पूर्वीय दर्शनविरुद्धका चलखेल

पूर्वीय दर्शनविरुद्धका चलखेल

पश्चिमा कट्टरपन्थी पूर्वका पहिचानलाई सके समाप्त पार्न र नसके त्यसबारे भ्रम छर्न तल्लीन छ ।


भारतको बंगालमा कार्यरत रहेका विलियम्स जोन्स अमेरिकी स्वतन्त्रताको पक्ष लिए पनि भारतलाई उपनिवेश राख्न चाहन्थे। उनले मनुस्मृतिमा छेडछाड गरी त्यसलाई ‘हिन्दु कानुन’ बनाउने प्रयास गरे। यसैले पश्चिमाहरू मनुस्मृतिलाई हिन्दु कानुन भनी उद्धृत गर्छन्। अरू स्मृतिमा यो स्मृतिमा जस्ता आपसमा मेल नखाने कुरा रहेको पाइँदैन। त्यही थपथाप गर्दा महिलाविरुद्ध र जातीय सोपानमा आधारित व्यवस्था राखिएको मानिन्छ।

मूलतः ती विषय समाज र परिवारमा फुट पैदा गर्न गरेको र त्यसले अंग्रेजलाई सत्ता टिकाउन मद्दत गर्ने सहज अनुमान गर्न सकिन्छ। समाज र परिवारमा फुट तथा नागरिकमा आपसमा भय, घृणा र कुण्ठा पैदा गराई आफूतिर आकर्षित गर्नु उपनिवेश टिकाउने आधार रहेकोमा शंका गर्नुपर्दैन।

हालै स्वस्थानी किताबमा पछाडि पाना थपी सस्तोमा किताब बेची व्रतकथाको स्वरूपमा छेडछाड गराउने कार्य भएका तथ्य प्रकाशमा आएको छ। यस कार्यलाई बेवास्ता गरेपछि कुनकुन शास्त्रमा केके घुसाउने हुन् र यसै पुस्तकका आगामी प्रकाशनमा केके घुसाउने हुन् भन्न सकिँदैन। पेगन, ग्रिक र इजिप्टको सभ्यता समाप्त पार्दै समाप्तप्रायः पारिएका सभ्यताका विभिन्न पक्ष आफ्नोमा राख्ने प्रवृत्ति पुरानो हो। त्यो रोग यता सरिसकेजस्तो देखिन्छ।

विलियम्स जोन्सले संस्कृतमा लेखिएका सामग्री प्रयोग गरी हिन्दुलगायत इजिप्सियन, ग्रिक, रोमनहरूमा हाम (असभ्य) को चरित्र भएको देखाउन खोजेका थिए। उनको यो धारणा युरोपका लागि अवधारणा बन्दै गयो। जोन स्टुअर्ट मिल्सले यसैलाई निरन्तरता दिए। उनले हिन्दु धर्मका त्रिदेव ब्रह्मा, विष्णु र महेशलाई आफ्नो मान्यताको ट्रिनिटीको घटिया रूप बताएका छन्। उनले हिन्दु धर्मको सेवा गरेको बहानामा रुढिवादी पश्चिमाको सेवा गरेका थिए ( बिइङ डिफरेन्ट, राजीव मलहोत्रा २०९–२११)।

सत्रौं शताब्दीमा रोबर्टो डे नोबिली (१५७७–१६५६) नाम गरेका इटालियन धर्मप्रचारकले हिन्दु साधुको रूप धारण गरी हिन्दु धर्मविरुद्ध काम गर्ने गरेको पाइन्छ। त्यो बेला उनी कपाल खौरने, टुप्पी राख्ने, सेतो धोती, जनै र खराउ लगाउने गर्थे। यो कार्य उनले हिन्दु धर्मबाट प्रभावित भएर वा हिन्दु बनेर वा हिन्दुको सम्मान गर्न गरेका थिएनन्, बरु स्थानीय मानिसलाई भ्रममा पार्न र धर्म परिवर्तन गराउने वातावरणलाई सहज बनाउन प्रयोग गर्ने गरेका थिए। उनले पाँचौं वेद भन्ने किताब लेखी आफ्नो विश्वासको एकल किताबका कुरामा पूर्वका मन्दिर, प्रसाद, शिव ब्राह्मण, वेद र पूजाजस्ता शब्दको प्रयोग गराइदिए। छालाको रङबाहेक सबैमा आफूलाई पूर्वीय देखाएर उनले पूर्वीय धर्म, सभ्यता र दर्शनविरुद्ध काम गरेका थिए (बिइङ डिफरेन्ट, राजीव मलहोत्रा, पृ. ३८)।

