सरकार ! बिन्ती छ, कलिला फूलहरू जोगाऊ

सरकार ! बिन्ती छ, कलिला फूलहरू जोगाऊ

काठमाडौंमा चिसो भित्रिंदै छ। बिस्तारै बिहानीको घाम प्यारो लाग्न थाले पनि राती सुत्नेबेला अझै झुल टाँग्न छाडेकी छैन। गए राती कसो-कसो लामखुट्टे झूलभित्र पस्न भ्याएछ। कानमा भुनभुनाएको आवाजले जुरुक्क उठें। देखेँ- छोरीको निधार वरीपरी दुइटा लामखुट्टे नाचिरहेका। मोबाइलको उज्यालोमा खोजीखोजी झटपट दुइटैलाई मारिछाडेँ। एउटा भोकै रहेछ। अर्को टुन्न अघाएको। पक्कै उसले कलिलो रगत हुने भएर छोरीलाई नै टोकेको हुनुपर्छ। जे होस् लामखुट्टे मार्न सकेकामा म खुसी भएँ।

लामखुट्टे त मर्‍यो। अब आनन्दले निद्रा पर्ला भनेको, परेन। कोल्टे फेरेँ, बरु एक हर नै पाट्टिएजस्तो भयो। अहँ, निद्रा लाग्दै लागेन। निद्रा भागेको चाल पाएर होला, दिमागले अलि बढी कुरा खेलायो। कुराहरु यति ह्वारह्वार्ती आए कि मथिंगल नै चर्किएला जस्तो भयो। आखिर म पनि एउटी आमा हुँ, जसरी निर्मलाकी आमा छिन्। छोराछोरीको खुन चुस्ने लामखुट्टे आउँदा त एउटी आमा बेचैन भएर निदाउन सक्दिनँ भने ती आमाले कसरी सहँदी हुन्, जसको प्राणभन्दा प्यारो सन्तान राक्षसहरुले चिथोरेर खाएका छन्। त्यस्ता दानवलाई सजाय भएको ती आँखाले हेर्न पाए कस्तो हुँदो हो ? कसरी सहने त्यो विभत्स घटना ?

आफ्ना सन्तानलाई सामान्य स्वास्थ्य समस्या हुँदा पनि एउटी आमा रात-रातभर निदाउन सक्दिन। भला कुन हृदयले खप्नु त्यत्रो दर्दनाक पिडा ? पापी मनले पापै चिताउँछ भनेझैँ आफ्ना हुर्कंदै गरेका नानी सम्झेर म अहँ निदाउन सकिनँ। बरु छोरीतिरै फर्केर चपक्क छातीमा टाँसे उसलाई। फेरी उनै निर्मलाकी आमा सम्झिएँ। उनको खाली अँगालो सम्झिएँ। उनको उदेक लाग्दो आँगन पनि उफफफफ।

म केही समयका लागि विदेशमा थिएँ, श्रीमानसँगै। कलिला नानी सासु आमाको काखमा अनि उनको लेखाइ-पढाइको जिम्मा देवरबाबुलाई सुम्पेर। खोई, परिवार र देशदेखि टाढा भएर होला, उता हुँदा स्वाभाविकै यताको माया बढ्तै लाग्ने। सानै कुराले थप भावुक भइने। म पनि सानो-सानो कुराले दुःखी हुन्थें। त्यसमाथि उतै हुँदा मैले आफ्नो बाबा गुमाएँ। अनि, मेरो देशले भूकम्पमा आफ्नो आधा सुन्दरता गुमायो। अपहरण, बलात्कार, मानव बेचबिखन, हत्या अनि यस्ता कैयन समाचारहरु रातोदिन सुन्नुपर्दा मन छियाछिया हुन्थ्यो। तीन वर्षजति बसेर, म आफ्नै नानीहरुका साथ बस्नुपर्छ भनी फर्किएँ। त्यतिखेर लाग्यो, हाम्रा लागि नानीका बा विदेशिएका हुन्, तर कम्तिमा मचाहिँ नानीहरुसंगै बस्नुपर्छ। उनीहरुलाई आफ्नै देशको रहनसहन र संस्कार दिनुपर्छ। जुन देशमा जन्मियो त्यो देशको माटोको सुगन्ध सधैँभरी मगमगाउनु पर्छ। हाम्रो देश पनि त बन्दैछ। यो देशमा पनि त राम्रो हुँदैछ भनेर मनलाई थपथपाउँदै घर फिरेँ।

तर, मुटुमाथि ढुंगा राखेर भन्नैपर्ने हुन्छ, मैले यो गलत गरेँ। एकछिन पनि मन थिरमै छैन। अचेल म पश्चाताप गरिरहेछु कि किन मैले मेरा नानी उतै नझिकाएर घर फिरेँ ? मलाई भरपुर पैसो बच्थेन होला, तर मेरा नानी पूर्ण सुरक्षित हुन्थे। म पनि निर्धक्क निदाउन सक्थेँ। आज जुन कालसँग भाग्दाभाग्दै हाम्रा छोरीहरु राक्षससँग हारिरहनुपरेको छ। अभिभावकहरु त्रासमा बाँच्नुपरिरहेको छ। यस्तामा म किन फर्किएँ भनेर आफैंले आफैंलाई धिक्कार्छु। के म गलत छु ? निर्मला जसरी मेरा नानी पनि दिनदिनै हुर्कीरहेका छन्। उनीहरुको त्यो चकचके मिजास, बालापनको सुवाससँग मगमगिन म पाएकै छैन। किनकि, ला.... कतै केही भै पो हाल्छ की भन्ने चिन्ता र भयको ज्वालामुखीले म भित्रभित्रै खरानी सरह भएकी छु। के मेरो डर हटाउन सक्छ यो सरकारले ?

