रोएको सुनेरै छोरा वा छोरी

रोएको सुनेरै छोरा वा छोरी

‘जन्मनेबित्तिकै छोरा कि छोरी भनेर था हुन्छ।’

‘(प्रजनन अंग) नहेरी !’

‘हो त।’

‘कसरी ? ’

‘रोएको सुनेर।’

‘रोएको सुनेर !’

‘हो। रोएको सुनेरै छोरा कि छोरी भन्ने था हुन्छ।’

‘कसरी ? ’

प्रस्तुत संवाद अंश थिए, गत जेठमा रोल्पा सदरमुकाम लिबाङमा भेटिएका दुई आमासँगका। ती आमा रोल्पाका दर्जनौं बाङमध्ये दुई बाङका थिए। १८ मगरातको खाम भाषामा बाङको अर्थ चौर अथवा सम्म ठाउँ हो।

मणिमला बुढामगर, ८६, माओवादी मूल थबाङकी थिइन् भने सीता सुनार, ७१, लिबाङबजार नजिकैको गाउँ बामरूककी।

आमाद्वय आआफ्ना छोरी भेट्न लिबाङ झरेका थिए।

०००

लिबाङ बजारमा एउटा चौर। नेताका भाषण फल्नेदेखि भेटघाट हुने उक्त चौरलाई टुँडिखेल भन्छन्।

टँडिखेल पश्चिम–दक्षिण सीमामा पुलिस कार्यालय छ। कार्यालयको पश्चिमतिर रोल्पा होटेल।

पुलिस कार्यालय नजिकै ताल्चा मारिएको सुवालय छ। उक्त सुवालय हुँदै होटेल पुग्ने दुब्लो बाटो पछ्याएर तीन घर काट्नेबित्तिकै दायाँतिर एउटा घरको नांगो पिँठ्यू देखिन्छ।

र, पिँठ्यूको ठीकमुनि डेढ मिटर जति लामो काठ थियो। त्यही काठमा दुइटी आमा आफूले जिन्दगीको घामपानीमा सँगालेका सुखदुःख मनसुपामा निफन्दै थिए। बेलाबेला आफूले काटेका एक छाङ्ङे अक्करमा पुगी लामो सुस्केरा हाल्थे।

दुवै महिला थिए। आमा थिए। र, पढालेखा थिएनन्।

ती थिए, दुई आमाका समानता।

बाँचेको तिनका समाज भने फरक थिए।

सीता थिइन्, हिन्दु जात परम्पराले सबैभन्दा पिँधमा दबाएको दलित। दलितलाई हिन्दु समाजले ‘अर्ध–मानव’को व्यवहार गर्छ। (कानुनमा जति ‘समान’ लेखे पनि व्यवहारमा छैन।) सीता त अर्ध–मानवको पनि महिला थिइन्।

महिलालाई दोस्रो दर्जाको नागरिक ठान्छ, पुरातन नेपाली समाजले। उनी त महिलामा पनि दलित महिला थिइन्।

मणिमला थिइन्, लैंगिक समानताको हिसाबले ‘लोकतान्त्रिक’

(तुलनात्मक रूपमा) मानिने प्रकृति पुजक मगर समुदायकी।

राज्यले १८ मगरात (रिडी नदी पश्चिम)को खाम भाषा खोसेर खस भाषा लादेको थियो त १२ मगरात (रिडी नदीपूर्व)लाई हिन्दुकरण। त्यसैले १८ मगरातका मगर ‘पूर्णरूपले हिन्दुकरण’ हुनबाट जोगिए तर आफ्नो भाषा गुमाए।

संयोग ! मणिमला भने राज्यले खाम भाषा खोस्न नसकेको थबाङकी थिइन्।

सीताको टाउकोमा कसक्क गुथेको रातो कपाले थियो भने मणिमलाको टाउकोमा बर्को। कालो मखमल चोलो लगाएकी सीताको गलामा हरियो पोते र रातो गेडा उनिएको माला झुन्डिएका थिए। हरियो धर्के चुराले नाडी बेरिएको थियो भने घरबुना रोल्पाली झोला कर्के पारी भिरेकी थिइन्।

