सिलुक सुर्ता बोकेर गाउँमा

सिलुक सुर्ता बोकेर गाउँमा

सास फेर्नसमेत मुस्किल हुने गरी मैरा घोगाले छर्लक्क भरिएको थियो। आधा पुरिएको मैराभित्ताको खोपामा चेलपार्क मसी सकिएपछि खाली डिब्बालाई बनाएको टुकी जाँगर नलाई पिलपिल पिलपिल गरिरहेको थियो। पिलपिले उज्यालोमा घोगा अटेसमेटस गरी कतै बसेका त कतै लडेका देखिन्थे।

लगाएको लुगा जीउबाट फुकालेजसरी घोगाको पोक्सर निकाल्दा निक्लेको सारामसोरम आवाज घरि तीव्र हुन्थ्यो त घरि मन्द। डल्लुगहिराबाट गाउँ पसेको सिमलचरीको टुककक टुककक आवाज पोक्सरे सारामसोरमा मिसिएर ‘नौलो’ सुनिन्थ्यो। ती दुई आवाजमा खापिएर एउटा मान्छे बोलिरहेको सुनिन्थ्योे, ‘त्याँबट के भयो भने ...।’

‘के भयो ? ’

‘माल–मधेसको मोजर र हिमाल–खागरको डाँफे जोईपोइ भए।’

‘ह्वाबट ? ’

घोगाबाट पोक्सर निकाल्दा आफ्नो बास भत्केपछि अत्तालिँदै पुच्छर ठाडो पारी दौडिरहेका काँपे किराले टोक्थे। कहाँ टोक्यो भनेर खोज्दै गाउँले गाली बेलाबेलामा झर्थे, ‘अस् गोस्सा झुस्सेले ता टोक्किलो किउ, आमाजू।’

यो थियो, ५० को दशकअघिको रोल्पाली गाउँ जैपा। जुन बेला दिनभर बारीबाट मैरामा घोगा जम्मा गर्थे भने राति आआफ्ना टोलको एउटा घरको मैरामा गाउँले भेला हुन्थे। त्यसपछि कहिले अँध्यारोमा त कहिले मसी सकिएपछि वा रक्सीको खाली सिसीबाट निक्लेको पिलपिले उज्यालोमा घोगाले ओढेको पोक्सर निकाल्थे। यसलाई गाउँमा भन्थे, घोगा उधार्ने।

दिनभर कामले थकित किसानले रातभर घोगा उधार्न मुस्किल थियो। के गर्ने त उसो भए ? थकाइ र निद भगाउने जुक्ति पनि निकालेका थिए। त्यो जुक्ति थियो, लोककथा। लोककथा सुनाउनुलाई गाउँमा ‘सिलुक हाल्ने’ भन्थे। अठार मगरातको मगर भाषा खाम÷पाङ भाषीले यसलाई ‘सिल्को झाने’ भन्थे।

सिलुकमा चराचुरुंगी र जनावर पनि बोल्थे। राजारानी, परी र भूत हुन्थे। कतिपय सिलुक भने महिला, टुहुरा, गरिब र सर्वसाधारणलाई ऊर्जा दिने पनि हुन्थे।स्थानीय रस मिसाउँदै रोचक पाराले सिलुक हाल्दा सिलुक चिलगाडीमा उड्दै घोगा उधार्दाउधार्दै गाउँले त सिलुकका पात्रसँगै हाँस्थे, पात्रसँगै रुन्थे। र, दिनभरको थकान र निद्रा भुल्थे।

मैले थाहा पाउँदा हाम्रो टोलमा जेई, माइली सान्जी र फुपू सिलुक हाल्न माहिर थिए। जेईले सुनाउने सिन्कीचिरी नानाको सिलुक अहिले पनि सम्झनामा आउँछ। सिलुककी नाना चरा भइन्। छोराछोरी बिजोग भए। सन्तानका बिजोग देख्न नसकी रातिराति आउन थालिन्। सबै सुतिसकेपछि छोराछोरीलाई नुहाइदुहाइ र खानपिन गराउन थालिन्।

