कोभिड संक्रमणको अवधि

कोभिड संक्रमणको अवधि

विषाणुको विनाशक साबुन भएकाले हात धुने र सकभर मुख, नाक र आँखामा नछुने गर्नु संक्रमणबाट बच्ने प्रभावकारी वैज्ञानिक उपाय हो।


कोरोना संक्रमण नियन्त्रणका लागि संसारमा अपनाइएका अनेक उपाय प्रायः प्रभावहीन भइसकेका छन्। कतिपय राष्ट्रमा यो महामारी नियन्त्रित रूपमा देखिए पनि त्यो अस्थायी हो। संसारमा प्रतिदिन तीन लाखको हाराहारीमा संक्रमण भइरहेछ। संसारका प्रत्येक कुनाकाप्चामा यो नियन्त्रित नभएसम्म यसलाई नियन्त्रित भन्न मिल्दैन। विश्वको अर्थतन्त्र खुम्चिएको तथ्य प्रकाशित भइसकेको छ। भोकमरी र गरिबीले नेपालकै कतिपय मजदुर भारततर्फ फर्किएका छन्। यो महामारीबाट उन्मुक्तिका लागि एउटा विकल्प खोपको विकास र अर्को विकल्प सामूहिक रोगप्रतिरोधक क्षमता (हर्ड इम्युनिटी) हो। खोपको विकास र सामूहिक प्रतिरोधक सीमा (हर्ड इम्युनिटी थ्रेसहोल्ड) कायम भएपछि पनि यो विषाणुको कहर जारी रहने केही निराशावादी तथ्य हालै वैज्ञानिक ग्रन्थमा प्रकाशित भएका छन्।

कोभिडको खोपको विकास द्रूत गतिमा भइरहेको छ। करिब एक सयवटा खोप निर्माणाधीन छन्। कम्तीमा तीनवटा खोप परीक्षणको अन्तिम चरणमा छन्। तिनको परीक्षण सफल भयो भने सन् २०२१ को प्रथम चरणमा तिनको व्यावसायिक उत्पादन हुनेछ। संसारको नजर अहिले त्यसैमा छ। त्यो अहिलेको संकटमोचनका लागि एउटा कोसेढुंगा साबित हुन सक्छ। तर पनि ती खोपहरूको प्रभावकारिता र तिनले स्थापित गर्ने रोगप्रतिरोधको आयुमा धेरै कुरा निर्भर गर्छ। खोपको विकास नहुञ्जेल विश्वले सावधानीका लागि लकडाउनमा भर पर्नुपरेको छ। कतिपय जनसंख्याका धनी मुलुकहरूले खोपको आगमनसम्म लकडाउन गरेर अर्थतन्त्रको विनाशसम्म पर्खिन नसक्ने जनाइसकेका छन्। भारत र नेपाल यसका उदाहरण हुन्। यसले संक्रमण बढ्ने छ। बेलायतलगायत अन्य युरोपेली मुलुकमा लकडाउन खुकुलो पारिएसँगै संक्रमण पुनः बढ्दो छ। अमेरिका र ब्राजिलजस्ता ठूला मुलुकका नेताले लकडाउन गर्नैनपर्ने तर्क राखेका थिए। यसको अर्थ हो– सामूहिक प्रतिरोधक सीमाको प्रतिक्षा।

के हो सामूहिक प्रतिरोधक सीमा ? रोगजनक (प्याथोजन) ले शरीरमा प्रवेश गरेपछि प्राणीको शरीरको रोगप्रतिरोधक प्रणालीले त्यस रोगको प्रतिरक्षा गर्न रोगप्रतिरोधक शक्ति (एन्टिबडिज) को निर्माण गर्छ। रोगी निको भएमा रोगीले विकास गरेको रोगप्रतिरोधक शक्ति उसको शरीरमा कायम रहन्छ र ऊ रोग प्रतिरक्षितको श्रेणीमा गनिन्छ। कुनै समुदायमा रोग प्रतिरक्षितको संख्यामा पर्याप्त वृद्धि भएमा रोग ग्रहणशील (ससेप्टिबल) को संख्यामा ह्रास आउँछ र त्यसले संक्रमणलाई स्वतः निस्तेज गर्छ। यो संख्यालाई सामूहिक प्रतिरोधक सीमा भनिन्छ। प्रत्येक संक्रामक रोगका लागि यो सीमा फरक हुन्छ। संक्रामक रोगको प्रसारको आकलन गर्न महामारी वैज्ञानिकहरूले मूल प्रजनन संख्या नामक एउटा मानक उपयोग गर्छन्।

