युद्धकालीन मुद्दा अझै

युद्धकालीन मुद्दा अझै

गोरखा : माओवादीले ‘जनयुद्ध’ थालेको स्मरणमा बुधबार जनयुद्ध दिवस मनाइयो। तर गोरखाका विभिन्न घटनामा संलग्न भएको आरोप लागेका २९ जनाले माओवादी सशस्त्र द्वन्द्वका बेला लागेको मुद्दा झेलिरहेका छन्।

२०५४ साल फागुन ५ गते भुम्लिचोकस्थित साना किसान विकास आयोजनामा आगजनी गरेको अभियोगमा बाबुराम देवकोटा, कृष्ण पन्त, द्रोण दाहाल, कृष्ण दाहाल, मधुबाबु अर्याल, रामबाबु कार्की, पीताम्बर लामिछाने र ऋषिराम अधिकारीले आगजनी तथा कर्तव्य ज्यान उद्योगसम्बन्धी मुद्दा खेपिरहेका हुन्।

२०५५ सालमा सौरपानीका नन्दलाल कोइरालाको हत्या गरेको आरोपमा खिलप्रसाद ढकाल, गोमा ढकाल, रीता ढकाल र प्रेम ढकालले २० वर्षदेखि कर्तव्य ज्यानको मुद्दा खेपिरहेका छन्। सरस्वती तिवारी, ईश्वरी न्यौपाने, विष्णु भट्ट, सञ्जय कार्की, जानुका पौडेल, कौशिला गुरुङ, राजकुमार बगाले, सीताराम खनाल, चूडामणि खड्का, अर्जुन देवकोटा, ठाकुर देवकोटा, भगवती देवकोटा, राजेन्द्र ढकाल, शिव लामिछाने, हरिशरण आचार्य र महेन्द्र श्रेष्ठको नाममा पनि गोरखा जिल्ला अदालतमा मुद्दा छ। उनीहरूविरुद्ध २०५५ साल कात्तिक १७ गते मुद्दा दर्ता भएको अदालतले जनाएको छ।

त्यस्तै फुजेलका रामजी तिवारीको हत्या गरेको आरोपमा दीपक देवकोटा, अर्जुन देवकोटा, ठाकुर देवकोटा, जनुका पौडेल, राजकुमार बगाले, सीताराम खनाल, चूडामणि खड्का, सुशीला थापा, कौशिला गुरुङ, हरिश्चन्द्र श्रेष्ठ, विष्णु भट्ट, चन्द्रप्रसाद देवकोटाविरुद्ध २०५५ असोज २० गते अदालतमा दर्ता भएको मुद्दा अहिलेसम्म मुल्तबीमा रहेको अदालतको अभिलेखमा उल्लेख छ।

ठूला नेताको मुद्दा फिर्ता भए पनि साना तहका कार्यकर्ता भने पीडित छन्।

२०५५ साल मंसिर १५ गते गोरखा बजारमा नेविसंघका नेता श्यामसुन्दर श्रेष्ठको हत्या गरेको आरोपमा शिव लामिछाने, खेमबहादुर अधिकारी, मीरा श्रेष्ठ, ईश्वरी श्रेष्ठ, सुनिता श्रेष्ठ, सीताराम न्यौपाने र चूडामणि खड्काविरुद्ध लागेको कर्तव्य ज्यानसम्बन्धी मुद्दा पनि जिल्ला अदालतको मुल्तवी फाइलमा यथावत् रहेको जिल्ला अदालतका स्रेस्तेदार विनोदप्रसाद अधिकारीले जानकारी दिए।

मुद्दा खेपिरहेका उनीहरूको अंश रोक्का गरिएको अदालतले जनाएको छ। ‘मुद्दा मुल्तवीमा रहेपछि कुनै पनि बेला जाग्न सक्छ’, स्रेस्तेदार अधिकारी भन्छन्, ‘उनीहरूको अंश रोक्का गरिएको हुन्छ। आवश्यक परेका बेला प्रहरी रिपोर्ट बन्दैन।’