‘यस्तो काम कसले गर्छ हँ ? ’ परिवार सदस्य अचम्मित भए। एक रात भने परिवारका मान्छे निदाएको स्वाङ पारे। सदाजस्तै सिन्कीचिरी नाना आइन्। तिनले नानालाई डोकोमा थुने। जेईले यो सिलुक सुनाउँदा घोगा उधार्दाउधार्दै रुन्थे। र, सिलुककी नाना र तिनका बच्चाबच्चीका मायामा बल्झेर ढल्थे। जेईले सिन्कीचिरी नानाजस्ता ‘दुखाना’ सिलुकमात्र सुनाइन् कि मैले सम्झेको नानालाई मात्र हो ? थाहा छैन।

‘दिनमा सिलुक हाले लुगा जल्छ’ भन्थे। दिनमा सुनाउँदा दैनिक कामकाजमा बाधा पुग्छ भनेर रातमा मात्र सिलुक हाल्ने चलन चलाए कि ?

०००

पोहोर पनि दसैं छुट्टीमा गाउँ गएँ। गफगफमा सिलुक प्रसंग उप्किए। साइँली सान्जी र फुपू ‘माथि’ लागिसकेका थिए भने जेईले सिलुक भुलिसकेकी थिइन्।

‘सिलुक हाल्ने बाँकी को छन्, गाउँमा ? ’दुईजनाको नाउँ आए, माथ्लो टोलका ओखरबोटे जेठा भेना र तल्लो टोल बाठाकोप्चाका धनबहादुर खड्का सम्धी।

एक साँझ सिलुक सुर्ता बोकेर गएँ, ओखरबोटे जेठा भेनाकहाँ। सुन्ने कान, आँखा र हिँडडुल गराउने गोडाले भेनासित बोली बार्न लागेका थिए।

‘कन्ने त जनै भैगो नि साला’, भेनाले बाह्रै महिना बिरामी भएको जानकारी गराउँदै भनेथे, ‘सिलुक त सप्पै सक्किगे साला। कहाँ छन् र ? ’

‘होलान् नि बचेखुचेका।’

‘भुरौलीले खायो केर बड्डौ’, पुरानगाउँले बादीले बनाएको सुल्पामा लाखरखोले लामपाते सुर्ती तान्दै भेनाले भनेथे, ‘सिलुक हाल्ने जुग पनि गयो साला। हाम्रो जोवन पनि गयो।’

सिलुक हाल्दाहाल्दै भेना बीचबीचमा अलमलिए। मन्सरी भान्जीले सम्झाइन्। ‘हो त है’ भन्दै फेरि सिलुक सोझ्याए। लाग्यो, भेना उमेरे बिस्मृतिमा गए। गाउँमा मन्सरी भान्जीजस्तै कति भेटिएलान् जसले भुलेका सिलुक सम्झाइदेलान् ? भेनाले ‘कटुम्भुरा र कुटुम्भरीभुरी’को सिलुक सुनाए। सुनाए, स्याल र भालु दुई मीतका सिलुक।

भेनाले सुनाएजस्ता सिलुक सानो छँदा सुनेथेँ। त्यसपछि कीर्तिपुर पुगेपछि एमए (अंग्रेजी)मा पश्चिमा लोककथा पढेथेँ।

माओवादी इन, सिलुक आउट

‘गाउँमा हइचाल सुरु भो। लरै चलेपछि त के हुनो बड्डौ, सिलुक सुनाउने ठप्पै भो’, भेनाले सिलुक हराउनुको एउटा माओवादी सुनाए। हइचाल भनेर भेनाले माओवादी आन्दोलनलाई संकेत गरेका थिए। माओवादी आधारभूमि रोल्पामा सिलुक सम्बन्ध सुकाउने एउटा कारण माओवादी पनि हो भने।

दोस्रोपालि नेपालमा संसदीय व्यवस्था आयो, २०४६ मा। रोल्पा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व नेकपा (मशाल) गढ बन्यो। यसको एउटा कारण थियो, कृष्णबहादुर महराले २०३६ तिर पढाएका विद्यार्थी कि शिक्षक थिए कि गाउँपञ्चायत सचिव। अर्को कारण थियो, विसं २०१३ मै मोहनविक्रम सिंह र खगुलाल गुरुङ थबाङ पुगेर बर्मन बुढामगर नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन गरेथे।