दुवै आमा अनुहारका मुजा र पहाडी खेतका गरा छुट्ट्याउन एकछिन भए पनि समय लाग्थ्यो।

दुवै आमाका नाकमा साना टुकी थिए।

मसुरी गुन्यूलाई हरियो धराले कसेकी थिइन्, मणिमलाले। गाडो रातो स्वेटरभित्र थियो भने रातै गेडावाल चर्रे गलामा।

सीताका तीन छोरीमात्र थिए।

चाउरिएका ती आमा मेरी जेईजस्तै थिए। फरक यत्ति थियो कि तिनका चिउडोमुनि जेईको जस्तो कोठी थिएन।

मझौला कदका तीनवटा कुकुर सानो गल्ली नै कब्जा गरी आमाछेवैमा बसेका थिए।

आमा–संवाद बिथोल्न कतिखेर टुँडिखेलबाट माइक पुग्थ्यो त कतिखेर गाडीको हर्न। नेता भाषणका बीचबीचमा स्कुले नानीलाई नचाउँदा झरेका बजारिया शासक गीत आमा–कानमा पुग्थे। ‘कानकिर्रे खायो’ भन्दै तिनले आफ्ना कान हातले थुन्थे।

त्यो टुँडिखेलबाट १०/१५ मिटर पर दुई आमा चाहिँ रोएको सुनेरै छोरा वा छोरी चिन्न सक्ने भन्दै रुवाइ व्याख्या गर्दै थिए।

‘रोएको सुनेर त कसरी चिनिन्छ होला र ? बल्बलै पो हो कि ? ’

‘बल्बलै होइन, चिनिन्छ।’

‘कसरी ? ’

‘छोरा ता जर्मनेबित्तिकै ‘ह्याँ ह्याँ’ गरी रोन्च।’

‘छोरी नि ? ’

‘छोरी ‘क्हाँ क्हाँ’ भन्दै।’

‘बुझ्नेगरी भन्दिनुस् त।’

‘अंश र वंश बचाउन आएँ, थात्थलो राख्न आएँ, हीँ हो मेरो घर’ भनेर छोरा जर्मे ‘ह्याँ ह्याँ’ भन्दै रोन्च गरे।’

‘छोरी नि ? ’

‘छोरी त जरम (जन्म) घर छारी काँ होला पराइ घर जाने भनेर ‘क्हाँ क्हाँ’ भन्दै रोन्च गरे।’

‘आफ्नै कानले सुनेको हो ? ’

‘हो।’

‘पक्का ? ’

‘पक्का।’

‘कसैले भनेर वा देखेर वा सिको गरेर होला।’

त्यसपछि ?

सीताले सम्झन कोसिस गरिन्।

उसो त सीताले सुनेकै हुन्, क्हाँ क्हाँ र ह्याँ ह्याँ।

‘मेरो गोंसा ( श्रीमान्) ले भन्चन् ब, छोरी भए ‘क्हाँ क्हाँ’ गरी रोन्च गरे, छोरा भए ‘ह्याँ ह्याँ,’ सीताले भनिन्।

रोएको सुनेरै छोरा वा छोरी चिन्ने रुवाइ व्याख्याले भन्थ्यो– लैंगिक विभेदको जरा कति तल छ। होइन भने ‘जनयुद्ध’को आधार इलाका रोल्पामै किन अहिलेसम्म पनि ‘ह्याँ ह्याँ’लाई ‘क्हाँ क्हाँ’ सुन्थे र !

