कोरोनाविरूद्ध कसरी सफल भयो चीन

कोरोनाविरूद्ध कसरी सफल भयो चीन

विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको कहर अझै साम्य भइसकेको छैन। विश्वका २७ लाखभन्दा बढी मानिस यस भाइरसबाट संक्रमित भइसकेका छन् भने दुई लाख बढीले ज्यानसमेत गुमाइसकेका छन्। यो संख्या अझै बढ्ने स्पष्ट छ र यसको त्रास पनि लामै समयसम्म रहने देखिन्छ। यसरी विश्वलाई आफ्नो पकडमा लिइरहेको यस मानव जातिकै अदृश्य शत्रुको प्रभाव चीनमा भने मत्थर भइसकेको छ। अर्को शब्दमा, चीनले यस कोरोनाभाइरसमाथि विजय हासिल गरिसकेको छ।

हाल चीनको जनजीवन पूर्ववत् अवस्थामा फर्किसकेको छ। तर शक्तिशाली राष्ट्र अमेरिका तथा युरोपेली मुलुक यसको प्रतिकार गर्न असमर्थ भइरहँदा चीनको सफलतालाई सशंकित नजरले हेरेको पनि देखिन्छ। चीनले नयाँ चीन स्थापना (सन् १९४९) पछिकै सबैभन्दा ठूलो प्रकोपको रूपमा व्याख्या गरेको यस महामारीलाई नियन्त्रणमा लिनसमेत हम्मेहम्मे परेको यथार्थ विश्वसामु छ।

चीनले पूर्ववत् स्थितिमा फर्कनुअघि झण्डै तीन महिना लामो युद्ध लडेको थियो, बारुदबिनाको यस युद्धको सन्त्रास अझै केही बाँकी छ। वैश्वीकरणको युगमा विश्वका अरू क्षेत्रबाट फेरि पनि चीनमा फैलिनसक्ने आशंका छ। तर, दोस्रो चरणको महामारी रोक्न या फैलिन नदिन चीनले सुनियोजित ढंगले कार्ययोजना लागू गरिसकेको छ। हालै, चीनका वरिष्ठ स्वास्थ्य विज्ञ चोङ नानसानले पनि चीनले चालेका कदमका कारण चीनभित्र संक्रमण लगभग समाप्त भइसकेको बताएका छन्।

उद्गमस्थल मानिएको उहानमासमेत संक्रमण दर घट्दै जाँदा विश्वका अरू भागमा बढ्दै जाँदा विदेशबाट फर्केका चिनियाँहरूमा संक्रमण देखिएपछि चीनमा नयाँ जटीलता थपिएको हो। मार्च २८ देखि चीनले केही अत्यावश्यक भिसाबोहक सबै विदेशी रेसिडेन्ट पर्मिट्स र भिसा भएकालाईसमेत चीन प्रवेशमा बन्देज लगाएको छ। भाइरसलाई राष्ट्रिय सीमा थाहा हुन्न। ‘संसारका सबै मानिसले यस महामारीविरूद्धको युद्धमा जिम्मेवारी वहन गर्नुपर्छ,’ चीनको राष्ट्रिय अध्यागमन विभागले जारी गरेको सूचनामा उल्लेख छ। चीनले विदेशी कूटनीतिज्ञलाईसमेत मे १५ अघि चीन नफर्कन आग्रह गरेको छ।

हालै राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फङले चीनले १३ हजार ७ सय माइल फैलिएको सीमासँगै सबै बन्दरगाहमा प्रवेश निषेध गरिएको बताएका छन्। भर्खरै रूसबाट भित्री मंगोलियाबाट आएकाहरूमा संक्रमण देखिएको छ। यस्तै, अहिले रूससँग जोडिएको हैलोङच्याङ प्रान्तमा पनि नयाँ संक्रमण भित्रिएपछि सबै नाका बन्द गरिएको छ। हालसम्म विदेशी भूमिबाट भित्रिएकाहरूमध्ये १२ सय बढी भाइरस संक्रमित छन्। साथै चीनले आफ्नो स्वास्थ्य विवरण लुकाउने, नियम उल्लंघन गर्ने यात्रुलाई कानुनअनुसार दण्ड लागू गरेको छ। चीनभित्र पनि एक सहरबाट अर्को सहर जाँदा यात्रा तथा स्वास्थ्य विवरणहरू पेस गर्नुपर्ने नियम बनाएको छ।

यस्तै, चीनले अप्रिल ८ बाट ७६ दिनसम्म लकडाउन गरिएको उहानलाई पूर्ण रूपमा खुला गर्नुअघि धेरै कसरत गरेको थियो। भाइरसविरूद्धको प्रतिकारमा बन्दाबन्दी र गृहबन्दीमा मात्रै सिमित थिएन, चीन। उक्त कोरोनाभाइरस मानिसबाट मानिसमा तीव्र रूपमा सर्ने देखिएलगत्तै अतिप्रभावित उहानसँगै आसपासका अरू सहरमा सबैभन्दा पहिला जनवरी २३ मा लकडाउन गरिएको थियो।

