बाहिरबाट भित्रिएको संक्रमण नियन्त्रण गर्दै चीन

बाहिरबाट भित्रिएको संक्रमण नियन्त्रण गर्दै चीन

पैचिङ :  बाहिरबाट फर्किएका चिनियाँमा देखिएको कोरोना भाइरस संक्रमणबाट चीन चिन्तित देखिएको छ। देशभित्र संक्रमण शून्य बराबर रहेको अवस्थामा विदेशबाट फर्केका चिनियाँ र प्रवासी चिनियाँमा कोरोना संक्रमण पोजिटिभ पाइएको छ। मार्च २३ मा चीनमा देखिएका ७८ नयाँ भाइरस संक्रमितमध्ये ७४ जना विदेशबाट आएका अर्थात् आयातित संक्रमणहरू नै हुन्। यस्ता नयाँ आयातित संक्रमण थपिनु चीनका लागि टाउको दुखाइ बनेको हो। योसँगै विदेशबाट आएका संक्रमितको कूल संख्या ४ सय २७ पुगेको छ।

यस्ता आयातित केसहरू पैचिङ, साङहाई, क्वाङतोङसहित चीनका १२ वटा प्रान्त तथा सहरमा देखिएका छन्। सबैभन्दा बढी पैचिङमा छन्। सोमबार देखिएका ७४ मध्ये ३१ संक्रमित पैचिङकै थिए। पैचिङको स्वास्थ्य समितिका अनुसार, सोमबारसम्म बेइजिङमा यस्ता आयातित संक्रमितको संख्या १ सय ३८ पुगेका छन्। पछिल्लो अवस्थामा यी आयातित कोरोना संक्रमणले चीनलाई चिन्तित बनाएको छ। यस्तै संक्रमितबाट सोमबार एक जना पैचिङवासी संक्रमित भएको पनि बताइएको छ। योसँगै बुधबारबाटै पैचिङ प्रवेश गर्ने सबैको अनिवार्य न्युक्लिक एसिड टेस्ट गर्ने जनाएको छ।

यसअघि ज्वरो आएको अवस्था र केही लक्षण देखिए परीक्षण गरिँदै आएको थियो। यसैगरी गत शुक्रबारदेखि पैचिङका लागि उडेका विमानलाई अन्य सहरमा अवतरण गराइ त्यतै जाँच र क्वारेन्टाइनमा राख्ने व्यवस्थासमेत गरिएको छ। त्यसअघि मार्च १६ सोमबारबाट पैचिङ उत्रेका सबैले आफ्नै खर्चमा तोकिएका ठाउँमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको थियो। सो नियम अघिसम्म पैचिङले फर्केका सबैलाई सेल्फ क्वारेन्टाइनका लागि भनिएको थियो। यसरी बाहिरबाट आएका चिनियाँमा देखिनसक्ने कोरोना संक्रमण र यसबाट हुने सम्भावित प्रसार रोक्न पनि चीनले उल्लेखनीय कदम चालिरहेको छ।

पैचिङमा आयातित १ सय ७ संक्रमणसँगै संक्रमितको संख्या कूल ५ सय २२ पुगेको छ। तीमध्ये ४ सय जना निको भइ फर्किसकेका छन् भने ८ को मृत्यु भएको छ। यसका साथै जनवरी २४ देखि बन्द गरिएका पैचिङका पार्क, चिडियाखाना, ग्रेटवाल तथा पर्यटकीय स्थल धमाधम खुल्न थालिसकेका छन्। स्थानीय सञ्चारमाध्यमले सोमबार सडकमा देखिएको ट्राफिकले पैचिङ पूर्ववत् अवस्थामा पुगेको जनाएको छ। चीनभरि नै स्थिति सामान्य बन्दै गएको छ। धेरै प्रान्तका शिक्षण संस्था खुलिसकेका छन्। कोरोनाको इपिसेन्टर वुहान र हुपे प्रान्तमा समेत कलकारखाना सञ्चालनमा आइसकेका छन्।

कोरोना इपिसेन्टर वुहानको लकडाउन छिटै खोलिने

कोरोनाको इपिसेन्टर मानिएको उहानको लकडाउन खोल्ने तयारीमा चीन रहेको छ। यही अप्रिल ८ देखि वुहानवासी उहानबाट बाहिर जान पाउने भएका छन्। हरित स्वास्थ्य कोड प्राप्त वुहानवासी अप्रिल ८ देखि उहानबाट अरू सहर तथा प्रान्तसमेत जान पाउने भएका हुन्। कोविड–१९ संक्रमण नभएको र सम्पर्कमा नरहेकालाई हरित स्वास्थ्य कोड उपलब्ध गराइएको र तिनीहरूलाई सो अनुमति दिइने बताइएको छ। १ करोडभन्दा बढी जनसंख्या भएको वुहानमा कूल ५० हजार संक्रमित भएका थिए्।

गत सातादेखि नै यस्ता कोड पाउनेलगायत हुपेका अरू न्यून जोखिम क्षेत्रका स्थानीयले सहज आवतजावतको सुविधा पाइसकेका छन्। कोरोना संक्रमण बढेलगत्तै जनवरी २३ देखि वुहानलगायत हुपेका विभिन्न सहरले आवागमन स्थगित गरेका थिए।

यसबीच सोमबार वुहानमा एक नयाँ संक्रमित भेटाइएको छ। लगातार ५ दिनसम्म नयाँ संक्रमित नथपिएको वुहानमा सोमबार एक चिकित्सकमा संक्रमण पाइएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। मार्च १८ मा यहाँ पहिलोपल्ट नयाँ संक्रमित नपाइएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको थियो। साथै सोही दिन चीनभरि पहिलोपल्ट देशमै बसेका चिनियाँमा नयाँ संक्रमण देखिएको थिएन।

मार्च २३ सम्म चीनको मुख्यभूमिमा कोरोना संक्रमितको संख्या ८१ हजार १ सय ७१ छ। यसमध्ये निको भएर अस्पतालबाट फर्कनेको संख्या ७३ हजार १ सय ५९ छ भने ३ हजार २ सय ७७ जनाको मृत्यु भएको छ साथै ४ हजार ७ सय ३५ जना संक्रमित उपचाररत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.