स्वास्थ्यकर्मीको परिवार पीडा

स्वास्थ्यकर्मीको परिवार पीडा

कोभिड- १९ को महामारीले संसारलाई आक्रान्त पारिरहेको जगजाहेर नै छ। विगत आठ महिनाको समयमा करोडौं मानिस कोभिडबाट संक्रमित भइसकेका छन् भने लाखौंको ज्यान गमिसकेको छ। यसमा हाम्रो सानो देश नेपाल पनि अछुतो रहन सकेन। यस विषम परिस्थितिमा हामी जोकोही पनि यसको सिकार हुन सक्छौं। यसले जात, धर्म, लिंग, पेसा, पद, प्रतिष्ठा, धनी, गरिब, बच्चा, जवान, वृद्धवृद्धा, अग्लो, होचो कोही छुट्टाउँदैन।

संसारभरका डाक्टर, वैज्ञानिकहरू रातदिन नभनी कोभिडको खोप तयार बनाउन लागिपरेका छन् र सफलताको नजिकै पनि पुगिसकेका छन्। कोभिडको महामारीसँग संसारभरका मानिस जुधिरहेका छौं। यस विषम परिस्थितिमा अग्रपंक्तिमा रहेर काम गर्नेमा जोखिम धेरै हुने भएकाले सजकता अपनाउनुपर्ने हुन्छ र अपनाइरहेको पनि पाइन्छ।

स्वास्थ्यकर्र्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी आफैं जोखिम मोलेर संक्रमितको स्वास्थ्य सुधारका लागि घरपरिवार छाडेर दिनरात नभनी खटिरहेका छन्। त्यसैगरी सुरक्षाकर्मीहरू चौबीसै घन्टा तैनाथ छन्, सञ्चारकर्मीहरू पनि समाचार सम्प्रेषण गर्न ज्यानको प्रवाह नगरी सबैतिर पुगिरहेका छन्। यी सबै परिस्थितिसँग जुध्दाजुध्दै आफैं संक्रमित भएर आइसोलेसन बसिरहेका धेरै घटना छन्।

नेपालमा कोभिडका बिरामी देखिन थालेसँगै समाजमा स्वास्थ्यकर्मीमाथि समाजका केही पात्रले एक प्रकारको दबाब दिन थालेका थिए। पहिलो घटना पश्चिम नेपालको प्राइभेट अस्पतालमा काम गर्ने नर्सलाई घरपतिले घर खाली गरिदिन भनेपछि र उनी मिडियामा आएपछि यो कुरा बाहिर आएको थियो।

त्यसपछि नेपाल सरकारले स्वास्थ्यकर्मीमाथि कुनै पनि प्रकारको दुव्र्यवहार नगर्न अनुरोध गरेको थियो। सरकारको अनुरोधलाई बेवास्ता गर्दे बकुलहार अस्पताल रत्ननगरका मे.सु. डा. विश्वबन्धु बगालेलाई कोरोना पोजेटिभ देखिएपछि घरमै आइसोलेसनमा बसेको बेला छिमेकीले गरेका दुव्र्यवहारको घटनाले फेरि सबैको शिर झुक्यो। त्यसको केही समयपछि राजधानीको नागरिक अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि सम्पर्कमा आएका थप स्वास्थ्यकर्मीहरू क्वारेन्टाइनमा बसेको होस्टलमा स्थानीय बुद्धिजीवी भनाउँदाहरूले घर घेरेर अस्पतालबाट समुदायमा संक्रमण फैलाउने भन्दै विरोध गरेको घटनाले सहरी समाजको धज्जी उडाएको छ। चारैतिरबाट विरोध आएपछि पछिल्ला समयमा यस्ता घटना भएको कमै सुनिएको छ।

यस्तो परिस्थितिमा स्वास्थ्यकर्मीका घरपरिवारमा कस्तो मानसिक प्रभाव परेको होला भनेर परिवारबाहेकका मानिसले सोचेका छैनन्। म आफू स्वयं स्वास्थ्यकर्मी नभए पनि मेरो घरमा दुई देवर, दुई देउरानी डाक्टर र तीनजना दिदीबहिनी नर्स भएकाले मैले नजिकबाट यी समस्या झेलिरहेको छु। सरकारका काम व्यवहारमा भन्दा कुरैमा सीमित छन्। स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउने कुरा त धेरै टाढाको हो। नेपाल सरकारले अर्बौँ रुपैयाँ कोराना संक्रमणमा खर्च भएको विवरण आए पनि अग्रपंक्तिमा खटेर काम गर्ने स्वास्थ्यकर्मीमाथि खर्च भएको कुल रकममध्ये केकति खर्च भयो भनेर विश्लेषण अवश्य गर्नुपर्छ अहिले हिसाब गरेर बस्ने बेला पक्का होइन। 

