वर्ष समीक्षा : राष्ट्रवाद र धर्मको दबदबा, कहाँ के भयो ?

वर्ष समीक्षा : राष्ट्रवाद र धर्मको दबदबा, कहाँ के भयो ?

काठमाडौं : विश्‍व राजनीतिमा गएको वर्ष अनेक उतार-चढाव आए । २० भन्दा बढी देशमा त सरकार विरोधी आन्दोलन मात्रै भएछन् । तीमध्ये केही मुलुकमा आन्दोलन जारी छ ।

प्रभावशाली मुलुक अमेरिका, बेलायत, चीन लगायतले त ऐतिहासिक रुपमा संकटको सामना गर्नुपर्‍यो । मूलतः अमेरिकामा राष्ट्रपतिमाथि लगाइएको महाभियोग र बेलायतको ब्रेक्जिट मुद्दाले विश्‍व राजनीति आकर्षित गरे ।

बेलायतको मुद्दालाई त दोस्रो विश्वयुद्धपछिकै ठूलो राजनीतिक संकटको रुपमा हेरिएको छ । अमेरिकी राष्ट्रपतिमाथिको महाभियोग पनि संकटको एक रुप नै हो । जब कि, अमेरिकी संसदको इतिहासमै बहुमतप्राप्त राष्ट्रपतिमाथि तेस्रो पटक महाभियोग लगाइएको हो ।

अमेरिकासँग जोडिएका अन्य केही मुद्दा पनि विश्वभर चर्चामा रहे । अफगानिस्तानको स्थायीत्व र शान्तिसँग जोडिएको तालिबान वार्तामा केही प्रगति त देखियो । अन्त्यसम्ममा तालिबान समूह झन् आक्रामक भएपछि वार्ता प्रक्रिया स्थगित भयो ।

उत्तर कोरियासँगको वार्ता पनि अपेक्षाकृत रुपमा विकास हुन सकेन । बरु स्थगित नै हुने खतरा देखिँदैछ । उत्तर कोरियाले स्वयं वार्ता इन्कार गरी अघि बढ्ने संकेत देखाउँदैछ । हङकङको प्रदर्शन यति धेरै पेचिलो बन्यो कि, जहाँ अमेरिका समेत मुछियो । ६ महिना भन्दा लामो प्रदर्शनमा टियर ग्यास र रबर गोली हानाहान गरिनु त दैनिकी जस्तै बन्यो ।

हङकङ सहित एसियाली अन्य मुलुक पनि अशान्त नै बने । खासगरी भारत, श्रीलंका, इराक,  अफगानिस्तान लगायत मुलुकका सरकार चर्को रुपमा आलोचित बने । अरब मुलुक पनि अघिल्ला वर्ष भन्दा पछिल्लो वर्ष प्रभावशाली मुलुकको चासोमा पर्‍यो । साउदी लेखकको हत्याले थुप्रै सवाल उठाए पनि घटना सामसुम नै बनाउने प्रयास भयो ।

यता भारत र पाकिस्तानको शितयुद्ध त नौलो थिएन, २०१९ मै कश्मीर मुद्दाले नयाँ रुप लियो । भारतले गत अगस्टमा कश्मीरको विशेषाधिकार खारेज हुने गरी संविधानको धारा ३७० हटाइदिएपछि नै कश्मीर अशान्त छ ।

त्यहाँका सयौं नेता-कार्यकर्ता अझै थुनिएका छन् । सेनाको कडा निगरानीका साथ सञ्चार सुविधा समेत कटौती गरिएको छ । कश्मीरबारे सार्वजनिक रुपमा बोल्ने, लेख्ने अभियन्ताहरु नयाँदिल्लीमा समेत सुरक्षित भएनन् । कश्मीर मुद्दा सेलाउन नपाउँदै भारत सरकारले नागरिकता संशोधन कानुन बनायो । जसको विरोध पाकिस्तान सहित सिंगो मुस्लिम विश्वले गरेको छ ।

