कोरोनालाई पराजित गर्दै चीन : सामान्य बन्दै जनजीवन

कोरोनालाई पराजित गर्दै चीन : सामान्य बन्दै जनजीवन

बेइजिङ : कोरोना भाइरस (कोभिड(१९) को संक्रमणले चपेटामा परेको चीनको जनजीवन सामान्य बन्दै गएको छ । विश्वका १ सय १२ देशमा फैलिदा चीन भने नियन्त्रण नजिक पुगेको हो । पछिल्लो समय चीनमा संक्रमितको संख्या दिनप्रति दिन घट्दै गइरहेको छ ।

केही हप्ताअघिसम्म एकै दिनमा हजारौंको संख्यामा संक्रमित बढेको चीनमा पछिल्लो समय दुई अंकमा झरेको छ । केही दिन यता कोभिड–१९ को उद्गम मानिएको चीनको हुपै प्रान्तको वुहान सहरबाहेक अरू सहर र प्रान्तहरूमा नयाँ संक्रमितको संख्या एकदम न्यून छ । वुहान लकडाउन गरेको करिब ५० दिनभित्र चीनको जनजीवन सामान्य बन्दैगएको छ । चीन आकस्मिक र कठिन युद्ध बनेको कोभिड–१९ माथि विजय निकट पुगेको छ ।

जनवरी २३ मा चिनियाँ नयाँ वर्ष नजिकिँदै गर्दा वुहानलाई लकडाउन गरिएको थियो भने चीनका धेरै सहर र प्रान्तले पनि आकस्मिक स्वास्थ्य संकट घोषणा गर्दै पहिलो स्तरको चेतावनी संकेत जारी गरेको थियो । 

हाल अधिकांश सहर र प्रान्तले सो स्तरलाई दोस्रो र तेस्रो स्तरमा झारिसकेको छ । यसै गरी वुहानमा सभा हल तथा खेल भवनमासमेत अस्थायी रूपमा स्थापना गरिएका सबै १६ वटा अस्पताल मंगलबारबाट बन्द गरिएको चिनियाँ सञ्चार माध्यमले जनाएको छ । 

महामारीले उग्र रूप लिएको बेला वुहानमा रातारात हजार शैय्याका दुई अस्पतालसमेत निर्माण गरेको थियो । यसै बीच चिनियाँ राष्ट्रपति सी चिनफिङले मार्च १० तारिख मंगलबार यी अस्पताल र वुहान सहरको अवलोकन गर्दै उपचारमा खटेका स्वास्थ्यकर्मी तथा बिरामी सबैलाई हौस्याएका छन् । 

सी महामारीपछि पहिलो पटक वुहान पुगेका हुन् । उनले केही साता अघि भनेका थिए, ‘यदि वुहानले भाइरसविरूद्धको युद्ध जित्छ भने हुपैले पनि जित्ने छ । यदि हुपैले युद्ध जित्छ भने राष्ट्रले नै जित्ने छ ।’

हाल वुहानको स्थितिसमेत नियन्त्रणमा आइसकेको छ । यसै गरी चीनका विभिन्न सहर र प्रान्तको आर्थिक र सामाजिक जीवन पनि सामान्य बन्दै गएको छ । चीनभर कोभिड–१९ महामारीको नियन्त्रण तथा प्रतिरोधका कामहरूसँगै कलकारखानामा काम पुनः सुरू भइरहेका छन् । 

रोगको नियन्त्रण तथा कारखाना पुनः सञ्चालनका लागि शाङहाई नगरपालिकाले ‘कर घटाउने तथा मौद्रिक अप्ठ्यारो’ भन्ने साझा समस्याको समाधान गर्न २८ बुँदे सुविधाजनक नीति नै लागू गरेको छ । 

मार्चको अन्तसम्ममा शाङहाईका ११२ वटा ठूला परियोजना पुनः सुरु गराउने योजना रहेको बताइएको छ । यसै गरी क्वाङ तुङ प्रान्तको सदरमुकाम क्वाङचौ सहरमा वार्षिक आम्दानी २ करोड भन्दा बढी भएका उत्पादित व्यवसाय पुनः शुरू भएको दर ९९.५ प्रतिशत पुगिसकेको छ । यसै चीलिन प्रान्तभर वार्षिक आम्दानी २ करोड भन्दा बढी भएका व्यवसाय पुनः सुरू भएको दर ९६.७ प्रतिशत पुगेको छ ।

कतिपय क्षेत्रमा पर्यटनस्थलसमेत खोलिसकेका छन् । सार्वजनिक यातायात तथा सार्वजनिक स्थलमा सकेसम्म स्वास्थ्य सुरक्षालाई ख्यालमा राख्दै भिड नगर्न र एकआपसबीच एक मिटरको दूरी राख्न पनि आह्वान गरिएको छ । साथै स्वास्थ्य सुरक्षा र नियन्त्रणका लागि कतिपय कार्यालय रिमोट वर्कको अवधारणामा सञ्चालित छन् भने शिक्षण संस्था पनि अनलाइनमार्फत चलिरहेका छन् । 

चीनको शिक्षा मन्त्रालयले चीन सरकारले महामारी पूर्ण नियन्त्रणमा आइसकेको घोषणा तथा अभिभावकको स्वीकृति र शिक्षण संस्था जोखिम रोकथाम र नियन्त्रणका लागि पूर्ण तयार भएपछि मात्र शिक्षण संस्था खोल्ने जनाएको छ । 

पछिल्लो तथ्याङ्क अनुसार, चीनमा ८० हजार ७ सय ५४ जना कोभिड–१९ बाट संक्रमित भएका छन् । यी संक्रमितमध्ये ५९ हजार ८ सय ९७ जनाको सफल उपचार भइसकेको छ । 

यसले ३ हजार १ सय ३६ जनाको ज्यान लिएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार, मार्च ९ तारिख १९ जना (उहान १७ जना) संक्रमित थपिएका छन् । यस बाहेक विदेशबाट आएका दुई व्यक्ति कोभिड–१९ संक्रमत भएको पुष्टि भएको छ । योसँगै चीनभित्र विदेशबाट आएका निश्चित संक्रमितको संख्या ६९ पुगेको छ ।

चीनले यस महामारीमाथि नियन्त्रण लिइसकेको अवस्थामा यो आयातित संक्रमितले नयाँ समस्या थपेको छ । कोभिड–१९ हाल विश्वका अन्यत्र क्षेत्रमा चिन्ता र भय बनिरहेको छ । यसै कारण चीनका वरिष्ठ स्वास्थ्य विज्ञ चोङ नानसानले यो कोभिड–१९ महामारीको प्रभाव जुन महिनासम्म रहने अनुमान गरेका छन् । 

यस अघि उनले अप्रिलको अन्तसम्म नियन्त्रणमा आइसक्ने अनुमान लगाएका थिए । उनै विज्ञ नानसानले चीनमा पहिलो कोरोना भाइरस संक्रमित भेटिएको भए तापनि यो चीनमा नै उत्पत्ति भएको भन्ने ठोस प्रमाण नरहेको उल्लेख गरेका थिए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.