धार्मिक सहिष्णुता र हामी

धार्मिक सहिष्णुता र हामी

छिमेकी भारतको राजधानी नयाँदिल्लीमा भएको हिन्दु–मुसलमान दंगाका समाचारपछि फेरि एकपटक प्रश्न उठ्यो– किन यता काठमान्डु र नेपालमा यस्ता घटना हुँदैनन् र यस्ता समाचार बन्दैनन् ? यसको कारण हो– दक्षिण छिमेकी भारतमा बरोबर धार्मिक र जातीय घृणाका वातावरण शताब्दीयौंदेखि रहँदै आए।

आज पनि यो धार्मिक घृणाको राजनीति विद्यमान छ। नेपालको वर्तमानमा मात्रै होइन; विगत इतिहासमा पनि ठूलो धार्मिक सम्प्रदायिक दंगा नहुने अपवादस्वरूप मात्र नेपालको हजारौं वर्षको इतिहास खोज्दा पनि ठूलो धार्मिक दंगा एकाधपटक मात्र भएको पाइन्छ।

भर्खर १२ फागुन (२४ फेब्रुअरी) देखि नयाँदिल्लीमा भएको धार्मिक जातीय घृणाको राजनीतिका कारण चारपाँच दिनमै ४६ जना मारिए भने २५० जना घाइते भए। कैयन् मानिस बस्ने घर जलाइए। दुकान, स्कुटर, कार जलाइए। केटाकेटी पढ्ने स्कुल जलाइए। अमानवताको पराकाष्ठा नयाँदिल्लीको भजनपुरामा बिरामी, बालबालिकादेखि वृद्धवृद्धा बसिरहेको अस्पतालमा आगो लगाइयो।

भारत आर्थिक, सामाजिक, सुरक्षालगायत सबै रूपबाट संसारका बलिया १० देशमध्ये पर्छ। यस्तो बलियो देशको राजधानीमा सबै गुप्तचर एजेन्सीहरूका केन्द्रीय कार्यालय छन्। थल सेना, वायु सेना, समुद्री सेनाका हेडक्वाटर छन्। गृह मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालयलगायत सबै केन्द्रीय मन्त्रालय छन्। स्वदेश र विदेशमा गुप्तचरी गर्ने ‘रअ’, आईबी भिजिलान्स निर्देशनालयलगायत सबै प्रकारका गुप्तचर संस्थाहरूको सूचना पुग्ने केन्द्र छन्। प्रधानमन्त्री, राष्ट्रपतिदेखि भारतका सबै शक्तिशाली व्यक्तिहरू रहने थलो यहीं छ।

सत्य लुक्न गाह्रो पर्ने युग

प्रश्न उठ्छ– यस्तो बलियो देशको सबैभन्दा सुरक्षित स्थल नयाँदिल्लीमा अचानक र फाटफुट होइन; लगातार कैयौं दिन यस्तो हिंसा चलिरहन कसरी सम्भव भयो ? हिजोआज सत्य लुकाउन, वास्तविक तथ्यमा पर्दा हाल्न, झूटोलाई सत्य बनाउन र सत्यलाई झूटो बनाउन गाह्रो पर्ने वातावरण आइसकेको छ। मानिसका हातहातमा मोबाइल छन्। जो कुरा गर्न मात्र होइन, फोटो खिच्न, आवाजसहितका दृश्य फिल्म छायाकन गर्नसमेत सक्छन्। हुँदाहुँदैका घटना खिच्न मात्रै होइन; प्रत्यक्ष सम्प्रेषण गर्न सक्ने साधन सुलभ छन्। साथसाथै सहरमा सीसीटीभी क्यामेरा पनि जडान छन्।

स्वयं नयाँदिल्लीस्थित टेलिभिजनहरू नयाँदिल्ली टेलिभिजन (एनडीटीभी) लगायत र सञ्चारकर्मी, पत्रकारद्वारा तथ्यको खोज गर्दा बलियो देशको बलिया सुरक्षा बन्दोबस्त भएको ठाउँ यस्तो कुरा सम्भव हुने कारण रहेछ कि भारतको वर्तमान केन्द्रीय सरकारले आफ्नो मातहत रहेका प्रहरी प्रशासनलाई खटाउने काम जानाजानी तुरुन्तातुरुन्तै नगरिनु, घटनास्थलमै भएका सुरक्षाकर्मी केही नगरी आफ्नो हात बाँधेर हेरिरहने दर्शक बन्नु। अझ कहींकहीं स्वयं प्रहरीले सीसीटीभी फोडेर सत्य दृश्य खिचिन नपाओस् भन्ने काम गर्नु।

