’

बोलाए।

पहाडी खस आर्य अनुहारकी अधबैंसे महिला बाहिर आइन्।

परिवारकै सदस्य हुन् वा नातेदार ? थाहा भएन।

‘मनु ब्राजाकीको घर हेर्न आएको। कुन हो ? सुनेको कि शरत्सिंह भण्डारीको घरसँगै उहाँको घर छ।’

उनले ट्वाल्ल परेर हेरिन्।

‘मचाहिँ कथाकार मनु ब्राजाकीको घर र गाउँ हेर्न आएको हुँ। म उहाँका कथाका फ्यान हुँ।’

थाहा भयो, ब्राजाकी भनेर चिन्ने सम्भावना छैन।

भनेँ, ‘चेतमानसिंह भण्डारीको घर।’

त्यसपछि बल्ल बुझिन् क्यार।

‘ए’ भन्दै बाहिर निक्लिइन्।

उनलाई पछ्याएँ।

ब्राजाकी घरमा को होलान् ? किन आएको भनेर सोधे के भनम्ला ? यसको उत्तर थिएन। म त सिर्फ ब्राजाकी घर र गाउँ हेर्ने उत्सुकतामात्र मनमा हालेर पुगेको थिएँ।

के सोचेर कुन्नि ? ती महिलाले हिँड्दाहिँड्दै ‘किन’ भनेर सोधिन्।

दोहोर्‍याएँ, ‘म उहाँका कथाको फ्यान हुँ। र, कस्तो रहेछ उहाँको घर र गाउँ भनेर हेर्न आएको।’

सुनेर फेरि ती महिला ‘ट्वाँ’ परिन्।

‘यसरी घर हेर्न अरू पनि आउँछन् ? ’

थाहा नभएको अर्थ दिने गरी उनले मुन्टो हल्लाइन्।

ब्राजाकी घरको ठीक विपरीत दिशामा रहेको घरभित्र पस्न गेट खोलिन्, अर्थात् जुन घर ब्राजाकीको घर भनेर अघि दुईचार फोटो खिचेको थिएँ। र, उनले भनिन्, ‘उ, घर त्यै हो।’

ब्राजाकी घरको गेटबाहिर उभिएँ।

गेटमा ताल्चा थियो कि थिएन ? याद गरिनँ। भित्र मान्छे थिए या थिएनन् ? ती महिलाले नि केही भनिनन्।

सायद ब्राजाकी घरमा कोही थिएनन्।

गेटभित्र रङरोगन गर्न अबेर भइसकेको अढाईतले पक्की घर ठिंग उभिएको थियो। र, साथमा उभिएका थिए आँपका बोट।

‘यो घरमा बसेर कुन कुन कथा लेखे होलान् हँ ? ’

मध्याह्नको असोजे धुपमा पसिना पुछ्दै तर्कना तलमाथि गरे।

पर्खाल बाहिरबाट फेरि फोटो खिचेँ।

घरमा को बस्छन् भनेर सोधूँ भनी हेर्दा ती महिला ब्राजाकी–घरको ठीक विपरीत दिशामा रहेको घरभित्र पसिसकेकी थिइन्।

ब्राजाकी र शरत्सिंहको घर वरपर उभिएका थिए। तर, आआफ्ना पर्खालभित्र।

ब्राजाकी घर र गाउँ देखेर फर्कंदा पनि मधेसको असौजे धुप उस्तै चर्को थियो। तर, मन भने शीतल। जस्तो, कुनै हिन्दु भक्त मन्दिरमा दर्शन गरेर फर्केको छ।

पाटन अस्पतालमा उपचार गरिरहेको बेला कवि श्यामल दाइ र नारायण तिवारीले सामाजिक सञ्जालमा ब्राजाकी समाचार पोस्टन्थे।

त्यस बेला ‘जाम् कि नजाम्’को बीचमा अल्झिएँ।

प्रिय कथाकारलाई छटपटाइरहेको कसरी हेर्न सकूँला भन्ने लाग्यो। र, गइनँ।

गत माघ १९ गते ब्राजाकी हिँडे। मलाम ‘जाम् कि नजाम्’को दोबाटोमा उभिएँ।

प्रिय कथाकार जलेको कसरी हेर्न सकूँला भन्ने लाग्यो।

र, मलाम पनि गइनँ।

थाहा छैन, गल्ती गरेँ कि के गरेँ !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.