कोभिड महामारीको यो मानक दुईदेखि तीनका बीचमा पर्ने अनुमान गरिएको छ। त्यसका आधारमा कोभिडको समूह प्रतिरोधक सीमा करिब ६० देखि ७० प्रतिशत हुन आउँछ। अर्थात् करिब ६० देखि ७० प्रतिशत मानिसले कोभिडको रोगप्रतिरोधक शक्ति निर्माण गरिसकेको अवस्थामा यो महामारीको प्रसार अनियन्त्रित हुँदैन। विश्व स्वास्थ्य संगठनले अहिले संसारमा १० प्रतिशतभन्दा कम मानिस प्रतिरक्षित भएको अनुमान गरेको छ। खोपको उद्देश्य पनि प्रतिरक्षितको संख्या वृद्धि गरेर महामारी नियन्त्रण गर्ने हो। कोभिडका लागि भने खोप नभएकाले एकपटक संक्रमित भएर निको हुनु नै प्रतिरक्षित हुने एकमात्र उपाय हो।

क्लिनिकल इन्फेक्सियस डिजिजेज नामक एउटा वैज्ञानिक पत्रिकाले सामूहिक प्रतिरक्षित सीमा प्राप्त गरिसकेपछि वा खोपको विकास भइसकेपछि पनि कोभिडको प्रसार जारी रहन सक्ने निष्कर्षसहितको एउटा प्रकाशन गरेको छ। यो पत्रिकाले पहिलो संक्रमणभन्दा दोस्रो संक्रमणको विषाणु फरक रहेको, पहिलो संक्रमण लक्षणात्मक (सिम्प्टोमेटिक) भएको, दोस्रो अलक्षणात्मक (एसिम्प्टोमेटिक) भएको र ती दुई संक्रमणको बीचको दूरी १४२ दिन भएको तथ्य प्रकाशित गरेको छ। पहिलो संक्रमणको तीनदेखि चार महिनामा कोभिडको पुनः संक्रमण भएका अन्य घटना पनि पुष्टि भइसकेका छन्। यद्यपि यस्ता पुनः संक्रमितको संख्या धेरै छैनन् तर पुनः संक्रमणले एउटा चिन्ता थपिदिएको छ।  

यो विषाणु एक किसिमले नयाँ हो। एकपटक रोग ग्रहण गरेपश्चात् प्राप्त गरेको रोगप्रतिरोधक शक्तिको प्रभावकारिता कहिलेसम्म रहन्छ भन्नेमा महामारी वैज्ञानिकहरूको एकमत छैन। रोगप्रतिरोधक शक्तिको क्षीण हुने माथिको तथ्यले पुष्टि गरेको छ। यो क्षीण हुने कतिपय अन्य अनुसन्धानले पनि देखाएको छ। द ल्यान्सेट नामक वैज्ञानिक पत्रिकाले पनि एकपटक संक्रमण भएर निको भएका मानिसको कोभिड रोगप्रतिरोधक शक्तिमा ह्रास आउन सक्ने प्रकाशित गरेको छ। कतिपय महामारी वैज्ञानिकहरूले कोभिडको रोगप्रतिरोधक शक्ति खुम्चिन सक्ने र आवश्यकता परेका बेला पुनः स्थापित हुन सक्ने सम्भावना पनि देखाएका छन्। कतिपयले यो शक्ति एक शिखरमा पुगेर कालान्तरमा यसको क्षयीकरण हुने भनेका छन्। एउटा सुखद कुरो के छ भने एकपटक विकसित भइसकेको रोगप्रतिरोधक शक्ति क्षीण भएमा पनि त्यसको स्मरण हाम्रो रगत कोशिकामा रहन्छ। त्यसैले पुनः संक्रमण नितान्त नयाँ संक्रमणजस्तो जोखिमपूर्ण हुने कुनै संकेत देखिँदैन। तर यो पुनः संक्रमण आफैंमा एउटा समस्याको विषय भने हो।

पुनः संक्रमणले केही थप प्रश्नमा वैज्ञानिकहरूको ध्यान केन्द्रित गरेको छ। एकपटक संक्रमण भएको व्यक्तिलाई महिनौं वा वर्षौंपछि संक्रमण हुन सक्ने सम्भावना र त्यसको घातकतासम्बन्धी जानकारीका लागि केही समय कुर्नुपर्नेछ। रोगप्रतिरोधक क्षमतामा ह्रास भएर पुनः संक्रमणको सम्भावना जीवित भएको स्पष्ट भइसक्यो। यसरी पुनः संक्रमित रोगी लक्षणात्मक हुन्छ वा अलक्षणात्मक ? यो अलक्षणात्मक भएमा यसले विषाणुको प्रसार गर्छ कि गर्दैन ? दोस्रो संक्रमण पहिलाको तुलनामा बढी घातक हुन सक्छ ? यसबीचमा कोरोना विषाणुको उत्परिवर्तन (म्युटेसन) कसरी हुन्छ ? यो उत्परिवर्तनले खोप विकासलाई प्रभावित गर्छ। यी सबै प्रश्नका जवाफ जे भए पनि सामान्य मानिसको जीवनमा कोभिडले लामो समयसम्म असर पार्ने देखिन्छ।

