कोरोना महामारीको असर : इपिडेमिकबाट प्यानडेमिक

कोरोना महामारीको असर : इपिडेमिकबाट प्यानडेमिक

कोरोना भाइरस रोग (कोभिड- १९) बाट विश्व नै त्रसित भइरहेको छ। यो महामारी कहिले अन्त्य हुन्छ भन्ने आम मानिसको चासोमा विज्ञहरूसमेत उत्तरविहीन छन्। दिनप्रतिदिन यसबाट संक्रमितको संख्या बढ्दै छ। पछिल्लो अवस्थामा चीनभन्दा विश्वका अरू मुलुक भयावह बनेका छन्। यसबाट आतंकित होइन, सजग र सतर्क रहने र जोगिन साधारण उपाय अपनाउने साथै चीनले अवलम्बन गरेको सुरक्षाका उपाय पछ्याउने हो भने आत्तिहाल्नुपर्ने छैन। यो महामारीको रोकथाम र नियन्त्रणमा चीनको प्रयास र प्रभावकारिताले रोकथाम र नियन्त्रण गर्न नयाँ अन्तर्राष्ट्रिय मापदण्ड स्थापना गरेको छ।

कोरोना भाइरस सर्वप्रथम चीनको वुहान सहरमा २०१९ डिसेम्बरमा देखिएको हो। त्यहींबाट चीनका विभिन्न सहरमा फैलियो। चीनले अपनाएका उपायबाट नयाँ संक्रमणको दर वुहान सहरबाहेक धेरै सहरमा शून्य बराबर छ। साथै पछिल्लो समय वुहानमा समेत दैनिक रूपमा ५० को हाराहारीमा मात्र संक्रमित भेटाइएका छन्। जबकि चीनमा भेटाइएका ८० हजारभन्दा बढी संक्रमितमा चीनको हुपै प्रान्तमा मात्र झन्डै ७० हजार संक्रमित छन् र त्यसमध्ये यसै प्रान्तको सदरमुकाम कोरोना भाइरसको इपिसेन्टर मानिने वुहान सहरमा ५० हजार मानिस संक्रमित छन्। यसै वुहान सहरमै दुई हजार बढीको मृत्यु भएको हो।

कोरोना भाइरस फैलिएदेखि चीनले एक अर्ब ४० करोड चिनियाँ जनताको नेतृत्व गर्दै अभूतपूर्व साहस र अठोटका साथ अदृश्य शत्रुविरुद्ध अथक् लडाइँ गरिरहेको छ। एक करोड १० लाख जनसंख्या भएको वुहान सहरलाई ‘लक डाउन’ गर्ने निर्णय सहज थिएन। तर अन्यत्र सहरमा भाइरस प्रसार हुनुबाट रोक्न त्यही मात्र सही उपाय थियो। यसबाट चीनले सारा विश्वलाई गुन लगाएको छ। आजका दिनमा चीनका धेरै प्रान्त र सहरहरूमा नयाँ संक्रमित देखिएका छैनन्। चीनमा संक्रमितको संख्या घट्दै गइरहेको छ र सफल उपचार पाई घर फर्केकाहरू नै ६० हजार बढी पुगिसकेका छन्। वुहानमा समेत संक्रमितहरूको सफल उपचार दर ५० प्रतिशत नाघिसकेको छ।

चीनले चीनभरि मात्रै नभई विश्वभर महामारी फैलिनबाट जोगाउन सक्दो प्रयास गरेको छ। साथै संक्रमितको उपचार र रोग नियन्त्रणका लागि चालेका कदम उदाहरणीय छ। चीनभरिका आमजनता दुई हप्ता वा बढी समयका लागि देश-विदेशको यात्रा त्यागेर घरमै बसेका छन्। समग्र चिनियाँले जमघट नगर्ने तथा अनावश्यक रूपमा बाहिर नजाने नीति र मास्कलगायतका सुरक्षाका उपायको प्रयोग गर्दै आएका छन्। चीनले सबैभन्दा प्रभावित क्षेत्र वुहानमा दस-बाह्र दिनभित्र दुइटा अस्पताल निर्माण गर्‍यो भने कभर्ड हल, सभा भवनलगायतका क्षेत्रलाई मोबाइल अस्पतालमा परिणत गरी उपचार थाल्यो।

