ज्वाइँ सा’ब का पीडा

ज्वाइँ सा’ब का पीडा

आज ससुरालीमा बिहे छ। नयाँ भएर हो कि, मलाई ससुराली जाने भनेपछि अलि असहज महसुस हुन्छ। तर, जब मेरी श्रीमतीको कुरा आउँछ, असहजताले ठ्याक्कै कोल्टे फेर्छ। उसलाई माइती जाने भन्यो कि दुई दिन अघिदेखि निद्रा लाग्दैन। ऊ बिहानैदेखि उत्साहित थिई।

मलाई भोजभतेरजस्ता कार्यक्रमहरूमा जान जाँगर नजागेको धेरै भइसक्यो। त्यहाँ जाँदा एक्लोपन महसुस हुन्छ। के गर्ने के नगर्ने थाहा हुँदैन। ज्वाइँजस्तो मान्छे ‘भलादमी’ बन्नुपर्छ भन्ने मान्यता समाजले दिमागमै रोपिदिएको छ। त्यही कारण पनि हुन सक्छ। यो ज्वाईं सा’बको आसन मात्र ग्रहण गरेर चुप लागेर बस्ने कुरा मेरो चिनामै लेखेको छैन।

‘म कस्ती देखिएकी छु ? ’ सदा झैं उनको प्रश्न आयो। म ल्यापटपमा व्यस्त थिएँ। उनले फेरि अलि ठूलो स्वरमा सोधेपछि मैले उनलाई हेरेँ। ऊनी सारीमा सजिएकी थिइन्।

‘राम्री देखिएकी छौ,’ मैले उत्तर दिएर मुन्टो ल्यापटपतिरै फर्काएँ।

‘राम्री मात्रै ? ’ उनले खोजेकै उत्तरको खोजमा अर्को प्रश्न आयो। ‘एकदमै राम्री देखिएकी छौ। तर मेकअप अलि बढी नै भयो कि ? ’ प्रश्न फालेर म फेरि पन्छिन खोजेँ। मलाई मेरी श्रीमती मेकअपमा भन्दा यत्तिकै राम्री लाग्छ।

‘तपाईं रेडी नहुने ? जन्ती निस्कन लागि सके रे,’ उनले भित्रबाट हकारिन्। म नुहाउन रुमाल लिएर बाथरुम छिरेँ। गिजर बिग्रिएको रहेछ। एकछिन ठोकठाक पार्दा पनि नबनेपछि, मैले जाडोमा नुहाउने चेष्टा गरिनँ। मुखमात्रै धोएँ।

त्यसपछि सुट पाइन्ट लगाउन थालेँ। कोट पाइन्ट अलि टाइट भएको महसुस गर्दै थिएँ। ज्यान अलि बाक्लो भएछ, कोट सानो भएको त होइन होला। म दुई मिनेटमै तयार भएँ। तर उनको तयारी अझै सकिएको थिएन। म मुर्मुरिन थालेँ।

‘जहिल्यै यस्तै गर्नुहुन्छ ! बरु छोरालाई यो लुगा लगाइदिनु नि !’ छोराको लुगा मतिर फाल्दै, भनिन्। मैले छोरालाई लुगा लगाइदिएँ, बोकेर चोकमा गएँ र कुर्न थालेँ। तर, उनको आउने अत्तोपत्तो थिएन। चोकबाट तीनचार पल्ट कराएपछि उनी आइन्।

०००

हामी पार्टी प्यालेस पुग्यौं। बाइक पार्किङ गरेर भित्र पस्न लाग्दा ढोकामै केही महिलाले मलाई घेरे। मैले सबैलाई नमस्कार गरेँ।

एकजना महिलाबाट ‘मलाई चिन्नु भो ? ’ भन्दै ‘सीधा प्रश्न ज्वाइँसँग’ पारामा सबाल आयो।

यो मलाई सबैभन्दा अप्ठ्यारो लाग्ने प्रश्न। मलाई सम्बन्धबारे धेरै ज्ञान हुन्न, अनि मान्छे पनि धेरै सम्झिन्न।

मैले जुक्ति निकालेँ, श्रीमतीलाई देखाएर झटारो हानेँ, ‘उसको दिदी।’

‘हो, म आभाको फुपू दिदी हो।’

परीक्षा बिग्रिएर फेल हुन्छु कि भनेर कुर्दै गरेको परीक्षार्थी, एक्कासि पास भएर राहतको सास फेरेझैं, लामो सास फेरेँ। ‘ज्वाइँ सा’ब ! तपाईं हाम्रो घरमा किन आउनुहुन्न ? हामीलाई हेला गर्नुभा ? म त कन्यादान दिएको फुपू पो त !’ फुपू एक्कासि भक्कानिन थालिन्। मलाई के गर्नु न के गर्नु भयो।