अर्कातिर केन्द्रीय सरकार चलाउने भारतीय जनता पार्टीका दिल्ली विधानसभा सदस्य अभय वर्माजस्ताले स्वयं दंगा गर्ने भीडको नेतृत्व गर्नु। भारतीय जनता पार्टीकै नेता पूर्वविधानसभा सदस्य कपिल मि श्रले ठाउँठाउँ ‘हेट–स्पिच’ (घृणा जगाउने भाषण) गर्दै हिँड्नु।

धार्मिक घृणालाई आधार बनाएर जनतालाई लडाउने र फुट पारी शासन गर्ने विदेशी शासन कहिल्यै नभएको इतिहासका कारण आज र हिजो पनि नेपालमा धार्मिक संहिष्णता कायमै रहन सम्भव भएको हो।

त्यसअघि दिल्ली विधानसभाको चुनावताका केन्द्रीय मन्त्री अनुराग ठाकुरले ‘देशके गद्दारोको, गोली मारो सालोको’ नारा लगाउँदै हिँड्ने चुनाव प्रचार टोलीको नेतृत्व गर्नु। यस्ता कुराले अल्पसंख्यक मुसलमान जनसंख्यामाथि आक्रमक रूपले ‘हेट–स्पिच’ हरू खुला र निर्विघ्न चलेका थिए।

राजधानी नयाँदिल्लीमा यो चार दिन लगातार चलेको दंगाभन्दा पहिले १५ डिसेम्बर २०१९ (२०७६ मंसिर) मा १४ हजार विद्यार्थी पढ्ने जानिया मिलिया इस्लामिया युनिभर्सिटीको लाइब्रेरीमा पुलिस पसेर पढिरहेका विद्यार्थीमा लाठीचार्ज गरिएको घटना भएको थियो।

त्यसपछि ५ जनवरी (पुस २०७६) मा ५० जना मुखुन्डोधारीहरूले जवाहरलाल नेहरू युनिभर्सिटी (जेएनयू) का तीनवटा होस्टेलहरूमा आक्रमण गरी विद्यार्थीलाई कुटपिट गरी आतंक फैलाउने काम भएको थियो।

पुलिसलाई कैयन्पटक तुरुन्तातुरुन्तै फोन गर्दा नआई मुखुन्डोधारी आक्रमणकारीहरू कुटपिट गरी गइसकेको निकै बेर बल्ल पुलिस पुगेको थियो। यसपटक कैयन् दिन चलेको दंगामा एक हजार विद्यार्थी पढ्ने पब्लिक स्कुलमा दिउँसो दुई बजे त्यस दिन बिदा दिइएको थियो। बलियो गेटमा भित्रबाट ताल्चा लगाएर पिउन आफ्नो परिवारसहित भित्र रहेका थिए। त्यसैबखत दंगा गर्ने भीड छिमेकको छतबाट डोरी लट्काई भित्र पस्यो। गेट फोड्यो। फर्निचरसमेत रहेको स्कुलमा आगो लगायो। यसबारेमा पटकपटक फोन गर्दा पनि पुलिस आएन। छिमेकीहरूले बोलाउँदा फायर ब्रिग्रेड आउँदै आएन। २४ घन्टा स्कुल जलिरहन दिइयो। कारण यस पब्लिक स्कुलको प्रमुख सञ्चालक रहेछन फैजल फारुख। बल्ल दुई दिनपछि राजधानीमा पुलिस के भएको हो भनी सोधिटोपल्न र वारदातका रेकर्ड प्रहरीले राखेको देखाउन पुगेछ।

केन्द्रमा सत्तारूढ भारतीय जनता पार्टीकै सहयोगी दल शिरोमणि अकाली दलका लोकसभा सदस्य नरेश गुजरालले आफ्नो टोलमा १६ जना मुसलमान छिमेकीलाई दंगा गर्नेसँग जोगाउन पुलिसलाई पटकपटक फोन गर्दा पनि नआएपछि अरू छिमेकी हिन्द घरपरिवारको मद्दतले सुरक्षित ठाउँ पुग्ने व्यवस्था गरेछन्। उनले पछि सञ्चारकर्मीसँग स्पष्ट भनेछन्, ‘भारतको केन्द्रीय सांसदले आफ्नो परिचय दिँदै बारम्बार फोन गर्दा पनि पुलिस आउँदै नआएको घटना भयो भने अरू मानिसले सुरक्षाका लागि फोन गर्दा के भयो होला ? आफैं सोच्नुस्।’