स्कूल बसबाट ओर्लेर छिटो हिँडेमा एकै मिनेटमा घर पुग्छे मेरी छोरी। तर, केही गरी २÷४ मिनेट ढिला गरी भने पनि मलाई छटपटी हुन्छ। के यो छटपटाहट शान्त पार्ने वातावरण आउला यो देशमा ? दिनदिनैका घटनाक्रम हेर्दा त त्यो आशा वर्षौंवर्ष गर्न सक्दिनँ म। घरको थोरै पर मात्रै एउटा खालि मैदान छ। छुट्टीका बेला साइकल खेल्न जान्छु भन्छे छोरी। तर, म जाऊ छोरी भनेर ढुक्कले अनुमति दिन सक्दिनँ। ४ घर पर मात्रै पुस्तक पसल छ। छोरीलाई लेखाइपढाइसम्बन्धी सामग्री चाहिएमा आफै जाने गर्छु। उसलाई निर्धक्क जाऊ भन्न सक्दिनँ। उल्टै उसको कलिलो मष्तिस्कमा चोट पुर्‍याउने गरी नमिठो बोल्छु,... ‘छि ! तिमी कस्तो कुरा नबुझेको ? अस्ति मात्र निर्मला दिदीबारे झन् तेत्रो समाचार देखाएको होइन ? ’ छोरी अँध्यारो मुख लाएर ठुस्किँदै भित्र पस्छे। के मैले उसलाई मानसिक पीडा दिएकी छैन त दिनदिनै ?

छोरी मलाई माफ गर है। यहाँ यस्तै छ। तिमी ठूली भएर सबै कुरा बुझ्ने भएपछि मैले ठिकै गरेको पाउनेछौ सायद।

मेरा साना नानी यी सब कुरा बुझ्ने भएकै छैनन्। बलात्कार के हो ? तिमीलाई कसैले माया गरेको के हो ? अरुको फोहोरी नजर के हो ? जवरजस्ती मैले यी कुरा भन्न खोजे पनि ऊ बुझ्दिन। मैले उसलाई कसरी रोकौँ– नानु खेल्न नजाऊ, नानु कोही अंकलले दिएको नखाऊ। त्यसैले मैले आफैलाई हरदम गाली दिइरहेकी छु कि मैले उसको बालापनको चञ्चलता खोसिरहेकी छु। सचेत गराउने निहुँमा मैले उसको मनमा झनै डर भरिदिएकी छु। यहाँ नबोलेका धेरै अभिभावक होलान् तर कलिला नानी हुनेका अभिभावक साँच्चीकै निदाएका छैनन्।

यहाँ खोई, राम्रो भएको कहाँनिर छ त ? गास, बास, कपास जस्तै नागरिकको जिउधनको सुरक्षा अपरिहार्य होइन र ? बलात्कारी दैलादैला नाच्न आईसक्यो। खोई ऊ सरकारदेखि डराएको ? निर्मलाका दोषी सजायबाट उन्मुक्त भएँ भन्दै बुर्कुसी मार्दै होलान्। उता एसिड आक्रमणबाट रौतहटकी सम्झना दासको कलकलाउँदो जोवन निमोठियो। पोखराबाट उस्तै दुःखद समाचार सुन्नुपरेको छ। पुम्दीभुम्दीकी १० वर्षिया बालिका श्रेया सुनार मृत फेला परेकी छन्। यी घटनाक्रमले के सरकार र कानुनको धज्जी उडीरहेको होइन ?

सरकार, अब त अति नै भयो। छोरी चेली बचाउनै मुस्किल परिसक्यो। बिन्ती छ, अब त आँखा उघारीदेऊ। यति बिघ्न चित्कारमा पनि कति सन्तोषले निदाउन सकेको ? बलियो कानुन बनाई व्यवहारमा उतारीदेऊ। बलात्कार र अरु यस्तै जघन्य अपराधीलाई गरिने कार्वाहीको नजिर यस्तो बसोस् की आइन्दा कोही कसैले यो अपराधतर्फ सोच्नै नसकोस्। बाहिरबाट फर्किएकालाई फेरी उतै जाऊँ जस्तो लाग्ने होइन की विदेशबारे सोच्नै नपरोस्।

सरकार ! अरु तिम्रा विकासे नाराहरु सुन्दै गरौँला...देश समृद्ध बन्ने दिन पनि गनिरहुँला। कुरीरहुँला। तर, बिन्ती छ, यी कलिला फूलहरु जोगाऊ। छोरी घरमै डराउनुपर्ने, स्कूलमै डराउनुपर्ने, सुरक्षा दिने प्रहरीसंगै जोगिनुपर्ने आखिर यस्तो त्रास कहिलेसम्म ?


(देशमै पत्रकारिता गर्ने सिर्जना पेसा छाडेर तीन वर्ष कतार बसिन्। उनी एक वर्षअघि नेपाल फर्किएकी हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.