भारत वर्षमा पहिले वर्ण व्यवस्था थियो। वर्ण जन्मले नभई कर्मले निर्धारण हुने कुरा वेद, महाभारत र भविष्य पुराणमा उल्लेख छ। भविष्य पुराण (१–४१,४५ र ४६) मा ईश्वरका चार सन्तान हुने र चारै सन्तान जन्मले एउटै जातका हुने बताइएको छ। थिरुक्कुरल (श्लोक ९७२) र योग वशिष्ठको (५.१८.६१) मा पनि यही उल्लेख छ। गीतामा कृष्णले ‘म सबै प्राणीप्रति समान छु। मेरा लागि कोही पनि टाढा र नजिक (सानो–ठूलो) छैन (९.२९) भनेका छन्। तर भारतमा लर्ड रिजलीले जनगणना गर्दा पेसा वा काममा आधारित वर्णव्यवस्था समाप्त गरी जन्मले उचनीचमा आधारित जाति व्यवस्था कायम गराए। भारत वर्षमा पहिले वर्ण व्यवस्थालाई पुँजी (क्यापिटल) को रूपमा लिइन्थ्यो। ब्राह्मण ज्ञान पुँजी, क्षेत्रीय राजनीतिक पुँजी, वैश्य वित्तीय पुँजी र शूद्र दक्ष श्रम पुँजी मानिन्थे (व्याटल फर संस्कृत राजीव मलहोत्रा)।

श्वेत प्रभुत्वमा विश्वास गर्ने रुढिवादीले मानिसलाई रङका आधारमा गर्ने विभेद तिनको विश्वासको स्रोत हो। मानिस जन्मजात पापी हुने तिनको मान्यता हो। हाम भनिने कालो र गहुँगोरो वर्णका मानिस जन्मजात असभ्य हुन्। तिनलाई सभ्यता सिकाउन पहिले प्रत्यक्ष उपनिवेशको र पछि परोक्ष उपनिवेशको औजार प्रयोग गरेको देखिन्छ।

पूर्वीय दर्शनमा वेदका ऋचा महिलाले पनि लेखेका छन्। पूर्वमा देवीहरूको चर्चा वेद र सो उप्रान्तका शास्त्रमा पनि कायम छ। सरस्वतीलाई विद्या, लक्ष्मीलाई धन र कालीलाई रक्षाको जिम्मेवारी सुम्पिएको देखिन्छ। तर एकल पुस्तकमा महिलाले लेखेका र महिलाका लागि त्यस प्रकार देवी मानेको देखिँदैन। पादरीवाद उपनिवेश र हतियारको आडमा फैलिँदै आएको र पछि लालच, छल र भ्रममा पारी विस्तार गरिँदै लगिएको देखिन्छ। युरोपका पेगन र अमेरिकी रेड इन्डियनमाथि भएका अत्याचार ‘होलोकस्ट’ र ‘जेनोसाइड’ का प्रमुख उदाहरण हुन्। यसका लागि अरूका सभ्यता नष्ट नै गर्ने, मूलधारबाट अलग गर्ने र अरूका विश्वासमा छेडखानी गरी पचाएर लिई अरूको सभ्यता समाप्त गर्ने औजार प्रयोग गरिएका देखिन्छन् ( बिइङ डिफरेन्ट, राजीव मलहोत्रा, ३४)।

हिजोआज बरोबर चर्चामा ल्याइने उत्तर आधुनिकता घृणा, अत्याचार, उग्रता, क्रूरता, अमानवता र भेदमा निर्लिप्त पश्चिमा कट्टरपन्थीका विजयका कथामा आधारित छ। यसले पूर्वका आफ्ना पहिचानलाई सके समाप्त पार्न र नसके त्यसबारे भ्रम पैदा गर्न खोज्छ। यसले पश्चिमाबाहेकका संस्कृति अस्वीकार गर्छ। तेस्रो विश्वको मौलिकता समाप्त गरी पहिलो विश्वका मान्यतालाई बौद्धिक जालका आधारमा कायम गराउन चाहन्छ। अझ तेस्रो विश्वमा पहिचानका नाममा उचाली त्यहाँका समुदायका मौलिकता समाप्त गरी आफ्ना मूल्य प्रणाली लाद्ने र सभ्यता समाप्त पार्ने प्रयत्नलाई रूपान्तरण भन्छ। भारत अहिले त्यसको सिकार भएको छ (बिइङ डिफरेन्ट ४८)।