 भारतमा दंगा कारण

आठ वर्षको केटाकेटी उमेरमा सम्झन र बुझ्न सक्ने भएदेखि नै माटो जोडिएको दक्षिणी छिमेकी विशाल जनसंख्या भएको भारतमा ठूला–ठूला साम्प्रदायिक दंगाहरू हिन्दु–मुसलमानबीच भएको सुन्दै र पढ्दै आएँ। सन् १९४६ मा कलकत्ता सहरमा भएको सम्प्रदायिक दंगामा चार हजार मान्छे मारिएको सरकारी आधिकारिक विवरण आज पनि भारतका पुस्तक र रेकर्ड पाइन्छ। चार हजार मान्छेहरू केही दिनमै कलकत्ताजस्तो ठूलो सहरमा धेरै राम्रा पुलिस प्रशासनको सुरक्षा त्यस समय ब्रिटिस शासनकालका अन्तिम दिनहरूमा पनि थिए। तर त्यस सम्पूर्ण बंगाल (अब पश्चिम बंगाल भारत र पूर्वीबंगाल बंगलादेश छ) एउटै थियो।

भारतका प्रान्तीय एसेम्बलीहरूका चुनावमा अरू सबै प्रान्तमा भारतीय राष्ट्रिय कांग्रेसको बहुमत भएर कांग्रेसको प्रान्तीय सरकार थिए भने त्यस समय कलकत्ता राजधानी रहेको संयुक्त बंगालमा प्रान्तीय एसेम्बलीमा मुस्लिम लिगको बहुमत थियो। सहिद हसन सुहरावर्दी मुख्यमन्त्री भएको प्रान्तीय सरकार थियो। स्वयं मुख्यमन्त्री सुहरावर्दीले मुसलमानलाई १६ अगस्त १९४६ देखि पाकिस्तान बनाउनुपर्ने मागको समर्थनमा प्रत्यक्ष कारबाही (डाइरेक्ट एक्सन) गर्न आह्वान गरेपछि यहाँ ठूलो दंगा मच्चिएको थियो। मुख्यमन्त्रीकै खुला भूमिका यस्तो दंगाका पक्षमा भएपछि त्यस समयको कलाकत्ता पुलिस प्रशासन त्यस्तो दंगा रोक्नुको साटो निष्क्रिय दर्शक भई बस्नु स्वाभाविक थियो होला।

ब्रिटिस शासनकालको प्रारम्भदेखि नै भारतका जनतामा ‘फुट पार शासन गर’ (डिभाइड यान्ड रुल) को सात समुद्रपारिको साम्राज्यवादी सरकारको नीति रहँदै आयो। द्वितीय विश्वयुद्धताका भारतीय राष्ट्रिय कांग्रेसले ब्रिटिस सरकारलाई भारतलाई स्वतन्त्रता दिने वचन दिए हामी युद्धमा पूर्णरूपले सघाउँछौं भन्यो। तर मुस्लिम लिगले निसर्त सघाउने फरक नीति लिएको थियो। सत्ताले सह नदिई साम्प्रदायिक दंगाहरूले ठूलो रूप लिन सहज हुँदैन भन्ने कुरा छिमेकी भारतका सहरमा पहिल्यैदेखि अहिलेसम्म भएका ठूलो दंगाहरूको अध्ययनबाट देखिँदै आएको छ।

सन् १९४७ (२००४ साल) भारत र पाकिस्तानमा भएका नरसंहारहरूको तथ्यांक मौकैमा कसैले राख्न सकेन। किनभने हिन्दुस्तान र पाकिस्तानहरू त्यस समय मानव इतिहासकै सबैभन्दा ठूलो जनसंख्या विस्थापनको ज्यान बचाउन डेढ करोड मानिस स्थान त्यागी शरणार्थी भएर एकबाट अर्को मुलुक गएका थिए। दुई लाखदेखि २० लाखसम्म मानिसहरू केही महिनामा हिन्दु मुसलमान दंगामा मारिएका थिए (विस्तृत विवरण हेर्नुस् ः विकिपेडिया लिस्ट अफ म्यास्याकर इन इन्डिया)।

भारत स्वतन्त्र भएपछि धेरैलाई आशा थियो– अब भारतमा धार्मिक घृणा विद्यमान राखेर ‘फुट पार र शासन गर’ को विदेशी शासक नीति अन्त्य हुनेछ। तर स्वतन्त्र भारतमा पनि धार्मिक घृणा र साम्प्रदायिक विभाजनलाई सत्ताले जाने र शासनलाई कब्जामा राख्ने ठूलो राजनीतिक खेल आज पनि चलिरहेको र चलाइराखिएको छ।

यता नेपालमा धेरै खोज्दा पनि सयौं वर्षको इतिहासमा ठूलो दंगा भएको पाइँदैन। के दुई देशको इतिहास र ऐतिहासिक विकास फरक भएकाले यस्तो भएको हो ? धार्मिक घृणालाई आधार बनाएर जनतालाई लडाउने र फुट पारी शासन गर्ने विदेशी शासन कहिल्यै नभएको इतिहासका कारण आज र हिजो पनि नेपालमा धार्मिक संहिष्णता कायमै रहन सम्भव भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.