लैंगिक असमानताको अर्को पाटो

लैंगिक असमानताको अर्को पाटो

हत्या, हिंसा, बलात्कारजस्ता घटनाबारे समाचार हामीले दिनहुँ सुनिरहनुपरेको छ । नेपालजस्तो विकासोन्मुख देशमा त यस्ता घटनाले निकै ठूलो हिस्सा ओगटेको छ । पुरुषको तुलनामा महिला बढी पीडित छन्, पुरुष पनि पीडित नभएका होइनन् । हुन त प्रतिशतको हिसाबमा महिला बढी नै पीडित भएको तथ्यांक छ । यसो भन्दै गर्दा थोरै प्रतिशत भए पनि पीडित बनेका पुरुषको समस्यालाई नजरअन्दाज गर्न मिल्दैन ।

महिला पीडित भएको घटनामा अधिकांश पुरुष नै पीडक रहेको भेटिने गरिएको छ भने केहीमा महिला नै महिलाको पीडक भएको विभिन्न घटनाक्रमले पुष्टि गरेका छन् । तर नेपाली समाजमा यस्ता पुरुष पनि छन्, जो महिलाबाट पीडित छन् । महिलाका विषय भन्नेबित्तिकै सान्त्वनाको भाव पोखिनु र पुरुषलाई मात्र दोषी देख्नुले पनि महिलापीडित पुरुषहरूको समस्याको सम्बोधन हुन गाह्रो भइरहेको छ ।

शारीरिक र मानसिक पीडा दिने महिला वा पुरुष दुवै हुन सक्छन् भन्ने कुरा बुझ्न जरुरी छ । समाजमा यस्ता महिला पनि छन्, जो पुरुषलाई विभिन्न यातना दिएर पीडा दिइरहेका छन् । जस्तै- विदेशमा रगत-पसिना बगाएर कमाएको पतिको सम्पत्तिलाई मोजमज्जामा उडाउनु, परपुरुषसँग सम्बन्ध बढाउनु र उसैलाई सम्पत्ति र जोवन सुम्पनु आदि । प्रहरी तथ्यांकलाई आधार मान्ने हो भने नेपाल आउँदा पत्नी र रगतपसिनाको कमाइ दुवै गुमाएर घरको न घाटको भएका पीडित पुरुषको उजुरी प्रशस्त भेटिन्छन् ।

प्रहरीमा उजुरी दिँदा पनि महिलाले दिएका बयानलाई बढी प्राथमिकता दिइनु र पुरुषलाई जहिले पनि हिंस्रक र पीडा दिने व्यक्तिका रूपमा मात्र विश्लेषण गरिनुले पनि महिलापीडित पुरुष झन् पीडित बन्दै गएका हुन् ।

केही समयअघि तेह्रथुमको एउटा समाचार आएको थियो । दोर्ण भुजेलकी पत्नी मन्जुलाले पतिले कमाएको करोडौं रुपैयाँ लिएर बेपत्ता भएको । रोजगारको सिलसिलामा १२ वर्षअघि साउदी अरब पुगेका द्रोण दिनरात नभनी कमाएको ५० लाख, १५ तोला सुन र सातवटा मोबाइल लिएर बेपत्ता भएकी पत्नीबाट सम्पत्ति फिर्ता गराउन नेपाल आएर कानुनी बाटो रोज्न पुगे । अहिले उनको गाउँमा रहेको घरबाहेक सम्पत्तिको नाममा केही छैन ।

यस्तै नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत दीपक (नाम परिवर्तन) को सानो र सुखी परिवार अहिले भताभुंग भएको छ । केही वर्षअगाडिको भरिपूर्ण उनको जीवन यतिबेला शून्यतामा झरेको छ । गाउँमा रहेकी पत्नीले बजारमा कोठा लिएर राख्न अनुरोध गरेपछि गाउँमा भएको जग्गाजेथा बेचेर सहरमा घर र घडेरी किनेर पत्नीलाई पसल खोलेर राखिदिए । आफ्नो सरकारी जागिरबाट आएको तलब भत्ता पनि आफूलाई केही बचाएर सबै पत्नीलाई पठाए ।

लामो समय घर नआउँदा पनि फोनबाटै सन्चो-बिसन्चो र व्यवहारबारे सोध्ने गर्दा रहेछन् । सोध्दा त सब ठीकठाक छ भन्ने जवाफ पाउँदा रहेछन् । जब उनी केही महिनापछि घर आए, छाँगाबाट खसे झैं भए । न पत्नी न जग्गाजमिन । सबै आफ्नो नाममा पारेर पत्नी गायब । धेरै खोजतलास गर्दा पनि कतै नभेटेपछि अहिले उनी यत्तिकै सुस्ताएका छन् । जीवनभर गरेको कमाइको नाकमुख नदेख्दा जिन्दगी शून्यमा झरेको छ उनको ।

