‘भागेर जाने ठाउँ छैन’

‘भागेर जाने ठाउँ छैन’

सुर्खेत  : २०७१ साउन २९ गते राती आएको बाढीले पञ्चपुरी नगरपालिका-५ तिखाकुनाका १३ जनाको ज्यान लियो। भेरी नदी उर्लिएर गाउँ भित्रै छिरेपछि ९६ घर परिवार विस्थापित भए। एक सय १४ घर धुरीको चार सय एक रोपनी खेती योग्य जमिन बगरमा परिणत भयो तर बाढी पीडतले भने अहिलेसम्म राहत पाएका छैनन्।

विगत ५ वर्ष यता नजिकैको पाल बजारमा अस्थायी टहरा बनाएर बसिरहेका बाढी पीडित राहतको पर्खाइका छन्। कतिपय पीडितको भने राहत लिस्टमै नाम अटाएको छैन। ‘आफ्नो जग्गा नभएपछि माइतीले दिएको जग्गामा घर बनाएका थियौं। बाढीले त्यही घर, जग्गा पनि बगाइदियो’ पीडित खगीसरा शाहीले भनिन्, ‘राहत लिस्टमा हाम्रो नामै छुटाइ दिए। अहिले त्यही बाढीले बगाएको जग्गामा टहरा हालेर बसेका छौं।’

उनको परिवारमा चार जना सदस्य छन्। दैनिक ज्याला मजदुरी नगरी चुलो बल्दैन। उनी जस्तै राहत लिस्टमा गणेश चौलागाईं, पदम विक, भक्ति ढकाललगायत केही व्यक्तिको नाम अँटाउन नसकेको हो। उनीहरु अहिले पनि बाढीले बगाएको जग्गामा टहरा हालेर बसेका छन्। ‘पानी पर्दा रातभर निन्द्रा लाग्दैन। भागेर जाने कुनै ठाउँ पनि छैन’ गणेश चौलागाइले भने, ‘बाढीले नत आफन्त रहे। नत घरजग्गा नै। अहिलेसम्म राहत पनि पाएका छैनौं।’

 पञ्चपुरी नगरपालिका ५ तिखाकुनास्थित बाढी पीडितका अस्थायी टहरा। तस्बिर : नन्दराम जैशी।

पीडित खगेन्द्र विक अहिले त्यो घटना सम्झिँदा भक्कानिन्छन्। ‘बाढीले घरजग्गा सँगै आमा, बाबा र दुई छोरालाई खाइदियो’ उनले भने, ‘तर हाम्रो पुनर्वास र खेतीका लागि सरकारले जग्गा दिएको छैन।’ बाढीका कारण बाबा र आफन्त गुमाएका गणेश शाहीले आफूहरु राज्यको नजरमा नपर्दा फेरि बाढीको शिकार हुनुपर्ने अवस्था आउन सक्ने बताए। पीडित तथा अगुवा डम्बरबहादुर शाहीका अनुसार राहतका लागि पहल भइरहेको छ। ‘सरकारले राहत वितरणमा निकै ढिलाइ गरेको छ। अहिलेसम्म १२÷१३ जनाले मात्रै दुई÷दुई लाख पाएका छन्’ उनले भने, ‘बाँकीले कहिले राहत पाउने भन्ने कुनै टुंगो छैन। पीडितलाइ छाक टार्नै समस्या भइसक्यो।’

२०७१ साउन २८ र २९ गते आएको बाढीले सुर्खेतका विभिन्न ठाउँमा ठुलो जनधनको क्षती गरेको हो। दुई दिनमा एक सय ३४ जना मानिसको मृत्यु र अरबौं धन सम्पत्तिको क्षति हुने गरी आएको बाढीका कारण हजारौं घर परिवार विस्थापित छन्। खुला आकाश मुनिको त्रिपालमा रात काटिरहेका बाढी पीडितले सरकारले न्याय दिने आशा मारिसकेका छन्। कर्णालीमा वर्षेनी बाढी पहिरोले जनधनको क्षति हुने क्रम रोकिएको छैन। अव्यवस्थित बसोवास र विकास गतिविधिले धेरै स्थानमा बाढी पहिरो जाँदा हजारौंले ज्यान गुमाउनु परेको हो।

यस वर्ष पनि वर्षा सुरु भएसँगै बाढी पहिरोको जोखिम बढेको छ तर स्थानीयदेखि प्रदेश सरकारसँग पूर्वतयारीका कार्यक्रम छैनन्। पञ्चपुरी नगरप्रमुख उपेन्द्रबहादुर थापा मगर भ्याएसम्म काम गरेको दावी गर्छन्। पीडितलाइ राहतका लागि प्रदेश र संघकै मुख ताग्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले भने ‘प्रदेश विपद् व्यवस्थापन समितिको पहलमा सबै निकायसँग समन्वय गरी काम थालेका छौं। जिल्ला र स्थानीय तहसँगको सहकार्यमा पीडितलाई राहत, उद्धारदेखि बाढी पहिरोले क्षति पुर्‍याएका संरचना पुनर्निर्माणका काम जारी छन्।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.