टुँडिखेल अतिक्रमण : मेयरले सुनेनन्, अब अदालत जाने

टुँडिखेल अतिक्रमण : मेयरले सुनेनन्, अब अदालत जाने

काठमाडौं : ‘अकुपाइ टुँडिखेल-मुक्त टुँडिखेल’ अभियानको तीन महिना बितेको छ। यस अवधिमा अभियन्ताले खुला टुँडिखेलको महत्व बुझाउन सचेतनामूलक कार्यक्रम गरे। जनतादेखि जनप्रतिनिधिसम्मलाई अभियानमा डोहोर्‍याए।

अभियानका क्रममा टुँडिखेलसँग जोडिएका बाल्यकाल ब्युँतिए। ऐतिहासिक पक्षमाथि चिरफार भयो। सांस्कृतिक र धार्मिक महत्व उजागर भए। अनि टुँडिखेलमै जन्मिएका तितामिठा राजनीतिक छिर्कामाथि बहस चल्यो।

यो समयावधिभर अभियन्ता स्थानीय जनता, वडा कार्यालय, काठमाडौं महानगरपालिका, राजनीतिक दलका नेता र बौद्धिक वर्गको घरदैलोसम्म पुगे। टुँडिखेलमा जनताको पूर्ण अधिकार हुनुपर्नेमा सबैको एक मत रह्यो।

टुँडिखेललाई पूर्ववत अवस्थामा फर्काउन जनस्तरबाट पटक पटक लिखित निवेदन गरिए पनि काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले कुनै प्रतिक्रिया दिएनन्। सार्वजनिक टुँडिखेल मेयरको सरोकारको विषय बनेन। टुँडिखेलमा भइरहेको व्यापारिक अतिक्रमण हटाउन अभियन्ताले मेयरसामू निरन्तर गुहार मागे। तर, जनताको घरदैलौमा पुग्नुपर्ने जनप्रतिनिधि जनताबाट तर्किएर हिँडे।

अकुपाइ टुँडिखेलका प्रवक्ता सञ्जय अधिकारी भन्छन्, ‘अहिलेसम्म अनुरोध गर्दै थियौं अब अधिकार माग्छौं।’ टुँडिखेलको खुला मञ्चमा रहेको अस्थायी बसपार्क र पार्किङ हटाउन अभियानको सुरुआती ध्येय थियो। महानगरले तत्काल निर्णय गर्न सक्ने विषयमा समेत निकाय मौन रहेको अधिकारीले बताए। मेयर कार्यालयमा नभेटिएपछि प्रशासन विभागका प्रमुख नमराज ढकाललाई अभियन्ताले पत्र बुझाए।

मुक्त टुँडिखेलको ब्यानरसहित बिहीबार बिहान अभियन्ता बागदरबार ( महानगरको कार्यालय) को गेटअगाडि नै धर्ना दिन पुगे। नौ बजे पुगेका उनीहरू मेयरलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउन चाहन्थे। ११ बज्यो तर मेयर आएनन्। कार्यालय कर्मचारीबाट थाहा भयो मेयरको कार्यालय आउने जाने ठेगान हुन्न रहेछ। दिनभर के कस्ता कार्यक्रममा पुग्छन् भन्नेबारे कुनै लिखित जानकारी नभएको कर्मचारीले जानकारी दिए। सर्वसाधारण कार्यालय समयमा पुगेर खोजे पनि प्रत्येक दिन २ बजेपछि मेयरले जनताको गुनासो सुन्न समय तोकिएको छ। तर त्यो पनि अझै अभ्यासमा छैन।

मुक्त टुँडिखेलका अभियन्ता मध्येका एक गणपतिलाल श्रेष्ठले भने, ‘वीर अस्पताल हाम्रो अनुरोधमा खुलामञ्चमा रहेको टहरा तुरुन्तै हटायो तर दायित्व बहन गर्नुपर्ने महानगर हात बाँधेर बस्यो।’ वीर अस्पतालको नयाँ भवन बन्दैछ। यही भवनको निर्माणमा खटिएका कामदारका लागि भन्दै खुलामञ्चमा टहरा बनाइएको थियो। महानगरसँग भवन निर्माण सम्पन्न भएपछि टहरा हटाउने सम्झौता भए पनि वीरले अभियानसँग हातेमालो गर्दै टहरा तत्काल हटाएको हो।

खुलामञ्च अझै खुला हुन सकेको छैन। टुँडिखेलमा रहेको खुलामञ्चमा पार्किङ अत्यधिक बढेको छ। सँगैको दुईमाजु मन्दिर परिसरमा रहेको व्यापारिक टहरा पनि हट्न सकेको छैन। दरबार हाइस्कुल निर्माण सम्पन्न भइसक्दा समेत त्यसको कार्यालय संरचना खुलामञ्चमै डेरा जमाएर बसेको छ। रत्नपार्कस्थित शौचालय र स्नानघरको नाममा व्यापारिक पसल निर्वाध सञ्चालनमा छन्।

प्रशासन प्रमुख ढकालले टुँडिखेल केहि महिनाको लागिमात्र अकुपाइ भएको जानकारी दिँदै सार्वजनिक सम्पत्तिको जिम्मेवारी स्थानीय निकायले नै लिने बताए। ‘खुलामञ्चमा रहेको वीर अस्पतालका निर्माण सामग्री, दरबार हाइस्कुलको कार्यालय, पार्किङ हटाउने जिम्मा महानगर कै हो’, उनले भने, ‘तर सेनाले ओगटेको टुँडिखेलका विषयमा सरकार र सेनासँगै समन्वय गर्नुपर्ने हुन्छ।’

अभियन्ताले भने महानगरबाट गुनासो सुनुवाइ नभएको भन्दै अब कानुनी उपचार खोज्ने बताए। अभियानका संयोजक विजय श्रेष्ठ भन्छन्, ‘जनतादेखि जनप्रतिनिधिसम्म मिलेर जाने सोचेका थियौं। तर मेयरज्यूले भेट्नै चाहनुभएन। अब अन्तिम उपाय कानुनी उपचार नै हो।’ कुनै समय एसियाकै ठूलो परेड मैदान टुँडिखेल सन् १९६७ मा सर्वसाधारणका लागि ५२ प्रतिशत खुला थियो।

क्रमशः सन् १९९० मा ३३ प्रतिशत, २००० मा २५ हुँदै २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चन पुगेको छ। खुला सार्वजनिक क्षेत्रबाट बिस्तारै सरकारी जग्गामा परिणत हुँदै गएको टुँडिखेल वरपर सन् २००२ मा आवास तथा सहरी विकास विभागले फलामे बार लगाएको थियो। यो लगतै टुँडिखेल सामान्य नागरिकको पहुँचबाट टाढा हुन पुग्यो। हाल टुँडिखेल सरकार र सेनाको अतिक्रममा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.