प्राधिकरणविरुद्ध भूकम्पपीडितको मुद्दा

प्राधिकरणविरुद्ध भूकम्पपीडितको मुद्दा

ओखलढुंगा : ओखलढुंगाका भूकम्पपीडितहरूले लाभग्राही सूचीमा समावेश नगरेको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणविरुद्ध मुद्दा दर्ता गर्न थालेका छन् । पहिलो चरणको राहत रकम लिएर परिचय पत्र पाएका लाभग्राहीहरूले अनुदान पाउने सूचीमा नाम नपरेपछि प्राधिकरणविरुद्ध पुनरवलोकन समितिमा मुद्दा दर्ता गरेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नै लाभग्राहीलाई निर्णय चित्त नबुझे पुनरवलोकनका लागि मुद्दा दर्ता गर्न पाउने गरी समिति नै खडा गरेको छ । अनुदान पाउने सूचीमा नपरेका तर सरकारले परिचयपत्र वितरण गर्दा रातो परिचय पत्र पाएका (घर पूर्ण क्षति भएको) पीडितले प्राधिकरणको राहत तथा अनुदान वितरण कार्यविधिमा उजुरी गर्ने व्यवस्था गरेको छ ।

उक्त प्रावधान अनुसार पुनर्निर्माण प्राधिकरणले छनाट गरेका लाभग्राहीहरूको सूचीमा नपरेका व्यक्तिहरूले गुनासा फारम भरेका थिए । जिल्लामा दुई चरणमा करिब १५ हजारले फारम भरे पनि छानबिनका क्रममा मुद्दा दर्ता गर्न पाउने एक हजार ६ सय भूकम्पपीडितको पहिचान भएको छ । प्राधिकरणले पहिचान गरेका पीडित अहिले प्राधिकरणविरुद्ध मुद्दा दर्ता गर्ने तयारीमा छन् ।

एक हजार ६ सयमध्ये जिल्लाबाट एक सय पाँच जना भूकम्पपीडितको लाभग्राही सूचीमा नाम समावेश नभएको भन्दै परेको उजुरी पुनरवलोकन समितिमा दर्ता भइसकेको छ । जिल्लास्थित कार्यालयले उजुरी संकलन गरेर केन्द्रीय कार्यालयमा न्यायाधीशको संयोजकत्वमा रहने पुनरवलोकन समितिमा दर्ता गराउने गरेको छ । जिल्लामा अहिले चार सय ३० जनाले उजुरी दिएको प्राधिकरणको जिल्लास्थित कार्यालयका सूचना अधिकारी सुनीता अधिकारीले बताइन् । उजुरी संकलन गरेर मुद्दाका रूपमा समितिमा दर्ता गराइने उनले जानकारी दिइन् । ‘केन्द्रबाट उजुरी लिने र समितिमा दर्ता गराउन मात्रै कार्यादेश दिइएको छ, हामी त्यही काम मात्रै गर्न सक्छौं, अरू समितिबाटै सुनुवाइ हुन्छ’, अधिकारीले अन्नपूर्णसँग भनिन् ।

जिल्लामा दुई चरणमा करिब १५ हजारले फारम भरे पनि छानबिनका क्रममा मुद्दा दर्ता गर्न पाउने एक हजार ६ सय भूकम्पपीडितको पहिचान भएको छ।

पीडितले अहिले धमाधम जिल्ला कार्यालयमा उजुरी लेखाएर दर्ता गराउन थालेका छन् । उजुरी दर्ता गराए पनि कसरी सुनुवाइ हुन्छ भन्ने विषयमा भने अन्योलै छ । ‘धेरै दुःख पाइयो, फेरि उजुरी गर्नु भन्छन्, उजुरी कसरी किनारा लगाइन्छ, अनुदान पाइन्छ कि दुःख मात्रै दिने हुन्, थाहा छैन’, कार्यालय परिसरमा भेटिएका एक भूकम्प पीडितले भने । उजुरी दर्ता गराए पनि अनुदानको आसमा तीन वर्ष कुरेका पीडितहरू अलमलमा परेका छन् ।

पुनरवलोकन समितिमा परेका उजुरीको सुनुवाइ अदालतमा हुने अन्य मुद्दाको प्रक्रिया जस्तै हुने पुनर्निर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए । उनले भने, ‘सुनुवाइ अहिले सुरु नै भएको छैन, कसरी हुन्छ भन्ने यकिन नभए पनि इजलासमा अन्य मुद्दा जस्तै गर्ने भन्ने छ ।’ समितिले निवेदन हेरेर कावश्यक कागजात माग गर्ने तथा पीडितसँगसमेत बुझ्नुपर्ने भए बुझ्न सक्ने उनले बताए । पीडितलाई अनुदान पर्खेको तीन वर्षमा फेरि मुद्दा हाल्न लगाएर अल्झाउन खोजेको भन्दै भूकम्पपीडितहरू भने आक्रोशित छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.