ट्यांकर विस्फोटमा ६० को मृत्यु
नैरोबी : पेट्रोल बोकेको ट्यांकरमा आगलागी हुँदा तान्जानियामा शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ। देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्यांकरबाट चुहिएको तेल स्थानीय बासिन्दाले थापिरहेका बेला आगलागी भएर विस्फोट हुँदा उनीहरूको मृत्यु भएको हो। पेट्रोल बोकेको ट्यांकर पल्टिएर विस्फोटन भएको थियो। ट्यांकरबाट चुहिरहेको पेट्रोल स्थानीय बासिन्दाले थापिरहेका थिए।
घटनास्थल राजधानी दार ए सलामदेखि २ सय किलोमिटर टाढा पर्दछ। प्रहरीका अनुसार ६० जनाको घटनास्थलमै मृत्यु भएको र ७० भन्दा बढी जलेर घाइते भएका छन्। उनीहरूमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ।
‘हामी एकदमै हतारमा छौँ, अहिले खोजी तथा उद्धारमा लागिरहेका छौँ’, प्रहरीले टेलिफोनमा बताए।
उनले खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय बासिन्दा लगायत खटिएको पनि जानकारी दिएका छन्। घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने ती अधिकारीले अनुमान गरेका छन्। जलेर घाइते भएकामध्ये ३९ जनालाई थप उपचारका लागि मुहिम्बीली राष्ट्रिय अस्पतालमा लगिएको पनि उनले बताए।
स्थानीय समयअनुसार बिहान ८ बजे दुर्घटना भएको हो। एउटा मोटरचालकलाई छलेर अगाडि बढाउन खोजिरहेका बेला ट्यांकर पल्टिएको हो।