सम्बन्धका ती आयाम

सम्बन्धका ती आयाम

लाहुरे आएपछि गाईभैंसी बाख्रा आदिको व्यापार चल्थ्यो। कमाइअनुसार उनीहरूले खर्यान (खरबारी), बारी र खेत पनि किन्थे।


यी पनि उत्तर अर्घाखाँची र दक्षिण गुल्मीतिरका चालीस–पचास वर्षअघिका सम्झना हुन्। त्यो बेला जीवन कृषिमा आधारित भएकाले मानिसहरूबीच मूलतः कृषि सम्बन्ध थिए। गाउँमा अलिबढी खेतबारी हुनेको खेतबारीमा काम गर्न जाने चलन थियो। मौसमअनुसार हुने खेतीपातीमा गाउँलेले एकअर्कालाई सघाउँथे। खेतीपाती गर्दा कतै पर्म, कतै जिन्सी र कतै नगद र जिन्सी दुवैको चलन थियो।

कसैकसैका घरमा दुई हलसम्म गोरु हुन्थे भने कसैका घरमा एक हल मात्र हुन्थे। कतै एउटा–एउटा गोरु पालेका हुन्थे र खेतीका बेला हल जोडेर आलोपालो खेतबारी जोत्ने–जोताउने गर्थे। एउटा गोरु पाल्नेलाई पाटे भनेजस्तो लाग्छ। अलि हुनेखानेले गोरु किनेर कम खेतबारी र घरनजिक चौर हुनेलाई पाल्न दिन्थे।

कसैको खेतबारी बाँझो राख्न दिनु हुँदैन भन्थे। खेती गर्दा जोत्ने, छेउकुना खन्ने र ठिगारे गर्ने काम पुरुषले गर्थे। बीउ काढ्ने र रोप्ने काम भने महिलाले गर्थे। खला वा बारीबाट अनाज, पराल, ढोड आदि बोक्ने काम दुवैले गर्थे। काम गर्न आउने भनी वचन दिएपछि वचन तोड्ने चलन थिएन। यसलाई ‘इमानजमान नछोड्ने’ भनिन्थ्यो।

गाउँमा अधियाँमा खेत रोप्न दिने चलन पनि थियो। खेत रोप्ने काम आफ्नो खेत नहुनेले गर्थे। यसरी कृषि कार्य आपसी सम्बन्धको प्रत्यक्ष आयाम थियो। कृषि सम्बन्ध रोजगार मात्र थिएन, यो धर्म नै थियो। किनकि, खेतीकिसानीका बेला एकअर्कालाई सघाउनु पुण्य काम मानिन्थ्यो।

पशुपालनका सम्बन्ध पनि सद्भावपूर्ण हुन्थे। अगाडि भनेजस्तै पाटेगोरु पाल्ने चलन छँदै थियो। पाको उमेरका वा विधवा र विधुरलाई बाख्रा किनेर पाल्न दिएको देखिन्थ्यो। पाल्न दिएका बाख्राको माउ पाल्न दिनेको हुन्थ्यो। पाठापाठी अधिया हुन्थे। यस्तै गाईभैंसी पाल्न दिने चलन थियो। गाईभैंसीका पाडीबाच्छी पनि अधिया हुन्थे। अधिया पशुपालन व्यवस्था एकअर्कालाई भरथेग गर्ने कुरा थियो।

गाउँमा घर, गोठ, उरिम बनाउनेलाई कर्मी भनिन्थ्यो। कर्मी काठको काम गर्ने र गाह्रो (पर्खाल) को काम गर्ने गरी दुई किसिमका हुन्थे। त्यता सिकर्मी डकर्मी भनेको सुनिएन, कर्मी मात्र भनेको सुनियो। घरको सुर मिलाउने, सुरे ढुंगा काट्ने र झ्यालमा बुट्टा हाल्ने कर्मी अलि कम पाइन्थे र तिनको ज्याला अलि बढी हुन्थ्यो। घरगोठ खासगरी खर, टिन, ढुंगा (स्लेट) र झिँगटीले छाउने गर्थे। गोठ र कट्कुरा (दाउरा राख्ने सानो छाप्रो) सल्लीपिरलले छाएको पनि देखिन्थ्यो। घर छाउनेलाई मिस्त्री भनेको सुनिन्थ्यो। जुन थरको भए पनि त्यो बेला सीपको कदर भएको देखिन्थ्यो। यस्ता काम गर्दा निकै रमाइला हाँसीमजाक हुन्थे। पुराना लाहुरे भए तिनका कथा (बर्मा, नेफा आदिमा लडेका समेत) पनि सुनाउँथे। लडाइँ वा वीररसका कुरा लाहुरेले बडो अभिनयका साथ सुनाउने हुँदा सधैं उत्तिकै रमाइला लाग्थे।

