सार्वजनिक जग्गा व्यक्ति र संस्थालाई वितरण

सार्वजनिक जग्गा व्यक्ति र संस्थालाई वितरण

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सार्वजनिक जग्गा हचुवाको भरमा व्यक्ति तथा संस्थाहरूलाई वितरण गरिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिका पदाधिकारीहरूले आफूखुसी जग्गा बाँडेपछि वीरेन्द्रनगरको समग्र विकास गुरुयोजना नै प्रभावित भएको हो । पदाधिकारीले आफू निकटका व्यक्ति र संस्थालाई सरकारी जग्गा मनलाग्दी बाँडेको पाइएको छ ।

गुरुयोजनामा नगर विकास समितिको मातहतमा रहेको सार्वजनिक जग्गालाई स्पष्ट रूपमा विभिन्न १२ क्षेत्रका लागि मात्र प्रयोग गरिने उल्लेख छ । तर, नगर विकास समितिमा पुग्ने पदाधिकारीहरूले धमाधम निर्णय गर्दै आफू निकटका व्यक्ति र संस्थाहरूलाई हचुवामा जग्गा बाँडेका हुन् । यस्तै उपत्यकाको गुरुयोजनामा कुनै व्यक्ति वा संस्थाका लागि भाडामा दिने गरी सरकारी जग्गा छुट्याइएको छैन । उक्त गुरुयोजनामा आवास क्षेत्र, पोखरी, रिजर्भवेसन, पार्क, बुलबुले उद्यान, व्यावसायिक प्रयोजन, गोदाम, शैक्षिक, सार्वजनिक र सरकारी क्षेत्रका लागि प्रयोग गर्न सकिने भन्दै एक सय ८४ बिघा, १२ कठ्ठा २९ धुर जग्गा देखिन्छ ।

तर नगर विकास समितिका पदाधिकारीहरूले दलका पार्टी कार्यालय निर्माण, सञ्चार गृह र व्यापारीलाई हचुवामा सरकारी जग्गा बाँडेका छन् । ‘पहिला पहुँचको आधारमा नगर विकासका पदाधिकारीले सार्वजनिक जग्गा बाँडे, गुयोजना मिचेर दल र नेता रिझाउने काम भयो’, वीरेन्द्रनगरका टंकप्रसाद कँडेलले भने, ‘अहिले प्रदेश राजधानी बन्यो, अब वीरेन्द्रनगरमा राजधानीका लागि आवश्यक पर्ने जग्गा अपुग भयो ।’ समितिले तत्कालीन एमाले र माओवादी केन्द्र, कांग्रेस, राष्ट्रिय जनमोर्चा र संघीय समाजवादी फोरमलाई एकएक रोपनी जग्गा बाँडेको छ । यस्तै स्थानीय भेरी एफएमलाई पनि सार्वजनिक जग्गा दिइएको छ । समितिले बाँडेको जग्गामा अहिले भवन निर्माण भइसकेका छन् ।

गुरुयोजनाको भावनाविपरीत कुइनेपानी क्षेत्रको सार्वजनिक जग्गा मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई दिइएको छ । यो जग्गामा अहिले विश्वविद्यालयले धमाधम भवन निर्माण गरिरहेको छ । ०६४ सालमा तत्कालीन माओवादीको तर्फबाट नगर विकास समितिको अध्यक्ष बनेका जितबहादुर रानाले माओवादी र राष्ट्रिय जनमोर्चालाई पनि जग्गा दिने निर्णय गर्दै जग्गा उपलब्ध गराए । ०६६ सालमा लोकतान्त्रिक फोरमका तर्फबाट श्यामसुन्दर अग्रवाल समितिको अध्यक्ष बने । उनले पनि गुरुयोजनाविपरीत आफ्नो पार्टीलाई नगर विकास समितिमातहत सार्वजनिक जग्गा दिने निर्णय गरे । नगर विकास समितिका पदाधिकारीहरूले उपत्यकाको गुरुयोजनाविपरीत मनलाग्दी जग्गा बाँड्दा अहिले वीरेन्द्रनगर कुरूप बन्दै गएको छ । हचुवाका भरमा जग्गा वितरण हुँदा उपत्यकाको गुरुयोजनाअनुसार अब काम गर्न समस्या भएको वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदी बताउँछन् ।

सुर्खेत उपत्यका नगर विकास समितिले भने विगतमा बाँडिएको जग्गा आवश्यकताअनुसार फिर्ता लिन सकिने जनाएको छ । विभिन्न संस्थालाई जग्गा वितरण गरिएको भए पनि पुर्जा आफूहरूसँगै रहेको भन्दै समितिले आवश्यक पर्दा जग्गा फिर्ता लिन सकिने बताएको हो । ‘पहिलेका पदाधिकारीले आफूखुसी बाँडेका रहेछन्, गुरुयोजनाविपरीत नै जग्गा बाँडिएको छ’, समितिका अध्यक्ष नारायण कोइरालाले भने, ‘पहिलादेखि नै विवाद छ, हामीले चाहेर मात्रै त्यो जग्गा फिर्ता लिनसक्ने अवस्था छैन । अब सबै दलबीच सहमति हुनुपर्छ, राजनीतिक नेतृत्वमा सहमति भए जग्गा फिर्ता ल्याउन सम्भव छ ।’ हचुवाको भरमा बाँडिएको सार्वजनिक जग्गा फिर्ता ल्याएर गुरुयोजनाअनुसारै वीरेन्द्रनगरको विकासमा लाग्नुपर्ने स्थानीयको माग छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.