एक करोड बढी जनसंख्या भएको उहानमा लकडाउनसँगै सरकारले बृहत् रूपमा कोरोनाभाइरसको परीक्षण तथा उपचार राज्यकोषबाट गरेको थियो। संक्रमितको संख्या बढेलगत्तै रातारात अस्पतालको निर्माण गरी उपचार थालियो। चीनभरिबाट स्वास्थ्यकर्मी टोलीहरू उहान पुगे। स्थानीय सरकारका पदाधिकारी असक्षम देखिएपछि बर्खास्त गर्दै केन्द्रले नयाँ खटायो। प्रधानमन्त्री लि खछ्याङ तुरून्तै निर्देशन र निरीक्षणका लागि उहान पुगे। कर्मचारीहरू घरघर पुगेर समेत जाँच गरे। यसरी एक÷एक जना नागरिक संक्रमित भएनभएको जाँच र उपचार गरेपछि उहानमा पहिलो पल्ट मार्च १८ मा नयाँ संक्रमण थपिएन। यो मार्च १८ को दिन नै मानिसको अदृश्य शत्रुमाथिको जीतको संकेत थियो।

यसबाहेक, जनवरी २१ बाट स्वास्थ्य आयोगले उहानको दैनिक रिपोर्ट दिँदै आएकोमा २७ बाट दैनिक पत्रकार सम्मेलनको आयोजना गर्दै आएको छ। मार्च १० तारिखमा चिनियाँ राष्ट्रपति सी चीनफिङ पनि उहानको अवलोकन गर्न पुगेका थिए। यसै भ्रमणलाई नै विश्वले भाइरसमाथि चीनले जीत हासिल गरेको रूपमा अथ्र्याइएको थियो। समस्त चिनियाँ जनतालाई अदृश्य शत्रुमाथि लडाइँ लड्नका लागि आह्वान गर्दै नयाँ चीन स्थापनायता चीनमा सबैभन्दा विनाशकारी स्वास्थ्य घटना भएको पनि औंल्याएका थिए। सीले भनेका थिए, ‘हाम्रो लागि यो एक संकट हुनुका साथै एउटा ठूलो परीक्षा पनि हो।’

कोरोनाविरूद्ध चीनको सफलतामा सीको सक्षम नेतृत्वदायी भूमिका रहेको घामजस्तै छर्लङ छ। भाइरस संक्रमण बढेलगत्तै पश्चिमाले उनको साथै चिनियाँ कम्युनिस्ट पार्टीको खुबै खेदो खनेका थिए। आज उनी सफल भइसकेका छन् र विश्वमा भाइचारा बढाउन मानवभाग्य समुदायको प्रवद्र्धन गर्दै आएका उनी स्वास्थ्य रेशममार्गको सबलिकरणको पक्षमा पनि छन्। चीनको नेतृत्वदायी भूमिकासँगै संयमित चिनियाँ जनताको पनि पूर्ण साथ रहेको छ।

चिनियाँ नयाँ वर्ष र वसन्त चाडको लामो बिदामा धेरैभन्दा धेरै चिनियाँ घरमा बसेर भाइरसको प्रतिकार गरेका थिए। मिहिनेतीको संज्ञा पाएका चिनियाँहरू अनुशासित पनि त्यतिकै छन् भन्ने दुनियालाई देखाइदिएका छन्। सिआन सहरको एक रेस्टुराँको घटना यहाँ उल्लेख गर्नु उपयुक्त हुन्छ। उक्त सहरको एक फास्टफुडमा काम गर्ने एक कर्मचारी संक्रमति भेट्टाएलगत्तै उनी त्यहाँ काम गरेको दिन र समयबारे ग्राहकहरूलाई सूचित गरी आवश्यक परीक्षण गर्न भनिएको थियो।

अस्पतालसम्बन्धित् सामग्रीको अभाव हुनासाथ त्यस्ता उद्योग सुचारू गर्ने वातावरण समेत बनाइएको थियो। हवाइ यात्रु तथा रेल यात्रुमध्ये कोही संक्रमित भेटिएमा तुरून्तै उक्त उडान र रेल डिब्बाको नम्बर तथा समय सार्वजनिक गरी परीक्षण गर्न सूचित गरिएको थियो। यसै गरी कोभिड–१९विरूद्धकोे खोप परीक्षण मार्च २० मा सयभन्दा बढीलाई दिइसकेको छ। सम्भवतः यसमा पनि सफलता मिल्ने छ। भर्खरैमात्र अर्को संस्थालाई पनि खोप परीक्षणको लागि स्वीकृति दिएको छ। चीनमा हालसम्म ८३ हजार भाइरस संक्रमित भएकामध्ये ७८ हजारभन्दा बढीको उपचार भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.