‘जन्मसिद्धलाई वंशज नागरिकता’

‘जन्मसिद्धलाई वंशज नागरिकता’

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध बाबुआमाका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने कानुन संसद्बाट पारित हुने बताएका छन् । संविधानका आधारमा कसैमाथि पनि विभेद नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘हामीले कानुन मन्त्रिपरिषद्बाट संसद्मा पठाइसकेका छौं’, प्रदेश २ को प्रदेशसभालाई शनिबार सम्बोधन गर्दै उनले भने, ‘मैले गृह मन्त्रालयलाई भनेको छु– अब जन्मसिद्धका सन्तानले नागरिकता पाउने कुरा नरोक्नू ।’ यससम्बन्धी विधेयक यही भदौभित्र संसद्बाट पारित हुने उनले बताए ।

पौने दुई घण्टा सम्बोधन गरेका उनले तराई–मधेसको विकासका लागि कुनै पनि कसर बाँकी नछाड्ने बताए । मुलुकको विकास र समृद्धिमा कसैसँग कुनै पनि सम्झौता हुन नसक्ने उनले स्पष्ट पारे ।

उनले नागरिकताको प्रसंग उप्काउँदै तराई ‘सेन्टिमेन्टल’ भएको औंल्याए । ‘हरेक नेपाली नेपाली नागरिक हुन् । मैले यसअघि पनि विभिन्न सार्वजनिक ठाउँमा बोलेको थिएँ’, उनले भने, ‘सबैले नागरिकता प्रमाणपत्र पाउँछन् ।’ बाबु वा आमामध्ये एकसँग नागरिकता छ भने सन्तानले नागरिकता पाउने उनले बताए । त्यसका लागि संविधान बाधक रहेछ भने संशोधन गरिने उनको भनाइ थियो ।

आफू प्रधानमन्त्री भएको ६ महिना हुन लागेको उल्लेख गर्दै उनले अब ‘९ वटा ६ महिना’मा देशको आमूल परिवर्तन गरेर छाड्ने प्रतिबद्धता जनाए । ‘अझै ९ वटा ६ महिना बाँकी छन्’, उनले भने, ‘यो अवधिमा म देशमा ठूलो परिवर्तन ल्याउँछु ।’

प्रदेश २ भएरै पानीजहाज कलकता पुग्ने सुनाउँदै उनले हनुमाननगर हुँदै पानीजहाज कुदाउनेबारे अध्ययन भइरहेको बताए । ‘नेपाली झन्डा राखेर पानीजहाज हिँडाउने हो, हनुमाननगरबाट छिट्टै पानीजहाज कलकतासम्म पुग्छ’, उनले भने, ‘त्यसको अध्ययन भइरहेको छ ।’

उनले आफू प्रदेश २ को विकासका लागि एकदम चिन्तित रहेको बताए । ‘दुनियाँ अन्धकारमा हुँदा नेपालले ज्ञानको ज्योति बालिसकेको थियो । तर, अहिले हाम्रो अवस्था धेरै पछाडि छ’, उनले भने, ‘यो प्रदेशको मात्र कुरा गर्ने हो भने पनि निकै पछाडि छ ।’

प्रदेश २ मा बढी आलोचना

यो प्रदेशमा आफू सबैभन्दा धेरै आलोचित रहेको उल्लेख गर्दै उनले यहाँ नै सबैभन्दा बढी विकास गरेर देखाउने दाबीसमेत गरे । यो प्रदेशको विकासलाई आफ्नो सरकारले अन्य प्रदेशभन्दा बढी प्राथमिकता दिने उनको भनाइ थियो । विकास पूर्वाधार अधिकांश प्रदेश २ बाटै सुरु गरिने उल्लेख गर्दै उनले रेल र पानीजहाजको सुरुवात यहीबाटै भइसकेको सुनाए । ‘पूर्व–पश्चिम रेलमार्ग बनाएरै छाड्ने हो’, उनले भने, ‘त्यो तराईबाटै सुरु हुन्छ । त्यसले कसलाई फाइदा हुन्छ ? सबैभन्दा फाइदा यही प्रदेशलाई हुन्छ । प्रदेश २ मा रेल कुदेपछि मात्र कोसीपूर्व पुग्छ ।’ उत्तर–दक्षिण रेल कुदाउन भारत र चीनले प्रतिबद्धता जनाइसकेको सुनाउँदै उनले मुलुकका तीन ठूला नदीमा पानीजहाज कुदाउने योजना रहेको सुनाए ।

‘हिमाली भेगको पानी मात्र विदेश पठायौं भने पैसाको चिन्ता हुँदैन’, उनले भने, ‘हिमाली भेगमा मिनरल वाटर मात्र छ ।’ पानी बेचेर मात्र पनि नेपाल धनी बन्न सक्ने उनको तर्क छ ।

