चीनमा आँधी १३ को मृत्यु, १० लाख अलपत्र
पइचिङ : चीनको चच्याङ प्रान्त शनिवार बिहान आएको आँधीका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ।
चीनको पश्चिमी क्षेत्रमा आएको ‘लिकिमा’ तुफानबाट १६ जनाभन्दा धेरै घाइते भएको अधिकारीले जनाएका छन्। आँधीसँगै वर्षा पनि भएको थियो भने विद्युत् सेवा अवरुद्ध भएको छ। हजारौं रूख ढलेको र दश लाखभन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा पठाइएको छ। सिन्ह्वाका अनुसार १८७ किलोमीटर प्रतिघण्टाको गतिमा रहेको शक्तिशाली आँधीका कारण आन्हुई, फुच्यान, च्याङसु र चच्याङ प्रान्त र शाङहाईमा भीषण वर्षा भएको छ। चच्याङमा शुक्रवारदेखि नै आपत्कालीन स्थिति रहेको थियो।
चच्याङमा करिब ७ लाख व्यक्तिलाई १२ हजार शिविरमा राखिएको छ। २८८ उडान रद्द गरिएका छन् भने सामुद्री मार्ग बन्द गरिएका छन्। तुफान आएका क्षेत्रमा रेलसेवा पनि बन्द गरिएको छ। स्थानीय अधिकारीले १५० दमकल र १५३ डुंगालाई उद्धारमा खटाएका छन्। १ हजारभन्दा बढी उद्धारकर्मीका समूह ठाउँ ठाउँमा खटिएका छन्।
शनिवार बिहानसम्म शाङहाईमा २ लाख ६३ हजारलाई सुरक्षित स्थानमा पठाइएको छ। रेलसेवा बन्द गरिएको छ। ३ हजारभन्दा बढी रूख लडेका छन्। १ सयभन्दा बढी विद्युत् प्रसारण केन्द्रमा विद्युत् सेवा ठप्प भएको थियो।