दूरदर्शी राष्ट्रनिर्माता

दूरदर्शी राष्ट्रनिर्माता

ली क्वान यु विश्वको शासकीय इतिहासमै सबैभन्दा लामो समय ‘कार्यकारी प्रमुख’ का रूपमा सत्ता सम्हाल्ने एक नेताको रूपमा जति चर्चित छन्, उति चर्चित उनको विकाससम्बन्धी समझ र दूरदर्शिता छ। उनी सन् १९५९ देखि १९६२ सम्म सिंगापुरको प्रधानमन्त्रीको कार्यकारी शक्तिको अभ्यास गर्दा सिंगापुरलाई आम शासकले जसरी शासन मात्रै गरेनन्, उदाहरणीय आर्थिक विकासको मजबुत आधारसमेत प्रदान गरे। यिनको जन्म सन् १९२३ को सेप्टेम्बर १६ मा भएको हो।

‘द सिंगापुर स्टोरी’ संस्मरण सँगालोमा उनको जन्म मात्रै होइन, सिंगो सिंगापुरकै जन्मदेखि पूर्वाधार विकासका क्रममा खेप्नु परेका चुनौतीका साथै त्यसका समग्र आयामबारे विस्तृत रूपमा चर्चा गरिएको छ। ली क्वान युको यस आत्मवृत्तान्तमा उनका व्यक्तिगत भावना त समेटिएका छन् नै, त्योभन्दा बढी यसले सन् १९६५ तिर मलेसियाको चौधौं राज्यको रूपमा रहेको एउटा टापु मुलुक सिंगापुरको समृद्धिको कथा क्रमैसँग भन्छ।

एसियाको दक्षिणपूर्वमा रहेको ७१९.१ वर्ग किमिको क्षेत्रफल ओगटेको सिंगापुर नामको एउटा टापु मलेसियाबाट स्वतन्त्र हुने बखत् सिंगापुरसित बेलायती उपनिवेश थोपरेको उचाल्नै नसकिने ग्लानीको भार थियो, अनि राजनीतिक अस्थिरतासँगै चरम गरिबी र अशिक्षा थियो। त्यसो त क्वानले किताबमा उल्लेख गरेअनुसार ‘क्वान यु’ को अर्थले ‘उज्यालो’ भन्ने जनाउँछ। लीले आफ्नो नामको अर्थलाई सिंगापुरको समृद्धिमा एकाकार गराए।

राजनीतिक लोकतान्त्रिक अधिनायकवादमा नियन्त्रित अर्थतन्त्रको रोगन दलेर शासन शैलीलाई मौलिक रूपमा अभ्यास गर्ने ली क्वान यु त्यस्ता राजनेता हुन्, जोसँग केवल इच्छाशक्ति मात्रै थिएन, दूरदर्शिता र बृहत्तर विकासबारेको गहिरो समझ पनि थियो। उनै ली हुन्, जसले विकासकै निम्ति सिंगापुरलाई मलेसियामा गाभे, इरादा पूरा नभएपछि मलेसियाबाट छुट्ट्याएर स्वतन्त्र र समृद्ध बनाउने काम गरे। एउटै पुस्ता अनि एउटै नेतृवमा आज सिंगापुर तेस्रो विश्वबाट समृद्धिको छलाङ मारेर पहिलो विश्वमा स्तरोन्नति हुन सक्यो, जुन उनै लीको अथक मेहनत र दृढ इच्छाशक्तिको नतिजा हो।

लीले तेलोक कुराओ अंग्रेजी स्कुलबाट प्राथमिक शिक्षा हासिल गरेका थिए। विश्वविद्यालयको उच्च शिक्षा हासिल गर्ने क्रममा भने दोस्रो विश्वयुद्धको चेपमा परे। अध्ययनको लागि ‘लन्डन स्कुल अफ इकोनमिक्स्’मा भर्ना भएका थिए ली। तर, त्यहाँ लामो समय बिताउन पाएनन्। पछि, उनले क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गतको फिज विलियम कलेजबाट ‘ग्य्राजुएसन’ उपाधि हासिल गरे। यसका अलावा बेलायतबाटै कानुनमा पनि स्नातक उपाधि हात पारेका थिए।

एउटा टिठलाग्दो टापुको अर्थतन्त्रलाई विश्वका धनी मुलुकको सूचीमा पार्न निर्णायक भूमिका खेलेका लीसित दृढ राजनीतिक इच्छाशक्ति थियो। त्यही नै सिंगापुर विकासको औजार हो। सन् १९५४ मा पिपुल्स् एक्सन पार्टी स्थापना हुँदाका उनी संस्थापक थिए। सन् १९५९ मा वकालती अभ्यास गरेका थिए। सन् २०१५ को मार्च २३ मा ९१ वसन्त पार गरेर यस धर्तीबाट सदाका लागि बिदा भएका लीलाई सिंगो विश्वले नै एक दूरदर्शी राष्ट्रनिर्माताको रूपमा चिनेको छ।

दूरदर्शी राष्ट्रनिर्माताको अनुभवकिताबमा उल्लेख गरेअनुसार ‘क्वान यु’ को अर्थले ‘उज्यालो’ भन्ने जनाउँछ। लीले आफ्नो नामको अर्थलाई सिंगापुरको समृद्धिमा एकाकार गराए।