मानव जातिकै साझा शत्रु बनिसकेको कोरोना महामारीलाई पराजित गर्न विज्ञान तथा प्रविधि र विश्व एकता र सहयोगको खाँचो छ।

साथै उसले तुरुन्तै अन्य प्रान्त र सहरबाट सो क्षेत्रमा चिकित्सा टोली परिचालन गर्‍यो। ४० हजारभन्दा बढी चिकित्साकर्मीलाई वुहान र हुपै प्रान्तमा खटायो। चीनले तुरुन्तै रोगसँग संघर्ष गर्न शृंखलाबद्ध रूपमा वैज्ञानिक र प्राविधिक अनुसन्धान कार्य सुरु गरेको छ। चिनियाँ वैज्ञानिक अनुसन्धान समूहहरूले सहकार्य गर्दै औषधोपचार, भ्याक्सिनको अनुसन्धानलगायत रोगसम्बन्धी ठोस विषयमा काम गरिरहेका छन्। केन्द्र र स्थानीय सरकारले महामारीविरुद्ध लड्न तुरुन्त १० अर्ब अमेरिकी डलर विनियोजन गरेको थियो। पछिल्लो समयमा विनियोजन रकममा बढोत्तरी भइरहेको छ। लामो बिदापछि सहर र काममा फर्केकालाई समेत १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने व्यवस्था गरिएको छ।

मार्च ६ को तथ्यांकअनुसार, बिदापछि कामका लागि बेइजिङ फर्केका आठ लाखभन्दा बढी मानिस १४ दिने क्वारेन्टइनमा छन्। यस्तै नियम चीनभरिका सहरमा लागू गरिएको छ। यसबाट कोरोना भाइरसको प्रसार रोकिने र नियन्त्रण तथा रोकथाममा धेरै ठूलो सहयोग मिलेको छ। चीनले प्रभावकारी रूपमा यो महामारीलाई छोटो समयमै रोकेको अवस्था छ र उसको रोकथाम र नियन्त्रणका कदमलाई अन्तर्राष्ट्रिय समुदायले उच्च मूल्यांकन गर्दै मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्। फेब्रुअरी २८ मा प्रकाशित कोभिड- १९ सम्बन्धी चीन-विश्व स्वास्थ्य संगठनको संयुक्त निरीक्षण प्रतिवेदनले चीनले इतिहासमै सबैभन्दा साहसी, सबैभन्दा लचिलो र सबैभन्दा सकारात्मक कदम चालेर कोभिड- १९ को फैलावटलाई प्रभावकारी रूपमा रोकेको र विश्वलाई कोरोना भाइरसको सामना गर्न महत्वपूर्ण अनुभव उपलब्ध गराएको उल्लेख छ।

यस अवस्थामा पनि चीनले सुखको सास भने फेर्न पाएको छैन। देशभित्र झन्डै नियन्त्रणमा आइसकेको स्थितिमा चीनमा इम्पोर्टेड केसहरू अर्थात् बाहिरी मुलुकबाट चीनमा आएकाहरूमा संक्रमण देखिन थालेका छन्। इटाली, स्पेन र इरानबाट फर्केका चिनियाँ र प्रवासी चिनियाँहरू यस भाइरसबाट संक्रमित पाइएका छन्। मार्च ७ सम्म ६० वटा इम्पोर्टेड केसहरू चीनमा भेटिएका छन्। हिजोसम्म यो चीनको मात्र समस्या भन्ने विश्वलाई लागेको हुन सक्छ। तर यो लेख तयार पार्दासम्म विश्वका झन्डै सयवटा देशमा फैलिसकेको छ। कुनै क्षेत्रविशेषमा मात्र नभई विश्वका ६ महादेशमा फैलिएर प्यानडेमिक भइसकेको अवस्था छ। इटाली, इरान, जापान, दक्षिण कोरिया आदि मुलुकमा नयाँ कोरोना भाइरसका संक्रमणको संख्या दिनप्रतिदिन बढिरहेको छ। साथै हरेक दिन नयाँ मुलुक पनि थपिँदै गएको छ।

