भ्रमण वर्षको प्रचारमा यतीको बद्‍नामी

भ्रमण वर्षको प्रचारमा यतीको बद्‍नामी

 काठमाडौं  : ‘भिजिट नेपाल २०२०’को प्रवद्र्धन गर्न यतीका १ सय ८ वटा मस्कट राजधानीका विभिन्न ठाउँमा राखिएका छन्। सयभन्दा बढी कलाकारले त्यसमा आआफ्नै ढंगले चित्र कोरेका छन्। उनीहरूको यस्तो कार्यले विवाद निम्त्याएको छ।

यतीको स्वरूप बिगारेर कुरूप बनाएको बताउँछन्, संस्कृति संरक्षणमा लागेका युवा गणपतिलाल श्रेष्ठ। धार्मिक आस्थासँग जोडिएका देवीदेवताको चित्र यतीको ढाडमा कुँदेकामा उनी आक्रोशित छन्। ‘यस्तो जथाभावी पेन्टिङले यतीको स्वरूप बिगारेको छ’, उनी भन्छन्, ‘अर्कातर्फ यतीमा कुँदिएका अन्य चित्र पनि धार्मिक आस्थाविपरीत छन्।’

यतीमा पोखिएका कतिपय कलाकृतिले नेपालको धर्म, संस्कृति, परम्परा र इतिहासलाई झल्काउँछन् नै। पिठ्यूँपट्टि अशोभनीय रूपमा गौतम बुद्ध, जीवित देवी कुमारी, भैरवको चित्र बनाएर धर्म, संस्कृतिको मर्ममा प्रहार गरेको संस्कृतिप्रेमी बताउँछन्। कलाकारले चित्रकला प्रदर्शनीमा राखिसकेका आफ्नै पेन्टिङसमेत यतीको आकृतिमा बनाएका छन्।

इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष तथा कुमारीघरका चिताइदार गौतम शाक्य कुमारीको स्वरूप बिगारिएकामा रुष्ट छन्। ‘यतीको पछाडिपट्टिको भागमा देवी कुमारी र बुद्धको स्वरूप मि िश्रत छ’, उनी भन्छन्, ‘यस्तो कलाकारिता हाम्रो आस्थामाथिको प्रहार हो।’

पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष प्रवद्र्धनका लागि छुट्टै कार्यालय खोलेको छ। केशरमहलस्थित उक्त कार्यालयले चित्रसहित यतीको एउटा मस्कट बनाउन ८ लाख रुपैयाँ खर्च गरेको छ। यसमा १ सय ८ कलाकार जोडिएका छन्। सेतो मस्कट कलाकार आङछिरिङ शेर्पाले बनाएका हुन्। त्यसमा थपिने कलाकृतिको जिम्मा कलाकार मनीषलाल श्रेष्ठले लिएका छन्। सरकारले यती बनाउन करिब १० करोड बजेट छुट्ट्याएको छ।

पर्यटकको भीड लाग्ने स्थानमा यतीका मस्कट राखिएका छन्। बसन्तपुर दरबार क्षेत्रमा शनिबार राति दुइटा यती राखिएको थियो। कुमारीघरसँगै रातो दौरा–सुरुवालमा सजिएको यती राखियो। त्यसको पछाडि भागमा कुमारीको चित्र कोरिएको छ। हनुमानढोकासामु अर्को यती राखिएको छ, जसको शरीरभर आकाशभैरव, धनलक्ष्मी, भगवती, गणेश, कलशका चित्र कोरिएका छन्।

हनुमानढोकामा आइतबार राखिएका दुईवटा यतीका चित्र नगर प्रहरीले मेटाएका छन्। स्थानीयले त्यसको विरोध गरेपछि प्रहरीले मेटाउनुपरेको हो। भिजिट नेपाल २०२० को सचिवालयले ‘अशोभनीय’ आकृति कोरिएको यती उक्त क्षेत्रमा राख्न लगाएको थियो। सरकारले सपिङ कम्प्लेक्सहरूमा पनि यती राखेको छ।

कतिपय कलाकारले यतीको मस्कटमा सामुद्रिक डाकुको चित्रसमेत कोरेका छन्। ३२ इन्च लम्बाइ र १५ इन्च चौडाइको पाइला रहेको यती विश्वमै दुर्लभ र रहस्यमय मानिन्छ। नेपाल र चीनको तिब्बतस्थित उच्च हिमाली भेगमा यतीको अस्तित्व रहेको अनुमान छ। यसको पाइला नेपालमा पटक–पटक भेटिएको छ। यो प्राणी मानिसभन्दा अजंग र बाँदरजस्तो पुच्छर भएको अनुमान छ। सन् १८३२ मा नेपालमा रहेका बेलायती अध्येता ब्रायन हड्सनले हिमाली भेगमा शरीरभरि रौं भएको भयंकर जीवले आफ्ना सहयोगीलाई आक्रमण गरेको उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.