चीर ठड्याएसँगै होली पर्व सुरु

चीर ठड्याएसँगै होली पर्व सुरु

काठमाडौं : अबिरया होली तँचाया ला ल्यासे अबिरः छंगु ख्वा हिस्सी देकाबी...

होली पर्वमा नेवार समुदायमा गाइने यो मौलिक गीत हो। आफूले मन पराएको व्यक्तिलाई प्रेम प्रस्ताव राख्न नेवार समुदायका युवकयुवती एकआपसमा अबिर दल्ने गर्छन्। ‘भ्यालेन्टाइन’जस्तै नेवारहरू होली नखः (पर्व) मनाउँछन्।

अहिलेको जस्तो खुला समाज नभएकाले जात्रापर्व तथा मन्दिरहरूमा पूजाआजा गर्न जाँदा प्रेम प्रस्ताव राखिन्थ्यो। सोही प्रेमलाई सबैको अगाडि दर्शाउन होली मनाउन थालियो। यो पर्वमा समूहमा अबिर, सितारा र जरी राखिएको लोलाले एकअर्कालाई हान्ने गरिन्थ्यो। यस्तो चलन अहिले हराइसकेको छ।

संस्कृतिविद् हरिराम जोशी कृष्णलीला नै होली पर्व भएको बताउँछन्। जोशी भन्छन्, ‘प्रेम दर्शाउने पर्व नै होली हो। होली श्रीकृष्णका अनेक लीलामध्ये रासलीलासँग सम्बन्धित छ।’ हनुमानढोका दरबारभित्र मोहनकाली चोक छ। उक्त चोकमा काठमा कुँदिएको एक हातमा मुरली समाएर बसेका श्रीकृष्णको मूर्ति छ। साथै नौवटा विभिन्न मुद्रामा रहेका अर्धनग्न गोपिनीहरूको मूर्ति छ। होली पर्वको आरम्भमा त्यहाँ रहेका श्रीकृष्ण र गोपिनीहरूको मूर्तिमा अबिर छर्केर पूजा गर्ने चलन अझै छ।

हरेक वर्ष हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा तीनतले चीर ठड्याएसँगै होली पर्व सुरु हुन्छ। मंगलबार वसन्तपुरमा चीर ठड्याएसँगै होली पर्व विधिवत् रूपमा सुरु भएको छ। नेपाल पञ्चांग निर्णायक समितिले बिहान ७ बजेर ५७ मिनेटमा साइत निकालेसँगै चीर ठड्याएको हो। हनुमानढोकालगायत पाटन र भक्तपुरमा पनि चीर ठड्याइन्छ। भक्तपुरमा दत्तात्रय मन्दिरसँगै रहेको भैरव मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनि जुधाएर होली सुरुआत भएको छ।

काठबाट बनेको दुई हात लामो भीमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपदीको योनिका रूपमा लिने गरिन्छ। चाँगुनारायणमा भने लिच्छविकालदेखि नै होलीका दिन त्यहाँ रहेको राधाकृष्ण र रुक्मिणीको खट जात्रा निकालेर अबिर छर्दै चोक चोक घुमाइन्छ। चीर ठड्याउनुको पनि विशेष महŒव भएको जोशी बताउँछन्। ‘तीनतले चीरमा झुन्ड्याइने रंगीविरंगी कपडा श्रीकृष्णले लुकाइदिएको गोपिनीहरूको सारी मानिन्छ’, उनले भने।

गोपिनीहरू नदीमा निर्वस्त्र नुहाइरहेको समयमा कृष्णले सबैको कपडा एउटा रूखको हाँगामा लुकाइदिन्छन्। र, आफू सोही रूखमा चढेर बाँसुरी बजाउन थाल्छन्। गोपिनीहरूले अब उप्रान्त निर्वस्त्र नुहाउन नपाइने सर्तमा ती सबै कपडा फिर्ता पाएका थिए। यसैको खुसियालीमा सांकेतिक चीर ठड्याइने गरिएको जोशी बताउँछन्। चीरमा झुन्ड्याइने कपडाको टुक्राले नारीले आफ्नो जीवनमा सिक्ने ६४ कला दर्शाउने समेत उनी बताउँछन्। रंगीचंगी झल्लर कपडाका टुक्रा भुन्ड्याउने र टुप्पोमा मयलको रूख बाँधेर गुरुजुको पल्टनसहित तोप पड्काउँदै अबिर छरेर होली शुभारम्भ गरिन्छ।

काठमाडौंका धालासिक्वाका मानन्धरहरूले चीर ठड्याउँछन्। सोही समयमा हनुमानढोका दरबारभित्रको मोहनकाली र दाख चोकमा पनि रंगीचंगी कपडाका टुक्रा झुन्ड्याएर मयलको रूख गाडेर पूजा गरिने केन्द्रीय मानन्धर संघका सचिव गजेन्द्र मानन्धर बताउँछन्।

फागुन शुक्ल अष्टमीमा ठड्याइएको चीर पूर्णिमाको रातमा ढालिन्छ। लगत्तै चीरलाई टुँडिखेल पुर्‍याई दाह गरेपछि होली समाप्त हुन्छ। त्यसको भोलिपल्ट वसन्त ऋतु सुरु हुन्छ। यो वर्ष होली पहाडी जिल्लामा फागुन २६ र तराईका जिल्लामा फागुन २७ मा मनाइँदै छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.