चीनसहित विश्वभर संक्रमितको कूल संख्या एक लाख माथि पुगेको छ। कतिपय देश र ठाउँमा चीन या चिनियाँसँग दूरको सम्बन्धसमेत नभएकामा पनि यो भाइरस भेटेको बताइएको छ। हुन त यस भाइरसबाट संक्रमित बिरामी सर्वप्रथम चीनमा देखिए पनि यसको उद्गमस्थल चीन नै हो भन्न सकिने बलियो आधार छैन। कतिपय अवस्थामा भाइरसवाहकमा कुनै संकेतसमेत नदेखिएको विज्ञको निष्कर्ष छ। यसकारण विश्वव्यापी रूपमा गम्भीर बन्दै गएको यो महामारी इपिडेमिकबाट प्यानडेमिकतिर लागेको छ। यद्यपि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महाप्रबन्धक टेड्रस अधानोम घेब्रेइससले फेब्रुअरी २४ मा आयोजित नियमित पत्रकार सम्मेलनमा यो महामारी गम्भीर नभइसकेको बताएका छन्।

उनका अनुसार, डब्लूएचओले महामारीको व्याख्या गर्दै गम्भीर महामारी भन्ने शब्द प्रयोग गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्नुअगाडि भाइरस फैलिएको भौगोलिक क्षेत्र, संक्रमित रोगको गम्भीरता र पूर्ण समाजको प्रभाव आदि विषयबारे निरन्तर मूल्यांकन गर्नुपर्ने छ। डब्लूएचओले पहिला यो भाइरस चीनमा फैलिँदै गर्दा चीनसँग प्रभावकारी रोकथाम र नियन्त्रणका उपाय भएका कारण विश्वव्यापी महामारीका रूपमा विकास नभएको जनाएको थियो र पछि जनवरी ३० मा डब्लूएचओका महाप्रबन्धक अधानोमले कोरोना भाइरसको महामारी अवस्थालाई लिएर चीनमा स्वास्थ्य संकटकालको घोषणा गरेका थिए। उनले उक्त निर्णय चीनका लागि अविश्वासको मत नभएको अभिव्यक्ति दिँदै चीनको क्षमताप्रति विश्वास रहेको पनि बताएका थिए।

हाल चीनले प्रतिरोधका लागि विविध कदम चालेर दायित्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। मानव जातिकै साझा शत्रु बनिसकेको यो महामारीलाई पराजित गर्न विज्ञान तथा प्रविधि र विश्व एकता र सहयोगको खाँचो छ। विश्वभरि तीव्र रूपमा फैलिँदै गइरहेको अवस्थामा हाल विकसित देशलाई समेत यसको निवारण र नियन्त्रण गर्न कठिनाइ परिरहेको छ। नेपालजस्तो देशमाथि झनै ठूलो दबाब आइपरेको देखिन्छ। यो महामारी फैलिने जोखिममा नेपाल छ साथै डब्लूएचओले पनि नेपालको स्वास्थ्य पूर्वाधार बलियो नभएकाले जोखिम क्षेत्रमा राखेको छ। यसबाट सुरक्षित रहने सरल तर प्रभावकारी उपाय भनेको जमघट तथा भीडभाड नगर्ने किनकि त्यहाँ भाइरस संक्रमित या प्रभावित व्यक्ति हुन सक्छ त्यसबाहेक बाहिर जाँदा अनिवार्य रूपमा मास्क लगाउने र हात नधोईकन नाक, मुख र आँखामा नछुने, यति गरियो भने यसबाट जोगिन सकिन्छ। सुस्वास्थ्य नै धन हो। याद गर्नुस्, तपाईंको स्वास्थ्य र तपाईंको परिवारको स्वास्थ्य नै तपाईंको सम्पत्ति हो। साथै हल्ला, पूर्वाग्रह तथा गलत जानकारीलगायतका भाइरसबाट पनि जोगिनु उचित हुन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.