मोहन वैद्य नेतृत्वको ‘मशाल’ र सिंह नेतृत्व ‘मसाल’ फुट्दा रोल्पालीले ‘मशाल’ समाएथे। पछि वैद्यले प्रचण्डलाई ‘मशाल’ जिम्मा लगाएथे, आफ्नो महामन्त्री दिएर। ‘मशाल’ मुखमा थियो, पुराना ध्वंश। पुराना जति रूढि। त्यसैले मशाल प्रभावित नयाँ पुस्ताका युवा मनबाट पुराना चलन र पुराना चिज भित्र नै नपसी बाहिरिए।

२०४८ सालको संसदीय चुनावपछि गिरिजाप्रसाद कोइरालाको सरकार बन्यो। स्थानीय कांग्रेस र पुलिस गाउँ पसे। खसीबोका काटे। रगतमा हात चोबाएर कांग्रेस बनाउने अभियान चलाए।

त्यस बेला मशाल एकताकेन्द्र बनेको थियो। र, त्यसको चुनावी मोर्चा थियो, संयुक्त जनमोर्चा, नेपाल। जनमोर्चाले रोल्पाका दुवै सिट जितेको थियो। त्यस बेला एकताकेन्द्रले ‘प्रतिक्रियावादी राज्यसत्ताका आँखा, कान फोड्ने’ भन्यो। ‘स्थानीय जाली फटाहा मास्ने अभियान’को नाउँमा मुक्खे, प्रधान र स्थानीय कांग्रेसलाई तारो बनायो।

हाट हरायो। हाट हराएपछि सिलुक हाल्ने एउटा थलो पनि हरायो। मरु (मृत्यु) वा भरु (जन्म या बिहे)मा पनि सिलुक हाल्ने चलन थियो। मृतकको घरमा ठाट सुत्न जाने बेलामा रातभर जागा बस्दा सिलुक हाल्थे। रातमा हुने बिहे दिनमा हुन थालेका थिए। तपाईंको गाउँतिर सिलुक हाल्ने चलन बाँकी नै छ कि हरायो ?

सरकार र जनमोर्चा एकअर्काविरुद्ध मरिमेटी लागे। रोल्पाली मेला त जनमोर्चा र कांग्रेस लडाइँ मैदान बने। रोल्पामा मुद्दाखेती हलक्क हल्क्यो। लिबाङका पुलिस खोर थुनुवाले भरिए। मुद्दा छल्न कति गाउँले कालापारे भए त कति कांग्रेसमा ओतिन गए त कति भूमिगत भएर एकताकेन्द्र।

ससाना बालबच्चा च्यापेर घरमा नसुती गाउँले जंगलमा सुत्न थाले। भेला भए पुलिसले समाउँछ भन्दै जम्मा हुने चलन क्रमशः दुब्लायो। यसरी रोल्पाली गाउँमा भेला नै नभएपछि कसरी सिलुक हाल्नु ! एकताकेन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले २०५१ मा माओवादी बनायो। र, २०५२ फागुन १ गते औपचारिक रूपमा जनयुद्ध थाल्यो।

औपचारिक रूपमा जनयुद्ध नथाल्दै रोल्पाली बनपाखा लडाइँ मैदानमा परिणत भइसकेका थिए। अब लुकीचोरी हुने भेला माओवादी राजनीतिक प्रशिक्षणमा फेरिए। कुराकानीका अनुहार फेरिए।

रोल्पाली गाउँ राजनीति रङले यति रंगिए कि कांग्रेस र माओवादीका शुभचिन्तकसमेत एकअर्काका जन्त र मलामी नजाने भए। कांग्रेस र माओवादी पुत्रपुत्रीका माया बसेछ भने पनि भत्के। बिहे त पर भइहाले। राजनीतिक ध्रुवीकरण यति भयो कि, माओवादी कांग्रेस गाउँहरूबीच समेत पानी बाराबार भयो।

माओवादी आन्दोलन तन्नेरिन थाल्यो। झन् ‘उइलेका कुरा खुइले’ भए। त्यै घानमा सिलुक पनि प¥यो।

लिखतले लखेट्यो

‘अइला मान्छले त मनमा होइन, कागतमा लेख्छन्। सिलुक मनमा लेख्ने हो ब’, जेठा भेनाले सिलुक हालेपछि भनेथे, ‘अहिले त न सुन्ने मान्छ छन् न त सिलुक हाल्ने बच्या छम्।’