यो त नेपालभित्रको कुरा भयो, नेपालबाहिरको कथा पनि उस्तै छ । हाल अमेरिकामा रहेका उनको सम्बन्ध पत्नीसँग केही समय राम्रै बित्यो । तर विस्तारै पतिसँगै बाहिरी पुरुषसँग पनि पत्नीको सम्बन्ध रहेको कुरा खुल्यो । यही विषयमा उनले धेरै सम्झाउन खोजे, तर विदेशको ठाउँ पुरुषभन्दा पनि महिलाको बढी सुनुवाइ हुने । उनले सम्झाउन खोज्दा पुलिस बोलाइदिने धम्की दिएपछि आफ्नै पत्नीसँग अरूसँग लागेको टुलुटुलु हेर्नुबाहेक केही सकेनन् ।

विस्तारै उसले आफू ऊसँग बस्न नसक्ने भन्दै पारपाचुके मागेपछि भने उनले राहतको सास फेरे । तर विदेश र नेपाल दुवैमा सम्पत्तिमा हक लाग्यो । विचरा अधबैंसेभन्दा माथि पुगेको उनको उमेर । अब जिन्दगीभर त्यही कमाइले बाचौंला, बसौला, बुढेसकालमा नेपाल गएर यही सम्पत्ति भोगचलन गरौंला भन्ने सपना बोकेका उनको सबै सपना चकनाचुर भयो । कमाइको आधा हिस्सा दिनुप¥यो, बाँकी आधा ऋण तिर्दै सकियो । अनि बुढेसकालमा भए पनि रातदिन घन्टी हान्न बाध्य छन् अहिले उनी यतिबेला ।

यसरी वर्षौंसम्म पीडित बनेका उनको मानसिक अशान्तिको क्षतिपूर्ति कसले दिने ?       महिला भन्दैमा सबै उसैको पक्षधर हुने र दोषी को हो ?       साँचो र झूटोे के हो ?       छुटाउन नसक्दा पनि यस्तो हुने गर्छ । कसैको जिन्दगीसँग नै खेलबाड गर्ने मनसायले आएकालाई किन दिने आधा सम्पत्ति पनि ? हिजोआज यो बहसको रूपमा चल्न थालेको छ । पुरुषको जायजेथालाई भोगचलन गरेर आफू महलमा र उनीहरूलाई सडक पु¥याएका धेरै उदाहरण समाजमा छन् ।

अधिवक्ता जुनाकुमारी गुरुङका अनुसार पछिल्लो समय पुरुष वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताले महिलाकै नाममा पैसा पठाउने र जग्गा खरिदबिक्री गर्ने काम पनि महिलाकै नाममा हुने गर्छ । पतिले विदेशमा पसिना बगाएर पठाएको सम्पत्ति पतिले दुरुपयोग गरेका केही घटना पनि आउन थालेका छन् । जसका कारण परिवारमा द्वन्द्वको सुरुवात भई परिवार नै तहसनहस बन्न पुग्छ ।

क्लिनिकल साइकोलोजिस्ट विजय ज्ञवाली पनि समाजमा पुरुषविरुद्ध हुने हिंसाबारे खासै चर्चा नहुने स्वीकार्छन् । उनका अनुसार पुरुष हिंसाबाहिर नआउनुको कारण कानुनको जटिलता, पुरुष अहं र लोकलाज, छोराछोरीसित टाढा हुनुपर्ने त्रास, पुरुष हिंसाबारे जानकारीको अभाव, पुरुषलाई सजिलै दोष जान सक्ने सामाजिक वातावरण आदि हुन् । जसले गर्दा पीडित पुरुष विभिन्न मानसिक विचलनबाट पीडित हुन्छन् जस्तै ः आत्मविश्वासको कमी, अनिद्रा, आफू दोषीको अनुभव गर्नु, रक्सी र लागूपदार्थको कुलत हँदै गम्भीर अपराध गर्नसम्म उद्यत् हुने र अन्त्यमा आत्महत्याको बाटो रोज्ने गर्दछन् । यद्यपि पछिल्लो समयमा कानुनी उपचारमा भने पुरुषका मुद्दालाई पनि सहज बनाउने प्रयास गरिएको छ ।

लैंगिक समानतामा अझै पनि प्रस्टता पाइँदैन । महिला हिंसाविरुद्धको लडाइँ र पुरुष हिंसाविरुद्धको लडाइँ एकअर्काको लडाइँ होइन । यो सिंगो हिंसाविरुद्धको लडाइँ हो । महिला पुरुषभन्दा पनि पीडित र पीडक को हो भन्ने छुट्ट्याउन अत्यावश्यक छ । महिला भन्दैमा उसका कुरामा भावनात्मक संवेग प्रस्तुत गर्न र पुरुष भन्नेबित्तिकै आवेग प्रस्तुत गर्न जरुरी छैन । यहाँ लाखौं लाहुरे पनि उठिबासमा परेका छन् । त्यसैले दोषी को हो त्यो निक्र्योल हुन जरुरी छ ।

 

 

हाइलाइट

 

पुरुषलाई जहिले पनि हिंस्रक र पीडा दिने व्यक्तिका रूपमा मात्र विश्लेषण गरिनुले पनि महिलापीडित पुरुष झन् पीडित बन्दै गएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.