अमेरिकन आइडलमा नेपाली

अमेरिकन आइडलमा नेपाली

काठमाडौं : नेपाल आइडल मात्र होइन, अमेरिकन आइडलसमेत यसपालि नेपालीका लागि विशेष हुने भएको छ । नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं संस्करणका २० उत्कृष्टमा छानिएका छन् । संसारभरि नेपाली समुदायमा यसले खुसी ल्याइदिएको छ ।

छानिएका मात्र होइन, आइडलका निर्णायकहरू केटी पेरी, लियोनल रिची र लुक ब्रायनले दिवेशको गायनको उच्च तारिफ गरेका छन् । अडिसनकै क्रममा ब्रायनले भने, ‘मलाई लाग्छ कि, अमेरिकन आइडलमा हामीसँग अहिलेसम्म भएकामध्ये यो ठूलो तारा हुन सक्छ !’

दिवेशका लागि यो नै सबैभन्दा ठूलो ‘कम्प्लिमेन्ट’ थियो । त्यसपछि लियोनल रिची दिवेश उभिएकै ठाउँमा आएर अंकमाल गरे । केटी पेरीले भनिन्, ‘तिमी रकस्टार हौ ।’ अमेरिकन आइडलको अडिसनको उक्त भिडियो युट्युबमा लाखौंले हेरिसकेका छन् । जुन चौथो ‘ट्रेन्डिङ’ मा छ ।

अमेरिकाका मात्र होइन, विभिन्न देशका प्रतिभावान्बीच भिडन्त हुने सोमा दिवेशले अडिसन राउन्डबाटै ‘हलिउड पर्फमेन्स’ को अनुमति पाएका छन् । अडिसनको भिडियोमा देखिएअनुसार दिवेशले निर्णायक मण्डलसामु पहिला ‘गर्ल फ्रम नर्थ कन्ट्री’ बोलको गीत गाएका थिए । सीधा आँखा पारेर दोस्रो गीत गाउन निर्णायकले लगाए । त्यसपछि उनले ‘ह्याभ यु इभर सिन द रेन’ गीतका केही लाइन गाए । तीनै जना निर्णायक उनको गायनबाट मोहित भए । लियोनल भने रोकिन सकेनन् र अंकमाल गर्न पुगे ।

काठमाडौंमा जन्मिएका दिवेश अमेरिकन आइडलमा प्रवेश पाउने सम्भवतः पहिलो नेपाली हुन् । आइतबार एबीसी टेलिभिजनबाट प्रसारण भएको अमेरिकन आइडलको अडिसनसँगै दिवेशको परिचर्चा विश्वव्यापी भएको छ । स्टेजमा नमस्ते गर्दै छिरेका दिवेशले पास भएपछि पनि नमस्ते गरेर फर्किए । २० वर्षीय उनी ६ वर्षअघि अमेरिका पुगेका थिए ।

उनी ‘आर्थर गन’ को स्टेज नामबाट चिनिन्छन् । पछिल्ला वर्ष उनी गायन तथा गीत लेखनमा सक्रिय छन् । संगीतमय परिवारबाट नआए पनि उनी सानैदेखि गीतसंगीतमय माहोलमा हुर्किएको केही अमेरिकी अनलाइनले उल्लेख गरेका छन् । ६ वर्ष उमेरदेखि नै उनले गाउन थालेको अन्तर्वार्ताका क्रममा बताएका छन् । उनले बब डेलन, जोन मार्टिन, निक ड्रेक, बुक्का ह्वाइट, रोबर्ट जोन्सन, होलिन उल्फ, सोनी बोय, विलियम्स र जोन ली हुकरबाट गायनमा प्रभावित भएको प्रतिक्रिया दिए ।

दिवेश परिवारका साथ अमेरिकाको केन्सासमा बस्दै आएका छन् । उनी नेपालमा छँदादेखि नै गायनमा सक्रिय थिए । हरेक समय उनी गाइरहन्थे । त्यस बेला गायन उनको रुचिको विषय मात्रै थियो । जब उनी विचिता पुगे, अनि मात्रै गायनलाई गहन ठाने । विचितामा आइडलको प्रारम्भिक अडिसन लिइन्छ । अमेरिकन आइडलमा छिर्नुअघि उनले केही एल्बम रेकर्ड गरिसकेका छन् ।

‘कर्णाली’, ‘खोज’, ‘ग्रहण’, ‘म’ लगायत एल्बम दिवेशले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

‘हेभी डटकम’ का अनुसार दिवेशले गत वर्ष नै अमेरिकन आइडलको अनलाइन अडिसन पेस गरेका थिए ।

सोही आधारमा उनी अडिसनमा बोलाइएका हुन् । ‘म अलिकति नर्भस छु, तर म मेरो संगीतमा सधैं विश्वस्त छु, र आफैंमा विश्वस्त छु,’ दिवेशले अडिसनका क्रममा भनेका थिए ।

उनको आफ्नै युट्युब च्यानलमा दसौं हजार भ्युज छ । जुन बढ्ने क्रममा देखिन्छ । अडिसनमा उनले नेपालको सुन्दरताको पनि वर्णन गरेका थिए । आइडलको अडिसनअघि प्रसारित साढे ६ मिनेटको भिडियो क्लिपमा दिवेशको नेपालमै खिचिएको भिडियोसमेत समावेश छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.