निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ट्रान्जिट हब बन्ने

निजगढ अन्तर्राष्ट्रिय  विमानस्थल  ट्रान्जिट हब बन्ने

काठमाडौं : बाराको निजगढमा निर्माणाधीन विमानस्थल अन्तर्राष्ट्रिय ट्रान्जिट हबका रूपमा प्रयोग गरिने भएको छ । यो विश्वकै नमुना विमानस्थल बन्ने भएकाले ट्रान्जिट हबका लागि प्रयोग गर्न लागिएको हो । विश्वका जुनसुकै स्थानमा सीधा उडान गर्न सकिने गरी यो विमानस्थल बनाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले यो विमानस्थल विश्वकै नमुना र हरियाली कायम गरेर बन्ने विमानस्थलका रूपमा अगाडि बढाइएको बताएका छन् । प्राधिकरणले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अधिकारीले भने, ‘नेपाललाई अन्तर्राष्ट्रिय ट्रान्जिट हब बनाउन यो विमानस्थल निर्माण गर्न लागिएको हो । यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय, पोखरा र भैरहवाको गौतमबुद्ध विमानस्थलभन्दा फरक हो ।’ हाल काठमाडौंको विमानस्थल भुटान एयरले मात्रै ट्रान्जिटका रूपमा प्रयोग गरेको छ ।

निजगढ विमानस्थल संसारमा हाल निर्माण भइरहेका ठूलामध्येको एक हो । यो विमास्थल अन्तर्राष्ट्रिय वायुसेवाले ट्रान्जिटका रूपमा प्रयोग गर्ने सक्नेछन् । यो विमानस्थल निर्माणको सुरुवात पहिलो चरणमा एउटामात्रै धावनमार्गबाट हुनेछ । दोस्रो चरणमा दुई र पूर्णक्षमतमा सञ्चालन गर्दा तीनवटा धावनमार्ग हुने मन्त्री अधिकारीले बताए ।

‘अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा लामो दूरीमा उडान गर्न सक्ने क्षमता साढे १८ घण्टासम्मको छ । निजगढ विमानस्थलबाट पनि विश्वका जुनसुकै कुनाको विमानस्थमा उक्त समयसम्मको उडान क्षमता हुनेछ’, प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने । उनका अनुसार यो विमानस्थल अन्तर्राष्ट्रिय नागरिक संगठन (आईकाओ)को मापदण्डअनुसार फोर एफ पूर्णक्षमताको विमानस्थल हुनेछ । यहाँ ठूूलाठूला विमानले उडान गर्न सक्नेछन् ।

‘विमानस्थल बनाउन प्राधिकरणले आगामी एक महिनामै विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) बनाउने कम्पनी छनोट गर्ने गौतमले जानकारी दिए । प्राधिकरणले आशयपत्र माग गरेका कम्पनीको मूल्यांकन भइरहेकाले विमानस्थल बनाउने साइट क्लियर गर्दा डीपीआर प्रतिवेदन आइसक्ने गरी प्रक्रिया अगाडि बढाइएको छ । यो विमानस्थल बनाउन दुई वर्ष साइट क्लियर गर्न लाग्छ भने त्यसपछि प्रस्ताव माग गरेको पाँच वर्ष बनाउनै लाग्ने प्राधिकरणका महानिर्देशक गौतम बताउँछन् । विमानस्थले ओगट्ने क्षेत्रफल आठ हजार ४५ हेक्टर भए पनि पहिलोचरणमा विमानस्थल बनाउन आवश्यक क्षेत्रफल २५ सय ९३ हेक्टर मात्रै चाहिने यस अघि कोरियाली कम्पनी ल्यान्डमार्क वल्डवाइड (एलएमडब्ल्यू)ले तयार पारेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख छ ।


निजगढ विमानस्थल संसारमा हाल निर्माण भइरहेका ठूलामध्येको एक हो । यसलाई अन्तर्राष्ट्रिय वायुसेवाले ट्रान्जिटका रूपमा प्रयोग गर्ने सक्नेछन्

 सात लाख ६९ हजार रूख काट्नुपर्ने

विमानस्थल बनाउन सानाठूला गरी जम्मा सात लाख ६९ हजार ६ सय ९१ वटा रूख काट्नुपर्ने भएको छ । विमानस्थल निर्माणका लागि तयार भएको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा यस्तो उल्लेख छ । विमानस्थल बनाउन एक लाख ९४ हजार चार सय ८० वटा ठूला रूख र पाँच लाख ७५ हजार दुई सय ११ वटा साना पोल साइजका रूख काट्नुपर्नेछ । विमानस्थको ९० प्रतिशत भूभाग वन क्षेत्रमा पर्छ ।

३६ सय मिटर लम्बाई र ४५ मिटर चौडाईको विमानस्थल बनाउँदा काट्नपर्ने उक्त रूखपछि दोहोरो धानमार्ग बनाउँदा पनि रूख चाहिँ काट्नु नपर्ने प्राधिकरणको भनाइ छ । एउटा रूख काटेपछि त्यसको बदलामा २५ वटा रूख रोप्नुपर्ने कानुनी व्यवस्थालाई प्राधिकरणले पूर्णरूपमा पालना गर्न तयार भएको उल्लेख छ ।

विमानस्थल निर्माण सबैभन्दा पहिले साइट क्लियर गरेर मात्रै थप प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले रूख काट्ने प्रस्ताव अगाडि सारिएको राष्ट्रिय गौरवका आयोजना निर्देशक प्रदिप अधिकारीले बताए । अधिकारीका अनुसार काम छिटो गर्न र तोकिएकै समयमा विमानस्थल निर्माण गर्न साइट क्लियर गर्ने, निमाण गर्ने कम्पनी छनोट गर्ने र निर्माण जिम्मा दिने समय छुट्टाछुट्टै गर्दा लामो समय लाग्ने भएकाले पनि एकैपटक आवश्यक प्रक्रिया अगाडि सारिएको हो ।

यो विमानस्थल निर्माणपछि संसारको तेस्रो ठूलो विमानस्थलको रूपमा नेपाल पर्नेछ । विमानस्थलको क्षेत्र वरपर हरियाली र सहरी क्षेत्रभन्दा पर हुने भएकाले सँगै एयरपोटसिटी बनाउने अवधारण छ । विमानस्थल क्षेत्र आठ हजार हेक्टर हुने भए पनि विमानस्थलको धावनमार्ग र भौतिक संरचाना भने २५ सय ९३ हेक्टरभित्रै हुनेछ ।

योभन्दा ठूलो क्षेत्रफलमा फैलिएको विमानस्थमा साउदी अरबको किङ फाह्ड अन्तर्राष्ट्रिय विमानस्थल ७८ हजार हेक्टरमा, अमेरिकाको ेन्भर अन्तर्राष्ट्रिय विमानस्थल १३ हजार सात सय ७० हेक्टरमा निर्माण भएको छ । निजगढ विमानस्थल तेस्रो ठूलो २५ हजार हेक्टरमा निर्माण हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.