कतिसम्म भने अस्पतालमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने मास्कसमेत आफैं किनेर प्रयोग गर्नुपर्ने हुन्छ। मेरो दिदी पूर्वको सरकारी अस्पतालमा काम गर्नुहुन्छ। प्रसूति विभाग भएकाले जतिबेलै सजकता अपनाउनै पर्‍यो। पर्याप्त सुरक्षाको साधनविना नै दिनरात ड्युउटीमा खटिनुहुन्छ। घरबाट निस्कँदा भरे घर आउँदा संक्रमण आफैंसँग आएर घरपरिवारका अन्य सदस्यलाई संक्रमित बनाइने पो हो कि भन्दै पाँच महिना बितिसकेको छ।

 स्वास्थ्यकर्मीलाई बस्ने व्यवस्था नहुँदा जोखिम मोलेरै भए पनि घर आउनुपरेको छ। यसरी नै मेरो बहिनी राजधानीको सरकारी अस्पतालमा काम गर्छिन्, केही दिनअगाडि आफूले काम गर्ने विभागमा एकजना बिरामीमा कोरोना संक्रमण देखिएपछि विभागका सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मीहरू अस्पतालले व्यवस्था गरेको क्वारेन्टाइनमा बसेर ड्युउटी गरिरहेका छन्। यसरी अस्पतालले क्वारेनटाइनको आफैं व्यवस्था गरेमा स्वास्थ्यकर्मीलाई धेरै सहज हुने देखिन्छ तर यस्तो अस्पतालको संख्या न्यून रहेको पाइन्छ। यसरी घरपरिवार छाडेर क्वारेनटाइनमा बसेरै भए पनि उपचारमा संलग्न भएका स्वास्थ्यकर्मीको पीडा एकातिर छ भने अर्कातिर अस्पतालले छुट्टै बस्ने व्यवस्था नगरिदिँदा आफूलगायत परिवारमा संक्रमण भित्रिने डर अर्कातर्फ रहेको छ।

हाम्रो घरमा १६ जनाको परिवार छ। ८१ वर्षकी आमादेखि १७ महिनाको बच्चासम्म। मेरा देवर नाक, कान, घाँटीको सरकारी अस्पतालको डाक्टर हुनुहुन्छ। उहाँ प्रत्येक दिन ओपीडीमा विभिन्न प्रकारका बिरामी चेकजाँच गर्नुपर्छ। सजगता अपनाउँदाअपनाउँदै पनि कतिबेला आफैं संक्रमित भइन्छ भन्ने हेक्काहुँदैन। आफैंले जाँचेका कति बिरामीमा संक्रमण पुष्टि भइसकेको छ। अस्पतालले स्वास्थ्यकर्मीलाई बाहिर बस्ने व्यवस्था नगर्दा घरमै आउनुपर्ने बाध्यता छ। २० वर्षदेखि उच्च रक्तचाप र मुटु रोगको नियमित औषधि खाने ८१ वर्षकी आमा र १७ महिनाको बच्चा घरमा सँगै हुँदा कति मानसिक तनाव होला ? स्वयं स्वास्थ्यकर्मीकोे मानसिक स्वास्थ्यमा परेको असरबारेमा बुझिदिने कसले ?

यी माथिका घटना प्रतिनिधि मात्र हुन्। स्वास्थ्यकर्मी भएका घरमा सबैलाई यही कुराले सताइरहँदा पनि स्वास्थ्यकर्मीहरू आफ्नो काममा खटिइरहेका छनु र संक्रमितको सेवामा जुटिरहेका छन्। यस्तो बेलामा समाजमा स्वास्थ्यकर्र्मीमाथि हुने दुव्र्यवहारका घटनाले हाम्रो समाजमा कस्तो सन्देश छाड्ला ? शिक्षित र सहरी भनाउँदाबाटै यस्तो दुव्र्यवहार र विभेदका घटनाक्रमले आम जनसमुदायले शिर झुकाउनुपर्ने अवस्था आएको छ। डा. विश्वबन्धु बगालेका घरमा भएको घटना भोलिका दिन मेरै घरपरिवारमा पनि नहोला भन्न सकिन्न।