चाडपर्व र श्राद्ध आदिमा कुट्पिस गर्ने, बत्ती कात्ने र टपरी खुट्ने (गाँस्ने) काम अलिबढी गर्नुपथ्र्यो। प्रसाद बनाउन र रोटी पकाउन सिपालु महिलालाई बोलाउँथे। त्यस्तो समयमा महिला एकअर्काका घरमा गएर काम सघाउँथे। अलि टाढा घर हुनेहरू त्यहीं नै वास बस्थे। राति बसेर काम गर्दा सबाई भन्ने, कथा हाल्ने, गाउँखाने कथा भन्ने र भजन गाउने गर्थे।

पूजाआजा, बिहे, व्रतबन्धमा जाँदा आफ्नो घरमा भएका तरकारी, फलफूल, दूध, कुराउनी आदि लिएर जाने चलन थियो। पूजामा जग्गे बनाउने, तोरण बाट्ने, खाना बनाउने, पाहुनापासाको रेखदेख गर्ने काममा प्रायः छिमेकी अघि सर्थे। कार्य हुने घरमा गएपछि मानिसहरू आआफैं सीपअनुसार काममा लाग्थे। अराउन खासै पर्दैनथ्यो।

गाउँमा ठूला भाँडा सबैका घरमा हुन्नथ्यो। भोजभतेरका लागि उपयुक्त भाँडा हुनेका घरबाट मागेर काम चलाउने गरिन्थ्यो। भाँडा दिन्न भनेको र त्यसबापत भाडा मागेको थाहा भएन। जुठो निखारेर सफा गरी फिर्ता गरे पुग्थ्यो। गाउँमा मैन्टोल, बिहेको डाँडी वा उलिन काठ पनि मागेर काम चलाएको देखिन्थ्यो।

गाउँमा लुगा सिलाउनेलाई सुजी, छालाको जुत्ता सिलाउनेलाई साँत, तामाको भाँडा बनाउनेलाई टोंटा र आरनको काम गर्नेलाई आरने, भारी बोक्नेलाई भरिया, खातीपातीमा हिँड्नेलाई खेतारा (खेताला) भनेको सुनिन्थ्यो। तर बोलीचालीमा भने ठाउँको नाम लिएर जेठा, माहिला, साहिँला, कान्छा (जस्तैः डाँडाघरे, पल्ला खर्के आदि) भन्ने चलन थियो। नेवार प्रायः व्यापारी हुन्थे र तिनलाई साहु भन्थे। बाहुनहरूलाई पन्नित (पण्डित), गुरु, पुरेत, वेदहा र क्षत्रीलाई काजी, बाउसाब भन्थे। मगरहरूलाई तिनको थर र जेठा, माहिला के हो त्यो जोडेर भनेको (जस्तैः सारु ठूला) सुनिन्थ्यो। महिलालाई माइती ठाउँसँग जोडेर जेठी, माहिली आदि भन्दै सम्बोधन गरेको पाइन्थ्यो। धेरैलाई धेरैको नाम नै थाहा हुन्नथ्यो।

नामको पछाडि जुनसुकै थर भए पनि पाको उमेरकालाई बा र आफूभन्दा केही बढी उमेरकालाई दाइ भन्थे। काकाकाकी भनेको सुनिएन, जेठा बा, माहिला बा भन्थे। अर्को थरमा मीत र सैना लाउने व्यापक चलनले सम्बन्ध निकै नजिक्याएको देखिन्थ्यो। काम पर्दा मीत र सैना हाजिर भएको देखिन्थ्यो।

बिहे आदि सामाजिक काममा सबै समुदायका मानिसको भूमिका देखिन्थ्यो। लुगा सिउन र बाजा बजाउन सुजीहरू, गाग्री, ताउला, पाला, अम्खोरा, बनाउन टोटा, जुत्ता सिउन साँत, बन्दुक पड्काउन क्षत्री, गहना बनाउन सुनार र कपडा किन्न नेवार र पूजा गराउन बाहुन प्रयोग भएको देखिन्थ्यो। अर्थात् सामाजिक र मांगलिक काम गर्दा–गराउँदा समाजका सबैजसो मानिसका पेसा प्रयोगमा आउँथे। अरू काम छाडेर पनि यस्ता काममा सबैले सहयोग गर्थे। समाज एक किसिमको अन्तरनिर्भरताबाट चलेको थियो।

