साँघुरो पुलले सास्ती

साँघुरो पुलले सास्ती

चितवन : नारायणगढ–मुग्लिन सडक स्तरोन्नति भए पनि पुल निर्माण भएको छैन। सडक पुनर्निर्माणलगत्तै बनाउने भनिएको १५ वटा पुल कहिले बन्ने भन्ने टुंगो लागेको छैन। पुल निर्माणका लागि अझै टेन्डर निकालिएको छैन। सुरुमा १४ वटा पुलको कुरा भए पनि पछि एउटा थपिएको हो। बाटो निर्माण एक वर्षअघि सम्पन्न भएको हो। तर, पुरानो साँघुरो पुलका कारण दुर्घटनाको जोखिम बढेको छ।

तीव्र गतिमा आउने सवारीसाधनको गति नियन्त्रण गर्न पुल प्रवेशमा ‘रम्बल स्ट्रिप ’ बनाइएको छ। ‘फराकिलो बाटोबाट तीव्र गतिमा आएको सवारीसाधन साँघुरो पुलमा दुर्घटना हुने सम्भावना बढी हुन्छ। राति अझ बढी खतरा हुन्छ’, आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने, ‘पुल बलियो भए पनि साँघुरो भएकाले दुईतर्फी सवारीसाधन चल्न गाह्रो छ।’

प्राविधिकको भाषामा ‘इन्टरमिडियट लेन’का पुल साढे पाँच मिटरको मात्रै छ। पुलको बार सारेर ६ मिटरको बनाइएको छ। तर, त्यसले मात्रै फराकिलो सडकलाई धान्न सक्दैन। नयाँ पुल ११ मिटरको बनाउने तयारी छ। सडक विभागले ‘डिजाइन एन्ड विल्ड’ को अवधारणाअनुसार पुल बनाउन लागेको जनाएको छ। यो मोडेलमा पुलको डिजाइनसहित लागत प्रस्ताव ठेकेदारले नै गर्छ।

प्रारम्भिक वातावरणीय अध्ययनको कामले पुल निर्माणमा ढिलाइ भएको सडक विभागअन्तर्गत पुल महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख दीपक भट्टराईले मन्त्रिपरिषद्को निर्णयपछि टेन्डर खोलिने जानकारी दिए। ‘वातावरणीय अध्ययन र डिजाइनसहित पुल बनाउन एउटै प्याकेज बनाएर मन्त्रालयमा पठाएका छौं’, प्रमुख भट्टराईले भने, ‘मन्त्रालयले स्वीकृत गरेपछि हामी टेन्डरमा जान्छौ।’

नारायणगढ मुग्लिन सडकअन्तर्गत चिसेन्जी पुल। 

एसियन हाइवेको मापदण्डअनुसार बाटो बनेको हो। भौगोलिक अवस्थाअनुसार ९ देखि ११ मिटर चौडाइको बाटो निर्माण भएको छ। पुल भने ६ मिटरभन्दा बढीको छैन। पुरानो पुलको सट्टा नयाँ पुल निर्माण गर्ने सडक विभागको योजना छ। पुल निर्माण गर्न दातृ निकायसँग छलफल र तयारी भइरहेको आयोजना प्रमुख रोहितकुमार विशुरालले जानकारी दिए। ‘विभागले टेन्डर खोलेपछि मात्रै कार्यान्वयन हुने भएकाले यही बेला काम हुन्छ भन्न नसकेका हौं’, उनले भने, ‘ठूलो आयोजना भएकाले तयारी चरणमा समय लागेको हो।’

जुगेडी, खहरे, खोर, लामबालुवा, भोर्ले, डुमे्र, सिमलताल, रिग्दी, नाम्सी, टोपे, कालीखोला, तुइन खोला, चिसेम्जी र खहरे १ मा पुल बनाउने विभागको योजना छ। तुइन खोला, चिस्यानजी खोला र खहरे खोलामा भौगोलिक जटिलताका कारण पुल बनाउन कठिन देखिएको छ। माथि भीर तल खोला भएकाले वैकल्पिक बाटो नहुँदा समस्या देखिएको हो।

दासढुंगा, खानीखोला, मौरी पुल र जलवीरेमा पुल निर्माण भइरहेको छ। जलवीरेको पुल बनेपछि उक्त सडकखण्डको ३ सय १३ मिटर दूरी कम हुनेछ। ०३६ सालमा चीन सरकारले सडकसँगै पुल बनाएको हो। त्यसबेला दैनिक पाँच सय सवारी चल्ने उक्त सडकमा पछिल्लो समय झन्डै ९ हजार सवारीसाधन दैनिक गुड्ने गर्छन्। चाडपर्वका बेला दैनिक १५ हजारसम्म सवारी चल्ने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.