आभाले सम्हालिन्।

मैले आभातिर हेर्दै ‘अलि कामको व्यस्तताले हो, अब अर्को हप्ता नै आउछौं’ भनेँ।

यत्तिकैमा भित्रबाट एकजना दाइ आउनुभो र म दाइसँगै फुत्किएँ। हलभित्र छिरेर अघि बढेँ। केही आफन्तहरू मलाई देखेर मुस्कुराउन खोजे। म पनि मुस्कुराएँ। तर, यहाँ पनि समस्या चिनजानकै थियो। मैले हात उठाउँदै नमस्कार गरेँ। मलाई नमस्कार पनि कसलाई गर्ने र कसलाई नगर्नेमा सधैं द्विविधा हुन्छ। त्यसैले आज भोलि सबैलाई गर्ने गरेको छु। टन्टै साफ !

केहीबेरमा ससुराले थालभरि ‘स्न्याक्स्’ ल्याउँदा अप्ठ्यारो लाग्यो।

‘बुवा, म आफैं लिन जान्थे नि।’

‘हैन, ज्वाईं सा’बलाई कहाँ दुख दिनु।’

यति भनेर बुवा अर्को काम तिर लाग्नु भयो। म उभिएर, नजिकैको नाचगान हेर्दै थिएँ। श्रीमती नजिकै आएर साउती गरिन्,‘कोटको टाँक उछिट्टेला, टाँक खोल्नु।’ मैले हत्तपत्त टाँक खोलेँ।

आज आभालाई राजाको राँगो फुकेकोझैं भाको छ। उनी छोरा मलाई सुम्पेर गइन्। हामी बाउ छोरा यतै बस्यौं। ‘बाबा, बाहिर जाम् न !’ साढे तीन वर्षे छोरोले चोरऔंला समातेर तान्न थाल्यो। सायद मान्छेको भीड अनि बाजाको आवाजले छोरालाई पनि मलाई झैं उकुसमुकुस भएको हुनुपर्छ।

त्यही बीचमा ‘नमस्कार ज्वाइँ सा’ब !’ भन्दै एकजना अन्टी नजिक आइन्। उनीसँग एउटा सानो बच्चा पनि थियो। यत्तिकैमा नजिकै नाच्दै गरेकोमध्ये, एक जना २५, २६ वर्षे मैले नचिनेको केटी आई अनि अन्टीलाई तानेर नाच्न लान खोजी।

‘एक्कै छिन है ज्वाइँ सा’ब !’ भन्दै त्यो बच्चा मलाई सुम्पेर उनी हिँडिन्।

मसँग ‘हस्’ भनेर ङिच्च दाँत देखाएर हाँस्नेबाहेक अन्य उपाय थिएन।

छोरो ‘बाहिर जाम् न’ भनेर तलबाट पाइन्ट तान्छ, माथि बच्चा रुन्छ। मेरो अवस्था दयालाग्दो हुँदै गएको थियो। म बच्चा फकाउन लागेँ। हेर्दाहेर्दै छोरो कुद्यो। म बच्चा बोकेर उसको पछाडि दौडिएँ। असनको व्यस्त सडकजस्तो भीडमा छोरोलाई पछ्याएँ। अलि पर उसको मामु भएको ठाउँ गएको रहेछ। मलाई उसको मामुसँग रिस उठिरहेको थियो।

आभा अनि उसकी भाउजू एउटा कुनामा अनुहार सिरियस बनाएर कुरा गर्दै रहेछन्। केही ठूलै पारिवारिक कुरा हुनुपर्छ। मलाई अचम्म लाग्छ, यस्तो भोजमा यस्तै सिरियस छलफल कुना कुना गरिन्छन्। सायद ती कुनाहरू ती छलफलकै लागि बनाइन्छन्। म फेरि अघिकै ठाउँमा फर्किएँ। अर्काको बच्चा बोकेको जो छु।

एकजना महिलाबाट ‘मलाई चिन्नु भो ? ’ भन्दै ‘सीधा प्रश्न ज्वाइँसँग’ पारामा सबाल आयो।