डा. गोविन्द केसी पटकपटक अनसन गर्नुपर्ने र वामदेव गौतमले सलामी खानुपर्ने अवस्थाको उपेक्षा गरे यो कुसंस्कारको परिणाम जनताले नै भोग्नुपर्नेछ।

महामारी वैज्ञानिक एन्थोनी फ्राउसीको भनाइ यहाँ स्मरणीय हुन्छ। उनले भनेका छन्– यो विषाणुको उन्मूलन नहुन पनि सक्छ। खोपको विकास छिटै भएको खण्डमा समेत मानिसको जीवन सामान्य हुन अझै केही वर्ष लाग्न सक्छ। मानौं आजका मितिमा खोपको निर्माण भए पनि संसारका सबै मानिससम्म पुग्न पनि यसलाई महिनौं वा वर्षौं लाग्ने छ। संसारमा प्रत्येक नागरिकसम्म खोप नपुग्ने हो भने यो महामारी फेरि फैलिन्छ। अहिले बन्दै गरेको खोपको प्रतिरोधक शक्तिको प्रभावकारिता र त्यसले मानिसलाई सुरक्षित राख्न सक्ने समयसीमा तय हुन पनि समय लाग्नेछ। खोपको प्रभावकारिता पनि शतप्रतिशत हुँदैन। खोप बनेको धेरै वर्षपछि मात्र शीतला उन्मूलन भएको थियो। त्यसैले सम्भव नै भए पनि कोभिडलाई पूर्णरूपमा उन्मूलन हुन समय लाग्नेछ।

कोभिड नियन्त्रण संसारका प्रत्येक राष्ट्रको पहिलो प्राथमिकता भएकाले यसमा राजनीति अवश्य जोडिन्छ। कोभिड समस्यासँग जुध्न विश्वका अनेक देशहरूमा एउटा क्षमतावान् नेतृत्वको आवश्यकता महसुस गरिने धेरैले विश्वास गरेका थिए। तर अनुभवले के देखाएको छ भने नागरिकको यस्तो चासो क्षणिक हुने रहेछ। संसारको सबभन्दा ठूलो लोकतन्त्र भारतमा प्रतिदिन करिब एक लाखका दरले संक्रमण फैलिँदै छ। त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी राम मन्दिर निर्माणलाई प्राथमिकता दिइरहेका छन्। करोडौं जनताले रोजगार गुमाए, हजारौंले आत्महत्या गरे, सयौं जनताले अस्पतालमा उपचार नपाएर ज्यान गुमाए तर पनि मोदीविरुद्ध भारतमा मोर्चाबन्दी हुन सकेको छैन। कोभिड संक्रमित र मृत्युको सूचीमा उत्कृष्ट रहेका तीन देशहरू ब्राजिल, भारत र अमेरिकाका नेतृत्वले जनताका आँखामा छारो हाल्ने काम गरे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना आफैं सकिएर जान्छ भनेर अफवाह फैलाएर निर्वाचनमा जाँदैछन्।

उनी अलोकप्रिय देखिएका छन् तर उनको अलोकप्रियताको वक्ररेखा कोभिडपूर्व नै निर्धारण भइसकेको थियो। त्यसैले कोभिडले उनलाई थोरै क्षति गरेको होला तर उनले यो महामारीको नियन्त्रणमा देखाएको मूर्खताअनुसारको अलोकप्रियता उनले कमाएको देखिँदैन। उनले नश्लीय वादलाई प्राथमिकतामा राखेर विषयान्तर गर्ने प्रयास गरेका छन्। संकटलाई विषयान्तर गरेर जनतालाई गुमराहमा राख्न सकिँदो रहेछ। तर यसले संकटको दुस्परिणाम टाल्न सकिँदैन। यो अराजक भएर निस्किन्छ। समयमै उचित कदम चालिएको भए अमेरिकामा मानवीय क्षति न्यूनीकरण गर्न सकिने तथ्यले देखाएको छ। ट्रम्पको मूर्खताको परिणाम अमेरिकी जनताले भोगेका छन्, भोग्नेछन्। ट्रम्पको दलका कतिपय नेताले ट्रम्पलाई नसघाउने भनिसकेका छन्। यही कारणले ट्रम्प पराजित हुने अवस्था आयो भने त्यसलाई लोकतन्त्रको सुन्दरता मान्नुपर्छ।