कोटमा हरेक साँझ सुजीहरूले दमाहा बजाउँथे। तीज र दसैंमा सुजीहरूलाई लुगा सिउन भ्याइनभ्याई हुन्थ्यो। सिरक, डसना र सिरानीका खोल सिउने (तग्ने) र पुराना लुगा टाल्ने, तुना गाँस्ने र फुड्किला (टाँकको सट्टा प्रयोग हुने कपडाबाट बनेको) बनाउने र फुड्किलाको घर (हालको टाँक घर) बनाउने काम सुजिनीहरू गर्थे। सुजीका उमेर पुग्दै गरेका छोराहरूले छेक्ने (नाप लिने) र ससाना लुगा सिउन कल चलाउने गर्थे।

उतिबेला वैद्यले ओखतीको पैसा माग्दैनथे। गुरुहरूले ज्याला, तलब खोज्दैनथे। बाँडचुँड, ऐचोपैंचो र पर्मले गर्जो टथ्र्यो। पेसा, श्रम, लेनदेन, चाडपर्व, रामरमिता, संस्कृति, धर्म, सेवा र दानमार्फत पारिवारिक र सामाजिक सम्बन्ध कायम थिए।

गाउँमा स्कुल खोलेपछि मास्टरजीहरू घरघर गएर बच्चा पढ्न पठाइदिन पर्‍यो भन्थे। गाउँका प्रायः मास्टरजी बनारसतिर पढेका हुन्थे। तिनीहरू पूजापाठ, बिहे, व्रतबन्धलगायतका काममा पनि संलग्न हुने हुँदा तिनको मानमनितो हुन्थ्यो। त्यसैले गाउँलेहरू घाँसदाउरा गर्ने, गोठालो जाने आदि काम छाड्न लगाएर पनि केटाकेटीलाई स्कुल पठाउन तयार हुन्थे।

केटाकेटी पढ्न गएपछि पनि केही समयपछि स्कुल आउन छाडेको पाइन्थ्यो। त्यस्तोमा मास्टरजीहरू आमाबुवालाई फेरि सम्झाउन जान्थे। यसरी जाँदा पढ्दै गरेका केही बच्चालाई पनि लगेको देखिन्थ्यो। आफू पढेलेखेको नभएर चिठी बाच्न नसकेको, चिठी बाच्न अर्काका घरमा जानुपरेको, पढेपछि सन्तान पनि बन्न सक्ने, पढेका मान्छेलाई अरूले ठग्न र हेप्न नसक्ने आदि भनेर सम्झाएको सुनिन्थ्यो। त्यसो गर्दा पनि नमाने फी माफ र कापी–किताब किन्न पर्दैन पठाइदिनू नत्र सन्तानले ठूला भएपछि सराप्लान् भनेर पनि सम्झाउँथे। गाउँमा त्यसबेला कसको स्कुलमा धेरै विद्यार्थी हुने भन्ने प्रतिस्पर्धाजस्तो नै हुन्थ्यो।

त्यसबेला पढेलेखेका मानिसमा गाउँका सबै केटाकेटीलाई स्कुल पठाउन प्रेरित गर्ने चलन थियो। ‘ए तेरा छोराछोरीलाई त स्कुल पठाएको छैनस् रे किन नपठाको ? ’ भन्दै सोध्ने गरेको पनि सुनिन्थ्यो। केही दुकानदार र भद्र–भलाद्मीले होल फस्ट (स्कुल भरमा धेरै प्रतिशत ल्याउने) र कक्षामा प्रथम हुनेलाई कापीकलमको पुरस्कार दिन सहयोग गरेको पनि पाइन्थ्यो।

दसैंका बेलामा मानिसहरू बाटोघाटो बनाउन र मर्मत गर्न जुट्थे। सबै मिलेर डहर सफा गर्ने, भल काट्ने गर्थे। कोट र मन्दिर सरसफाइ गर्थे। उतिबेला सामाजिक काम गर्न तँछाडमछाड नै हुन्थ्यो। पसलेले खुदेपानी खुवाउँथे। कसैकसैले अर्नी (खाजा) खुवाउँथे। विश्व खाद्य कार्यक्रमको चामल जानूपूर्व आफ्नो बाटो आफैं खन्ने चलन थियो। आफैंले आफ्नो बाटो खन्ने बेलाको भावना र भीड चामलले बढाउन सकेन। अरूले सित्तै दिएको खान नचाहने र घरमा खान पुग्नेहरू चामल वितरणपछि सामेल हुन छाडे। चामलले दाना त दियो तर भावना छिन्यो। मानिसहरू घरको आटोपिठो खाएर सामाजिक काम गर्न जति उत्साहित थिए, सित्तैको चामल पाएर त्यति खुसी थिएनन्। त्यसबेला अर्काको र सित्तैको नखाने भावना प्रबल थियो जस्तो लाग्छ।