भेनाले भनेपछि बाबैलाई सम्झिएँ। बाबैले २३ रुपैयाँको सयकडा तीनको दरले चार वर्ष दुई महिना आठ दिनमा कति हुन्छ भनेर कसैले सोधे, औंला र मुख समानान्तर चलाएर छिनमै जवाफ दिन्थे। त्यो हिसाब निकाल्न परे मलाई कि त कापी कलमसँग कन्नुपथ्र्यो कि त क्याल्कुलेटरलाई भन्न पथ्र्यो।

रोल्पाली गाउँमा पनि स्कुल खुले। ‘स्मृति’मा सार्नुपर्ने काम कलम र कापीले सार्न थाले। लेखपढ रोल्पाली गाउँ पसेपछि मौखिक ज्ञान हस्तान्तरण परम्परा स्वतः दुब्लायो।

साक्षरताले कसरी सिलुक भगायो भन्ने सुनेपछि भारतीय लेखक उदय प्रकाशलाई सम्झिएँ। सन् २०१० मा उनले आफ्नै घरमा ‘कसरी साक्षरताले कल्पनाशीलता र मौखिक ज्ञान नासिए’ भन्ने कुरा सुनाएथे।

भनेथे, ‘हामीले ‘लिटरेरी’ गुमाउँदै छौं। यूकेमा ‘फोल्क लोर’ थियो। मौखिक थियो। जब लिटेरसी आयो, पुराको पूरा गायब भयो। ‘क्राफ्ट अफ लिटरेरी’ हामीले गुमाउँदै छौं। लेख्न लागेपछि स्मृति छोड्छौं।’

माओवादी नपसेका गाउँबाट पनि किन सिलुक हराउनुको कारण साक्षरता थियो कि ? लेखपढ सुरु भएपछि नयाँ पुस्तामा सिलुकमोह पलाउने याम आएन कि ?

सिलुक खायो प्रविधिले

‘अहिले त मोबिलमा गीत सुन्छन्, सिलुक कसले सुन्नु ? सुनाउने पनि कसले र ? सिलुक त हाम्सतै बाटो लाग्न थाले’, बाठाकोप्चा धनबहादुर खड्का सम्धीले सिलुक सुनाउँदै भनेथे।

लाग्यो, सिलुकलाई मिलुक्क पार्ने अर्को कारक प्रविधि हो। यसो सम्झिएँ, गाउँमा जारी छ त घोगा उधार्ने चलन। भलै सानो परिमाणमा छ। अहिले पनि गाउँमा जमघट हुन्छ। गाउँमा उसैगरी फुल्छन्, पैंयु र आरु। तिनले फुलाएका जीवन पनि उसैगरी फुल्छन्।

सिलुक हाल्ने बेलामा त कि मोबाइलमा बजारिया गीत सुन्न थालेका थिए। मोबाइल आउनुअघि रेडियो सुन्थे। मोबाइलसँगै अरबे घरमा टीभी पनि पुगे। उदय प्रकाशले भनेथे, ‘पहिले मान्छे आफैं पर्फमर हुन्थे। आफैं नाटक खेल्थे। गाउँथे। नाच्थे। रेडियो आएपछि मान्छेलाई स्रोतामै सीमित गरिदियो र टीभी आएपछि दर्शकमा। मान्छेले अब कहाँ र कसरी कल्पना गर्नु ? ’

फेरिँदो जीवनशैली

‘मैले त धेरै सिलुक नुन बोक्न कोइलाबास हाट जाँदा सुनेँ। ठाट सुत्न जाँदा सुने। जन्त जाँदा सुनेँ। घोगा उधार्दा सुनेँ’, कसरी सिलुक हाल्न माहिर भएँ भन्ने कुरा सुनाउँदै जेठा भेनाले भनेथे, ‘मैले एकखेप सुने पुग्थ्यो साला। घत् बसिहाल्थ्यो।’

गाउँले जीवनशैली फेरियो। वर्षमा एकपालि नुन बोक्न हाट जाने चलन हरायो। हाटचाहिँ भोटबाट नेपालगन्ज, कोइलाबास हुँदै घोराही पुगेको थियो। मैले थाहा पाउँदा वर्षको एकपालि जाली खकन्नाले बेरिएको भारे डोको बोकेर नुन बोक्न हाट गाउँबाट घोराही झर्थे। परिवारलाई एक वर्ष पुग्ने नुन बोक्न। परिवारको एकजना जान्थे। नुन बोकी १० दिनजति लगाएर गाउँ फर्कन्थे।