नेपाल पनि यसखाले रूपान्तरणको चपेटामा देखिन्छ। अहिले नेपालमा बेग्लाबेग्लै भेटेर पहिचानका कुरा गर्न लगाई उनीहरूलाई अरूभन्दा फरक देखाएर आफ्नो विश्वास र अन्धविश्वास लाद्ने प्रयास भइरहेको सतहमा आएको छ।

पूर्वीय दर्शनका कतिपय शब्दको अंग्रेजी भाषामा अनुवाद सम्भव छैन। पूजा वर्सिप होइन, गुरु सेन्ट होइन, साधना प्रेयर होइन, आत्मा सोल होइन, स्त्रीधन डाउरी होइन, ईश्वर गड होइन, धर्म रिलिजन होइन, यज्ञ सेक्रिफाइस होइन, असुर डेमन होइन। प्राण फिजिकल ब्रिद मात्र होइन, शक्ति फिजिकल इनर्जी मात्र होइन, आकाश फिजिकल स्पेस मात्र होइन, अग्नि फिजिकल फायर मात्र होइन, शिव डिस्ट्रोयर मात्र होइन। कर्म ड्युटी वा वर्क होइन, बरु आफूले गर्न हुने र नहुने कार्यप्रतिको चेतना हो। सकारात्मक कर्म पुण्य र नकारात्मक कर्म पाप हो। कर्म निरन्तर प्रक्रिया हो। पूर्वमा कर्म अरूमा सार्न सकिँदैन तर उता एडम र इभले गरेको पाप त्यो विश्वास राख्ने सबैमा सर्छ।

भारत वर्षमा पहिले वर्ण व्यवस्थालाई पुँजी (क्यापिटल) को रूपमा लिइन्थ्यो। ब्राह्मण ज्ञान पुँजी, क्षेत्रीय राजनीतिक पुँजी, वैश्य वित्तीय पुँजी र शूद्र दक्ष श्रम पुँजी मानिन्थे।

पूर्वमा कर्म आफैंले अनुभव गर्ने हो उता कसैले ऊ बेला गरेको पाप पुस्तौंपुस्तासम्म सर्छ। सेक्रिफाइसको अर्थ रोमन धारणाअनुसार केही पाउन केही दिनुपर्ने भन्ने र क्रिस्चियानिटीमा सो रिलिजनका मानिस अरू धर्मका मानिसलाई समाप्त गर्न लड्दा मरेको अवस्था हो। रसको त अनुवाद नै छैन। साधु जिउँदै हुन्छ, सेन्ट व्यक्ति मरेपछि दिइने पगरी हो (बिइङ डिफरेन्ट २१५–२९४)।

हेगलले सुरुमा सबै गैरयुरोपियनहरू युरोपियनहरूका लागि मामुली साधन (मियर अब्जेक्ट्स) हुन् भन्ने धारणा राख्थे (बिइङ डिफरेन्ट ३११)। तर उनी कोल्ब्रुकका लेख एवम् सांख्य र न्याय वैशेषिका पढेपछि अरू पश्चिमाले पूर्वीय दर्शन बुझ्न नसकेको बताउँदै पछुताएका पनि थिए (ऐजन ३३४)।

पश्चिमका कट्टरपन्थीहरूमा काला जातिका र गहुँ गोरा मानिसलाई हामका सन्तान भन्ने विश्वास छ। हाम आफ्नो बाबुको नांगोपन देखेर हाँसेकाले आफ्ना दाजुको दास बन्नुपर्ने गरी उसबेला नै निर्णय भएको भन्ने उनीहरूको मान्यता छ। यस उपमहाद्वीपका मानिस गोरा नभएकाले कट्टरपन्थीहरूका मनमा सबै दास हुन जन्मेको भन्ने भावना हुनु अस्वाभाविक होइन। त्यो उनीहरूको एकल किताबको आधारभूत ज्ञान हो। अमेरिकामा स्वतन्त्रताको कैयन् पछि पनि दासलाई पूर्ण मानव मानिदैन्थ्यो। युरोपमा पनि यही चलन थियो। अफ्रिकामा त धर्म परिवर्तन गर्न बाध्य पारिएका काला जातिका मानिसलाई उनीहरू हामका सन्तान र असभ्य भएको मान्न पनि सिकाइन्थ्यो (बिइङ डिफरेन्ट ४१५, ४१८)। यस अर्थमा धर्म परिवर्तन गराउन अन्यत्र जाने कट्टरपन्थीहरू ‘दास बन्न जन्मेका असभ्यहरू’ लाई सभ्यता सिकाउने नाममा नयाँ रूपरङका दासको खोजीमा हिँडेको भन्ने देखिन्छ। दास बनाएपछि त्यहाँका सम्पदा र स्रोत आफ्नो बनाउने लक्ष त छँदैछ।

