कहिले अन्त्य होला कोरोना कहर ?

कहिले अन्त्य होला कोरोना कहर ?

‘कोरोना भाइरसको महामारी कहिले शान्त होला ?’ यो गम्भीर प्रश्न र जिज्ञासा २०२० को सुरुदेखि नै पेचिलो बन्दैगएको छ । समग्र मानवजातिकै लागि चुनौतीको रुपमा फैलिएको कोरोना भाइरस के मानवको नियन्त्रणमै छैन त ? यसैको जवाफ खोजिरहेको छ वर्तमान विश्व ।

विज्ञ र नेताहरु यसको उपचारका उपाय खोजिरहेका छन् । एलर्जी तथा सरुवा रोग विशेषज्ञहरु यो संक्रमण झन् खराब बन्दैजाने बताउँछन् । विश्व स्वास्थ्य संगठनका सदस्य वाल्टर रिकिआर्दीले अन्तर्राष्ट्रिय मिडियालाई बताए अनुसार यही समर सिजनमा हामीले पहिलेको जस्तै सामान्य दैनिकी फिर्ता पाउनेछौँ ।

वाल्टरसँगै केही विज्ञहरु यो महामारीलाई दुई दशकअघिको सार्स महामारीसँग तुलना गरेका छन् । जुन महामारी जुन महिनासम्म अन्त्य भइसकेको थियो । कोरोना भाइरसलाई पनि त्यस्तै किसिमका भाइरससँग तुलना गरी गर्मी मौसममा फैलन नसक्ने विज्ञहरुको तर्क छ । सोही अनुरुप एकीकृत रुपमा काम गरेमा यो गर्मी मौसमभरी कोरोना भाइरसको महामारी अन्त्य हुनसक्ने विज्ञहरुको सुझाव छ ।

तर यी विश्लेषणका पछि खास प्रमाण र वैज्ञानिक आधार भेटिएका छैनन् । ‘युएस एजेन्सी फर इन्टरनेश्नल डेभलपमेन्ट्स ग्लोबल हेल्थ सेक्युरिटी एन्ड डेभलपमेन्ट युनिट’का पूर्व निर्देशक तथा अमेरिकी विज्ञ डेनिस कोर्रोल यस्ता टिप्पणीलाई राजनीतिक अभिव्यक्ति मात्रै ठानेका छन् । साथै कोरोना भाइरसको अवधिलाई चीनको वुहानमा कति समयसम्म टिक्छ भन्ने कुराले निर्धारण गर्ने बताउँछन् डेनिस । चीनमा संक्रमणले चरम रुप पार गरिसकेको छ । तर नयाँ संक्रमण पनि देखिने क्रम जारी छ । तै पनि मौसमी गिरावटले मत्थर पार्नेमा विज्ञहरु सहमत छन् ।

बटलर विश्वविद्यालयका पब्लिक हेल्थ स्पेसलिस्ट तथा सहप्राध्यापक ओग्बोन्नाया ओमेन्काका अनुसार प्रायजसो फ्लू चिसो मौसममा सुरु भएर गर्मी मौसममा अन्त्य हुन्छन् । विज्ञहरु कोरोना भाइरस पनि यही नियम अनुसार चल्नेछ भन्नेमा आशावादी छन् । अष्ट्रेलिया भने गर्मी मौसमका बावजुद कोरोना भाइरसको सामना गरिरहेको छ । यसवाहेक अफ्रिकी मुलुकमा समेत संक्रमण देखिन थालेको छ ।

फिजिसियन तथा अमेरिकी प्राध्यापक मेलिस्सा नोलनले पनि रिकिआर्दीको विश्लेषणमा सहमति देखाउँछिन् । अर्थात्, अप्रिलको अन्त्य र मेको सुरुसम्ममा संक्रमणले चरम रुप लिइसक्ने उनकोा भनाइ छ । साथै विभिन्न मुलुकले चालेका कडा कदमले न्युनिकरण हुनेमा उनको विश्वास छ । तर कोरोना संक्रमण कहिलेसम्म फैलिरहनेछ भन्ने कुरालाई दैनिक व्यवहार र आनिवानीले निर्धारण गर्नेमा अधिकांश विज्ञहरु सहमत छन् । उनीहरु भन्छन्, यस्तो अवस्थामा आम मानिसको व्यवहार र चलाखीले पनि संक्रमणको आयु घटाउनसक्छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना भाइरसको प्रभावलाई १२ हप्ताभित्र बदल्नसक्ने प्रतिक्रिया दिएको पनि दुई हप्ता भयो । जो आफैँ अहिले कोरोना संक्रमित भएर सेल्फ आइसोलेसनमा बस्न बाध्य छन् । बिबिसीका स्वास्थ्य तथा विज्ञान संवाददाता जेम्स ग्यालागरले आफ्नो रिपोर्टमा भनेका छन्, ‘आगामी तीन महिनामा संक्रमणको संख्यामा कमी आउने थाले पनि त्यसको अन्त्यभन्दा निकै टाढा हुनेछौँ । यसको प्रभाव अन्त्य हुन निकै समय लाग्न सक्छ । सम्भवतः वर्षौँ लाग्नसक्छ ।’