सन् ५० को दशकमा राजनीतिक संक्रमण र आर्थिक अस्थिरता मौलाइरहेको सिंगापुरमा सुविधाजनक बहुमतसहित ‘पिपल्स् एक्सन पार्टी’लाई जनताले सत्ताको साँचो सुम्पिए। त्यसबेला गरिबीबाहेक कानुनीराजको अभाव अनि दण्डहीनता तत्कालीन सिंगापुरले विकासको बाटोमा देखेका वा सामना गर्नुपर्ने भीमकाय अड्चन रहेको तथ्य लीले संस्मरणमा उल्लेख गरेका छन्। तर, ली आफ्नो सपनालाई ठोस आकार दिन दृढ थिए, त्यही अनुरूप गरिबी निवारण गर्ने योजना बनाए। सँगै, दोहोरो अंकमा आर्थिक वृद्धिदर प्राप्त गर्ने लक्ष्य पनि बोके। यसका लागि सबैभन्दा पहिले स्थानीय उद्योगको विकासलाई प्राथमिकीकरण गरे।

लीले खुट्याएअनुसार, सन् १९७० सम्म त त्यहाँको रोजगारी दर पुग नपुग ३.५ प्रतिशत थियो। यसको पछाडि, पूर्वाधार विकासमा रहेको लगानीको अभाव नै कारक थियो। भलै, सिंगापुरले मानवीय पुँजी परिचालनदेखि पूर्वाधार विकासको निम्ति ठूलो मात्रा वैदेशिक लगानी भित्र्याउन सफल भयो। सँगै, लीको अग्रसरतामा सिंगापुरको निर्यात व्यापारले आर्थिक लक्ष्यलाई समेत सहजीकरण गर्न सफल भयो। सिंगापुरले रसायन र इलेक्ट्रोनिक्स् पाटपुर्जाको निर्यातमा बढी ध्यान दियो। उनले भनेका छन्, सिंगापुरको अर्थतन्त्र उकास्नमा पानी र तेलको प्रशोधनसँगै निर्यात र विभिन्न कच्चा पदार्थ आयात गरी तयारी वस्तुको पुनःनिर्यातको अवधारणाले अहम् भूमिका खेल्यो।

लीको समृद्धि मोडलको साध्य ‘ग्लोबल सिटी’को निर्माण र जनताको जीवनस्तरमा सुधार थियो, जसमा ‘टुअर्डस् अ बेटर फ्युचर’ नाम दिएर एक नारा समेटिएको थियो। त्यसो त, उनले आर्थिक समृद्धिलाई राष्ट्रको साध्य र साधन दुवै मानेका थिए। उनले निर्यातमुखी आर्थिक नीतिलाई केन्द्रमा राखेर रणनीति तय गरे र कार्यान्वयन पनि गरे। खुला बजार अर्थतन्त्रसँगै निर्यातमुखी औद्योगिकीकरणको मर्मलाई पनि उनले आत्मसात् गरे। उनको ‘द स्ट्राटेजिक इकोनोकिमक प्लान’ दूरदर्शी थियो। जसमा ३० देखि ४० वर्षभित्र समृद्धको सूचीमा दरिएका भनिएका राष्ट्रका हाराहारीमा पुग्ने अठोट गरेका थिए र त्यो पूरा पनि भयो।

निर्माण क्षेत्रको विस्तार गरी विकास पूर्वाधारलाई मजबुत तुल्याउने लीको रणनीति सफल भयो। त्यसो त, सन् १९६१ मा आर्थिक विकास बोर्डको स्थापना गरेर लगानीमैत्री वातावरण निर्माणमा नीति सहजीकरण गर्न उनी आफैं कस्सिए। फलतः लगानीमैत्री वातावरणको निर्माणसँगै प्रत्यक्ष वैदेशिक लगानी अपेक्षाकृत रूपमा भित्रियो। आफ्नो रणनीतिअनुरूप सिंगापुरलाई ग्लोबल सिटीको ढाँचामा विकास गर्न ली नेतृत्वको सरकारले चाहेअनुरूप नै भौतिक पूर्वाधारको विकासमा लगानी खन्यायो। त्यसैले पनि, लक्ष्य हासिल गर्न त्यति लामो समय प्रतीक्षा गर्नु परेन।

लीले उल्लेख गरेका छन्, सन् ८० को उत्तराद्र्धतिर उनलाई लाग्यो कि सूचना प्रविधिको विकास भएन भने आर्थिक विकासले गति लिन सक्दैन। फलतः समग्र विकासकै मार्गमा चुनौतीको पहाड खडा हुन सक्छ। त्यसैले होला, ठूलो पुँजी परिचालन गरेर राष्ट्रिय कम्प्युटर बोर्ड स्थापना गरे। यसैसाथ, प्राविधिक शिक्षामा सबैको पहुँच स्थापित गर्ने नीति अख्तियार गरियो। सिंगापुरमा रहेको न्यूनतम आन्तरिक स्रोतको अधिकतम परिचालनको लागि उनले विभिन्न विकासे प्रयोग पनि गरे।

लीले किताबभरि पटकपटक दोहोर्‍याएका छन् कि ‘विकासको मूलमन्त्र भनेकै राजनीतिक इच्छाशक्ति हो,’ हो, त्यही राजनीति इच्छाशक्तिले नै हो आजको सिंगापुर समृद्ध बनेको। सिंगापुरले आर्थिक समृद्धिको लागि अघि सारेको नारा ‘टुअर्डस् अ बेटर फ्युचर’ आज उसको हातमा छ। पछिल्लो समय नेपालमा पनि आर्थिक विकासको बहस चुलिएको छ। यस्तो अवस्थामा नेपालका नेताहरूका लागि यो किताब सान्दर्भिक हुन सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.