ओझेलमा नगरकोटको ऐतिहासिक महादेव पोखरी

ओझेलमा नगरकोटको ऐतिहासिक महादेव पोखरी

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका ६ नगरकोटस्थित ऐतिहासिक एवं प्राचीन महादेव पोखरी र पुरातात्विक महत्वको रत्नचुडेश्वर महादेव मन्दिर ओझेलमा पर्दै आएको छ।

नगरकोट काठमाडौं उपत्यकाकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल हो। तर त्यहीं नगरकोटमा अवस्थित ऐतिहासिक एवं प्राचीन महादेव पोखरी र त्यहाँ अवस्थित रत्नचुडेश्वर महादेव ओझेलमा पर्दै आएको हो।

हालको नगरकोट डाँडाको प्राचीन नाउँ रत्नचुड पर्वत हो। जसलाई रत्नगिरि पहाड पनि भनिन्छ। सोही पर्वतमा विराजमान भएका महादेवलाई रत्नचुडेश्वर महादेव भनिएको स्थानीय संस्कृतिका अध्येयता प्रेमप्रसाद काफ्ले बताउँछन्। उक्त महादेव मन्दिर परिसरमै पोखरी रहेको छ। जसलाई महादेव पोखरी भनिन्छ।

गोसार्इंकुण्डअघि महादेव सुतेको पोखरी
संस्कृतिका अध्येयता काफ्लेका अनुसार समुन्द्र मन्थन गर्दा कालकुट विष पिएका महादेव विषको डाहा समन गर्न यताउता भौतारिरहँदा रत्नचुड पर्वत पुगे। रत्नचुड पर्वतमा पुगेपछि महादेवले विभिन्न जलका स्रोतको सृजना गरीमा नदीनाला प्रादुर्भाव गरेर उक्त कुण्ड बनाएको जनश्रुति रहेको काफ्ले सुनाउँछन्।

‘कुण्ड तयार भएपछि महादेव यसैमा शयन गरेकाले यसलाई महादेव पोखरी भनिएको हो’, उनी थप्छन्, ‘महादेव पोखरी सानो भएर विषको डाहा समन नभएपछि पुनः महादेव हिमालतर्फ अघि बढी हालको गोसाईंकुण्ड गएर आफ्नो साथमा रहेको त्रिशुलले हिमालको पहरा फोरेर त्रिशुली नदी प्रभाविहत गरी सोही कुण्डमा शयन गरेको जनविश्वास रहँदै आएको छ।’

महादेवसँग सम्बन्धित भएकाले यस महादेव पोखरीमा पनि प्रत्येक वर्षको जनै पूर्णिमामा विशेष मेला लाग्दै आएको छ। रसुवा जिल्लास्थित गोसाईंकुण्ड पुग्न नसके नगरकोटको यस पोखरीमा आएर नुहाईधुहाई गर्दा गोसाईंकुण्ड पुगेको सरह मानिने स्थानीय धनबहादुर तामाङ बताउँछन्।

तर यस्तो महत्वपूर्ण रत्नचुडेश्वर महादेव तथा महादेव पोखरी ओझेलमा पर्दै आएकोमा उनी दुःख व्यक्त गर्छन्।

गएको १२ वर्षदेखि महादेव पोखरीमा हुने जनै पूर्णिमा मेलाको संयोजक रहँदै आएका लामाले उक्त क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न चाँगुनारायण नगरपालिकामा पटकपटक ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे।

‘प्रत्येक वर्ष नगरसभा हुनुअघि महादेव पोखरी क्षेत्रको संरक्षणको लागि बजेट व्यवस्थापन गर्न माग गर्दै आएका छौं’, उनले भने, ‘तर अहिलेसम्म सुनुवाइ भएको छैन।’

नगरकोटका होटल व्यवसायी एवं नगरकोट नाल्दुम पर्यटन विकास समितिमार्फत संरक्षणका केही काम भए पनि पर्याप्त नभएको उनी बताउँछन्।

उनका अनुसार २०५४÷५५ सालतिर क्लव हिमालयन होटलका सञ्चालन योगेन्द्र शाक्यको अध्यक्षमा महादेव पोखरी संरक्षण समिति बनाइएको थियो। उक्त समितिले नगरकोटस्थित टावरबाट पोखरीसम्म पुग्ने बाटोमा सिढी निर्माण गरेको समितिका उपाध्यक्ष रहेका होटल व्यवसायी सेमन्तसुन्दर पोखरेलले जानकारी दिए।

उनका अनुसार त्यसैबेला पोखरीको चारैतिर ढुंगाको पर्खाल लगाएर पोखरी संरक्षण गरिएको थियो। त्यस्तै पोखरीको बीचमा नागको प्रतिमा राखिएको उनले सुनाए।
‘तर समितिका पदाधिकारीहरुबीच कुरा नमिल्दा उक्त समितिले लामो समयसमा काम गर्न पाएन’, उनले भने, ‘महादेव पोखरीको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले त्यसबेला गुरुयोजना नै बनेको थियो तर अहिले गुरुयोजनाकै अत्तोपत्तो छैन।’

प्रत्येक वर्ष जनै पूर्णिमा विशेष मेला लाग्ने यस महादेव पोखरीमा अरु बेला नगरकोट टावर पुग्ने बाह्य तथा आन्तरिक पर्यटकहरु यहाँ पुग्ने स्थानीय लामा बताउँछन्।
तर यहाँ पूर्वाधार विकास गर्न नसकिँदा त्यति प्रचारप्रसार नभएको उनले दुःखेसो पोखे। रत्नचुडेश्वर महादेव मन्दिर जस्तामुनि विराजमान छन्। 

त्यस्तै अरु शिवलिंग आकाशमुनि नै रहेका छन्। सँगै रहेको काली मन्दिरसमेत छानाविहीन छ। महादेव पोखरी पुग्नेहरुलाई आरा मगर्न बनाइएको विश्रामस्थल झारपातले घेरिएको छ।

चारैतिर हरियाली रहेको पोखरी एवं महादेव मन्दिर परिसर उजाड देखिन्छ। 

गुरुयोजना बनाउँदैछौं : वाइबा
चाँगुनारायण नपा ६ नगरकोटका वडा अध्यक्ष सन्ते वाइबाले भने महादेव पोखरी परिसरलाई पर्यटकीय स्थल बनाउन गुरुयोजना निर्माणको चरणमा रहेको जानकारी दिए।

महादेव पोखरीमा स्नान गर्न जाने भक्तजन तथा पर्यटकहरुको सुविधाको लागि बाटो, सुविधा सम्पन्न विश्रामस्थल, लुगा फेर्ने ठाउँ, शौचालय निर्माण गर्ने गरी गुरुयोजना बनाउन लागिएको उनको भनाइ थियो। ‘गुरुयोजना बनेपछि नपाबाट बजेट व्यवस्था गर्छौं’, वडा अध्यक्ष वाइबाले भने।

चाँगुनारायण नपा ६ नगरकोटस्थित रत्नचुडेश्वर महादेव मन्दिर। तस्बिर : ईश्वरकाजी खाइजू

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.