साउने संक्रान्तिपछि तीजका गीत गाउने मेलो खुल्थ्यो। जुन घरमा तीजका गीत गाउने हुन्, साँझदेखि नै मादल बजेको सुनिन्थ्यो। तीजमा पाको उमेरका महिलाले लामो भाकाका, धार्मिक, विरह र भोगेका कुरालाई गीत बनाएर गाउँथे। तीनतारा त्यहाँ पुगेछन् वा ध्रुवतारा त्यहाँ पुगेछ भन्दै उनीहरू सुत्न गएपछि युवतीहरू छिटा र चुट्के गीत गाउँथे। ठिटाहरू लाइट बाल्दै त्यहाँ पुगेका हुन्थे। मादल प्रायः पुरुषहरू बजाउँथे। केही अबेरसम्म नाचगान गरेपछि लाइट लिएर गएका पुरुषहरूले नातेदार र नजिकका महिला घरघर पुर्‍याउँथे। वरपरका मानिस जम्मा भएर गीत गाउने र नाच्ने काम तीजको पञ्चमीसम्म नै चल्थ्यो।

तीज र पञ्चमीका दिन कोट, मन्दिर र खुला चौरमा तीजको गीत गाउने मेला लाग्थ्यो। मेलामा जुल्पी (जेरी) खान पाइन्थ्यो र व्यापार पनि चल्थ्यो। मेलामा नाच्न र गाउन जान्ने र रुचि हुने सबै महिला सम्मिलित हुन्थे। तीजमा पनि पिङ हालेको देखिन्थ्यो। नेवार बस्तीमा गाईजात्रा मनाइन्थ्यो। त्यसबेला उनीहरूले आफ्ना घरका बार्दलीमा गाउँका पाको उमेरका अरू मानिस बसेर हेर्ने व्यवस्था गरेका हुन्थे। बाटोबाटोमा रोपाइँ नाचेको निकै रमाइलो हुन्थ्यो। लाखे नाचलाई हिम्पई भनेको पनि सुनिन्थ्यो।

तिहार अति रमाइलो पर्व हुन्थ्यो। तिहार दिदीबहिनीका हातबाट टीका लगाउने पर्व मात्र थिएन, गाउँगाउँमा नाच हुन्थे। मारुनी र पुर्सुङ्गे भएर घरघरमा नाच लिएर जान्थे। चलेका वा राम्रा मारुनी नाच बोलाएर नाच्न लगाउने चलन थियो। नाच हुने समयमा मानिस दलान, आँगन र ढिकमा बसेर हेर्ने गर्थे। राति हुने नाच हेर्न लाइट बालेर हिँड्थे। तिहारमा टीकामार्फत घरको र देउसरी (देउसी) भैलो र नाचमार्फत गाउँको सम्बन्ध प्रगाढ हुन्थ्यो। देउसी, भैलो र नाचको पैसाले मंसिरमा खाजा खाने र बाजा र नाचका लागि चाहिने सामग्री किन्ने गर्थे।

त्यसबेला लाहुर जाने भन्ने चलन थियो। एक्कासि आफूले चिनेका अलिबढी उमेरका ठिटाहरू लाहुर गए अरे भन्ने सुनिन्थ्यो। आसामतिर गाई पाल्न गएकाले बोलाएर गएको, पहिले गएर कामधाममा लागेकाले बोलाएर गएको, घरमा नभनी भागेर गएको जस्ता कुरा सुनिन्थ्यो। लाहुर जानेले गाउँबाट सरसापट खोजेर वा ब्याजमा रकम लिएर जान्थे। एकदुई वर्षमा फर्कंदा गाउँमा उपहार पनि दिन्थे। प्रायः लाहुरेसँग रेडियो र घडी हुन्थ्यो। बास्ना आउने तेल लगाएका हुन्थे। ल्वाङ, सुकुमेल चपाउँदै हिँड्थे। लाहुरेहरू प्रायः दसैंका बेलामा घर फर्कन्थे। काठमाडौंतिर पढ्ने विद्यार्थीलाई तानसेनदेखि लाहुरेका गफ सुन्दै बाटो काट्न औधि रमाइलो हुन्थ्यो।

