तस्बिरमा शनिवारे रमाइलो
काठमाडौं : भक्तपुरको चाँगुनारायण नगरपालिका ६ नगरकोट र ७ वागेश्वरीको सीमामा रहेको मुहान पोखरी बालबालिका र युवायुवतीका लागि शनिबार रमाइलो गर्ने स्थल बनेको छ।
भक्तपुरकै मुख्य जलाधार क्षेत्र रहेको नगरकोट, वागेश्वरी र सुडालको जंगल क्षेत्रबाट आएका विभिन्न ससाना खोल्सा मिलेर बनेको महादेव खोलाको फेदमा यो पोखरी बनाइएको छ।
वर्षामा उक्त पोखरी भरिएर आएको पानीबाट बन्ने झरनामा नुहाउन मुहान पोखरी पुग्नेको संख्या दैनिक बढिरहेको छ। पछिल्लो समय गर्मी बढेकाले मुहान पोखरी गएर नुहाउने तथा रमाइलो गर्नेको संख्या बढेको छ।
यहाँ अहिले दिनहुँ सर्वसाधारणको चहलपहल देखिन्छ। जसले गर्दा मुहान पोखरी आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न सफल भएको छ। शनिबारको भिडभाडलाई फोटो पत्रकार सुनिता डंगोलले आफ्नो लेन्समा कैद गरेकी छन्।