नाचगान चलेको ठाउँ नजिकै गएर उभिएँ, यो आसमा कि अघिकी अन्टी आएर बच्चा लिएर जान्छिन्। उनीहरू ‘गोजीमा दाम छैन, गोजीमा सुको नहुने मान्छे केही पनि काम छैन’ भन्ने गीतमा नाच्न व्यस्त थिए। मलाई पनि किन किन यो गीत सीधै मनमै लाग्छ। सायद गोजीकै कारणले होला। तर, आज गीतभन्दा पनि मेरो ध्यान बच्चामै थियो।

उता बेलाबेला अन्टी मलाई हेर्दै, ‘एकै छिन है’ भन्दै ठुम्का मार्दै थिइन्। मसँग मुस्कुराएर ‘हुन्छ’ भन्नेबाहेक केही विकल्प थिएन। मलाई एकदमै रिस उठिसकेको थियो। गीतकै तालमा बच्चालाई फकाउने प्रयास गर्दै थिएँ। तर बच्चा मानिरहेको थिएन। यत्तिकैमा दाइभाउजू आउनुभयो अनि ‘लन्च’को लागि जाम् भन्नुभयो। मैले बच्चा थमाउने ठूलो बहाना पाएँ।

एकदमै भोक लागिसकेको थियो। खानाको लाइनमा बसियो। पार्टी प्यालेसले पनि काठमाडौंमा राम्रो व्यापार गरेको छ। ठीकै होला, यो तडकभडकको पछाडि एउटा आशा चाहिँ हाम्रो सामाजिक सम्बन्ध यसले बचाउने काम गरेको छ भन्ने अर्धविश्वासले यो विषय खासै उठाउन मन लाग्दैन। हामी लाइनमै थियौं। पुलाउ, नान, दाल फ्राई, मिक्स करी, पनिरको यात्रा गर्दै अघि बढ्दै थियौं। एक्कासि लाइन रोकियो। अगाडि मटन र चिकेनको पालो थियो।

सागपातमा बुलेट ट्रेन अनि मटनमा बेलगाडा। यो चाहिँ सबै भोजको समान दृश्य हो। यो ठाउँ रत्नपार्कझैं अलि जाम हुने नै ठाउँ हो। अलि लामै कुर्नुपर्योै। मानिसहरू बागमतीमा सुन खोजेझैं राम्रो चोक्टा खोज्दै थिए। म पनि कम त कहाँ हो र ? बिहानै ग्यास्ट्रिकको औषधि खाई पूर्वतयारी गरेर आएको थिएँ। तरसँगै आफन्तहरू भएकाले धेरै मेहनत नगरी दुई, चार पिस हालेर इज्जत बचाउने प्रयास गरेँ।

खाना खान टेबलमा बस्दा पनि नमस्कारको सिलसिला रोकिएको थिएन। यत्तिकैमा दुलहाका बुवा अनि भाइ अगाडि आएर ‘के ल्याऊ ज्वाइँ सा’ब’ भनेर सोधे। दुलहाका भाइले अलि पर गएर पानी ल्याएर टेबलमा राख्दिए। मलाई फेरि पनि अप्ठ्यारो लागिरहेको थियो। बिहेमा दुलहाको बुवा अनि भाइको पीडा पनि भनी नसक्नु हुन्छ। दुलहाको भाइले कालो छड्के साइड ब्याग बोकेका थिए।

अनि हातमा खामहरू थियो। आफूले मान्नेलाई खाम दिनुपर्ने चलन पनि उदेकलाग्दो नै बन्दै गएको छ, हाम्रा विवाहहरूमा। झन् व्यक्तिअनुसारको खाम अनि दाम। खाम अनि दाम तल माथि परे, सम्बन्ध नै जाम। उफ् ! गाह्रो छ यो युगमा व्यवहार निभाउन।

छोरालाई समेत खुवाउनुपर्ने हाम्रो जिम्मेवारीले खाना झन् चिसो हुँदै थियो। मोबाइलमा कार रेस खेल्दै गरेको छोरालाई दालमा डुबाएर नान अलि अलि खुवाउँदै थियौं। छोरा फेरि कुद्यो। म पछि पछि दौडिएँ। अलि अगाडि छोरा कार्पेटमा अल्झिएर लड्यो।

मैले छोराभन्दा पहिला मोबाइल केही त भएन भनेर हेरेँ। छोरालाई उठाएर, लुगा पुछेर टेबलमा फर्किएँ। बस्न लागेको मात्र के थिएँ, एक जना बहिनी आएर लास्टमा खान्छु भनेर राखेको दुई चौटो राम्रो मासुसहित थाल उठाएर लिएर गई, नखाएर छाडेको भन्ठानेर होला। हिस्स बूढी खिस्स दाँत भइयो।