हिन्दु पुरुष सामाजिक संरचनाले ‘ह्या ह्याँ’लाई ‘क्हाँ क्हाँ’ सुन्ने बनाएको थियो जो अहिलेसम्म फेरिएन।

‘साँच्ची सुनिन्छ त तपाईंले भनेजस्तै ? ’

फेरि सोधेँ।

भनिन्, ‘सुनिन्छ।’

रोएको सुनेरै छोरा वा छोरी चिन्ने रुवाइ व्याख्याले भन्थ्यो– लैंगिक विभेदको जरा कति तल छ। होइन भने ‘जनयुद्ध’को आधार इलाका रोल्पामै किन अहिलेसम्म पनि ‘ह्याँ ह्याँ’लाई ‘क्हाँ क्हाँ’ सुन्थे र !

सीताको कान पनि त उही पुरुष संरचनाले बनाएको कान न थियो। उही कानले सुनिन्, ह्याँ ह्याँलाई पनि क्हाँ क्हाँ। सीतासँग पनि थियो, पुरुष हिन्दु संस्कृतिले निर्माण गरेको आँखा। उही परम्पराले बनाएको कान थियो। उही दिल थियो। उही दिमाग थियो। पुरुष होस् कि महिला के फरक पर्‍यो र जब सुन्ने, हेर्ने र सोच्ने जति पुरुषसत्ताले बनाएपछि ! हिन्दु पुरुष संरचनाअनुसार पुरुष या महिला जो भए पनि देखिने उही थियो। बस्, उही सुन्थ्यो। र, उही सोच्थ्यो।

पुरुष प्रधान सामाजिक संरचनाले बनाएको कानले सीता आमाले सुनिन्, ह्याँ ह्याँ पनि क्हाँ क्हाँ।

दुई आमाको रुवाइ व्याख्या तन्केर पुग्यो, वन्दना ढकालकृत ‘कसको भुँडी, कसको सन्तान’ कहाँ। उक्त लेखमा वन्दना–जिकिर थियो, ‘हिन्दु मान्यता प्रभावी नेपाली समाजमा जन्मैदेखि छोरीलाई पराइघर पठाउने वस्तुका रूपमा व्यवहार गरिन्छ।

यो देश छोराहरूको, पुरुषहरूको, बाउहरूको र लोग्नेहरूको घर हो। तर छोरीको घर होइन, उसको त माइती हो।’

साँच्ची, यस्तो लैंगिक विभेद कसरी र कहिलेदेखि सुरु भयो ? सम्झन कोसिस गरेँ। र, भारतीय महिलावादी विद्वान उमा चक्रवर्तीले कुनै अन्तर्वार्तामा भनेको सम्झिएँ :

‘पुरुषले जहिलेदेखि महिलाहरू प्रजनन गर्ने क्षमता राख्छन् भन्ने बुझे त्यहीँबाट महिलामाथि नियन्त्रण शृंखला सुरु भयो...हाम्रो जस्तो दक्षिण एसियाको समाजमा वंश अघि बढाउने कुरा सम्पत्तिको हस्तान्तरणसँग मात्र सम्बन्धित थिएन कि यो आफ्नो जात व्यवस्था अघि बढाउनेसँग पनि सम्बन्धित थियो’

०००

नेपालमा राष्ट्रपति महिला छिन्, विद्यादेवी भण्डारी। प्रधानन्यायाधीश थिइन्, सुशीला कार्की। र, सभामुख थिइन्, ओनसरी घर्तीमगर।

राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला, सभामुख र उपसभामुखमा एक महिला, नगरप्रमुख/गाउँपालिका अध्यक्ष र उपप्रमुख/गाउँपालिका उपाध्यक्ष्यमध्ये एक महिला ‘हुनैपर्ने’ संवैधानिक प्रावधान छ।

तपाईंले यत्तिचाहिँ सोधे फरक पर्दैन कि, कार्की उपस्थितिले न्याय दुनियाँमा र ओनसरी सभामुख भएर संसद्मा के उथलपुथल आयो ? भण्डारी राष्ट्रपति भएपछि मणिमला र सीताका जीवनशैलीमा कस्ता बदलाव आए ?