जेम्सका अनुसार हाल अपनाइएको प्रतिबन्धहरुको रणनीति दिगो हुन नसक्ने र यसले सामाजिक र आर्थिक क्षति डरलाग्दो हुनेछ । कोरोना भाइरसबाट निकासको खोजी विश्वभर भए पनि उपाय निस्किसकेको भने छैन । साथै यो नष्ट हुने कुनै लक्षण पनि देखिएका छैनन् ।

तत्कालका लागि केही निकासका उपाय भेटिए पनि दिगो समाधान नै होला कि नहोला भन्ने पनि यकिन छैन । युनिभर्सिटी अफ एडिनबरा सरुवा रोगका प्राध्यापक मार्क वुलहाउसले बिबिसीका लागि भनेका छन्, ‘यो विषय युकेमा मात्रै हैन, कुनै पनि देशसँग योजना छैन । यो ठूलो वैज्ञानिक र सामाजिक चुनौती हो ।’

कोरोनाबाट निकासका लागि विज्ञहरुले खासगरी तीन उपाय सुझाएका छन्, खोपको विकास गर्नु, रोग प्रतिरोधी क्षमता बढाउनु र दैनिक व्यवहार र आनीबानी बदल्नु । तर यी तीनै सुझाव तत्कालका लागि पहलको स्तरमा मात्रै छन् ।

यी तीन उपायमध्ये सबैभन्दा प्रभावकारी त खोप नै हो । तर यसको परीक्षण र आम रुपमा प्रयोग गर्न भने वर्षौँ लाग्नसक्छ । अमेरिका र चीन यसका लागि प्रयासरत छन् । यदी केही महिनामा खोपको विकास भयो भने पनि यसलाई आम रुपमा प्रयोगको स्तरमा लैजान केही वर्ष अवस्य लाग्नेछ । बिबिसीमा उल्लेख भए अनुसार कम्तिमा १२ महिनादेखि १८ महिनासम्म खोप विकास भइसक्नेछ । जसको प्रयोगले मानिसमा रोग प्रतिरक्षा क्षमता बढाउनेछ ।

तर संक्रमणविरुद्ध रोग प्रतिरक्षा क्षमता बढाउनु अर्को उपाय हो । केही विज्ञहरु के ठान्छन् भने, अझै केही वर्ष यो भाइरसले आक्रमण गरिरह्यो भने मानव शरीरमा यसको प्रतिरोधी क्षमता पनि स्वत बढ्दै जानेछ । तर त्यतिन्जेलसम्म विश्वको ठूलो जनसंख्या संक्रमणबाट ग्रसित भइसकेको हुनेछ ।

बरु आम मानिसको दैनिक व्यवहार र आनीबानी परिवर्तनबाट पनि यस्ता भाइरसबाट बच्न सम्भव छ । तर आनीबानी परिवर्तन पनि उपचारको खास विधि हैन । यसले रोकथाम चाहिँ गर्नसक्छ । संक्रमण भइहालेको अवस्थामा बचाउन कठिन छ । जस्तो कि, चीनले वुहानमा संक्रमण फैलिएको थाहा पाउना साथ लकडाउन गरायो । उच्च सतर्कता अपनाउँदा अपनाउँदै त्यहाँ दशौँ हजार मानिस संक्रमित भइसकेका छन् । हाल ‘होम क्वारेन्टाइन’ वा ‘सेल्फ आइसोलेसन’ मा राख्ने तरिका यस्तै आनीबानी परिवर्तनको अभ्यास हो ।

बेलायती विज्ञ सर प्याट्रिक भाल्सेन्सका अनुसार कोरोना भाइरसको समयरेखा अहिले नै ठ्याक्कै भन्न सकिँदैन । हालका लागि महामारी रोक्न सम्भव भए पनि यो भाइरसविरुद्धको दिगो समाधानको खोजीमै अहिलेको विश्व समुदाय प्रयासरत छ ।

(एजेन्सीहरुको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.