साली नानीहरूको सेल्फी चल्दै रहेछ। मलाई पनि तानेर लगे। सेल्फीले मुख चुच्चो पारेर फोटो खिच्ने लाइनमा फेरि म फसेँ। एकैछिनमा सबैजना जम्मा हुँदाहुँदै भीड ठूलो हुँदै गयो। ग्रुप ठूलो हुँदै जान्थ्यो, क्यामराम्यान पछि पछि सर्दै जान्थे। अन्तिममा, थपिने मान्छेलाई समेट्दा समेट्दै लामो संघर्षपछि एउटा फोटो लिन सफल भयौं।

एउटा कुर्सीमा बसेँ। मेरो काम फेरि कोही आएर बोलौँ बोलौँ जस्तो गर्नेलाई, नमस्कार गर्नेमै सीमित थियो। म सबै मानिसहरूलाई नियाल्दै थिएँ। सबजना आफ्नै गुनगानमा व्यस्त थिए। दुलहाका परिवार भने, पाहुनाको हेरचाह गर्नमा नै व्यस्तै थिए। बिहेमा आएर जाने मान्छेहरूलाई पनि सत्कार गर्न गाह्रो छ। कसैलाई नुन बढी भएकै हुन्छ, कसैलाई कम। कसै न कसैलाई नमस्कार नपुगेकै हुन्छ। खोट निकाल्ने त हाम्रो संस्कार नै बन्दै गएको छ।

केही समयपछि मैले आभालाई, म निस्कन्छु, बरु तिमीलाई बेलुकी लिन आउँछु नि भनेँ, उसलाई मनाएँ। सासू आएर, ‘अहिले नै कहाँ जाने ? ’ भनेर फेरि कराउन थाल्नुभयो। मैले आभालाई मनाइसकेको थिएँ। उनैले कुरा मिलाइन्, ‘मिटिङ छ रे।

एकछिन बाहिर गएर आउने रे।’ म फुत्किएँ। अरू कसैले देख्छ कि भनेर छिट्टो छिट्टो, बा २७ प ४०६० को ११ वर्ष पुरानो भट्भटेलाई एक किक दिएर बानेश्वरमा रातो ट्राफिक लाइटबाट हरियो बत्ती बल्नेबित्तिकै बाइक कुदाएझैं कुदेँ। घर पुगेर लामो सास फेरेँ। गर्मी र भीडभाडले होला, अलि टाउको पनि दुखेको थियो। कोट फालेर एकछिन खाटमै पल्टेर मोबाइल खेलाउँदै थिएँ, भुसुक्कै निदाएछु।

०००

एक्कासि झस्किएँ। मोबाइल बज्दै रहेछ। आभाको फोन आइरहेको थियो। फोन उठाएँ। ‘तपाईं कता ? कति फोन अनि मेसेज पठाएँ, किन नउठा’को ? ’

अर्धनिद्रामै थिएँ। लामो हाइ आयो।

‘अबको १५ मिनेटमा लिन आउनु है,’ उताबाट बाजाको धुनसँगै आदेश आयो।

मैले ‘हुन्छ’ भनेर फोन काटेँ।

विवाह घर पुगेर बाहिर कुर्दै थिएँ। आभा सासू आमासँग दुइटा भरिएका झोला लिएर आइन्।

मैले झोला तिर देखाउँदै अनौठो मान्दै सोधेँ, ‘त्यो के ? ’

उताबाट नासाको यान मंगलग्रहमा सुरक्षित अवतरण गरेपछिको उपलब्धिझैं उत्तर आयो, ‘कोसेली, माइतीको कोसेली।’

मैले रिसाएर उसलाई हेरेँ। सासूआमासँगै भएकोले केही भनिन।

सासू र आभा दुईजनाले बाइकको लेगगार्डमा झोला झुन्ड्याउँदै गर्दा, सासूले मतिर हेरेर सोध्नुभयो, ‘अनि ज्वाइँसा’ब, मिटिङ कस्तो भयो त ? ’

भर्खर निद्राबाट उठेको भएर होला, लामो हाइ गर्दै रहेछु। प्रश्न सुनेपछि हाइ आधामै अड्कियो।

बिस्तारै मुन्टो हल्लाएर भनेँ, ‘राम्रो भयो।’

उता आभा जोडजोडले हाँस्न थालिन्।


(लेखकीय नोटः यी घटनाहरू अर्धकाल्पनिक हुन्, कसैको जीवनसँग मेल खान पनि सक्छ।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.