यसको जवाफ छैन।

राज्यको माथिल्लो निकायमा महिला देखेर महिलाले अपनत्वबोध त गरे होलान् र थोरबहुत हिम्मत जुटाए होलान्। त्यसबाहेकका केही असर परेन। दलित, कर्णाली, मधेस, सुदूरपश्चिम र हिमाली क्षेत्रका गरिब र अशिक्षित महिलाका जीवनशैलीमा केही फरक परेन।

उसो त तपाईंले तर्क गर्नुहोला, कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री भए त गर्थे।

अहिलेकै सामाजिक/राजनीतिक संरचनामा कार्की वा भण्डारी आए पनि केपी ओलीकै दोस्रो संस्करणमा सीमित हुने हो।

त्यसैले पहिलो वरीयता मानिने राष्ट्रपति भण्डारीसहित कार्की र घर्तीमगरलाई देखेरै छर्लंग भयो कि ‘लैंगिक समानता’का लागि ‘सहभागिता’ मात्र ‘पर्याप्त’ छैन।

उसो भए गर्ने के त ?

एउटै विकल्प छ, पुरुष हिन्दु संस्कृतिले बनाएका आँखा, कान, दिल र दिमागलाई ‘फर्मेट’ गर्ने। त्यसपछि ? के पितृसत्ताको बदलामा मातृसत्ता राख्नु ? होइन। पूर्णरूपले फर्मेट गरी लैंगिक समानता ‘इन्स्टल’ गर्ने हो। एलजीबीटीसहित महिला र पुरुष सबै लिंग समान छन् भन्ने सोच निर्माण गर्ने हो। सबै लिंग, क्षेत्र, भाषा, समुदाय समान हुन् भन्ने चिन्तन विकास हो।

दुःखको कुरो, ‘जनयुद्ध’ले लैंगिक विभेदलाई पनि मज्जाले हल्लाएको बेला ड्याम्मै ढाल्नुपर्ने थियो। तर, परिवर्तन गाडीले ब्याक गेर लगायो। ‘पार्टी केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिता’ माग्ने महिला नेतालाई ‘ट्याउट्याउ’ भन्ने सबैभन्दा ठूलो दल अर्थात् डबल नेकपा अध्यक्ष र प्रधानमन्त्री नेपालले पाएको छ। र, सबै दल प्रमुख केपी ओली नै ओली छन्। त्यसैले कुनै दिन आँधी आउला र ढाल्ला भनी पर्खनुपर्ने स्थिति जो छ आज।

०००

दुई आमाको रुवाइ व्याख्याले जेई–माया बेसरी बल्झियो। कारण थियो, मेरी जेईले पनि मान्छे अथवा जनावर रुँदा तिनका रुवाइ व्याख्या गर्थिन्।

डल्लुगैराबाट साँझपख जैपामा पुग्ने सिमलचरीको ‘टु टु’ र रत्वाको ‘क्वाक क्वाक’को पनि व्याख्या गर्थिन्। मृगिनी बच्चा हराउँदा ‘क्वाक क्वाक’ गर्दै रोएको हो कि बाघ वा सिकारीले लखेट्दा रोएको क्वाक क्वाक हो ? जेई व्याख्या थियो।

त्यसैगरी, बच्चा र ठूला रोएको सुनेर ‘कठै बरै नि, मस्तै चोट परेछ’ भन्दै रुवाइका पत्रपत्र केलाउँथिन्।

अँ, मणिमला र सीतामा आमाका रुवाइ व्याख्या सुनेको पर्सिपल्ट लिबाङबाट घर पुगेँ। रोल्पाको जैपा गाउँ।

जेईसित दोहोरो कुराकानी सहज थिएन। आँखा र कान आफ्ना बाटो लागेपछि जेईले न राम्ररी देख्थिन् न त सुन्थिन्।

गएको माघमा बाबै पनि हिँडेपछि प्यारालाइसिसविरुद्ध जेईको लडाइँ चर्र्किएको थियो।

अँ, घरमै जेईसित दिन बित्यो। त्यसपछि रात पर्‍यो।

जेईको ओछ्यानभन्दा एक मिटर पर ओछ्यान लगाएँ। ‘एकोहोरो कुराकानी’कै क्रममा जेई रुन थालिन्। त्यसपछि म।