ठूलाको मुद्दा फिर्ता, सानाको कायमै

२०५७ असार १ गते गोरखा बजारको पेट्रोल पम्पनजिकै एम्बुसमा पारी आठ प्रहरीको हत्या आरोपमा तत्कालीन माओवादी नेता पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई, हितराज पाण्डे, मातृका यादवलगायत ६० जना नेता, कार्यकर्ताविरुद्ध गोरखा जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भयो। त्यस्तै २०५७ साल फागुन १४ गते ताङ्लिचोक–५ साँदीखोलामा एम्बुस थापी दुई प्रहरीको हत्या गरेको आरोपमा दाहाल, भट्टराई, पाण्डेलगायत ६९ जना नेताकार्यकर्ताविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो। शान्ति प्रक्रियामा आएपछि २०६५ कात्तिक ११ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय र २०६५ साल पुस ७ गतेको महान्यायाधिवक्ताको कार्यालयको पत्रअनुसार सबैको मुद्दा फिर्ता भएको अदालतका स्रेस्तेदार विनोदप्रसाद अधिकारी बताउँछन्।

नाम्जुङ–६ गैरीखोलामा एम्बुस थापी प्रहरी मारेको आरोपमा मुद्दा खेपेका मातृका यादव, हितराज पाण्डे र हरि अधिकारीलगायत नेताको पनि मुद्दा फिर्ता भएको छ। २०५६ साल पुस ६ गते तान्द्राङ मोदीखोलामा एम्बुस थापी प्रहरी मारेको आरोपमा मुद्दा खेपेका पाण्डे, अधिकारीसहितका नेताको मुद्दा पनि फिर्ता भएको छ। देउराली–५ मस्र्याङ्दीमा एम्बुस थापी प्रहरी मारेको अभियोगमा कर्तव्य मुद्दा खेपेका नेता हितराज पाण्डे, लेखबहादुर थापा, अमर तमु, कृष्ण धिताललगायत नेताविरुद्धको मुद्दा पनि एउटै मितिको सरकारी निर्णयले फिर्ता भएको छ।

ठूला नेताको मुद्दा फिर्ता भए पनि साना तहका कार्यकर्ताको भने अझै फिर्ता भएको छैन। विभिन्न चार पटक मन्त्रिपरिषद्को निर्णयले गोरखाका १ सयभन्दा धेरैको मुद्दा फिर्ता भए पनि उनीहरूको मुद्दा मुल्तवीमै रहेको हो।

मुद्दा खेपिरहेका धेरैको मृत्यू

द्वन्द्वकालीन मुद्दा खेपिरहेका धेरै माओवादी नेता–कार्यकर्ताको मृत्यु भइसकेको छ। कतिपयको युद्धकै क्रममा मृत्यु भएको छ भने कतिपयको शान्ति प्रक्रियामा आएपछि मृत्यु भएको हो। मृत्यु भए पनि उनीहरूको मुद्दा भने यथावत् रहेको अदालतले जनाएको छ।

विभिन्न घटनाको मुद्दा खेपेका शिव लामिछाने, खेमबहादुर अधिकारी, सीताराम खनाल, मीरा श्रेष्ठ, ईश्वरी श्रेष्ठ, कौशिला गुरुङ, हरिश्चन्द्र श्रेष्ठ, ऋषिराम अधिकारी, प्रेम ढकाल, रीता ढकालको मृत्यु भइसकेको छ। मुद्दा खेपिरहेका राजेन्द्र ढकाल बेपत्ताको सूचीमा छन् भने सीताराम न्यौपानेको पनि मृत्यु भइसकेको छ।

मुद्दा खेप्ने जनप्रतिनिधि

बहालवाला प्रतिनिधिसभा संसद्, प्रदेशसभा संसद् तथा स्थानीय तहमा विजयी जनप्रतिनिधिका नाममा पनि कर्तव्य ज्यानलगायत द्वन्द्वकालीन मुद्दा कायमै छन्। प्रतिनिधिसभा सांसद चूडामणि खड्काको नाममा श्यामसुन्दर श्रेष्ठ, रामजी तिवारी हत्या र ज्यान मार्ने तथा आगजनी आरोपको तीनवटा मुद्दा अदालतमा कायमै छ। त्यस्तै गण्डकी प्रदेशसभाका सांसद हरिशरण आचार्यको नाममा ज्यान मार्ने उद्योग तथा आगजनी मुद्दा यथावत् छ।

अर्का नेता विष्णु भट्ट बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष पदमा बहाल छन्। उनीविरुद्ध आगजनी तथा ज्यानमार्ने उद्योगको मुद्धा मुल्तवीमा रहेको स्रेस्तेदार अधिकारीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.