‘आर्यन’ शब्दको प्रयोग पूर्वमा छैन किनकि पूर्वमा ‘आर्य’ कुनै जाति होइन। यो श्रेष्ठतासूचक विशेषण हो। गीता (२–२) मा आर्य शब्दको प्रयोग जाति जनाउन भएको छैन। सुरुमा जर्मनका पूर्वज जातिलाई सभ्य भनी देखाउन ‘आर्यन रेस’ भन्ने ‘मिथ’ पश्चिमाबाटै बनाइयो। पछि जर्मनले आफूलाई आर्यन नै भन्न थाले। अहिले आर्यन शब्द युरोपमा नाजीका लागि प्रयोग गरिन्छ। यस्तै पूर्वमा द्रविड र आर्यन भनी छुट्ट्याउन प्रयोग गरिन्छ (बिइङ डिफरेन्ट, ३१७)। यो भेद भारतमा फुटाऊ र शासन गर भन्ने प्रयोजनका लागि गरिएको थियो।

आदि शंकराचार्यले शास्त्रार्थको क्रममा आफ्नो परिचय दिँदा आफूलाई ‘द्रविड शिशु’ भनेका थिए। उनले त्यसबेला द्रविडको अर्थ पनि बताएका थिए। उनका अनुसार द्रको अर्थ तीन र विडको अर्थ तीर हो। अर्थात् द्रविड भनेको तीनतिर तीर भएको वा तीन तीरबाट पानीले घेरेको क्षेत्र हो। यसरी द्रविड भूगोलको प्रकृति भन्ने देखिन्छ। अंग्रेज र अरू कैयन् पश्चिमाले भौगोलिक पहिचानलाई जातिमा परिवर्तन गरेको देखिन्छ। त्यो भेद उनीहरूले आर्यसँग द्वन्द्व सिर्जना गर्न गरेका थिए। आर्य भन्ने विशेषण र द्रविड भन्ने स्थान नामलाई जातिमा रूपान्तरण गरी आपसमा लडाउने रणनीति अब सतहमा आउँदै छ भनिन्छ। उत्तर र दक्षिणका मानिसको डीएनए जाँचमा मौलिक भिन्नता नभएका कुरा खुल्दै गएका छन्।

नेपालमा आर्य शब्दको प्रयोग सन्दर्भ बाहिर गई संविधानमा नै गरिएको छ। संविधानको धारा ८४ मा ‘खस आर्य’ शब्दहरू प्रयोग भएका छन्। खस आर्यभित्र क्षत्री, ब्राह्मण, ठकुरी र सन्न्यासीलाई राखिएको छ। आर्य विशेषण भएपछि यी चार उच्च र सर्वोत्तम हुन् भन्न खोजिएको छ जबकि गीतामा कृष्णले यीबाहेकका अरू मानवलाई पनि समान भनेका छन्। अरू शास्त्रले पनि वर्ण पेसागत भएको र जन्ममा आधारित नभएको बताएको छ। नेपालमा बस्ने सबै नेपाली किन संविधानअनुसार आर्य अर्थात् श्रेष्ठ, उच्च वा सुसंस्कृत भएनन् ? फेरि शास्त्रमा वैश्य र शूद्रलाई गैरआर्य भनिएको देखिँदैन। विभिन्न वर्णका मानिसले शास्त्र रचेका वा उनीहरू ऋषिमुनि भएको देखिन्छ। मधेसका मन्दिर जानेहरू अनार्य होइनन्, तर संविधानले आर्य मान्दैन। अंग्रेजले पनि भारतमा आर्य मानेका जातजाति र समुदायलाई नेपालको संविधानले ‘आर्य’ नमान्नुको ज्ञानको स्रोत के होला ? नेपालको संविधान निर्मातालाई अंग्रेजले भारत फुटाउन ल्याएको नीतिभन्दा पनि कमसल तरिकाले नेपाली–नेपालीबीच फुट ल्याउने तागत कसरी, कुन रूपमा र कहाँबाट प्राप्त भएको थियो होला ?


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.