उनले तराईका ५० हजार घरमा अनुदान दिएर खर र परालको छाना विस्थापन गर्ने घोषणासमेत गरे । खर र परालको छाना विस्थापित भएपछि आगलागी कम हुने विश्वास उनले व्यक्त गरे । त्यसैगरी धनुषाधाममा मणिमण्डप बनाउन २५ करोड रुपैयाँ दिने घोषणा उनले गरेका थिए । जनकपुरका ताललाई हरियाली बनाउन पनि बजेट छुटयाइएको उनको भनाइ थियो ।

उनले संविधान सशोधन हुनेमा आशंका नगर्न आग्रह गर्दै भने, ‘संविधान संशोधन हुन्छ, ढुक्क हुनुहोस् । चाहिएको बेला संविधान संशोधन हुन्छ । संविधान बनाइएको हो, धर्मशास्त्र होइन ।’ संविधानमा समस्या भए संविधान नै फाल्ने नभई त्यसमा सुधार गर्नुपर्ने उनको भनाइ थियो । ‘टर्चमा ब्याट्री सकियो भने टर्च फ्याँक्ने होइन कि ब्याट्री फेर्ने हो’, उनले भने । उनले गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहका नाममा राजविराजमा मेडिकल कलेज खोल्ने सोच बनाइएको सुनाए ।

उनले समस्या आन्तरिक रुपमा समाधान गर्न नसके बाह्य तत्वले खेल्ने मौका पाउने चर्चासमेत गरे । स्वार्थ पूरा गर्न बाह्य तत्वले नेपालीलाई प्रयोग गर्न सक्नेतर्फ सबै सचेत रहनुपर्ने उनको भनाइ थियो । ‘हामीलाई लडाइँमा लगाइदियो, द्वन्द्व बढाइदियो भने उनीहरूको हतियार बिक्छ’, उनले भने, ‘तर, क्षति हाम्रो हुन्छ । उनीहरू पहिला क्षेत्रीय वा जातीय आधारमा घृणा फैलाउँछन्, घृणाको खेती माथि पुगेपछि द्वन्द्वको उद्योग सञ्चालन गर्छन् । लडाइँको खेती फैलिएपछि द्वन्द्व व्यवस्थापनको अर्को उद्योग सुरु गर्छन् ।’ यसैबीच ओलीले तराई–मधेसको माग पूरा नगरेको भन्दै राजपाका केही नेताले सदन बहिष्कार गरेका थिए । सभामुख सरोज यादवले सदनमार्फत प्रधानमन्त्रीको स्वागत गरेलगत्तै सांसद उपेन्द्र महतो, बिन्देश्वरप्रसाद यादव र गौरीनारायण साह सदनबाट बाहिरिएका थिए । प्रधानमन्त्रीको सम्बोधन कार्यक्रममा तीन राज्यमन्त्रीसहित राजपा महामन्त्री मनीष सुमन पनि अनुपस्थित थिए । सदनमा अधिकांश राजपा नेता अनुपस्थित थिए । प्रधानमन्त्रीको कार्यक्रममा राजपा नेता अनुपस्थित हुनु भनेको बहिष्कार गर्नुसरह नै रहेको एक नेताले बताए ।

‘पाँच वर्षभित्र सहिदको सपना पूरा हुन्छ’बरमझिया ः प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले पाँच वर्षभित्र सबै सहिदका सपना पूरा हुने बताएका छन् । धनुषाको बरमझियामा शनिबार आयोजित सहिद रामवृक्ष यादवको २४ औं स्मृतिसभामा सम्बोधन गर्दै उनीहरूले पाँच वर्षमा देशलाई कायापलट गर्ने उद्घोष गरेका हुन् । प्रधानमन्त्री ओलीले अब देशमा कोही पनि गरिब नरहने गरी काम गर्ने बताए । ‘प्रदेश २ उर्वर भूमि भए पनि ४२ प्रतिशत जनता गरिब छन्’, उनले भने, ‘अब जसरी पनि गरिबी अन्त्य गर्छौं ।’ अध्यक्ष दाहालले पाँच वर्षभित्र ‘नयाँ मधेस’ बनाउने उद्घोष गरे । विकासको विशेष प्याकेज ल्याएर समृद्ध मधेस बनाउने योजना रहेको उनको भनाइ थियो । हुलाकी सडक चाँडै निर्माण हुने र आगामी चुनावमा त्यही सडक भएर सरर गाडी चढी प्रचार गर्ने उनले बताए । उनले चाँडै जनकपुर–वीरगन्ज रेलसमेत सञ्चालनमा ल्याउने सरकारको योजना रहेको सुनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.