रोएको कम्पनले हो या ‘आमा–मन’ले सुनेर हो, कुन्नि ? जेई घस्रदै मेरोछेउ आइन्। सुम्सुम्याउँदै भनिन्, ‘मलाई नहारेस् है कान्छा। मलई भेट्न पपन्र (१५/१५) दिनको आएस्।’

धेरै भयो, जेईको आँसु सुकेको। रुँदा हिक्कामात्र छुट्छ, आँसु आउँदैन।

यसपालि पनि जेईले गुनासो गरिनन्।

कानले सुन्दासम्म त ‘तेर्बाबै र मैले गाया गीत टेप्रीकाँटमा लाइदिन्नन्’ भनेर पोल लाउँथिन्। ‘किन नबजाइदेको’ भन्दै भतिजी गीता र माइली भाउजूलाई सोध्थेँ।

त्यसपछि ?

जेईबाबैको सिरानीनेर ल्यापटप राखिदिन्थेँ। जेईबाबैको गीत बज्थ्यो।

(आफैंले गाएको गीत पनि) पहिलोपालि सुने जसरी जेईबाबैले कान थाप्थे। गीतको तालमा उकालीओराली गरेका ‘बैंस’ सम्झेर रुन्थे।

त्यसपछि ?

काठमाडौंमा गीत सुनेर बोल्ने सुवी शाह, रामशरण दर्नाल, दाहाल यज्ञनिधि, रामेश र प्रदीप बमजनका ‘सञ्चोबेसञ्चो’ सोध्थे। ‘आजभोलि कता छन्’ भनी मेरा साथीहरू फूलमान बल, भावेश भुमरी र जयप्रकाश चौधरीबारे सोध्थे।

यसपालि नि जेईको सिरानीमा ल्यापटप राखिदिएँ। गीत बज्यो। बाबैबिना सुन्न कोसिस गरिन्। तर, गीत सुन्नलाई जेईसित न बाबै थिए न त कान। यसपालि जेई त ‘आफ्नै गीतले नि माया मार्‍यो’ भन्दै गीत ‘सुन्न नसकेर’ रोइन्।

जेईबाबैले ७१ वर्षको उमेरमा (२०६२ को चैतमा) रोल्पाका पुराना लोकगीत गाएथे। सात गीत समेटिएको उक्त अल्बमको नाउँ राखेथे– बरै।

‘कान्छा ! दुखाना गीत पनि भर्देम्ला (रेकर्ड गराउने) भन्याथेँ, ज्यानले गु खायो,’ रोएको हिक्कासँगै जेई–बोली झरिरह्यो। र, जेई–मनलाई झन भिजाउँदै ल्यापटपबाट बरैले पछ्याइरह्योः

तल परो (पर्‍यो) सिम्री जिउला माथि परो रुङा

करणाली (कर्णाली) तरने (तर्ने) भन्चु फर्कन्छ (पल्टिन्छ) कि डुङा (डुंगा)

०००

जेई रोएपछि मणिमला र सीता आमाका रुवाइ–व्याख्या फेरि बल्झियो। लाग्यो, आफूले गाएको गीत सुनेर रोएको रुवाइ र आफ्नै गीत सुन्न नसकेर रोएको जेई रुवाइमा पक्कै तलमाथि होला।

किन हो कुन्नि, आमा रुवाइको व्याख्या सुन्न मणिमला र सीता आमालाई फेरि भेट्न मन छ। भेटेर सोध्नु छ, ‘आमा रुवाइको पनि व्याख्या छ ? ’ खासमा ‘हिन्दु पुरुष संरचनामुक्त’ समाजको आमा रुवाइको व्याख्या सुन्न मन छ। त्यस्तो व्याख्या कहाँ र कहिले सुन्न पाइएला हँ ? तपाईंलाई थाहा छ कि ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.