स्वास्थ्यकर्मीले यसरी दिनरात नभनी संक्रमित तथा अन्य रोगीको उपचारमा खटिएवापत हाम्रो समाजले दिने पुरस्कार यही हो ? स्वास्थ्यकर्मी कसरी संक्रमित भए भनेर बुझ्दाबुझ्दै किन अबुझ हुन्छौं हामी ? हिजो स्वास्थ्यकर्मीको घर घेर्न आउने भीड भोलि संक्रमित हुँदा जाने ठाउँ कहाँ हो ? यो संक्रमण संसारभरि नै फैलिएको छ, कसैले आफैं सृजना गर्ने होइन भन्ने थाहा पाएर पनि तिनै संक्रमितको सेवामा समर्पितमाथि यत्रो दुव्र्यवहार गर्ने हिम्मत कसरी आउँछ ? यस्तो बेलामा पीडितमाथि न्याय दिलाउन र मनोबल उच्च राख्न राज्यले कडा कदम चाल्न पनि पछि पर्नु हुँदैन। दुव्र्यवहार गर्नेलाई कानुनको दायरामा ल्याउनैपर्छ। नत्र यस्ता घटना हुने क्रम जारी रहन्छ।

 हाम्रो समाजमा ठूलाठूला अपराधी र भ्रष्टाचारीहरू निर्बाध रूपमा खुलेआम हिँडिरहेका बेलामा स्वास्थ्यकर्मीमाथि यस्तो दुव्र्यवहार कहाँसम्म न्यायसंगत हो ? मूल्यांकन गर्ने जिम्मा तपाईंहाम्रै हो। यस्ता निन्दनीय घटना पूर्णरूपमा नियन्त्रण गर्ने संयन्त्र परिचालन गर्न राज्य पछि पर्नु हुँदैन। कोभिडका कारण उत्पन्न अहिलेको विषम परिस्थितिमा स्वास्थ्यकर्मीका साथै अग्रपंक्तिमा रहेर काम गर्ने सबैको मनोबल उच्च राख्न राज्यले विभिन्न कार्यक्रम कार्यान्वयन गर्न आवश्यक देखिन्छ।

कोभिड महामारीको यो विषम परिस्थितिमा राष्ट्रले स्वास्थ्यकर्मीहरूको मनोबल बढाउन गरेको मान, सम्मान र सहानुभूतिबारेमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार पढ्न र सुन्न पाइन्छ। हामीले ती सबै गर्न नसके पनि कमसेकम दुव्र्यवहार र विभेद त नगरिदिन सकिन्छ नि ! वास्तवमा जन्मिएदेखि मृत्युपर्यन्त पनि हामीलाई स्वास्थ्यकर्मीको सहयोग अपरिहार्य हुन्छ। स्वास्थ्यकर्मीबाट पनि केही अपवादका नराम्रा घटनाचाहिँ समाजमा नभएका भने होइनन्। त्यस्ता नराम्रा घटनालाई कानुनको दायरामा ल्याउने काम सरकारको हो।

यसरी संसार सबै कुरा थाँती राखेर कोभिड रोकथामका लागि अहोरात्र खटिइरहेको छ। हामी सबैले कोभिडबाट जोगिन आफूले सकेको सतर्कता अपनाउँदै सचेत नागरिकको जिम्मेवारी पूरा गर्नुपर्नेमा दुईमत छैन। कोभिडको दौरान समाजमा देखिएका विकृति, विसंगति र दुर्व्यवहार निर्मूल पार्दै र सभ्य समाज निर्माण गर्ने सबैको साझा दायित्वलाई आत्मसात गर्दै आगामी दिनमा स्वास्थ्यकर्मीमाथि हुने दुव्र्यवहारका घटना नहोऊन् र नदोहोरिऊन्।

हाइलाइट

कोभिडको दौरान समाजमा देखिएका विकृति, विसंगति र दुव्र्यवहार निर्मूल पार्दै सभ्य समाज निर्माण गर्ने सबैको साझा दायित्वलाई आत्मसात गर्दै स्वास्थ्यकर्मीमाथि हुने दुव्र्यवहारका घटना दोहोरिनु हुँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.