हाम्रो गाउँभन्दा तल बल्दजुरेमा आएपछि हटारु आएको जनाउ दिन्थे। हामी भुराभुरी पनि नुन हाटबाट फर्केका हटारु लिन बल्दजुरे पुग्थ्यौं। हटारुले दिएको गुर (भेली) खाँदै रातमा उकालिन्थ्यौं।

न पुल न बाटो। जता खोला बग्थ्यो त्यतै लाग्थे रे। सानीगारबाट तार्केबाङ पुग्न (करिब २० किलोमिटर) बाटो पार गर्नलाई मात्रै चौरासी जँघार तर्थे रे। तार्केबाङ, लोसेबाङ, थुर्पाधुरी, टिला, कल्चुओडार, राइबाङ, भाङ्ङुबारी, चौखे, होलेरी, काकपानी, कोइलाखानी, रानीजरवा, कुइरेपानी, कुलमोर आदि नुनको हाट जाने हटारुका बास थिए।

हाट हरायो। हाट हराएपछि सिलुक हाल्ने एउटा थलो पनि हरायो। मरु वा भरुमा पनि सिलुक हाल्ने चलन थियो। मरु भनेको मृत्यु। मृतकको घरमा ठाट सुत्न जाने बेलामा रातभर जागा बस्दा सिलुक हाल्थे। भरु भनेको जन्म या बिहे हो। रातमा हुने बिहे दिनमा हुन थालेका थिए।

मैरा छर्लक्क भर्ने बारी बाँझा भए। घरबारीबाहेक बाँकी बारी बाझा। तन्नेरी अरबमा थिए कि सहरमा। घर रुँघेका बूढाबूढीमात्र थिए, गाउँमा। सिलुक हाल्ने हाटजस्ता थलो हराए भने बचेका नयाँ थलोमा सिलुक पुगेनन्। बस्, प्रविधि, माओवादी आन्दोलन र साक्षरताले फेरेको थियो, गाउँको जीवनशैली। गाउँको अनुहार। हाट थिएन। मरुभरुको रूप फेरिएका थिए। तिनले फेरेको जीवनशैलीमा सिलुक पुगेका थिएनन्।

‘कति समयपछि सुनाउनु भयो हँ भेना ? ’

भेनालाई सोधेथेँ। भेनाले औंला भाँचे। त्यसपछि भनेथे, ‘गोरा तीनेक भइगे कि साला एक बीसमा।’

भेनाले नसुनाएकै २३ वर्ष भएछ। सिलुक सुर्ता बोकेर रोल्पा र रुकुमका करिब डेढ दर्जन सिलुक हाल्नेलाई भेटेँ हुँला। कोहीले २५, कोहीले २३ त कोहीले २२ बर्षको अन्तरालमा सुनाएको भने। २० वर्षलाई एउटा पुस्ता मान्ने हो भने, एउटा सिंगो पुस्ता नै सिलुक विमुख भएछ। हस्तान्तरण हुँदै आएको सिलुक त एउटा सिंगै पुस्ताकहाँ पुगेनछ।

सिलुक हाल्ने पुस्ता अहिले ७० वर्षको वरपर पुगेको छ। एकदुईवटा मात्र सिलुक हाल्न जानेका नयाँ पुस्ताका जम्मा चारजना भेटेँ (डेढ दर्जन भेटेमध्ये)। ती थिए, रोल्पा जेलबाङका परिमल बुढा मगर उर्फ कमरेड क्षितिज मगर, रोल्पा राङ्कोटका यनारजन घर्तीमगर, रुकुम चुनबाङका टोपबहादुर पुन र रुकुम मैकोटका सुरुल पुन उर्फ कमरेड अजयशक्ति।

‘सिलुक नहाल्दा हाम्रो समाजले के गुमाउँछ ? ’यसबारे विमर्श भइरहला। तर, रोल्पाली गाउँ केही वर्षमै सिलुकमुक्त हुँदैछ। तपाईंको गाउँतिर सिलुक हाल्ने चलन बाँकी नै छ कि हरायो हँ ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.