भारतमा भने सरकारले अप्रत्याशित कदम चालेकोमा जनता दंग पर्ने रहेछन्। मोदीले प्रसिद्ध चलचित्रकर्मी कंगना रानावत, तबलिगी जमात वा अन्य त्यस्तै अनावश्यक क्रियाकलापद्वारा विषयान्तर गर्न सफल भए। मोदीको दलका कार्यकर्ताले एक स्वरमा मोदीको कदमको साथ दिएका छन्। भारतीय जनताले त्यसको परिणाम भोग्ने छन्। नेपालमा कम्युनिस्टको सरकार भएकाले सबैलाई समान स्वास्थ्य उपचारको घोषणा गरेर एउटा क्रान्तिकारी कदम चाल्ने यो एक विशेष अवसर पनि थियो। तर गरिब देश भएकाले यहाँ अझै नेताहरूलाई डकार्नै पुगेको छैन। त्यसैले सरकारले छोटे राजाहरूको व्यवस्थापनलाई प्राथमिकतामा राखेको देखेर नेकपाका लाखौं कार्यकर्ता मनोरञ्जित भए, ती दंग परे। स्वास्थ्योपचारमा समानता नभए पनि कम्तीमा न्यूनतम उपचारको सुविधा सबैलाई हुनुपर्ने आवाज नेपालमा अझै उठेको देखिँदैन। पाँचतारे होटेलमा मोज गर्ने नेताका मतदातालाई कसैले टुँडिखेलमा भात खुवाइदिनुपर्ने राजनीतिक असन्तुलनको मूल्य हुनेछ। हाँसो र ठट्टाको विषय बनेका स्वास्थ्यमन्त्रीको अक्षमताका कारण राष्ट्रलाई हुने हानिको बोझ जनताकै टाउकोमा थोपरिने हो। डा. गोविन्द केसी पटकपटक अनसन गर्नुपर्ने र वामदेव गौतमले सलामी खानुपर्ने अवस्थाको उपेक्षा गरे यो कुसंस्कारको परिणाम जनताले नै भोग्नुपर्नेछ। छोटे राजाहरूको व्यवस्थापन गरेवापतको कर नेपाली नागरिकले चुकाउनुपर्नेछ।

आम जनताले स्वास्थ्योपचार पनि नपाउने तर नेताका स्वास्थ्योपचारको खर्च भने जनताले तिर्नुपर्ने अन्यायको मूल्य हुन्छ। नेपाल र भारतजस्ता मुलुकले गरेका अनेक प्रयास असफल भइसकेका छन्। सामूहिक प्रतिरोधक सीमासम्म पुग्न हामीले धेरै मानवीय क्षति व्यहोर्नुपर्ने हुन्छ। त्यति क्षति भइसकेपछि पनि कोभिडको पुनः संक्रमण सम्भव छ। जनताले आफ्नो जीवन पद्धतिमा परिवर्तन ल्याउनुको विकल्प देखिँदैन। कोभिडबाट बच्न अहिलेलाई केही वैज्ञानिक पुष्टि भइसकेका उपाय प्रभावकारी देखिन्छन्। साबुन विषाणुको विनाशक हो। त्यसैले साबुन–पानीले हात धुने र सकभर हातले मुख, नाक र आँखामा नछुने बानीको विकास गर्ने संक्रमणबाट बच्ने एउटा उत्तम उपाय हो। साबुन नभएको अवस्थामा स्यानिटाइजर प्रयोग गर्न सकिन्छ। अध्ययन र अनुभवले देखाइसकेको छ कि मास्क प्रयोगले संक्रमणको प्रसारमा कमी आउँछ। यो एक परोपकार पनि हो। किनकि यसले आफूबाट अरूलाई संक्रमण हुनबाट बचाउँछ। दूरी कायम राखेमा हावाबाट यो संक्रमण नफैलिने देखिएको छ।

अन्त्यमा, कोभिडकाल लामो हुने लगभग निश्चित छ। भएको औषधि जोगाएर बिरामीलाई सिकिस्त हुञ्जेल पर्खनु बुद्धिमानी हुँदैन। समयमै उपचार थाल्नु बुद्धिमानी हुन्छ। राजधानीको खुल्लामञ्चमा भातका लागि जनताले लामबद्ध हुनु एउटा दुःखद सन्देश हो। गरिब, किसान र मजदुरको मनोबल बढाउन तिनका हातमा नगद दिन ढिलो भइसक्यो। ऋण लिएर भए पनि गरिबलाई राहत दिनु अति आवश्यक छ, यो सबैको हितमा हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.