जात्रापर्व स्थगित

जात्रापर्व स्थगित

काठमाडौं : अनावश्यक जमघट नगर्न सरकारले आग्रह गरेसँगै उपत्यकामा मनाइने जात्रापर्व स्थगित हुने भएको छ। भीडभाड नगरी जात्राको औपचारिकता मात्र पूरा गर्न स्थानीय प्रशासन र जात्रा सञ्चालकबीच सहमति बनेपछि स्थगित हुने भएको हो।

काठमाडौंमा चैत्र १०, ११ र १२ गते नेवार समुदायले मनाइने पाहाँचःह्रे पर्व सांकेतिक रूपमा सञ्चालन गर्ने सहमति भएको छ। पाँहाचह्रे काठमाडौंमा मनाइने ठूला चाड मध्य एक हो।

जत्राका संयोजकमध्ये एक उमेश स्थापितका अनुसार यसपाली हुलमुललाई कम गर्दै जात्रा मनाउने तयारी छ। ‘पाहाँचःह्रेमा असन र टुँडिखेलमा खट जुधाउने परम्परा छ’, स्थापितले भने, ‘यी दुई ठूला खट जात्रा नगर्ने निर्णय भयो।’ लुँमधि भद्रकाली गुठीले केही दिनअघि सूचना जारी गर्दै लुँमधि भद्रकाली टेवाः, वटु र कंगेश्वरीको कंग अजिमाको जात्रा हेर्न भीड लाग्ने भएकाले खट नजुधाइने बताएको छ।

चैत १० गते टेबहाल र ओटुबाट खट निकाल्दा मन्दिरबाट देवीदेवता बाहिर निकाल्ने र भद्रकाली पुर्‍याएर भोलिपल्ट पुनः बहालमा फर्काइ १२ गते सामान्य पूजाआजा गरी जात्रा समापन गरिने भएको हो। सेतो मन्छिन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले पनि शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यसपालिको रथयात्रा स्थगित गरिएको छ। चैत्र १९ देखि २१ सम्म सेतो मच्छिन्द्रनाथको रथयात्राको तयारी स्थगित गरिएको विज्ञप्तिमा छ।

पाटन र भक्तपुरमा पनि पूजाको विधि सम्पन्न गर्ने तर भीडभाडलाई सकेसम्म छलेर जात्रा गर्ने तयारी भएको छ। पाटनमा जात्रापर्वलाई भीडमुक्त बनाउन र भोजभतेर नगर्न सम्बन्धित निकायबीच छलफल भइरहेछ। भक्तपुरमा हुन लागेको बिस्केट जात्रालाई मध्यनजर गर्दै भक्तपुर प्रशासन, गुठी संस्थान र गुठीयारबीच छलफल हुने भएको छ।

वसन्त ऋतुको आगमनसँगै काठमाडौं उपत्यकामा जात्राको सिजन सुरु हुन्छ। चैतदेखि वैशाखसम्म उपत्यकाका विभिन्न स्थानमा थुपै्र जात्रापर्व मनाइन्छ। तान्त्रिक विधिबाट पूजाआजा हुने उपत्यकाका जात्रापर्व यसवर्ष सांकेतिक रूपमा मनाउन संस्कृतिविद् सत्यमोहन जोशीको सुझाव छ। उनले भने, ‘परम्परा नबिगारी विधिपूर्वक पूजा मात्र गरेर सांकेतिक जात्रा मनाऔं।’ असन चोकमा हुने भद्रकाली कंकेश्वरी लुचुभुलु अजीमालगायत १८ देवीदेवताको खट जुधाउने जात्रा पनि प्रभावित हुने भएको छ।

सेनाले आयोजना गर्दै आएको घोडेजात्रा आन्तरिक रूपमा जंगीअड्डामा मात्र मनाइने भएको छ। यसअघि सैनिक मञ्चमा मनाइन्थ्यो। ठिमीको बिस्केट जात्रा, जीब्रो छेड्ने र सिन्दुर जात्रा, साँखुको बज्रयोगिनी, मातातीर्थको महालक्ष्मी, हाँडीगाउँको गहना खोज्ने, भक्तपुरको भैरवनाथ र नगदेशको महालक्ष्मी जात्रा पनि प्रभावित हुने देखिएको छ। यस्तै कीर्तिपुर पाँगा, ठैव, ठेचो, हरिसिद्धि जात्रा र बालाजु बाइसधारा स्नान, सपनतीर्थ मेलालगायत जात्रा प्रभावित हुने देखिन्छ।

पशुपतिको आरती बन्द
पशुपतिमा हुने दैनिक आरती र विशेष पूजा पनि बन्द गरिएको छ। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले उक्त जानकारी दिएका हुन्।

पशुपतिमा बिहान हुने भक्तजनको भीडलाई समेत नियन्त्रण गरिएको छ। हाल पशुपतिमा १० प्रतिशत मात्र भक्तजन पुग्ने गरेका छन्। मन्दिरमा पुजारीलाई छुन नपाउने र टाढैबाट पूजाआजा गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.