गाउँमा त्यसबेला नगद त्यति धेरै हुँदैनथ्यो। पसलमा वही लेखेर (धारो) कपडा, नुन, मट्टीतेल आदि किन्थे। लाहुरेहरू गाउँमा आएपछि पैसाको मुख देख्न पाइन्छ भन्ने गरेको सुनिन्थ्यो। ऋण लिएर गएका लाहुरेले श्रीपञ्चमीमा ऋण चुकाउने गर्थे। आफू आउन नपाउनेले अरूमार्फत पनि पैसा पठाउँथे। लाहुरेका कारण गाउँमा दसैं र श्रीपञ्चमीमा अलिबढी नगद चल्थ्यो। लाहुरे आएपछि गाईभैंसी बाख्रा आदिको व्यापार चल्थ्यो। कमाइअनुसार उनीहरूले खर्यान (खरबारी), बारी र खेत पनि किन्थे।

गाउँमा त्यसबेला खेतबारी, खर्यान भोगबन्धकी लिनेदिने चलन थियो। दृष्टिबन्धक राखेर, बही वा कपाली तमसुक लेखेर ऋण लिएको भन्ने पनि सुनिन्थ्यो। ऋण खासगरी खेतबारी खर्यान भैंसी किन्न लिने गरेको सुनिन्थ्यो। व्यापारीले पनि ऋण लिएर बाना मिलाउने गरी सामान राख्थे। जुवाडेलाई ऋण दिनु हुँदैन भन्थे। फलानाले खेत किन्न लगेको ऋण बाटैमा जुवा खेलेर फालेछ भन्ने पनि सुनिन्थ्यो।

गाउँमा मानिसहरूले रक्सी खाएर होहल्ला गरेको सुनिँदैन्थ्यो। दसैं र तिहार तथा राम हेर्न जाँदा भने केही मानिसहरू ठुस्स गनाएको थाहा हुन्थ्यो। पसलमा रक्सी बेचेको देखिँदैनथ्यो। आफूले खान कसैकसैले रक्सी पार्छन् भन्थे। त्यसैले खान दिनेले पनि अड्कलेर खान दिने हुँदा होहल्ला, कुटपिट भएको सुनिँदैनथ्यो। अलिपछि गाउँमा ठेक्काको रक्सीपसल खुलेको देखिन्थ्यो। ती पसल खुल्दाको सुरुका दिनमा मानिसहरू रक्सीपसलको बाटो हिँड्दैनथे। हिँड्नै परे त्यता नहेरी हिँड्नु भनेको पनि सुनिन्थ्यो। पछि एउटा गाउँमा अर्को गाउँबाट आएका एकाथरी मास्टरले रक्सी खाने गरेका कुरा सुनिन्थे। एसएलसी फेल भएर घर बसेका विद्यार्थीलाई त्यस्ता मास्टरले बिगारे पनि भन्थे।

गाउँघरमा अपराध भएको खासै सुनिन्नथ्यो। मानिसहरू आआफ्नै दुःखजिलो गर्ने भन्थे। मेलापर्वका ससाना खुसीमा रमाउँथे। तीज, दसैं, तिहार, फागु, गाईजात्रा निकै रमाइला हुन्थे। मानिसहरू निकै रमाइलो मानेर चाडपर्वमा सरिक भएको देखिन्थ्यो।

त्यसबेला मानिसहरू गरी (काम गरेर) खानुपर्ने, सहयोग गर्नुपर्ने, कुभलो चिताउन नहुने, अर्काको खान नहुने, सित्तैको लिन नहुने र सक्नेले दान दिनुपर्ने भन्थे। मेला, पर्व र सामाजिक एवं सांस्कृतिक कार्यमा सहयोग गर्न अघि सर्थे। गाउँमा स्कुल, पोखरी, बाटाघाटा, चौपारी, सत्तल, पाटीपौवा बनाउन गच्छेअनुसार दान (धन वा श्रम) दिने गर्थे।

वैद्यले ओखतीको पैसा माग्दैनथे। सुरुमा गुरुहरूले ज्याला, तलब खोज्दैनथे। बाँडचुँड, ऐचोपैंचो र पर्मले गर्जो टरिहाल्छ भन्थे। त्यसबेला पेसा, श्रम, लेनदेन, चाडपर्व, रामरमिता, संस्कृति, धर्म, सेवा र दानमार्फत पारिवारिक र सामाजिक सम्बन्ध कायम थिए। पछि गाउँमा ‘मतभेद’ छिर्‍यो रे भन्ने सुनियो। अलिपछि ‘मनभेद’ छिर्‍यो रे भन्न थाले। अचेल गाउँको सञ्चोबिसञ्चो कस्तो छ कुन्नि ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.