भारतका केही राज्यले विरोध दबाउन कर्फ्यू लगाउँदै सेना नै खटाउनुपर्‍यो । भारत सरकारका कश्मीर निर्णय र नागरिकता कानुन दुबैलाई 'मुस्लिम विरोधी' भन्दै आलोचना भएको छ ।

भारतकै छिमेकी श्रीलंकामा पनि पछिल्लो वर्ष सन्तोषजनक रहेन । इसाइ समुदायमाथिको हमला र त्यससँगै हुर्केको धार्मिक अतिवादी बिचारले श्रीलंकन समाजलाई नराम्रो असर पुर्‍यायो । अन्ततः लामो हिंसाबाट मुक्त बनेको बौद्धमागी समाज एक दशक नबित्दै अर्को द्वन्द्वमा फस्यो । गत महिना मात्रै चुनाव भएपछि राजनीतिक लय समात्‍ने आशा गर्न सकिन्‍छ ।

अर्को बौद्धमार्गी बाहुल्य मुलुक म्यानमारको रेकर्ड पनि गतिलो रहेन । प्रजातन्त्रवादी नेत्री आन सान सूकी स्वयं नरसंहार गरेको अभियोगमा संयुक्त राष्ट्रसंघमा उपस्थित भइन् । रोहिंग्या समुदायमाथि म्यानमारको सेनाले नरसंहार गरेको अभियोगमा नोबेल पुरस्कार नै पाएकी सूकीले अन्तर्राष्ट्रिय अदालतमा उभिएर सेनाको बचाउ गरिन् ।

२०१९ मा अमेजन जंगलसहित ब्राजिल र अष्ट्रेलियाको आगलागीका घटना पनि संसारभर चासोका विषय बने । यससँगै स्विडिस बालिका ग्रेटा थनबर्गको जलवायु परिवर्तनबारे अभियान थप प्रभावशाली बन्यो । प्रसिद्ध 'टाइम' म्यागजिनको वर्षव्यक्तिमा उनै १६ वर्षीया ग्रेटा परिन् । जसले सिंगो विश्वलाई पर्यावरणीय सवाल सुन्न नैतिक दबाव दिएको छ ।

उता ल्याटिन अमेरिकी मुलुक पनि पछिल्लो वर्ष राजनीतिक उतारचढावमै अल्झिए । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र विपक्षी दलका नेता हुवाँ ग्वाइदोबीच खिचातानीले त्यहाँको राजनीति वर्षभर अस्थिर रह्यो ।

चिली र बोलिभियामा त प्रदर्शन जारी छ । स्पेनको पृथकतावादी आन्दोलन, फ्रान्सको सरकार विरोधी प्रदर्शन र लेबनन, इराक, अफगानिस्तानका आन्दोलनले पनि त्यहाँका सरकारलाई चर्को दबाव दिए ।

अफ्रिकी मुलुकमा भने केही प्राकृतिक विपद् र सशस्त्र समूहका हमला भन्दा नयाँ 'मुभमेन्ट' खासै देखिएन । यस्तै फिनल्याण्डमा नवनिर्वाचित प्रधानमन्त्री सान्ना मरिनले पनि विश्वकै ध्यान खिचिन् । संसारकै कान्छी प्रधानमन्त्रीको रुपमा उनले नयाँ इतिहास स्थापित गरिन् ।

यससँगै बितेको वर्ष आन्दोलन र संघर्षको वर्ष रह्यो । धर्म, राष्ट्रवाद र पर्यावरणीय मुद्दा अग्रभागमा देखिए । केही देशमा गरिएका पृथकतावादी आन्दोलन २०१९ का नयाँ मुद्दा थिए । कतिपय देशमा त आधारभुत आवस्यकताकै लागि प्रदर्शन भइरह्यो । आम नागरिक आन्दोलन र संघर्षमा होमिए पनि परम्परागत शक्तिकै दबदबा रह्यो ।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.